
मनको दृष्टि र चर्मको चक्षु ! सोचाइको सुनामी र यथार्थको योगेश्वर ! तर्कनाहरूको तरङ्ग र सत्यको सगरमाथा ! कल्पनाको उडान र वास्तविकताको अडान ! पदार्थको गुणगान र चेतनाको बखान ! आस्थाको ओढार र विवेकको विशालता ! ज्ञानको उज्यालो र अज्ञानको अँध्यारो !
अन्ततः यिनै जटिल शाब्दिक द्वन्द्वले एउटा मूलभूत प्रश्न जन्माउँछन्, ‘विश्वलाई –अर्थात् यो संसारलाई, अर्थात् यो जगतलाई– बुझ्न सकिन्छ या सकिँदैन ?’ अनि योसँगै अर्को अझ दुरूह प्रश्न पनि उठ्छ, ‘पदार्थबाट चेतना जन्म्यो ? या, चेतनाबाट पदार्थ ?’ अथवा, ‘मान्छेमा चेतना कहाँबाट उत्पन्न हुन्छ– शरीर विकासको क्रममा आफैँभित्रबाट, वा शरीरबाहिर कतै कोही अदृश्य शक्तिबाट ?’
साना भएर पनि अत्यन्तै ठूला र गहन छन् यी दुई प्रश्न ।
आफूभित्र यही गम्भीरताले गर्दा यी दुई प्रश्न नै कालान्तरमा दर्शन वा विचार विभाजनका मूलभूत प्रश्न बने । अद्यापि बनिरहेकै छन् । विज्ञानले एकपछि अर्को विकासका खुड्किला तय गरिरहेको भए पनि यी प्रश्न कहिल्यै अन्तिम समाधानको ढोकासम्म पुगेका छैनन्, पुग्न सकेका छैनन् ।
संसारकै एक महानतम वैज्ञानिक मानिएका अल्बर्ट आइन्सटाइनले मृत्यु–शैय्यामा भएको बेला भनेका थिए, “मैले विज्ञानलाई बुझें, धेरै विचारविमर्श गरें तर जीवनको समग्र रहस्य कहिल्यै बुझ्न सकिनँ । सम्भवतः सकिँदैन पनि ।”
आइन्सटाइनले त्यसो किन भनेका थिए होलान् ? किनभने विज्ञान कार्य र कारण सिद्धान्तमा आधारित छ, सत्य–तथ्यहरूमा आधारित छ । तर दर्शन, अझ भनौं दर्शनशास्त्र, आध्यात्मिक र भौतिकवादी दुवै थरी हुन्छ । अनि दर्शनशास्त्र कार्य र कारणभन्दा धेरै परसम्म जाने गर्दछ ।
जर्मनीका अठारौं शताब्दीका दार्शनिक इम्यानुएल कान्टले ‘अज्ञेयवाद’ को दर्शन अगाडि सारे र भने, “हामीले यो सृष्टिका केही कुरा पनि जान्न–बुझ्न सक्दैनौं ।” दक्षिण एशियामा उहिल्यै ऋषिमुनीहरूले भन्ने गरेकै थिए, “ब्रह्म सत्य, जगत् मिथ्या ।”
कान्टभन्दा धेरै सय वर्षपहिले, दक्षिण एशियाको सनातन वा वेदान्त दर्शनमा संसारलाई बुझ्न नसकिने, मिथ्या, रहस्यमय एवं अलौकिक बताइएको छ । यस दर्शनमा इहलोकको भन्दा परलोकको चिन्ता गर्दै मानव जीवनको सार्थकता ‘मोक्ष प्राप्ति’ मा देखाइएको छ ।
त्यसै बेला चीन र जापान जस्ता पूर्वी एशियाली देशले ईश्वर र अन्य लोकको कुरा गरेनन् बरु दुई जना क्रमशः कन्फ्युसियस र लाओत्सेले चीनमा अनि एक जना शिनसोकु आदि विचारकहरूले जापानमा प्रकृतिबाट नै शक्ति प्राप्त हुन सक्ने भन्दै मानव जीवनको उत्थानमा सहायक हुने धार्मिक विचार प्रचारप्रसार गरे ।
चीनमा त्यसलाई ताओइजम र जापानमा त्यसलाई शिन्तो धर्म भनियो । ईसाको चौथो–पाँचौं शताब्दीतिर भारतबाट फैलिएको नास्तिक बौद्ध धर्मले यी मुलुकहरूमा उच्च स्थान पायो । चीनमा अहिले धेरै जनसङ्ख्या या त नास्तिक छ होइन भने ताओवाद र बौद्ध धर्मको मिश्रणलाई आत्मसात् गर्दछ । जापानमा शिन्तो धर्म पहिलो र बौद्ध धर्म दोस्रो स्थानमा मान्य छन्।
मलाई सम्झना छ, विक्रमाब्ध २०३९ सालतिर म दश कक्षाको विद्यार्थी हुने ताका विद्यालयमा एक जना हुनुहुन्थ्यो, रुद्रनाथ बस्याल गुरु । उहाँ संस्कृत दर्शन र व्याकरण विषयमा भारतको बनारसमा पढेर दीक्षित भएको आचार्य हुनुहुन्थ्यो । अध्यापनका अतिरिक्त खेतीपाती र पशुपालनका साथै गाउँटोलमा पूजापाठ र तमाम कर्मकाण्ड पनि नियमित गरिरहनुहुन्थ्यो।
विद्यालयमा बेलाबखत म उहाँसँग आध्यात्मिकता र भौतिकता अनि धार्मिक कर्मकाण्ड र वैज्ञानिक आचारविचार आदि बारे संवादजन्य बहस गर्थें । विद्यालयको खाली समय हुन्थ्यो र खासगरी त्यही बेला हामी दुईबीच पीपलको रुखमुनि निर्मित ठाँटीमा बसेर लामै बहस चल्ने गर्थ्यो । मेरा नानाभाँति तर्क सुनेपछि कहिले रिसाएर त कहिले झोंक्किएर उहाँ मलाई भन्नुहुन्थ्यो, “जयदेव बाबु, तिमी त चार्वाकवादी कुरा पो गर्छौ । के तिमी चार्वाकका चेला भएका हौ र ?”
यसरी कहिल्यै नपढेको भए पनि मैले पहिलोपटक चार्वाकबारे उहाँबाट नै सुनेको थिएँ । को थिए चार्वाक ? रुद्र गुरुबाट मैले थाहा पाएअनुसार, वेद नमान्ने, धर्म नमान्ने, ईश्वर नमान्ने, पूर्वजन्म–परजन्म नमान्ने व्यक्तिहरू नै चार्वाकवादी हुन् ।
अर्थात, वेद र ईश्वर नमान्ने अनि धाार्मिक एवं सांस्कृतिक कर्मकाण्डहरूलाई अस्वीकार गर्ने मानिसहरूलाई चार्वाकका चेला भनिँदो रहेछ ! पौराणिक कालमा उनी पनि एक जना दर्शनशास्त्री रहेछन् ! र उनको दर्शनलाई ‘चार्वाक दर्शन’ भनिँदो रहेछ ! त्यसो हुँदा त चिन्नु न जान्नु, पढ्नु न सुन्नु, उतिबेला म कसरी चार्वाकको चेला हुन सक्नु ? गुरु पनि गुरु नै हुनुभयो !
तर मलाई बडो खतरा लाग्यो यो चार्वाक दर्शन । चार्वाक भनिने मानिस पनि उस्तै ‘डेन्जर’ लागे । वेद र ईश्वर मान्ने परम विद्वान ऋषि–मुनी अनि आत्मा–परमात्मा एवं देवी–देवताहरूको विशाल जगजगी भएको बेलामा समेत सबल स्थापित सत्तालाई ठाडो हाँक दिन सक्ने मानिस चानचुने हुने कुरा पनि त भएन ।
तर धेरै पछिसम्म पनि कताकति चर्चा सुन्नु बाहेक मैले चार्वाक र चार्वाक दर्शनबारे खासै केही सुन्न र पढ्न पाइनँ । यस सम्बन्धमा उस्तोविधि लेखिएको वा पाठ्य–सामग्री भए गरेको पनि सुनिनँ, किताब आदि किन्न पनि कतै मेसो भएन । अँ, बरु बेलाबखत चार्वाकको नाममा ठट्टा र हँस्यौली गरेको सुन्नमा आउँथ्यो । ती मानिसहरू चार्वाकले भनेको भन्दै संस्कृतका केही पंक्तिहरू सुनाउने गर्थे–
यावज्जीवेत् सुखं जिवेत्, ऋणं कृत्वा घृतं पिवेत् ।
भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः ।।१।।
पीत्वा पीत्वा पुनः पीत्वा, यावत्पतति भूतले ।
उत्थाय च पुनः पीत्वा, पुनर्जन्म न विद्यते ।।२।।
वरमअद्य कपोतः, न श्वो मयूरः ।
सुखमेव स्वर्गं, दुखमेव नरकं ।
मरणमेवापवर्गः ।।३।।
(यी पंक्तिहरूको सरल नेपाली रूपान्तर हुँदो रहेछ, “जहिलेसम्म बाँच्ने हो, सुखपूर्वक बाँच्नु पर्दछ । ऋण काढेरै भए पनि घिउ खानु पर्दछ । एकपटक शरीर त्याग गरेपछि मानिसको जीवन सबै सकिन्छ, पुनर्जन्म भन्ने केही हुँदैन ।।१।।
… मदिरा पिउनु पर्छ, भुइँमै नढल्दासम्म पिउँदै रहनु पर्दछ र त्यसरी ढलेपछि उठेर पुनः नढल्दासम्म फेरि पिउन थाल्नु पर्दछ । अन्तिम पटक ढलेपछि फेरि अर्को पटक जन्मिँदैन ।।२।।
… आज पाएको कपोत अर्थात् परेवा जे भए पनि लिइहाल्नु पर्दछ, भरे भोलि मयूर पाइन्छ वा बनिन्छ भनेर त्यसको आशा गरेर बस्नु हुँदैन । सुख भनेको स्वर्ग हो र दुःख भनेकै नर्क हो । सुख र दुःख जे भने पनि सबै यही धरतीमै छ ।।
… एकपटक मरेपछि अर्थात् एक बारको जीवन सकिएसँगै मानिसको मोक्ष पनि त्यही हो ।।”३।।) ।
कालान्तरमा, उमेरको दगुराइसँगै मेरो गधा–पच्चीसे वयलाई धेरै पछाडि छोडिसकेको समयमा दर्शनशास्त्रका एक जना विद्यावारिधि विद्वान देखभेट भए, डा.डी.के.विकास । उनले भने, “चार्वाकको मूल श्लोक अर्कै छ । त्यसमा भनिएको छ, “काम एवैकः पुरुषार्थः । नास्ति मृत्योरअगोचरः ।।” जसको अर्थ हुन्छ– कर्म नै पुरुषार्थ हो । … मृत्युभन्दा पर केही पनि छैन, अर्थात्, मृत्युपछि केही पनि छैन । मृत्युपछि अर्को जीवन या अर्को दुनियाँ छैन । त्यसकारण यही जीवनमा र यसै संसारमा सुखसँग जिउनु पर्दछ । तर अलि पछि गएर यो श्लोकलाई बिगारेर ‘यावज्जीवेत् सुखं जीवेत्…’ बनाइएको हो ।”
अझ पढ्दै र केही बुझ्दै गएसँगै थप कुरा पनि थाहा भयो– यता चार्वाक भए जस्तै सुदूर उता पश्चिमी जगतमा पनि एक जना प्रगाढ नास्तिक दार्शनिक रहेछन्, फ्रेडरिक नीचा । यी जर्मन दार्शनिकले त ठाडै “ईश्वरको मृत्यु भइसकेको” घोषणा गरीदिए !
यी दार्शनिक लेखकलाई नेपालतिर र भारतसमेत दक्षिण एशियामा फ्रेडरिक नीत्शे भन्ने चलन छ तर जर्मन भाषामा उनलाई ‘फ्रीडरिख नीचा’ भनिँदो रहेछ र अङ्ग्रेजीमा ‘फ्रेडरिक नीचा’ भन्ने गरिन्छ । यिनलाई आधुनिक समयका सबैभन्दा महान (र, सर्वकालीन श्रेष्ठतम दार्शनिकहरूमा प्रथम पाँचमध्येका एक) दार्शनिक पनि भनिन्छ ।
त्यसो त नीचा कहिल्यै आफ्नो दर्शन र दार्शनिक मान्यताबारे प्रवचन दिँदै यताउता हिँडेनन्, बरु उनले जम्मा पचपन्न वर्ष बाँचेको आफ्नो छोटो जीवनमा दर्शन, कविता, सांस्कृतिक आलोचना र उपन्यास समेत जम्मा अठार ओटा युगान्तकारी पुस्तक लेखे । उनको शेषपछि उनका अनुयायी पनि भएनन् र कसैले उनका विचारको प्रचारप्रार गर्दै पनि हिँडेनन् । यो सबै महत् कार्य अर्थात् उनको दर्शन एवं विचारलाई विश्वव्यापी बनाउने काम उनका तिनै विचार–बोझिल किताबहरूले नै गरे ।
नीचाले आफ्नो किताब ‘द गे साइन्स’ मा पहिलो पटक (र, त्यसपछि अर्को किताब ‘दस स्पोक जाराथुष्ट्र’ मा फेरि पनि) भनेका थिए, “ईश्वरको मृत्यु भइसकेको छ (ईश्वर मरिसकेको छ) ।
हामीले नै उसको हत्या गरेका हौं । हामी, हत्याराहरूको पनि हत्यारा, ले कसरी आफूलाई सान्तवना दिन्छौं ? यो समयमा जो सबैभन्दा पवित्र एवं शक्तिशाली थियो, उसलाई त हामीले आफ्नो छुरीहरू रोपेर मारिदिएका छौं… के यस कार्यको महानता हामीभन्दा टाढा छैन र ? बरु केवल यस निम्ती देखिनकै लागि भए पनि, किन हामी आफैँ ईश्वर नबन्ने ?”
उनले अझ अगाडि भने, “जहिलेदेखि बाइबल सार्वजनिक रूपमा आयो, तहिलेदेखि नै त्रासदी पनि शुरु भयो । जहिलेदेखि ईश्वर आयो, मानिस उसको कठपुतली बन्यो । त्यसकारण के चाहिँ आवश्यक छ भने बाइबल र ईश्वर दुवैलाई हटाउनु पर्छ, जसले गर्दा मानिसहरूले आफ्नो उत्तरदायित्व आफैँले लिऊन् र सांसारिक माया भन्दै समय खर्चिनुको सट्टा आवश्यक प्रश्नहरूबारे चिन्तन गरून् । आफ्नो अस्तित्वबारे चिन्ता गरून् ।”
यसरी यी दुई जनाबारे यति मात्र पढ्दाखेरी पनि मलाई चार्वाक र फ्रेडरिक नीचाका सम्बन्धमा चर्चा गर्न रोचक लाग्छ । म जान्दिनँ, चार्वाकको पूरा नाम के हो ? उनको थर र गोत्र के हो ? उनी कहाँ जन्मे–हुर्केका थिए ? उनको गुरुकुल शिक्षा र अन्य विद्या आर्जन कहाँ कता कोसँग भएको थियो ? उनी किन नास्तिक दार्शनिकका रूपमा विकसित भए ? सनातनी र वेदान्तीहरू किन उनलाई घृणा गर्छन् ? तर किन फ्रेडरिक नीचाले कहिल्यै चार्वाकको नियति भोग्नु परेन ? उनको त नाम, थर, व्यक्तित्व, घर, परिवार, खानदान आदि सबैबारे सम्पूर्ण जानकारी उपलब्ध भएर पनि किन कसैले नीचाको खेदो खनेन ? ईश्वर र धर्मविरोधी आफ्नो कडा नास्तिक विचारका बावजूद किन उनी विश्वमै सम्मानित छन् ?
म दर्शनशास्त्रको गम्भीर अध्येता होइन तापनि मलाई यस विषयमा सधैँ जिज्ञासा भइरहन्छ– चार्वाकको यति सुन्दर जीवनवादी श्लोकलाई किन बिगारिएको होला ? चार्वाकलाई किन बदनामीको पर्याय बनाइएको होला ? किन चार्वाक दर्शनलाई निस्तेज पारिएको होला ? किन चार्वाक र उनी सम्बन्धी ग्रन्थहरू जलाइएको वा ध्वस्त पारिएको होला ?
चार्वाकलाई नराम्रो भन्ने वा बदनाम गराउनेहरूमा वामन शिवराम आप्टे नाम भएका एकजना भारतीय विद्वान–विचारक पनि देखिन्छन् । उनी संस्कृत–हिन्दी–अङ्ग्रेजी भाषाका उम्दा जानकार पनि थिए ।
उनै विद्वान आप्टेले आफ्नो बहुचर्चित ‘संस्कृत–हिन्दी कोश’ पुस्तकमा चार्वाकबारे यसो लेखेका छन्, “कुतर्की दार्शनिक जसलाई बृहस्पतिको शिष्य भनिन्छ, र जसले भौतिकवाद एवं नास्तिकताका स्थूल रूपहरूको प्रवर्तन गरेको थियो ।” (प्रकाशक ः मोतीलाल बनारसीदास पब्लिशर्स प्रा.लि., दिल्ली । पृ.३७९ । बाह्रौं संस्करण, २०१५) ।
यसै गरी प्रस्तुत निबन्ध लेख्ने क्रममा मैले सन्दर्भ–ग्रन्थका रूपमा प्रयोग गरेको एउटा किताब चन्द्रधर शर्माको पनि हो । भारतीय लेखक चन्द्रधर शर्माले पहिले अङ्ग्रेजी र पछि हिन्दीमा लेखेको ‘भारतीय दर्शन, आलोचना और अनुशीलन’ (प्रकाशक– मोतीलाल बनारसीदास पब्लिशर्स, दिल्ली, सन् १९९८) शीर्षक पुस्तकमा पृ.२२–२८ गरी सात पृष्ठ चार्वाक दर्शनका सम्बन्धमा दिएका छन् । तर त्यो वर्णन पनि चार्वाक दर्शनप्रति घनघोर नकारात्मक विचारले भरिभराउ छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोषले ‘चार्वाक’ शब्दको अर्थ उल्लेख गर्दै लेखेको छ, “बृहस्पतिको शिष्य मानिने अनीश्वरवादी तथा नास्तिक एक प्रसिद्ध दार्शनिक आचार्य ।। चार्वाक दर्शन– ईश्वर, आत्मा, पुनर्जन्म, परलोक, धर्मशास्त्र आदिलाई नमानी भौतिक सुखलाई मात्र मान्ने चार्वाकको नास्तिक दर्शन ।। चार्वाक मत– चार्वाकले चलाएको मत वा सम्प्रदाय ।। (नेपाली बृहत् शब्दकोष, नेप्रप्र, काठामाडौं, पृ.३८०, दशौं संस्करण, २०५५) ।
चार्वाक दर्शनबारे जान्नबुझ्न खोज्दा के थाहा हन्छ भने भारतीय उपमहाद्वीपमा सबैभन्दा बढी निन्दित र निषेधित दर्शन यही चार्वाक दर्शन हो । यसो भए पनि, थाहा भएसम्म, चार्वाकवादीहरू जहिले खुलेर बोल्थे र आफ्ना कुरा डटेर राख्ने गर्थे ।
यसै क्रममा थाहा हुने तथ्य हो– चार्वाक शब्द संस्कृतको ‘चर्व’ शब्दबाट बनेको छ जसको अर्थ हुन्छ, चपाउनु । विरोधीहरूको मतमा, “जुन मानिसले ईश्वर, आत्मा, परलोक तथा सबै आध्यात्मिक एवं नैतिक मूल्यहरूलाई चपाएर खान्छ, उसलाई चार्वाक भनिन्छ” । चार्वाकको दोस्रो अर्थ हुन्छ, चारु वाक् अर्थात् राम्रो बोल्ने । के भनिन्छ भने ‘चार्वाक’ नाम भएका एक ऋषि थिए र उनले नै स्वयंले स्थापना नगरेको भए पनि यस दर्शनलाई व्यापक तवरले फैलाउने कार्य गरेका थिए।
तर खासमा पौराणिक ग्रन्थहरूका अनुसार, चार्वाक दर्शनको स्थापना देउताहरूका गुरु बृहस्पतिले गरेका थिए । गुरु बृहस्पति आफैँमा भौतिकवादी थिए (यद्यपि देउताहरू भौतिकवादी थिएनन्) ।
बृहस्पतिले यो दर्शन स्थापना गर्नुका पछाडि पनि विशेष कारण थियो । उनले राक्षस पनि भनिने दैत्य वा दानवहरूलाई अन्य दायित्वहरूबाट पन्छाएर आमोद–प्रमोदमा भुलाउनका लागि यो भौतिकवादी दर्शन शुरू गरेका थिए । अर्थात्, देउताहरूले धेरै मिहिनेत नगरीकनै दानवहरूलाई होच्याउन र पराश्रित गर्न सकून् अनि अकण्टक स्वर्गको सुखभोग गर्न सकून् भन्ने थियो । त्यसकारण चार्वाक दर्शनको एक नाम ‘बार्हस्पत्य दर्शन’ पनि हो । बृहस्पति पनि केवल एक जना व्यक्ति मात्र थिएनन, ‘कामसूत्र’ का जनक वात्सायायन पनि एकजना बृहस्पति थिए, उनी पनि चार्वाक थिए।
उल्लेख्य रूपमा देखिएका पहिलो मान्य चार्वाकवादी दार्शनिक थिए– अजीत केशकम्बली, जो छैटौं ईसापूर्वमा सक्रिय थिए । उनी विलक्षण रूपले तार्किक थिए भनिन्छ ।
त्यही समय अर्थात् छैटौं ईसापूर्वमा सिद्धार्थ गौतम बुद्ध, महावीर जैन, लाओत्से, थेलिज वा थेल्स, कन्फ्युसियस, शिन्तो धर्म, हेराइक्लाइटस, पाइथागोरस आदि अनेक विचारक एवं दार्शनिकहरू विभिन्न स्थानमा उदाएका थिए ।
यही समयमा इजरायलमा प्रोफेट मोजेजका प्रवचनहरू सङ्कलन गरेर यहूदी धर्मका पाँचवटा किताब तयार पारिएका थिए । अजीत केशकाम्बलीपछि प्रक्रुध कात्यायन र मख्खली गोशाल आदि आजीवक (नास्तिक) ऋषिहरू पनि उल्लेख्य चार्वाक विचारकका रूपमा देखा परेका थिए ।
चार्वाक दर्शनलाई ‘लोकायत दर्शन’ पनि भनिन्छ किनभने यसले यही लोकको र यसै लोकका वासीहरूको मात्र कुरा गर्दछ । यस दर्शनले केवल प्रत्यक्ष देखिने हामी बाँचिरहेको लोकलाई नै सबैथोक मान्दछ।
चार्वाक दर्शनले वेद, ईश्वर, परलोक, आत्मा, परमात्मा, पुनर्जन्म केही मान्दैन । मृत्युपछि अर्को कुनै लोक छैन भन्दछ । यो दर्शनले भन्दछ, ‘आँखाले देख्ने प्रत्यक्ष प्रमाणले मात्र पुग्दैन, इन्द्रियहरूले पनि प्रमाणित गर्नुपर्दछ ।’ यसो हुँदा केवल प्रत्यक्ष प्रमाण मात्र मान्ने चार्वाक दर्शनले अन्य पाँच प्रमाण क्रमशः अनुमान प्रमाण, शब्द प्रमाण, अर्थपत्ति प्रमाण, अनुपलब्धि प्रमाण र उपमान प्रमाणलाई मान्दैन । भन्छ, “यी प्रमाणहरूले यथार्थ बोक्दैनन् ।”
लिखित इतिहासका पहिलो दार्शनिक माानिएका थेलिज (वा, थेल्स) युनानी थिए । उनले भने, ‘सृष्टि जलबाट बनेको हो ।’ अर्का दार्शनिक एनिक्जामेनिजले ‘सृष्टि वायुबाट बनेको हो’ भने।
अझ अर्का दार्शनिक परमानाइडिजले ‘अन्तिम सत्ता शाश्वत हो’ भने । दार्शनिक एवं विचारक पाइथागोरसले ‘दुनियाँ सङ्ख्याबाट बनेको हो’ भने । अर्का दार्शनिक हेराक्लीटसले ‘सृष्टि अग्निबाट बनेको हो’ भने । त्यस्तै अर्का युनानी दार्शनिक डेमोक्र्याटिसले ‘दुनियाँ परमाणुबाट बनेको हो’ भने ।
यसरी पश्चिममा (युरोपमा) धेरैले भौतिकवादी कुरा गरे तर भारतवर्षमा कम्तीमा चार्वाक नाम भएका एक व्यक्ति थिए जसले ती सबै कुरा एक्लैले भनेका थिए । उनले भनेका थिए, “सृष्टि वायु, जल, अग्नि र पृथ्वी मिलेर बनेको हो ।” चार्वाक आकाशलाई मान्दैनन्।
यसलाई ‘भूतचतुष्ट्यवादिन’ भनिन्छ । अर्कोतिर वेद र उपनिषद्हरूले ‘पाँच तत्व अर्थात् आकाश, वायु, जल, अग्नि र पृथ्वी मिलेर मानव शरीर बनेको हो र मृत्युपछि मानव देह तिनै तत्वमा मिसिन पुग्छ’ भनेका छन् । यसलाई ‘भूतपञ्चकवादिन’ भनिन्छ।
दर्शनको उत्पत्ति र विकास सबैभन्दा पहिले भारतवर्ष र युनानमा भएको मानिन्छ । दक्षिण एशियामा सर्वप्रथम वैदिक युगको शुरूआत भएको हो । यसमा वेदको रचनाकाल ईसापूर्व पन्ध्र सयको आसपास मानिन्छ यद्यपि कोही यसलाई दश वा पाँच हजार वर्षपहिले भएको पनि भन्दछन्।
वेद र उपनिषद् कसले लेखेको हो भन्ने थाहा छैन । धेरै जना वनमा तपस्या गर्दागर्दै अनेक ऋषिहरूले लेखेको हो पनि भन्दछन् । ‘न्याय दर्शन’ भन्छ, “वेदको रचना ईश्वरले गरेका हुन् ।” वेद त बादरायणले लेखेको हो पनि भनिन्छ। उनै बादरायण नै हुन् वेदव्यास भनिने पनि।
दर्शन शब्द संस्कृतको ‘दृश्’ शब्दबाट बनेको हो जसको अर्थ हुन्छ, हेर्नु वा देख्नु । यसलाई ज्ञानचक्षु, प्रज्ञाचक्षु, दिव्यचक्षु आदि पनि भन्छन् । अङ्ग्रेजीमा दर्शनशास्त्रलाई ‘फिलोसोफी’ भनिन्छ, जुन दुई ओटा ग्रीक शब्द ‘फिलोस’ र ‘सोफिया’ मिलेर बनेको हो । यी शब्दहरूको अर्थ हुन्छ– विवेक, बुद्धि वा चेतनाप्रति प्रेम, अर्थात्, ‘लभ फर विजडम’ ।
दर्शनशास्त्रले भन्छ– मानिसले पढ्नु पर्दछ, सिक्नु पर्दछ, जान्न र प्रश्न गर्नु पर्दछ, तर्क र चिन्तन गर्नु पर्दछ । किनभने, ज्ञान जीवनको तयारी होइन, स्वयं जीवन हो । मूलतः दर्शनशास्त्रका तीन भाग मानिन्छ्न्–
१) दर्शनशास्त्रको पहिलो भाग हो, तत्व–मीमांसा वा मेटाफिजिक्स । यस भागले संसार कसरी बन्यो ? कसले बनायो ? संसार किन बन्यो ? आदि प्रश्नको जवाफ खोज्छ । यसका लागि यस भागभित्र पुनः तीन पक्ष प्रमुख हुन्छन्– सृष्टि–मीमांसा वा कस्मोलोजी, ईश्वर–मीमांसा वा थियोलोजी र मनोविज्ञान वा साइकोलोजी । मनोविज्ञानले चेतना वा कन्सियसनेस, अर्थात् ‘म को हूँ’ भन्नेबारे बोल्दछ । यस सम्बन्धमा आधुनिक दर्शनशास्त्रका पिता मानिने फ्रान्सेली विचारक रेँ डेकार्टको यो भनाइ प्रख्यात छ, “म सोच्दछु । त्यसकारण म छु…. आई थिङ्क, देअरफोर आई एम ।”
२) दर्शनशास्त्रको दोस्रो भाग हो– ज्ञान–मीमांसा वा इपिस्टोमोलोजी । यस भागले प्रत्यक्ष प्रमाण मात्र मान्दछ, शब्द प्रमाणलाई मान्दैन । भ्रम र दिग्भ्रम जस्ता पक्षबारे विचार गर्नुपर्ने भन्दछ । (दर्शन शास्त्रमा छ ओटा प्रमाण छन्– प्रत्यक्ष वा मूल्य अर्थात् परसेप्शन, अनुमान अर्थात् इनफेरेन्स, शब्द अर्थात् टेस्टीमोनी वा अथोरिटी, उपमान अर्थात् कम्पोजिशन, अर्थापत्ति अर्थात् इम्प्लीकेशन र अनुपब्धि अर्थात् नन–एक्जिसटेन्स ।) पूर्णतः भौतिकवादी भनिने चार्वाकहरू मूल्य–मीमांसा अर्थात् प्रत्यक्ष प्रमाणलाई मात्र मान्दछन् ।
३) दर्शन शास्त्रको तेस्रो भाग हो– नीति मीमांसा वा एक्जियोलोजी । यो शाखा पनि पुनः दुई भागमा विभक्त छ– नैतिक वा अनैतिक, अर्थात्, इथिक्स, र, सुन्दर वा असुन्दर, अर्थात्, एस्थेटिक्स । प्रश्न उठाइन्छ– सुन्दरता आँखामा हुन्छ ? या वस्तुमा ? अथवा, सुन्दरता सम्बन्धित स्थान र संस्कृतिमा निर्भर हुन्छ ?
दर्शनशास्त्रका यी तीन प्रमुख पक्षसँगै रोचक तथ्य के पनि छ भने दक्षिण एशियामा भौतिकवाद पश्चिमको दाँजोमा एकदमै कम छ तर अध्यात्म वा स्पिरिचुअलिजममा भने अत्यधिक धेरै विविधता र भेराइटी छ । अलि पछि विकसित भएका क्रिश्चियन र इस्लाम धर्मलाई समावेश नगर्दा यहाँ स्थानीय स्तरमै विकसित भएका मूलतः नौ दर्शन छन् ।
ती हुन् क्रमशः साङ्ख्य दर्शन, योग दर्शन, न्याय दर्शन, वैशेषिक दर्शन, मीमांसा दर्शन, वेदान्त दर्शन, चार्वाक दर्शन, जैन दर्शन र बौद्ध दर्शन । यी नौ दर्शनमध्ये साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त दर्शनलाई एकमुष्ट रूपमा ‘षडदर्शन’, ‘षटदर्शन’ वा ‘सनातन’ दर्शन भनिन्छ र यी सबै आस्तिक दर्शन हुन् । बाँकी अन्य तीन दर्शन अर्थात् चार्वाक, जैन र बौद्ध दर्शन नास्तिक दर्शन वा धर्म हुन् भने चार्वाक दर्शन एक्लो भौतिकवादी वा जडवादी दर्शन हो, पदार्थवादी दर्शन हो ।
(पछि गएर नवौं शताब्दीमा आदिगुरु शङ्कराचार्यले ‘अद्वैत वेदान्त’ दर्शनको सूत्रपात गरे भने लगत्तै त्यसपछि रामानुज आचार्यले ‘वैष्णव वेदान्त दर्शन’ अथवा ‘विशिष्ट अद्वैतवाद’ शुरू गरे । (उनै रामानन्दका शिष्य सन्त कबीरदास समाज सुधारक कविका रूपमा निकै प्रसिद्ध भए । ‘दोहा’ भनिने उनका कवितात्मक दुई पंक्तिका सूत्र भारतमा अत्यधिक प्रचलित छन्) । यसै गरी, चौधौं शताब्दीमा माधवाचार्य विद्यारण्यले ‘द्वैतवाद’, बल्लभाचार्यले ‘शुद्ध अद्वैतवाद’ ल्याए भने आचार्य निम्बार्र्कले ‘द्वैत अद्वैतवाद’ दर्शनको शुरूवात गरे) ।
चार्वाक दर्शनबाहेकका अन्य आठ दर्शनले “यो जगत दुःखले भरिएको छ र दुःखबाट मुक्त हुनु अर्थात् मोक्ष वा कैबल्य प्राप्त गर्ने मार्गमा लाग्नु नै जीवनको मूल उद्देश्य हो” भनेका छन् । तर चार्वाक दर्शनले सृष्टि आफैँ बनेको हो भन्छ । मानवमा चेतनाको विस्तार पनि उसभित्रकै विभिन्न तत्व वा पदार्थको मिलनबाट भएको हो र त्यसो हुनुमा कुनै बाहिरी शक्तिको केही कत्ति भूमिका छैन, हुँदैन भन्छ । यो दर्शनले भन्छ–
“चैतन्यविशिष्टो देह एवं आत्मा ।
किण्वादिभ्यो मदशक्तिवत् विज्ञानं ।
जडभूतविकारेषु चैतन्यं यत्रु दृश्यते ।
ताम्बूलपूगवर्णनां योगाद् राग इवोत्थितम् ।।”
संस्कृतमा विज्ञान शब्दलाई चेतनाको अर्थमा प्रयोग गरिँदै आएको देखिन्छ । त्यस्तै यहाँ ताम्बूलको अर्थ पान भन्ने हो । यसरी यो श्लोकको अर्थ हुन जान्छ– पानमा राखिने पात, कत्था, चूना, सुपारी र अन्य मरमसला कुनैमा रातो रंग हुँदैन तर त्यो मिश्रण खाएपछि जीब्रो, ओंठ सबै रातो हुन्छ, । शरीरको विशिष्ट अवस्थाले गर्दा मानव शरीरमा चेतनाको विकास शरीरभित्रै भएका चार तत्व हावा, पानी, आगो र पृथ्वीको मिलनबाट हुन्छ।
चार्वाकहरू –षडदर्शनमा जस्तो पाँचौं तत्व अर्थात्– आकाश तत्वलाई मान्दैनन् । बरु भन्छन्– भौतिक वस्तुमा विकारको अनुपात मिलेर चेतना जन्मिन्छ, पान खाएपछि मुखमा लालिमा देखिए जस्तै चेतना उत्पन्न हुन्छ । मानवमा हुने चेतनाको उत्पत्ति र विकास पशु–पंक्षीमा हुँदैन किनभने मानव–शरीरको संरचना पशुपंक्षीको भन्दा विशिष्ट हुन्छ।
चार्वाकले यो जगत र यही मानव जीवन नै एकमात्र सत्य हो, त्यसकारण यसैलाई सुधार्नु पर्छ भने । घर, परिवार, समाज छाडेर वन–जङ्गल जाने र कोही आजीवन एउटै खुट्टामा मात्र उभिने त कोही “भगवानलाई चढाएको” भन्दै एउटा हात माथि उठाएको उठायै गर्ने अनि अझ अरूहरू यस्तैयस्तै असाधारण कार्य गर्ने गराउने प्रवृत्तितिर लाग्नुभन्दा बरु प्रत्यक्ष जीवन र जगत सपार्न लाग्नु धेरै बढी श्रेयस्कर हुन्छ ।
यसरी चार्वाक दर्शनले दिए भनेका विचार अध्ययन गर्न, चिन्तन र मनन गर्न, सम्वाद र बहस गर्न अनि उचित लागेमा आफ्नो जीवनमार्ग बनाउन कुनै रोकावट नहुनु पर्ने हो । तर समस्या के छ भने लगभग शुरूदेखि नै यो दर्शनलाई दबाउने, हेलाहोँचो गर्ने, सार्वजनिक रूपमा सम्वाद र शास्त्रास्त्र गर्न नदिने आदि हुँदै आयो।
सनातनी षड धर्मावलम्बीहरूले आफू विरोधी चार्वाक दर्शनलाई कहिले पनि सहन सकेनन्, न उहिले न अहिले । सनातनी वा वेदान्तीहरू सधैँ चार्वाक दर्शनप्रति अग्घोरै असहिष्णु एवं असंवेदनशील रहँदै आए । यस क्रममा चार्वाकका जे जति रचना वा ग्रन्थहरू थिए, ती सबै ध्वस्त पारिए भने चार्वाक गुरु र चार्वाकवादीहरूलाई बदनाम गर्ने गराउने नियोजित कार्य हुँदै आयो।
चार्वाक दर्शनबारे मौलिक ग्रन्थ उपलब्ध छैनन् । के मानिन्छ भने बाह्रौं शताब्दीसम्म ‘चार्वाक सूत्र’ भन्ने एउटा पुस्तक कताकति उपलब्ध थियो र त्यसमा चार्वाक दर्शनसम्बन्धी सबै सूत्र र टिप्पणीहरू थिए । तर अचेल न त्यो पुस्तक भेटिन्छ न त्यसमा उल्लेख भएका सूत्र । केबल केही छिटपुट सूत्रहरू (जसलाई ‘फ्रेग्मेन्ट्स अफ चार्वाक फिलोसोफी’ भनिन्छ) उपलब्ध छन्।
त्यसकारण यस दर्शनबारे केही अध्ययन गर्नु परे उही षड् दर्शन–ग्रन्थहरू पढ्नु पर्छ, जहाँ चार्वाक दर्शनलाई बेठीक एवं वेद तथा ईश्वरविरोधी नास्तिक विचारका रूपमा यदाकदा उल्लेख गरिएको छ ।
धेरै शताब्दीपछि चौधौं शताब्दीमा दर्शनाचार्य विद्वान माधवाचार्य विद्यारण्यले ‘सर्वदर्शन सङ्ग्रह’ नामक महत्वपूर्ण ग्रन्थ लेखे, जुन ग्रन्थमा सम्पूर्ण भारतीय दर्शनबारे सविस्तार लेखिएको छ र यस क्रममा चार्वाक दर्शनबारे पनि गम्भीर ढङ्गले लेखिएको छ । विद्वानहरू भन्छन्, चार्वाक दर्शनबारे सबैभन्दा बढी सामग्री हाल यही ग्रन्थमा पाइन्छ।
अलि पछि गएर भारतमै दर्शनाचार्य डी.आर.शास्त्रीले पहिले ‘चार्वाक षष्ठी’ र पुनः केही वर्षपछि ‘चार्वाक पञ्चशिखा’ भन्ने दुई पुस्तक लेखेर प्रकाशित गरे । यसै गरी अर्का विचारक सर्वनन्द पाठकले पहिले अङ्ग्रेजी र पछि हिन्दी अनुवादमा ‘चार्वाक फिलोसोफी’ भन्ने पुस्तक लेखेर प्रकाशित गराए।
अहिले दर्शनशास्त्रका परिचयात्मक पुस्तकहरूमा चार्वाकलाई गाली गर्दै भए पनि र चार्वाक दर्शनलाई तुच्छ एवं तिरस्कृत दर्शनका रूपमा भए पनि एकाध पृष्ठमा उल्लेख गर्ने गरिएको पाइन्छ । अझ कतिपयले त ‘धूर्त चार्वाक’ र ‘सुशिक्षित चार्वाक’ भन्दै चार्वाक दर्शनलाई मान्नेहरूबीच जबर्जस्ती विभाजन–रेखा कोर्ने पनि गरेका छन्।
उल्लेखनीय के चाहिँ छ भने आफूलाई विश्व–दर्शनका ज्ञाता एवं असल अध्येता भनिन रुचाउने दर्जनौं नेपाली जनहरूले भौतिकवादी दर्शनको चर्चा गर्ने गरे पनि नेपालको हिमाली दर्शनको एक भागको रूपमा लिन सकिने चार्वाक दर्शनका बारेमा उस्तोविधि केही लेखेका छैनन् ।
यी नेपाली जनहरूलाई खासगरी जर्ज हेगल, लुडविग फायरवाख, फ्रेडरिक एङ्गेल्स र कार्ल मार्क्स आदि दार्शनिकहरूकै सेरोफेरोमा छलफल गर्नुमा नै आफूहरूको महत्ता र उपादेयता देख्ने गर्छन् !
बरु विशिष्ट दार्शनिक तथा भारतका पूर्व राष्ट्रपति डा.सर्वोपल्ली राधाकृष्णन्ले भनेका छन्, “चार्वाकले हिन्दु दर्शनलाई जड कट्टर (डोगम्याटिक) हुनबाट बचाए । ‘एक बारको जीवन सुखपूर्वक बाँच्नु पर्दछ भने पनि चार्वाक दर्शन सुखवादी दर्शन (हेडोनिजम) होइन । चार्वाकले संदेहवादमा विश्वास गर्दै आत्मा र चेतनाको व्याख्या गरे।
अहिले सञ्चार प्रविधिको अभूतपूर्व उन्नति भइरहेको बेला ‘मान्छेले जस्तै र अझ बढी पनि काम गर्ने कम्प्युटर अनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता साधनमा त आत्मा पनि छैन, परमात्मा र चेतना पनि छैन’ भन्ने बहस उठिरहेको छ । यस्तोमा ईश्वर, धर्म, आत्मा, पुनर्जन्म आदि जस्ता तमाम कुरा कुना पसिरहेका छन्।
उसै पनि दर्शनशास्त्र जीवन र जगतलाई बुझ्ने विचारधारात्मक माध्यम हो । यसमा मानिसको बौद्धिक सारतत्व अभिव्यक्त भएको मानिन्छ । यो आफैँमा सारा संसार हो । दुनियाँमा जे जति विषयगत कुराहरू छन्, ती सबै दर्शनभित्र –दर्शनशास्त्रभित्र– अटाएका छन्।
दर्शनले नै संसारको विस्तृत व्याख्या गर्छ । दर्शनले नै –विचारक कार्ल माक्र्सले भने झैं– अहिलेसम्मका दर्शनले संसारको व्याख्या मात्र गर्दै आएका छन् तर मूल कुरा त संसारलाई बदल्ने हो । अर्थात्, दर्शनले नै संसार बदल्ने कुरा पनि उत्तिकै गर्छ । यसका लागि “म के हुँ ? किन छु ? कसरी यहाँ आएँ ? अनि यहाँबाट कहाँ जान्छु ? जीवन के हो ?” जस्ता मानव जीवनका मूलभूत प्रश्नहरू दर्शनले हेर्छ ।
‘ईश्वरको मृत्यु भइसकेको’ घोषणा गर्ने फ्रेडरिक नीचा भन्ने गर्थे, “ईश्वरको मृत्युपछि संसारमा देखिने रिक्ततालाई साहित्य, गीत, संगीत र संस्कृतिले भर्न सकिन्छ । यो बेला समाजमा ‘दास मानसिकता’ (हर्ड मेन्टालिटी) भएका बहुतायत मानिसहरूको हुलबाट विशिष्ट मानव (ओवरमान्च वा सुपरम्यान) को उदय हुन्छ ।
उनीहरू अन्य तमाम सामान्य जनहरूभन्दा खास हुन्छन् र उनीहरूले नै समाजलाई दक्ष नेतृत्व प्रदान गर्ने छन् ।” यति मात्र नभएर नीचाले आप्mना किताबहरू मार्फत आम मानिसलाई क्रिश्चियन नबन्न पनि जोडदार आग्रह गरेका छन् ।
युरोपमै पनि विचित्र प्रतीत हुने यस्ता अनेक विचार व्यक्त गर्ने फ्रेडरिक नीचाका पुस्तकहरू अचेल लाखौंमा बिक्री हुन्छन् र दुनियाँभर करोडौं जनद्वारा पढिन्छन् । जर्मनीमा उनका सालिक ठड्याइएका छन् । उनको सम्झना र सम्मानमा सङ्ग्रहालय स्थापना गरिएको छ जसलाई हेर्न अनि उनको जीवनलाई अनुभूत गर्न वर्षेनी लाखौं पर्यटक जर्मनी धाउने गर्छन् ।
नीचा मात्र होइन, ईश्वर र धर्मलाई भन्दा मानिसलाई नै सबै कुरा मान्ने अरू पनि तमाम चिन्तकहरूको उच्च सम्मान छ र उनीहरूलाई जे जसरी भए पनि खुलेर पढ्न औ छलफल गर्न पाइन्छ । तर खोई त दक्षिण एशियामा चार्वाक र चार्वाक प्रवृत्तिका विचारकहरूप्रति यस किसिमको संवेदना, सहिष्णुता र सम्मानको सानो भावना पनि ?
उहिलेको कुरा, युनानमा इपिक्युरस भन्ने दार्शनिक थिए । उनलाई ‘युनानका चार्वाक’ भने पनि हुन्छ किनभने उनी पनि कुनै ईश्वरीय सत्ता वा देवी–देवता र पुनर्जन्म आदि केही छैन, हुँदैन भन्थे । तर यसो भए पनि उनका कुनै पनि पुस्तक वा ग्रन्थहरू कहिल्यै जलाइएनन् ।
यसै गरी, सर्वसाधारण जनतालाई हरे कुरामा संदेह गर्न र प्रश्न गर्नु पर्छ भनेर सिकाइरहने सोक्रेटसलाई सत्ताले मृत्युदण्ड दियो तर उनका प्रचार सामग्री वा उनको विचार समेटिएका पुस्तकहरू भने न त जलाइए न ध्वस्त पारिए । व्यक्ति मरे पनि व्यक्तिका विचार मर्दैनन् ।
व्यक्तिलाई मारे पनि व्यक्तिका विचारलाई मार्न सकिँदैन । प्राचीन ग्रीसदेखि केही दशक पहिले अमेरिकामा भएको मानव अधिकारवादी अश्वेत नेता मार्टिन लूथर किङ जुनियरको हत्यासम्म र त्यसपछिका वर्षहरूमा समेत यदाकदा देखिने यस्तै किसिमका घटनाहरू विचार, वाक् तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा जोडदार दृष्टान्त बनिरहेका हुन्छन् ।
फ्रेडरिक नीचा मात्र होइन पश्चिम जगतका अनेक दार्शनिक एवं विचारकहरू ईश्वर र कर्मकाण्ड मान्दैन थिए । यी अनेक नितान्त नास्तिक पश्चिमी दार्शनिकहरूमा प्रमुख रूपले चिनिएकाहरूमा एन्टोनियो ग्राम्सी, लुड्विग फायरवाख, कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्स, आर्थर शोपेनआवर, म्याक्स स्टर्नर, हर्बर्ट स्पेन्सर, जँ–पल सात्र्र, अल्बर्ट कामु, ज्याक डारिडा, मिशेल फुको, निकोलाई चेर्नीशेभस्की, ब्यारोन डी’होल्बाख, अगस्ट कोम्टे, डेभिड ह्युम, जेरेमी बेन्थम, सिमोन द बुआ, ब्रुनो बायर, रोलाँ बार्थ, जर्ज बटाय, मिखाइल बुकानिन, जर्ज प्लेखानोभ, हिलारी पट्न्याम, बट्र्रान्ड रसेल, जर्ज शान्तायाना आदि छन्।
यिनका अतिरिक्त जर्दानो ब्रुनो, लुसिलियो भानिनी, जोन अफ आर्क आदि अनेकअनेक स्वतन्त्र विचारक एवं दार्शकिहरूलाई तत्कालीन चर्च–सत्ताले दुर्दमनीय यातनापछि मृत्युदण्ड दिएको थियो ।
तर आज उनीहरू सर्वसम्मानित छन् । तिनीहरू–जसले उनीहरूलाई दण्ड–सजाय दिए– सार्वजनिक तवरमै क्षमायाचना गर्दै उनीहरूलाई सम्मानित गर्न विवश भएका हुन् ।
त्यसकारण ती युगजनीन परिवर्तनकारी मानिसहरू नरहे पनि उनीहरूले लेखेका वा अन्य किसिमले सिर्जना गरेका सामग्रीहरू अहिलेको र भावी पुस्ताका लागि मानवताको उच्च नासो बनेका छन् ।
हिमवत्खण्ड भारतवर्षको दर्शन एवं विचारको क्षेत्रमा वैचारिक असहिष्णुता र निषेधको मनोभावना अत्यन्त निर्मम ढङ्गले उच्च रहेको देखिन्छ । राजा जनकको दरबारमा एक पटक शास्त्रास्त्र भइरहेको बेला आफ्ना तर्कहरू निरन्तर कमजोर पर्दै गइरहेको र आफू निरुत्तर हुँदै जानुपर्ने अवस्था आउँदै गएको पाएर ऋषि याज्ञवल्क्यले दुई विदुषी गार्गी र मैत्रेयीलाई शास्त्रास्त्र छाडेर मौन बस्न अन्यथा प्राण जान सक्ने धम्कीपूर्ण चेतावनी दिएको प्रसङ्ग अक्सर उठ्ने उठाइने गरिन्छ ।
यसै सन्दर्भमा, नेपालमा मार्क्सवादी दर्शनका एक ज्ञाता मानिने गुरु गोपीरमण उपाध्यायले नेपाल प्रज्ञा प्रतिष्ठानबाट वि.सं.२०७९ मा सं.प्रा.जगत उपाध्याय ‘प्रेक्षित’ को सम्पादनमा प्रकाशित ‘नेपाली दर्शन’ पुस्तकमा आफ्नो ‘नेपालमा बौद्धधर्मको उद्भव र विकास’ शीर्षक लेखमा लेखेका छन्, “उपनिषद्को ब्राह्मण धर्मले जुनसुकै विषयलाई पनि हठपूर्वक यही नै हो भन्ने धारणा राखेको हुन्छ ।
कतिपय दार्शनिक बहसहरूमा उपनिषद्का ऋषिहरू तर्कमा चुकेर हार्न थालेको अवस्थामा विपक्षी विचारकलाई मार्नेसम्मको धम्की दिने र कतिपय अवस्थामा उनको टाउकै काटीदिनेसम्मका ज्यादती भएको देखिन्छ । यसको ज्वलन्त उदाहरण बृहदारण्यक उपनिषद्को विदग्धशाकल्यको घटनालाई लिन सकिन्छ जसमा दार्शनिक छलफलका क्रममा ऋषि याज्ञवल्क्यले रिसाएर टाउको नै काटीदिएको घटना उल्लेख छ ।” (पृ.१६९) ।
मलाई के लाग्छ भने चार्वाक दर्शन ईश्वर, वेद, आत्मा, परमात्मा, पुनर्जन्म, धार्मिक कर्मकाण्ड आदि नमान्ने भए पनि र यो दर्शन राम्रो नराम्रो वा ठीक बेठीक वा असल खराब आदि जे जस्तो भए पनि समाजले र प्रत्येक समकालीनसँगै पछि आउने पुस्ताहरू सबैले पढ्न–बुभ्mन पाउनु पर्दछ । पढेर बुझिसकेपछि यो दर्शनलाई मान्ने नमान्ने वा आत्मसात गर्ने नगर्ने भन्ने पक्ष सम्बन्धित व्यक्तिमा छोडीदिनु पर्दछ । सायद यही कुरा महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो ‘प्रमिथस’ महाकाव्यमा लेखेका छ्न्–
“एक दर्शनमा ज्ञान अनन्त छ,
एक वाणीमा वेद हजार !
धर्म यसै गरी जन्मे होलान्,
साहित्य, कला औ संसार !”
सामाजिक–राजनीतिक–सांस्कृतिक सबै किसिमका उन्नति र प्रगतिको मार्ग नै के हो भने कतै केही छेकथुन नगरीकन सयौं फूलहरूलाई फुल्न दिनु पर्छ । र, सिर्जनाका सबै ढोकाहरू खुल्लै रहन दिनु पर्दछ । उता पश्चिमी जगतमा फ्रेडरिक नीचा वा नीत्शेहरू जस्तै यता पनि हजारौं चार्वाकहरूले निस्फिक्री रमाउँदै जीवन बस्न–हिँड्न–डुल्न–बोल्न–विचार्न र आफूलाई लागेको लेख्न अनि निष्कण्टक अभिव्यक्त हुन पाउनु पर्दछ ।
प्रतिक्रिया 4