+
+
Shares

राजावादी आन्दोलन भाँडिएपछि निजी सम्पत्तिमा खुलेआम लुट

तीनकुनेमा शान्तिपूर्ण प्रदर्शन हुँदा गणेश ढकालको रेस्टुरेन्ट अन्य बेलाभन्दा बढी चल्थ्यो । शुक्रबारको अपेक्षा पनि त्यही थियो, तर नतिजा ठिक विपरीत आयो । उनको लाउन्जमा मात्रै १ करोडभन्दा बढीको क्षति भयो ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ चैत १७ गते २२:१०

१७ चैत, काठमाडौं । शुक्रबारको घटनापछि तीनकुने क्षेत्रमा अहिले चहलपहल बढे पनि व्यवसायी र स्थानीय त्रसित देखिन्छन् । अग्ला सिसाका घर, सटर, रेस्टुरेन्ट, विभिन्न कार्यालय तोडफोड भएको, आगजनी भएको दृश्यको फोटो लिनेदेखि घटनाबारे जिज्ञासा राख्नेको ठूलै जमात तीनकुनेमा देखिन्छन् ।

काठमाडौंको प्रमुख केन्द्रमध्ये एक बागमती पुलदेखि तीनकुने हुँदै एयरपोर्टतर्फ जाने सडकमा धेरै क्षति पुगेको छ भने कोटेश्वरबाट तीनकुने बागमती पुलतर्फ आउने सडकमा पनि क्षति पुगेको छ ।

ठूला भवन र सिसा रहेको भवन अधिकांशमा राजावादी प्रदर्शनकारीले ढुंगा हान्दा फुटेको छ । तीनकुनेको मार्बल हाउस, बीएमडब्लू र हुन्डाईको शोरुम मात्र होइन, विभिन्न रेस्टुरेन्टका सिसा फुटाइएको छ ।

आइतबार अनलाइनखबर टोली स्थलगत अवलोकनमा जाँदा अधिकांश भवनमा सरसफाइ चलिरहेको थियो । केही घरबाट १० बोरासम्म फुटेका सिसा बाहिर ल्याएर थुपारेको भेटिन्छन् । धेरै सटर आज पनि बन्द अवस्थामा छन् ।

‘व्यापार बढ्ने अपेक्षा थियो, ज्यान बचाउन धौधौ भो’

तीनकुनेमा शुक्रबार रोयल लाउन्ज एन्ड क्याफे चलाइरहेका गणेश ढकाल अन्य समयभन्दा धेरै व्यापार गर्ने लक्ष्यमा थिए । तीनकुनेमा शान्तिपूर्ण प्रदर्शन हुँदा उनको रेस्टुरेन्ट अन्य बेलाभन्दा बढी चल्थ्यो ।

शुक्रबारको अपेक्षा पनि त्यही थियो, तर नतिजा ठिक विपरीत आयो । उनको लाउन्जमा मात्रै १ करोडभन्दा बढीको क्षति भयो ।

‘हाम्रो सटर राखेर चलाउने रेस्टुरेन्ट होइन, टफेन ग्लास राखेको हो । अहिले एउटा पनि सिसा बाँकी छैन,’ ढकालले भने ।

उनले रेस्टुरेन्टमा रहेको कफी बनाउने मेसिन, भान्साका सामान, कुर्सी, टेबुल सबै तोडफोड भएको बताए । उनले सीसी क्यामरा फुटाएर आइसक्रिम लुटेर फ्रिज तोडफोड गरेको बताए ।

‘हामीले झन् व्यवस्थित गरौं भनेर लगानी थपेर राम्रो लाउन्ज बनाएका थियौं । सबै ध्वस्त भयो । न हामी पक्ष थियौं न विपक्षमा, यत्तिकै हामी चेपुवामा पर्‍यौं,’ गहभरि आँसु पार्दै उनले भने, ‘अब हामीले क्षतिपूर्ति त माग गर्नैपर्छ तर कोसँग माग गर्ने, कसले दिने ? आफ्नो काम चुपचाप गरिरहने मान्छेलाई त साह्रै गाह्रो भयो नि,’ उनले भने ।

आफूहरू पछाडि गेटबाट भाग्न सफल भएको भन्दै उनले केही ट्राफिक प्रहरीलाई कुकको ड्रेस लगाएर समेत जोगाएको बताए । उनको लाउन्ज छेउमा रहेको सानो खुद्रा पसलका वीरेन्द्र मगरले शुक्रबारको आन्दोलनपछि डरले आज मात्रै पसल खोलेको बताए ।

‘हामीले पानी, चाउचाउ, स–साना सामान बेच्छौं । शनिबार तीनकुने पार्कमा मान्छे बढी हुने भएर अलि धेरै सामान हालेको थियौं तर शुक्रबार नै त्यत्रो आन्दोलन भयो,’ मगर थप्छन् ‘ हाम्रो सानो पसल भएर धेरै ढुंगामुढा भएन । तर पसलमाथिको जस्ताभरि ढुंगाका टुक्रा छन् । दुई दिन व्यापार बन्द भयो । अब फेरि आन्दोलन भयो भने हामीले त भाडा नै तिर्न सक्दैनौं,’ उनले भने ।

शुक्रबार पत्रकार सुरेश रजकको मृत्यु भएको घरसँगै जोडिएको घरमा एयर म्याक्स कुरियर कम्पनीमा काम गर्ने अमित कुटु मृत्युको मुखबाट बाँचेको बताउँछन् ।

‘सुरुमा आन्दोलन नै भएको थिएन, एक्कासि मान्छे भागाभाग गर्न थाले, अश्रुग्यास हानिएको रहेछ । त्यसको केहीबेरमा त ढुंगामुढा सुरु भयो । हामी सटर तानेर बस्यौं,’ उनले सुनाए ।

सटर तानेर बसे पनि अश्रुग्यास र अर्को घरमा लागेको आगोको धुवाँले सास फेर्न गाह्रो भएको उनले सुनाए । ‘हामी सटर खोलेको भए आन्दोलनकारीबाट कुरियरको सामान, पैसा जोगाउन सकिँदैन थियो । हामी इन्टरनेसनल कुरियर पनि गर्ने भएर झन् महत्त्वपूर्ण सामान थियो,’ उनले भने, ‘सटरमा ढुंगा बजिरहेको थियो । हामी भित्रबाट सटर थिचेर बसिरहेका थियौं । सम्झिँदा पनि डर लाग्छ ।’

उनका अनुसार केही मान्छे त आन्दोलन भनेर लुट्न आएको नै थिए । सटर लगाएर बसेपछि माथि रहेको सहकारीको ल्यापटप, घडी चोर्न पनि भ्याए । धेरै आन्दोलनकारीले लुट्न आएको जस्तो पो गरे ।

उनले भने जस्तै तीनकुनेको विराट सहकारीमा राजावादी आन्दोलनमा आउनेले ल्यापटप सहित अन्य सामाग्री लुटेका थिए ।

‘उनीहरूले के–के लुट्न मिल्छ सबै लुटे । धेरैले मुखमा रुमाल बाँधेका थिए । उनीहरू राजनीतिक दलका कार्यकर्ता जस्तो देखिएका थिएनन्,’ एक प्रत्यक्षदर्शीले भने ।

तीनकुनेमा आइसक्रिम, कोल्ड कफी पसल चलाउने सरोज रौनियार पनि शुक्रबारको घटना कहालीलाग्दो भएको बताउँछन् ।

‘तीनकुनेमा हाम्रो जस्तो पसल शनिबार नै धेरै चल्छ, अरू बेला यहाँ हुने प्रदर्शनले पनि फाइदा हुने गथ्र्यो तर अस्ति त पसल छाडेर ज्यान जोगाउन तिर लाग्नुपर्‍यो,’ रौनियार भन्छन् ।

उनी वैदेशिक रोजगारीमा दुःख पाएर आएपछि कोल्ड कफी पसल चलाइरहेका छन् । ‘नेपालमा अब आफैं केही गर्छु भनेर आएको दुई वर्ष भयो, अब यस्तै आन्दोलन भइरह्यो भने फेरि विदेश जानुको विकल्प नै छैन,’ उनले भने, ‘हामी व्यापार गर्ने मान्छेसँग राजावादीलाई के रिस भयो होला ? आएर सटरमा लात्ताले हानेका छन् । बत्ती फुटाइदिएका छन् । अब कसलाई के भन्नु, बोल्यो भने फेरि भोलि पसल नै आगो लगाइदिने हुन् कि भन्ने डर छ ।’

तस्वीर/भिडियो : विकास श्रेष्ठ

लेखक
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?