+
+
Shares

जयेन्दु बाल सुधारगृहमा किन भइरहन्छ झडप ?

क्षमताभन्दा बढी बालबिज्याइकर्ता हुनु र अधिकांश उमेर पुगेका व्यक्ति राखिनुले पटक-पटक झडप हुने गरेको प्रतिवेदन समितिहरुले दिँदै आएका छन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ चैत ११ गते २१:४१

११ चैत, काठमाडौं । १ चैत होलीको दिन बाँकेको डडुवा नगरपालिका–६ हिरिमिनियास्थित जयेन्दु बाल सुधारगृहमा झडप भयो । झडपले उग्र रुप लिँदा सुधारगृहमा आगजनी र तोडफोड भयो । केही प्रहरी घाइते भए ।

१ चैतको रातिदेखि भएको झडप पूर्ण रुपमा नियन्त्रण गर्न प्रहरीलाई भोलिपल्टसम्म लाग्यो । २ चैत साँझ मात्रै प्रहरीले स्थितप पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट होली खेल्ने क्रममा विवाद हुँदा झडप भएको देखिए पनि झडपको कारण होली मात्र नभएको छानबिनबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीका अनुसार झडपको मुख्य कारण पुरानो रिसइबी हो । ‘सुधारगृहमा पहिल्यैदेखि दुई समूहबीच विवाद हुने गरेको देखिएको छ । त्यसैको उग्र रुप होलीको दिन देखियो,’ एसपी कार्कीले अनलाइनखबरसँग भने ।

दुई समूहबीच सुधारगृहभित्र बस्ने, खेल्ने, सरसफाइ गर्ने लगायतका विषयमा विवाद हुने गरेको छानबिनबाट देखिएको छ । यो विवादमा एउटा समूहले अर्को समूहमाथि आफ्नो प्रभुत्व देखाउन खोज्दा होलीको दिन त्यो बिस्फोट भएको सुधारगृह प्रशासनको भनाइ छ ।

स्थलगत अध्ययन प्रतिवेदनले दिएको सुझाव र निर्देशन कार्यान्वयनतर्फ सरकारले ध्यान नदिँदा पटकपटक पुरानै नियति दोहोरिँदै आएको छ ।

शुक्रबारबाट भएको तनावले शनिबार दिउँसो १:४५ बजे आगजनीको रुप लिएको थियो । तीनतले भवनको पहिलो तलामा उनीहरुले आगो लगाएका थिए ।

स्थिति नियन्त्रण लिन प्रहरीले ७३ राउन्ड हवाई फायर गर्नुपरेको थियो । इन्सास राइफलबाट ५८ राउन्ड, एसएलआरबाट ४ राउन्ड, सर्टगनबाट १ राउन्ड र ग्याँस गनबाट १९ राउन्ड गरी ७३ राउन्ड हवाई फायर गरिएको एक अधिकृतले अनलाइनखबरलाई बताए थिए ।

सुधारगृहमा रहेका २५५ मध्ये ४९ जना झडपमा परी घाइते भएका थिए । उपचारपछि उनीहरु सबै जना ठिक भइसकेका छन् ।

१९ जना प्रहरी ‘हिरासत’मा

सुधारगृहमा रहेकामध्ये झडपमा उत्रिएका १९ जनालाई जिल्ला प्रहरी बाँकेको हिरासतमा राखिएको छ । प्रहरी स्रोतका अनुसार हिरासतमा प्रायः १८ वर्ष उमेर पूरा भएका र झडपमा उत्रिनेहरु रहेका छन् ।

किन झगडमा उत्रिए, झगडा गर्नुपर्ने स्थिति कसरी आयो, कसको के भूमिका थियो लगायत विषयमा प्रहरीले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

यता, प्रहरीले भने औपचारिक रुपमा उनीहरुमाथि अनुसन्धान भइरहेको विषयमा केही पनि बोलेको छैन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा एसपी तुलबहादुर कार्की भन्छन्, ‘सुधारगृह आगजनी भएपछि राख्ने ठाउँ नभएकाले हाम्रो कार्यालयमा राखेका छौं ।’

यी बाहेक चार जना भने अहिले एसईई दिइरहेका छन् । ४० जनालाई बाँकेको नौबस्ता सुधारगृहमा राखिएको छ । बाँकीलाई आगजनी गरेकै भवनमा राखिएको छ ।

छानबिन अन्तिम चरणमा

आगजनी नै हुनेगरी घटना भएपछि राष्ट्रिय मानव अधिकार आयोगले समेत घटनाबारे गम्भीर चासो देखाएको थियो । आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले ३ चैतमा विज्ञप्ति निकाल्दै घटनाबारे आयोगले छानबिन अघि बढाएको बताएका थिए ।

‘जयेन्दु बाल सुधारगृहमा १ चैतको रातिदेखि २ चैतको साँझसम्म झडप भएको घटनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन टोली खटाई पठाएको छ,’ विज्ञप्तिमा भनिएको थियो ।

क्षमताभन्दा बढी बालबिज्याइकर्ता हुनु र अधिकांश उमेर पुगेका व्यक्ति राखिनुले पटक-पटक झडप हुने गरेको प्रतिवेदन समितिहरुले दिँदै आएका छन् ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार नेपालगञ्जबाटै मानव अधिकार अधिकृत द्वारिका कुमारीको नेतृत्वको टोली अनुगमन र छानबिनका लागि खटाइएको थियो । उक्त टोलीले छानबिनको काम अन्तिम चरणमा रहेको बताएकाले घटना के–कसरी भयो भनेर अहिले भन्न सक्ने अवस्था नरहेको बताए ।

छानबिन अन्तिम चरणमा रहेकाले केही दिनमै प्रतिवेदन सार्वजनिक हुने प्रवक्ता पोखरेलको भनाइ छ ।

जयेन्दुमा बारम्बार झडप र आगजनी

जयेन्दु सुधारगृहमा यसअघि पनि पटक–पटक झडप र आगजनी हुँदै आएको छ । ४ असोज २०८० मा झडप र आगजनी हुँदा एक जनाको मृत्युसमेत भएको थियो । त्यतिबेला अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी कसुरमा सजाय काटिरहेका रुपन्देही कञ्चन गाउँपालिका–४ का सुलभ केसीको मृत्यु भएको थियो ।

झडपमा ११ जना घाइते भएका थिए । दुई पक्षीय झडप भएपछि ९ जना सुधारगृहबाट भागेका थिए । यही बाल सुधारगृहबाट १४ पुस २०७९ मा झ्यालको भेन्टिलेसन तोडेर केही बालबिज्याइकर्ताहरु फरार भएका थिए । यसको एक महिनापछि उक्त सुधारगृहमा तनाव हुँदा २०७९ माघमा आगजनीसमेत भएको थियो ।

क्षमताभन्दा बढी बालबिज्याइकर्ता हुनु र अधिकांश उमेर पुगेका व्यक्ति राखिनुले पटक-पटक झडप हुने गरेको प्रतिवेदन समितिहरुले दिँदै आएका छन् । अर्कोतर्फ, सुधारगृहमा सादा पोशाकमा १० जना मात्रै प्रहरी रहने र हतियारबिनाका ती प्रहरीको भूमिका पनि केही नहुने हुँदा झडप हुने गरेको प्रहरीको तर्क छ ।

जयेन्दु बाल सुधारगृहको क्षमताअनुसार १९० जना बालबालिका राख्न मिल्ने हो । तर झडप हुने दिनसम्म उक्त सुधारगृहमा २५५ जना थिए । जबकि, सुत्नेसमेत ठाउँ नभएर उनीहरुलाई कोचाकोच गरेर राखिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की भन्छन्- झपडको प्रमुख कारण होलीको विवाद नभई पुरानो रिसइबी हो ।

बाल सुधारगृहमा लगातार झडप हुन थालेपछि कानुन, न्याय तथा मानव अधिकार समितिले बाल सुधारगृहको अवस्था, समस्या, समस्याको कारण र सुधारका उपाय सुझाउन उपसमिति बनाएर स्थलगत अध्ययन गरेको थियो । ८ चैत २०८० मा गठन भएका उपसमितिहरुले अध्ययन गरेर रिपोर्ट बुझाइसकेका छन् ।

ती उपसमितिहरुले पनि कोचाकोच गरेर राख्नुदेखि उमेर पुगेका कैदीहरु बाल सुधारगृहमा राख्ने र लागुऔषधसम्म सहजै पुग्ने भएकाले झडप भएको औंल्याएका थिए ।

जयेन्दु सुधारगृहको अध्ययन उपसमितिमा सभापति बिमला सुवेदीसहित सांसदहरु चन्द्रबहादुर विश्वकर्मा, ध्रुवबहादुर प्रधान, पूर्णबहादुर घर्ती, शेरबहादुर तामाङ र सोविता गौतम थिए ।

उनीहरुले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाउँदै आवश्यक सुझावसमेत दिएका थिए । तर ती सुझाव कार्यान्वयन नहुँदा पटकपटक पुरानै नियति दोहोरिँदै आएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?