+
+
Shares

पोखरा विमानस्थलबारे लेखा उपसमिति : नीतिगत आवरणमा शृंखलाबद्ध भ्रष्टाचार

१४ अर्ब रुपैयाँको लागतलाई २२ अर्ब पुर्‍याउने नीतिगत निर्णयपछि पोखरा विमानस्थल निर्माणमा शृङ्खलावद्ध अनियमिता भएको लेखा समितिले गठन गरेको उपसमितिको प्रारम्भिक निष्कर्ष ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८१ चैत २४ गते २१:५०
फाइल तस्वीर

२४ चैत, काठमाडौं । संसद्‍को सार्वजनिक लेखा समितिको एक उपसमितिले पोखरा विमानस्थल निर्माणमा नीतिगत आवरणमा शृङ्खलाबद्ध भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

पोखरा विमानस्थल निर्माणबारे लेखा समिति सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन भएको उपसमितिले मन्त्रिपरिषद्को नीतिगत निर्णयको आवरणमा विमानस्थलको लागत बढाइएको र त्यसपछि शृङ्खलाबद्ध भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो ।

बिहीबारको बैठकमा उपसमितिका सबै सांसदहरू विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षमा पुगेपछि लेखा समितिको सचिवालयले प्रतिवेदनको मस्यौदा बनाउन थालेको छ ।

उपसमितिका संयोजक एवं राप्रपा संसदीय दलका नेता लिङ्देनले पोखरा विमानस्थल निर्माण नेपालकै ठूलो भ्रष्टाचारमध्ये एक देखिएको बताए ।

‘१४ अर्ब रुपैयाँको लागत अनुमानलाई चुनावी उद्देश्यले गठन भएको सरकार (खिलराज रेग्मी) ले २२ अर्ब पुर्‍यायो, त्यसपछि कैयौं प्राविधिक त्रुटि र आर्थिक विचलनहरू देखिए,’ उपसमिति संयोजक लिङ्देनले अनलाइनखबरसँग भने, ‘भेटिएका अनियमितताका विवरण शीर्षकअनुसार संकलन गर्ने काम भइरहेको छ, केही ठाउँमा थप विवरणका लागि पत्राचार भएको छ ।’

संविधानसभाको दोस्रो निर्वाचन गर्न तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा गठन भएको सरकारले सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिनाको नेतृत्वमा समिति गठन गरेर १४ अर्बको लागत अनुमानलाई २२ अर्ब पुर्‍याएको थियो । उपसमितिका एक सदस्य भन्छन्, ‘त्यो नै नीतिगत आवरणमा भएको पहिलो बेथिति थियो ।’

नेपाल सरकार र चिनियाँ निर्माण कम्पनी सीएएमसीबीचको सम्झौताअनुसार, विमानस्थल निर्माणमा प्रयोग हुने उपकरण लगायतका सामग्री ल्याउँदाको करको दायित्व निर्माण कम्पनी सीएएमसीको हुने उल्लेख थियो । पछि भने पटक-पटक सरकारले कर छुट दिएको भेटिएको छ ।

उपसमितिमा रहेका कांग्रेस सांसद अर्जुननरसिंह केसीका अनुसार, पोखरा विमानस्थलको अनियमितता राज्यशक्तिको दुरुपयोगको एउटा उदाहरण हो । विमानस्थलको स्टिमेट बनाउनेदेखि साजसज्जा र उपकरण जडान गर्दासम्म अनियमितता भेटिएको उनले बताए ।

‘सुरुमा त एसियाली विकास बैंकले जे स्टिमेट गरेको थियो, त्यसलाई निकै बढाएर निर्माण कार्य अघि बढाइयो, निर्माणको गुणस्तरदेखि कर राजस्वका विषयहरू यसमा उठेका छन्,’ उनले भने, ‘हामी प्रतिवेदनको तयारीमा छौं । केही दिनमा नै लेखा समितिमा प्रतिवेदन पेस हुनेछ ।’

लेखा समितिको उपसमितिले अध्ययन गर्दा कर छुट भएको रकम मात्रै २ अर्ब २० करोड रुपैयाँ रहेको फेला पारेको छ । सरासर भ्रष्टाचार देखिने यो काममा विभिन्न सरकार, मन्त्रीहरू र सचिवसमेत संलग्न भएको उपसमितिको निचोड छ । बाह्य दबाब आउने भन्दै उपसमितिका पदाधिकारीहरूले निर्णय प्रक्रियामा संलग्नको नाम सार्वजनिक गरेका छैनन् ।

ठेक्का सम्झौताअनुसार, नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ कम्पनी सीएएमसबीच निर्माण पूरा भएर चालु अवस्थामा पुगेपछि मात्रै विमानस्थल हस्तान्तरण गर्नुपर्ने थियो । विमानस्थल सञ्चालनमा ल्याउन पूर्वाधार निर्माण गरी, सुविधाहरू जडान भएपछि सञ्चालनमा ल्याउने दायित्व ठेकेदारको हुने उल्लेख थियो ।

तर, सबै काम पूरा नहुँदै विमानस्थल हस्तान्तरण भयो । तोकिएभन्दा कम उचाइमा धावनमार्ग निर्माण भएका कारण मझौला र ठूला विमानहरू सञ्चालन हुन नसक्ने भए । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल अगाडिको छिनेडाँडा काट्ने काम अघि बढाएको हो ।

छिनेडाँडा काट्न मात्रै नागरिक उड्डयन प्राधिकरणबाट करिब ३२ करोड २ लाख रुपैयाँ भुक्तानी भएको छ । चिनियाँ ठेकेदारले गर्नुपर्ने काममा प्राधिकरणले खर्च गर्‍यो । उपसमितिका एक सदस्यका अनुसार, त्यो काममा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी जिम्मेवार छन् ।

उपसमितिका एक सदस्यका अनुसार, ठेक्का सम्झौताअनुसार गुणस्तरीय काम नगरी ठेकेदारलाई अस्वभाविक लाभ हुने काम गरेको भेटिएको छ । विमानस्थलको धावनमार्गमा माटो र गेग्र्यानको तह थप्नुपर्ने र त्यसका लागि पाँच किलोमिटर टाढाबाट रोडा–ढुंगा ल्याउनुपर्ने भनी निर्माणको लागत बढाइएको थियो ।

२२ अर्ब रुपैयाँबाट नै सबै काम हुनुपर्नेमा विमानस्थलमा वातानुकूलित एसी जडानका लागि मात्रै साढे ७ लाख अमेरिकी डलर अतिरिक्त भुक्तानी भएको भेटिएको छ । उपसमितिले प्राप्त गरेको विवरणमा अतिरिक्त खर्च भनेर करिब २ अर्ब रुपैयाँ बढी भुक्तानी भएको भेटिएको छ ।

चिनियाँ ठेकेदारले विमानस्थल निर्माण गर्नुअघि तोकिएअनुसार माटोको तह नथपेको भेटियो । त्यसले गर्दा विमानस्थलको उचाइ नै करिब ३० फिट तल रहेको लेखा समितिले गठन गरेको उपसमितिको प्रारम्भिक निष्कर्ष छ । विमानस्थल गहिरो भागमा हुँदा छिनेडाँडा नजिकै निर्मित पानी ट्याङ्की हटाउनुपर्ने भएको छ । गहिरो भागमा रन–वे निर्माण हुँदा विमान क्षमताभन्दा कम लोड लिएर उड्न बाध्य हुन्छन् ।

माटो ओसार्ने र भर्ने कामका लागि मात्रै २ करोड साढे २२ लाख अमेरिकी डलरको काम देखाइएको थियो । चैत, २०६८ को विनिमयदर (एक डलर बराबर ८२ रुपैयाँ) अनुसार त्यो रकम एक अर्ब ८२ करोड रुपैयाँ हो । उपसमितिले त्यसरी माटो भर्ने शीर्षकमा छुट्याइएको पूरै रकम अपचलन भएको आशंकासहित थप कागजात अध्ययन थालेको छ ।

२०७९ सालमा महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदनअनुसार, विमानस्थलको रन–वेभन्दा पूर्वतर्फ रहेको छिनेडाँडाको उचाइ ३० मिटर घटाउनुपर्नेमा ४० मिटर नै घटाइएको छ । बाहिरबाट ल्याएको माटो भर्नुपर्नेमा धावनमार्ग सम्याउँदा निस्केको माटो मात्रै भरिएको र बाहिरबाट माटो ओसार्दा हुने खर्च घटाइएको हुनसक्ने आशंकासहित महालेखाले थप छानबिन हुनुपर्ने औंल्याएको थियो ।

८ चैत, २०७२ मा नेपाल–चीन सरकारबीच ऋण सम्झौता भएको थियो । एक अर्ब ३७ करोड युआन ऋण सम्झौता भएकोमा ३५ करोड ५९ लाख युआन निब्र्याजी ऋण हो । बाँकीमा प्राधिकरणले २०९२ सालभित्र सावाँसमेत चुक्ता हुनेगरी किस्ता तिर्नुपर्छ ।

सम्झौता हुँदाको विनिमय दरअनुसार, २२ अर्ब ६१ करोड रुपैयाँ ऋणमध्ये ५ अर्ब ८३ करोडको ब्याज तिर्नुपर्दैन । नेपालले चिनियाँ एक्जिम बैंकलाई ब्याजवापत मात्रै वार्षिक ८४ करोड रुपैयाँ तिर्नुपर्छ । अहिलेसम्म पोखरामा व्यावसायिक उडान भएको छैन । हालै हिमालय एयरलाइन्सले चीनबाट नियमित उडान गर्ने तयारी सार्वजनिक गरेको थियो ।

महालेखाको प्रतिवेदन पनि एकसाथ अध्ययन गरिरहेको लेखा समितिको उपसमितिका अर्का सदस्यका अनुसार, माटो भर्ने नाममा देखाइएको खर्च र त्यसपछि गरिएको चखाली आश्चर्यलाग्दो छ । महालेखा परीक्षकले यो विषय उठाएपछि सम्बन्धित निकायहरूले गम्भीरताका साथ नलिएको उनले बताए ।

‘रन–वे सम्याउँदा निस्किएको ग्राभेल मिसिएको ढुंगा–माटो ठेकेदारले अन्यत्र फालेको नदेखिएकाले रन–वेमा नै प्रयोग गरेको अवस्था देखियो,’ महालेखाले भनेको थियो, ‘पाँच किलोमिटर टाढाबाट रोयल्टी तिरेर ल्याउनुपर्ने सबबेस (रोडाढुंगा र माटोको मिश्रण) साइटमा नै उपलब्ध भएकाले बाह्य खरिद र ढुवानी गर्नुपर्ने नदेखिएकाले यसबाट परेको (आर्थिक) प्रभाव विश्लेषण हुनुपर्छ ।

ठेक्का सम्झौतामा विमानस्थल निर्माणको सम्पूर्ण जिम्मेवारी ठेकेदारको हुने र अन्तिममा पूर्ण रूपमा सञ्चालन भएपछिको विमानस्थल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण हुनुपर्ने व्यवस्था थियो ।

२२ अर्ब रुपैयाँबाट नै सबै काम हुनुपर्नेमा विमानस्थलमा वातानुकूलित एसी जडानका लागि मात्रै साढे ७ लाख अमेरिकी डलर अतिरिक्त भुक्तानी भएको भेटिएको छ । उपसमितिले प्राप्त गरेको विवरणमा अतिरिक्त खर्च भनेर करिब २ अर्ब रुपैयाँ बढी भुक्तानी भएको भेटिएको छ ।

संघीय संसदको सार्वजनिक लेखा समितिले १४ असार २०८१ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न लेखा समितिका सदस्य राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा उपसमिति बनेको थियो ।

उपसमितिमा लेखनाथ दाहाल, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणी राना सदस्य छन् ।

उपसमितिका संयोजक लिङ्देनका अनुसार, आगामी साता प्रतिवेदनको खाकासहित उपसमितिमा छलफल गर्ने तयारी छ । संसदको हिउँदे अधिवेशन अन्त्य भएको र सांसदहरू राजधानीबाहिर हुने भएकाले समयमै प्रतिवेदन तयार हुनेमा कतिपयले आशंका गरेका छन् । प्रतिवेदन तयार भएपछि उपसमितिले त्यसलाई लेखा समितिलाई बुझाउनेछ ।

लेखक
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?