+
+
Shares
विचार :

‘ज्ञानेन्द्रले लत्तो छाडे, उनको आवरणमा को-को छन् खोज्नुपर्छ’

अराजकता मच्चाउने शक्ति ज्ञानेन्द्रलाई कहाँबाट आयो ?

पछिल्लो हिंसात्मक घटनाबाट तत्काल उनीहरू थच्चिएका जस्तो देखिए पनि, धार्मिक आधारमा आन्दोलन बौराउने खतरा अझै बाँकी छ।

कृष्ण पहाडी कृष्ण पहाडी
२०८१ चैत १८ गते २१:३२

घोक्र्याइएको अथवा विस्थापित भएको राजतन्त्र भएकोले म पूर्वराजा ज्ञानेन्द्र भन्छु । उहाँलाई ‘राजा’ सम्बोधन गर्नु इतिहासको अपमान हो ।

चैत्र १५ गतेको घटना आपराधिक र नियोजित कृत्य थियो । भक्तपुरको कुनै एक ठाउँमा केही मानिसहरूलाई निश्चित पार्टी कार्यालयहरूमा आगजनी, तोडफोड र अराजकता सिर्जना गर्नेगरी तालिम दिइएको थियो । त्यो समूहले ताण्डव मच्चायो । बलात्कारमात्रै गरेनन्, बाँकी सबै कुराहरू गरे ।

अराजकता मार्फत् नै आफ्नो आकार सिर्जना गर्ने र दबाब सिर्जना गरेर आफ्ना कुरा मनाउन प्रयत्न गर्ने, यो एउटा नियोजित अभियानको हिस्सा थियो । यसको नेतृत्व नै पूर्वराजा ज्ञानेन्द्रले गर्नुभएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र तीन प्रमुख विशेषताहरू बोकेका व्यक्ति हुन् ।

पहिलो, ज्ञानेन्द्र शाह अत्यन्त अहंकारी छन्। मैले सुनेअनुसार २०६१ सालमा इटहरी ब्यारेकमा बसेका बेला दलहरूसँग मिल्नुपर्ने सल्लाह दिनेका अगाडि उहाँले हातमा रहेको रक्सीको गिलास भुइँमा छाडेर फुटाउनुभयो र भन्नुभयो- ‘म टुट्छु तर झुक्दिनँ ।’ ज्ञानेन्द्रपथ र ज्ञानेन्द्रवादको चरित्र हो- सर्वाधिक अहंकार ।

दोस्रो, उहाँ सर्वाधिक षड्यन्त्रकारी हुनुहन्छ । यो मैले भनेको होइन- ८६ वर्षीय पूर्वराष्ट्रिय पञ्चायत अध्यक्ष र अहिले ज्ञानेन्द्र शाहको सारथि नवराज सुवेदीले लेखेको पुस्तकमा ओमेगा घडी प्रकरणको प्रसंग छ । उहाँ व्यापारी हुनुहुन्छ र तस्करसँग साँठगाँठ छ । व्यापारका लागि जे पनि गर्नुहुन्छ । त्यस्तै, प्रकाशचन्द्र लोहनीलाई प्रधानमन्त्री बनाउन खोजेका थिए, किन सकेनन् भनेर पनि लेखिएको छ ।

पढेलेखेका प्रकाशचन्द्र पनि प्रधानमन्त्री पाउँछु भन्ने लोभमा अराजकताको पछाडि लाग्नुभयो । श्री ३ मोहन शमशेरको नाति जर्नेल पशुपति शमशेरलाई पनि अन्तरिम सरकारमा प्रधानमन्त्री बनाइदिन्छन् भन्ने लोभ छ ।

ज्ञानेन्द्रले कहाँबाट बनाउनु ? त्यसका लागि शक्ति चाहियो । शक्तिको लागि अराजकता । त्यसैले उहाँ सर्वाधिक षड्यन्त्रकारी हो ।

तेस्रो, चरम अनुदारता । २०१७ सालदेखि नै उहाँले अनुदार प्रवृत्तिका मानिसहरूलाई अगाडि सार्नुभएको छ । २०६१ सालमा तुलसी गिरी र कीर्तिनिधि विष्टलाई ल्याउनुभयो तर, राजेन्द्र लिङ्देनहरू उहाँको रडारमा हुनुहुन्न, विश्वास गर्नुहुन्न ।

यी चरित्र भएका मानिसले भक्तपुरको कुनै ठाउँमा तालिमहरू दिइएको थियो । मैले पोखरामै मानव अधिकार सम्बन्धी एउटा कार्यक्रममा भनेको थिएँ, ‘उहाँहरू यो मार्गमा बढ्दै हुनुहुन्छ है ! तपाईंहरू स्थिति विश्लेषण गर्नुस् । सतर्क रहनुहोस् ।’

सामाजिक सञ्जालहरूबाट स्वतन्त्रता पक्षधरहरूको चरित्रहत्याको अभियान चलाइयो । पहिला त त्यसमा कतिपयले रमाइलो मानेर लाइक गरेर बसे ।

यो नियोजित अभियानमा जडिबुटी प्रशोधन जस्तो कारखानामा समेत आगजनी गरियो । मिडिया हाउसहरूमा नियोजित रूपमा आक्रमण गरियो । त्यो पनि तितरबितर भएको भिडले । मेरो अनुमान- हिमालय टिभीअनलाइनखबरको पनि स्टोरी लाइनसँग उनीहरू परिचित थिए ।

संविधानको रक्षा गर्ने भनेका खाओवादी मात्र देखिए। जसले सरकारमा भाग पाए, तिनले गणतन्त्र जिन्दावाद भने। तर यो संविधानको पूर्ण रूपमा स्वामित्व लिने शक्ति नै देखिएन।

त्यही ठाउँमा अघिल्लो दिन पूर्वराजाको यस्तो यस्तो हुँदैछ भनेर भविष्यवाणी गर्ने र सरकारले जिम्मेवारी लिनुपर्छ, पूर्वराजाको अभियानलाई साथ दिनुपर्छ भन्ने सञ्चारमाध्यमहरूलाई किन छोएनन् त, नचिनीकन गरेको हो भने ?

मैले भनेको थिएँ कि उहाँका हरेक पूर्जाहरू सक्रिय छन् । अब उहाँ यो आपराधिक कृत्यमा जानुभयो । त्यसैले पूर्वराजा ज्ञानेन्द्र मूल योजनाकार हुनुहुन्छ । चरम अनुदारवादी पूर्वराजा ज्ञानेन्द्रले अराजकतामार्फत् आपराधिक कृत्यलाई मञ्चन गर्नुभयो ।

प्रदर्शनमा योभन्दा ५ गुणा बढी उहाँहरूले मान्छे आउने अनुमान गर्नुभएको थियो । सुरक्षा निकायले हामीलाई साथ दिएको छ भनेर दुश्प्रचार गर्ने, अनि सरकारले सकेन भनेर अन्तरिम सरकार बनाउने, अन्तरिम सरकारमा आफ्नो सरकार हाल्ने र नयाँ अभियानमा जाने भन्ने थियो तर अब अपराधिक कृत्यमा पर्नुभयो ।

होइन तेस्रो जनआन्दोलन

००७ साल एउटा यज्ञ थियो, राणातन्त्र मात्रै गयो । २०४६ अर्को यज्ञ थियो, पञ्चायत मात्रै थियो । तर २०६२/६३ को आन्दोलन महायज्ञ थियो जसले राजतन्त्र पनि गयो ।

अहिले ती आन्दोलनहरूको अपमान गरिएको छ । कतिपयले नबुझीकन तेस्रो जनआन्दोलन लेखिदिनुभएको छ ।

पहिलो जनआन्दोलन त्योबेलाका कांग्रेस र माले (पछि एमाले) सहितका दलहरूले गरे । दोस्रो जनआन्दोलन माओवादीको साथमा सात दलले । त्योभन्दा अगाडि लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनले जनपरिचालन मार्फत सारा सभाहरू गरेर गणतन्त्रको बिउ रोपेर होइन ?

अब यी पक्षधरहरूले गरे भने पो तेस्रो जनआन्दोलन हुन्छ त ! त्यतिबेला कारबाही हुन नसकेका प्रतिगामीहरू अहिले बौरिइरहेका छन् । त्योबेलाका मानव अधिकार उल्लंघनकर्ता, दोषी, दमनकर्ताले तेस्रो जनआन्दोलनको नाम दिएका छन् ।

सुशासन प्रत्याभूत हुन र दोषीमाथि कारबाही हुननसक्दा राजनीतिक परिवर्तनपछि पुरानो व्यवस्थाका मानिस हाबी हुन पुगेका छन् ।

ती नालायक भए, इतिहासले खेदेका हामी महानालायकवादीले ठाउँ पाउनुपर्छ भन्ने दाबी अहिले पूर्वराजावादीहरूले गरिरहेका देखिन्छन् ।

यो अहिलेको अभियान, आपराधिक कृत्य भनेको पूर्वराजतन्त्र र पूर्वराणातन्त्रको समन्वय हो । यथेष्ट संख्यामा नभए पनि दलित, जनजाति, मधेसी, सीमान्तकृत, महिलाहरू आउनथाले र आफ्नो स्पेश समाप्त हुँदै गयो भनेर उनीहरू विचलित भएका छन् । त्यसैले उनीहरू सैन्य ड्रेस लगाएको शाही घोषणा गर्ने ज्ञानेन्द्रको फोटो राखेर राजा आऊ देश बचाउ भन्न थालेका हुन् । उनीहरू स्वतन्त्रता र सभ्यता विरोधी हुन् ।

खतरामा संविधान

आन्दोलनमा एउटा वर्ग निराशाका कारण स्वतःस्फूर्त रूपमा आएको छ । ढुंगा हान्ने अर्को वर्ग छ जसलाई के को लागि ढुंगा हानेको पनि थाहा छैन । त्यो नेतातन्त्रबाट आकुल भएको छ ।

उसले यथोचित परिवर्तन देख्न सकेन । उसले राणातन्त्र पनि देखेन । २०६१ सालको आन्दोलन पनि देखेन । उसले ज्ञानेन्द्र शाहको अत्याचार देखेन । पाठ्यपुस्तकहरूमा पनि लेखिएन ।

उसले यी नेताहरूले पैसा बनाएको देख्यो । दिनरात भ्रष्टाचारको कुरा मात्रै देख्यो । मिडियामा भ्रष्टाचारका कुरा मात्रै आए, काण्डहरूका कुरा आए । करोडौं रूपैयाँको ब्रेकफास्ट गर्न थाले,अर्बमा लञ्च गर्न थाले, झन्डै खर्बमा डिनर गर्न थाले । त्यो प्रत्यक्ष देखियो ।

यस्तोमा पूर्वराजावादीहरू जो आफैं इतिहासले गलहत्याइएका नालायक महानालायकवादी हुन्, उनीहरू बरु हामी योग्य छौं भन्ने दाबी गर्न थाले ।

नयाँ पुस्ता भ्रममा पर्‍यो ।  उसलाई के लाग्यो भने यी भ्रष्ट नेताहरूभन्दा त यसैले उद्धार गरिदिन्छ कि !

केही नेताहरूको स्वेच्छातारिता र निरन्तरताको कारण व्यवस्थामाथि प्रश्न उठेको हो, जसलाई कम आँक्नु हुँदेन । यो लोकतान्त्रिक विधिबाट समस्याको निदान गर्न नसक्दाको परिणाम हो । पार्टीको आन्तरिक लोकतन्त्रले यसलाई तह लगाउनुपर्थ्यो तर सकेन ।

यसमा नागरिक समाज पनि असफल भयो । कोही पार्टीको झोले भए, कोही दास भए र म जस्तो मान्छे पलायन भयो किनभने यो व्यवस्था जान्छ कि भन्ने डर भयो । यो व्यवस्था जाओस्- मेरो आत्माले मान्दैन । किनकि मैले त राजतन्त्र देखें र भोगें । २०६१ सालको प्रत्यक्ष शासन देखें ।

अब स्थायित्व भएन भने संविधानकै विकल्प खोज्न थालियो भने परिणाम नेपाल अन्तहीन अराजकताको दलदलमा फस्छ ।

हामीले यहाँ दुई फरक तप्काको चर्चा गर्नुपर्छ।

पहिलो, एउटा घोर दक्षिणपन्थी तप्का छ, जसले यो संविधानको अवसान नभई, नच्यातिई, नजलाइकन पूर्वराजतन्त्र पुनःस्थापित हुन सक्दैन भन्ने मान्यता राख्छ।

दोस्रो, घोर वामपन्थी तप्का छ, जसले यो संविधानको अन्त्य नभई साम्यवादी शासन व्यवस्था स्थापन हुन सक्दैन भन्ने ठान्छ। यी दुवै पक्ष संविधानको पतन चाहन्छन्।

संविधानको रक्षा गर्ने भनेका खाओवादी मात्र देखिए। जसले सरकारमा भाग पाए, तिनले गणतन्त्र जिन्दावाद भने। तर यो संविधानको पूर्ण रूपमा स्वामित्व लिने शक्ति नै देखिएन। सरकारमा रहेका नेताहरूले मात्र स्वामित्व लिएको देखिँदा जनतामा गलत सन्देश गयो— गणतन्त्रका समर्थकहरू त केवल सत्ता उपभोग गर्नेहरू मात्र रहेछन्। यही विन्दुमा संविधानलाई आक्रमण गरियो।

अराजकता मच्चाउने शक्ति ज्ञानेन्द्रलाई कहाँबाट आयो ?

पूर्वराजा यस लुटपाट र आपराधिक गतिविधिमा प्रत्यक्ष जिम्मेवार हुनुहुन्छ। यी सबै उहाँको योजनाअनुसार भएका षड्यन्त्र हुन्। लुटपाटमा संलग्न हुने हिम्मत उनीहरूको कहाँबाट आयो?

दक्षिणपन्थी तप्का भयानक रूपले आक्रोशित छ। अब उनीहरू कुन विन्दुसम्म जान सक्छन् र उनीहरूको प्रहार कति घातक हुन सक्छ? दलहरू यी आक्रमणहरू थेग्न सक्नुहुन्छ कि सक्नुहुन्न? यही मुख्य प्रश्न हो।

बीआरआईमा अपारदर्शी ढंगले सम्झौता गरिसकेपछि भारतको संस्थापन फायर छ । आक्रामक छ ।

शुरुमा परराष्ट्रमन्त्री आरजु देउवालाई बहुत ठूलो खातिरदारी गरेको थियो । उहाँले सम्झौता गरेर गएपछि भारतीय संस्थापनले मुख पनि हेर्न चाहेन ।

संयम गुमाएर गोली चलाएको भए दर्जनौं मानिस मारिन सक्थे । प्रहरीको भिडमा गाडी नै उल्ट्याइदिन्छु भन्नु अराजकताको पराकाष्टा हो । आपराधिक कर्मको चरम कृत्य हो । आउ आउ भनेर भिडलाई भड्काइएको छ । त्यसैले एउटा नियोजित योजनाको योजनाकार ज्ञानेन्द्र शाह हुनुहुन्छ ।

यता, धर्मको एजेन्डा छँदैछ । भारतीय मिडियाहरूले काठमाडौंमा यत्रो अराजक र आपराधिक कृत्य हुँदा पनि जुन हिसाबले समाचार प्रोजेक्सन गर्दैछन्, अलिकति गन्ध बुझ्न सकिन्छ ।

त्यसलाई भजाउने प्रयत्न ज्ञानेन्द्र शाहले गर्नुभयो । यो अझै पनि डरलाग्दो छ । केही चाहिं छ । अन्तर्राष्ट्रिय फ्याक्टर अहिलेका प्रमुख दलहरूप्रति अनुकूल देखिन्न ।

यसबीचमा सेना पनि मिलिसकेको छ, केही नेताहरू पनि मिलिसके भन्ने दुश्प्रचार पनि भयो । यसरी पूर्वदरबारियाहरू त बौलाइसकेका हुन् । किनभने प्रचण्डजस्तो मान्छेले यो संविधान च्यातेर राजतन्त्र मान्नुहुन्छ भनेर प्रचार गरे । आखिर उहाँले ज्ञानेन्द्रलाई मूर्तिचोर र भाइमारा भन्नुभयो । प्रचण्डले ज्ञानेन्द्रको हैसियत र औकातअनुसार बोल्नुभयो । अप्रिय शब्द बोल्दा पनि मैले यसो किन भनेको हो भने त्यो नवीकरण त ज्ञानेन्द्रले गर्नुभयो नि त अब ।

किनकि मूर्तिचोर र भाइमारा भन्ने इतिहासको सम्झना यो बेला नवीकरण भयो । ज्ञानेन्द्र शाहले आफूलाई नवीकरण गर्न खोज्दा आफ्ना नकरात्मक इतिहास पनि नवीकरण भयो । किनकि भाइमारा भन्ने आवेग नभएको भए यति चाँडै गणतन्त्र आउँदैन थियो ।

कारबाही नगर्दाको परिणाम

दरबार छोडेर ज्ञानेन्द्र शाहले कुनै सदाशयता देखाउनुभएको होइन । नछाडेको भए जनताले खेदाइहाल्थे । संविधानसभाले निर्णय गरिसकेको थियो । आन्दोलनको राप र चापमा भएको हो त्यो । उहाँ छोडेर जानुभयो र अनुकूल परस्थितिको खोजीमा बस्नुभयो । १७ वर्षपछि उहाँलाई मुन्टो उठाउन परिस्थिति अनुकूल लाग्यो ।

गणतन्त्र आउनुमा ज्ञानेन्द्रको कुकर्म पनि सहयोगी भएको हो । त्यहाँ कुनै सम्झौता छैन । संविधानसभाको दुई/तीन दिनअगाडि पनि कांग्रेस-एमालेका सांसदहरू अन्यौलमा थिए । त्यो बेलाको नागरिक आवेग सम्झनुस् न । लाखौं मानिस सडकमा उत्रिएका थिए ।

ज्ञानेन्द्र शाहलाई नारायणहिटीबाट निकाल्ने बेला नै १३ पन्ने थमाउनुपर्थ्यो । अझै पनि थमाउनुपर्छ । उहाँसँग अकूत पैसा छ । सम्पत्ति विवरण भराउनुपर्छ । स्वआर्जित कति हो र पैत्रिक कति हो ? ती सम्पत्ति वैध छन् कि छैनन् ?

हिन्दुस्तानलगायत विदेशी बैंकहरूमा अरबौं छ, लुकाएर राखिएका छन् । त्यो दलहरूले खोज्न सकेनन् । किनभने यसरी नै हाम्रो पनि खोजी हुन्छ भनेर उनीहरूले यो फाइल बन्द गरे ।

२०४७ सालपछिका सबै प्रधानमन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरौं । ज्ञानेन्द्र शाहको सम्पत्ति कति हो राज्यले विवरण माग्नुपर्छ । कर तिर्नुपर्ने तिर्नुहुन्छ । त्यो राज्यले जफत गर्न सक्ने भयो नि त !

अहिले पनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वआर्जित र पैतृक सम्पत्ति विवरण माग्यो भने बाउ-छोराकै झगडा हुन्छ । त्यसपछि ज्ञानेन्द्र शाहका सबै बेनाम सम्पत्ति राष्ट्रियकरणमा जान्छ ।

उहाँलाई मानवअधिकार उल्लंघनमा पनि कारबाही गर्नुपर्थ्यो, गरेनन् ।

पूर्वराजालाई जिम्मेवार बनाउने भन्ने कुरा सम्झौताको भाषा हो । उहाँलाई जिम्मेवार बनाउने भन्ने प्रश्नै आउँदैन । उहाँलाई त कारबाही गर्ने हो । किनकि उहाँले गठन गरेका समितिहरूले स्वामित्व लिनुभएको छ । नवराज सुवेदी नेतृत्वको समितिले स्वामित्व लिएको छ र दुर्गा प्रसाईंलाई कमाण्डर बनाउनुभएको छ । त्यही कमाण्डरले आएर गाडी लिएर प्रहरीलाई नै किचौंला जस्तो गरे । प्रहरीले हदै संयम अपनाएको भन्छु म ।

विमानस्थलमा आगो लगाइयो त्यो पनि सचेततापूर्वक । आकाशमा एक घन्टासम्म विमान होल्डमा राख्नु भनेको समग्र नेपालको नागरिक उड्डयनलाई धरापमा पार्ने कृत्य थियो । कुनै जहाजहरू दुर्घटना भएको भए के हुन्थ्यो ? यो काम निराश भएर सडकमा आएको सामान्य नागरिकले गर्दैन ।

तालिमप्राप्त दुई चार सय मानिस थिए । सबैले काम गर्न सकेनन् । भिड तितरबितर भएपछि फर्किएको तिनै तालिमप्राप्त व्यक्तिहरूले कोटेश्वरदेखि भक्तपुर फर्किने मार्गमा मात्र यो ताण्डव गर्‍यो ।

उनीहरू जान पाएको भए जोरपार्टीतिर पनि अराजकता मच्चाउने योजना देखिन्छ । कोटेश्वरमा मान्छे यति धेरै हुन्छन्, साँच्चैको २० हजार उत्रियो भने दुई लाख भन्न सकिन्छ । त्यसले सिंहदरबारसम्म छुन्छ भन्ने उनीहरू अनुमान थियो ।

मान्छे मर्नु राम्रो होइन । दुईजनाको मृत्यु भयो जुन दुःखद छ । तर संयम गुमाएर गोली चलाएको भए दर्जनौं मानिस मारिन सक्थे । प्रहरीको भिडमा गाडी नै उल्ट्याइदिन्छु भन्नु अराजकताको पराकाष्टा हो । आपराधिक कर्मको चरम कृत्य हो । आउ आउ भनेर भिडलाई भड्काइएको छ । त्यसैले एउटा नियोजित योजनाको योजनाकार ज्ञानेन्द्र शाह हुनुहुन्छ ।

पोखरामा उहाँले सडेको, गलेको, कुहेको, मक्किएको, भत्किएको त्यही राजतन्त्रको श्रीमान गम्भीर गाउनुभयो । भारतमा केही हप्ता अगाडि विहारमा मुख्यमन्त्री नितिश कुमारले राष्ट्रिय गान बजेको बेलामा हाँसे भनेर कारबाही गर्नुपर्छ भनेर बहस चलिरहेको छ । यहाँ त उहाँले कुहिएको राजतन्त्रको पुरानै गीत गाउनुभयो । जसमा कुनै दम छैन ।

कहाँ यो मामुली घटना हो र ? हरेक कुरामा योजनाबद्ध गरिएको थियो । कम आँक्ने काम भयो ।

एउटा स्वाभिमानी नागरिकले लेखेको र अनुमोदित राष्ट्रियगान बहिस्कार गरेर हिजोको रैतीले लेखेको गीत गाउँदा कारबाही गर्नुसक्नुपर्थ्यो ।

राष्ट्रिय अस्मिता र सार्वभौमसत्तालाई चुनौती दिंदै श्रीमान गम्भीर गाउने ज्ञानेन्द्रलाई तुरुन्तै कारबाही गरेर जेल नै हाल्न सकिन्छ । तर उनीहरूको त्यो ह्याउ छैन । उनीहरूले खाएका छन्, अघाएका छन्, डकारेका छन् । डकारेका भ्रष्ट मानिसहरूले कारबाही गर्दैन । सम्झौता नै गर्छन् ।

कारबाही नगरे अराजकताको दलदलमा फस्छ देश 

ज्ञानेन्द्र शाहलाई कानुनसम्मत कारबाही गर्नुपर्छ । आपराधिक कृत्यमा जस्तो अरूलाई कारबाही हुन्छ, त्यस्तै उनलाई कारबाही हुनुपर्छ । कारबाहीको प्रक्रिया सुरु गर्नुपर्छ ।

अहिले पनि उहाँलाई कारबाही गरिएन भने जहाँजहाँ जान्छन् त्यो ठाउँहरूमा उहाँलाई कारबाही गर भनेर आन्दोलन उठ्नुपर्छ । हामीले नै निर्मल निवास अगाडि प्रदर्शन गर्नुपर्ने स्थितिमा पुग्नु नपरोस् । किनभने ज्ञानेन्द्र शाह ताण्डव मच्चाउने काम गर्नुभयो । जसको दोष त ज्ञानेन्द्र शाहले लिनुपर्छ ।

प्रहरीको गोली लागेर मारिएको त एकजना कीर्तिपुरका नागरिक हुन् जुन दुःखद छ । दर्जनौं नागरिक मरून् भन्ने थियो । शाहले तोकेको कमाण्डरले गाडीमा चढेर आओ, आओ भनेर भिडलाई उन्मादी बनाएर अगाडि बढाएको भनेको त सयौं मास आओस्, गोली चलोस् र दुई चार सय मानिस मरून् भन्ने योजना थिएन र ? त्यो नियतका साथ नियोजित तबरमा काम गरेको देखिन्छ ।

कहाँ यो मामुली घटना हो र ? हरेक कुरामा योजनाबद्ध गरिएको थियो । कम आँक्ने काम भयो ।

प्रदर्शनकारीको निसानामा पेरिसडाँडा र आलोकनगरका दुई राजनीतिक पार्टी कार्यालय थिए र अन्तर्राष्ट्रिय विमानस्थल पनि । सरकारले विमानस्थलको नजिक कार्यक्रम गर्न किन दियो ? बल्खुतिरै गरेको भए पनि हुन्थ्यो ।

यहाँ न्यायिक निकायका मानिसहरूको पनि केही कमजोरी छ । पहिला पनि मुद्दा चलेको थियो साइबर अपराधमा जुन हल्का हिसाबमा छोडियो । आज यो अवस्थामा पुग्यो । भोलि कुनै मानव अधिकारवादी, न्यायाधीश, वकिल, डाक्टरको घरमा पसेर राजतन्त्र पुनर्स्थापना भनेर बलात्कार गर्‍यो भने जिम्मेवारी कसले लिन्छ ?

अहिले कारबाही गरेन भने देशले ठूलो मूल्य चुक्ता गर्नुपर्छ । यिनीहरू धर्मको नाममा उग्र उदण्डतावादी आन्दोलनको प्रारूप तयार गरिरहेका छन् ।

अब बलात्कार मात्रै हुन बाँकी छ । लुटपाट त भइसक्यो । उनीहरूको योजना नभए पनि भाडाको मानिस परिचालन गरेपछि लुटपाट हुने नै भयो ।

भिड कम भएकोमा पूर्वराजावादीहरू निरास थिए । तर उनीहरूले आफ्नो योजना लागु गर्ने प्रयत्न गरे । त्यसैले यो अपराधिक र अराजक कृत्यको मूल डिजाइनर नै ज्ञानेन्द्र शाह हुन् ।

उहाँलाई राज्यको सुरक्षा दिन नै जरुरी छैन । अपराधीलाई के को राज्यको सुरक्षा ? पूर्वराष्ट्राध्यक्षको हैसियतले सुरक्षा दिनुपर्छ । एक दुईजना जनपथ खटाउनुपर्छ । उनी कतै जान्छन् भने जहाँ जान्छन् त्यहींको सुरक्षा निकाय परिचालित हुनुपर्छ । बाँकी तामझाम सबै बन्द गर्नुपर्छ ।

बन्दैछ धर्मको नाममा आन्दोलनको प्रारूप

गणतन्त्रवादीहरूको कित्तामा पनि ठूलो सुधार आवश्यक देखिएको छ । आज यो स्थितिमा केही युवा पुस्ताले संयम गुमाए । अज्ञानको कारण । त्यसको जिम्मेवार त फेरि मूल धारका दोषी नेताहरू हुन् ।

बितेको दुई वर्षको मानव अधिकार संगठनहरूको रिपोर्टदेखि पत्रकारहरूका रिपोर्टहरू हेरौं- भ्रष्टाचार बाहेक अराजकता, असक्षमता, कालोबजारी बाहेक के देखिन्छ ? दण्डहीनता बाहेक के देखिन्छ ? नयाँ पुस्ता यसैमा गुम्सियो । त्यसलाई निकास दिनुपर्छ । यसको लागि सुधार आवश्यक छ ।

अहिले कारबाही गरेन भने देशले ठूलो मूल्य चुक्ता गर्नुपर्छ । यिनीहरू धर्मको नाममा उग्र उदण्डतावादी आन्दोलनको प्रारूप तयार गरिरहेका छन् ।

सोल्टी होटेलको धेरै स्वामित्व ज्ञानेन्द्र शाहको छ । यसको मेनुमा बकाइदा गाईको मासुको विज्ञापन गरिरहेको छ । यिनीहरू कति धार्मिक हुन् ?

धर्म राजनीतिबाट माथि हुन्छ । धर्म सभ्यताविरोधी राजतन्त्र पुर्स्थापनाको नाममा जोडिनुहुँदैन र छिमेकको एउटा तप्का जोड्दैछ ।

विहारको चुनावमा भारतको राष्ट्रिय स्वयंसेवक संघको अध्यक्ष मोहन भागवत नेपालको सिमाना नजिक पनि जानुभयो । मुजफ्फरपुरतिर पनि जानुभयो । भाषण गर्नुभयो । भन्नलाई विहारको चुनाव भन्नुभयो तर टार्गेट नेपालतिर राखेर पनि मन्तव्यहरू आएको छ । अलि केही कुरा गडबड छ भनेर बुझ्नुपर्छ ।

त्यसैले हामीले खराब नेतालाई चाँडोभन्दा चाँडो विधिवत ढंगले बिदा गर्नुपर्छ । संसदीय पार्टीहरूले बिदा गर्न सकेनन् भने यो अराजकता भोलि अरु स्वरूपमा प्रकट हुन्छ ।

ज्ञानेन्द्रलाई बालेन पत्रको अर्थ

म स्वतन्त्रताको पक्षपाती मानवअधिकारकर्मी हुँ । अदालतका निर्णयहरू पनि हेर्नुपर्छ । विधिको शासनमा कतिपय शैलीहरू स्वेच्छाचारी हुन्छन् भने त्यसलाई हामी लोकप्रियताको नाममा समर्थन गर्न सक्दैनौं ।

तर बालेन शाहले एउटा कुरा चाहिं गज्जब जवाफ दिनुभयो । उहाँ मेयर हुनुहुन्छ र पक्ष-विपक्षमा जनमत हुन्छन् । केही प्रयास गर्दै हुनुहुन्छ । बालेन शाहको नाम पनि राजावादीको आन्दोलनमा सहयोग गर्दैहुनुहुन्छ भन्ने दुश्प्रचार गरेको देखिन्थ्यो ।

यी त अराजकतावादी हुन् जसले एकैचोटि गएर पसल मात्रै लुटेको छैन, औषधि कारखानामा आगो मात्रै लगाएको छैन, वैचारिक रूपमा पनि अराजकता मच्चाएका छन् । त्यसको जवाफ बालेनले दिनुभयो ।

ज्ञानेन्द्र शाहले पौने आठ लाख जति जरिवाना गरेर एउटा कुरा चाहिं गर्नुभयो । यसको मास्टरमाइन्ड र मूल दोषी तपाईं हो भन्ने चाहिं बालेन्द्र शाहले भन्नुभयो । यो कुरा महत्वपूर्ण छ ।

हामीले खराब नेतालाई चाँडोभन्दा चाँडो विधिवत ढंगले बिदा गर्नुपर्छ । संसदीय पार्टीहरूले बिदा गर्न सकेनन् भने यो अराजकता भोलि अरु स्वरूपमा प्रकट हुन्छ ।

उहाँका शैली कानुनबमोजिम ठिक छ कि छैन, छुट्टै प्रश्न होला । त्यसैले अब बालेन्द्र शाहले जस्तै हरेक ठाउँमा ज्ञानेन्द्र शाहका मतियारहरूलाई प्रश्न गर्नुपर्छ- काठमाडौं लुटपाट कसले गराएको हो ? कारबाही गर्नुपर्छ कि पर्दैन ? पत्रकार मारिए, कसका कारणले ?

ठिक छ, टियर ग्याँस हान्नु कसैको मञ्चमा गल्ती होला, तर मञ्चमा एटम बम खसेको त होइन नि । त्यही कुरालाई आधार बनाएर सबै नेता भागेका छन् । अराजकतावादीलाई छोडिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको अहिले दुइटा हात मात्रै हो । अरु माध्यम मात्रै हुन् । अरु त पाडो पाए पनि पाडी पाए पनि भतुवालाई बेगुती भने जस्तै मिश्र मार्काका कुरा नगरौं ।

अहिलेमूल दोषी ज्ञानेन्द्र शाह, उहाँको कमान्डर भनिएको दुर्गा प्रसाईं र पुरानो राणातन्त्रको प्रेत बौरिएको चाहिं धवल शमसेर हुन् । बाँकीलाई कारबाही गर्नुको अर्थ छैन ।

बाँकी नवराज सुवेदीहरूको के कुरा गर्नु ? उनले आफ्नै किताबमा ज्ञानेन्द्रलाई यी तस्करका नाइके हुन् भनेर लेखेका होइनन् ?

ज्ञानेन्द्रले संयम गुमाइसके

ज्ञानेन्द्र शाह अहिले पनि २०४७ सालको संविधानको पूर्ण पुनर्स्थापना चाहन्नन्, उनलाई त २०१७ सालकै निरंकुश व्यवस्था फिर्ता ल्याउन मन छ। तर, त्यसो कसरी सम्भव छ?

राजतन्त्र फर्काउन अहिलेको संविधान समाप्त गर्नुपर्छ। तर, यो संविधान समाप्त भएको दिन अराजकता सुरु हुन्छ—जनजाति र मधेस आन्दोलन उठ्नेछ, नागरिक आन्दोलनहरू सक्रिय हुनेछन्, पढेलेखेका मानिसहरू सडकमा आउनेछन्। त्यस स्थितिलाई कसले थेग्छ?

यदि संघीयता कसैलाई मन नपरेको हो भने, मधेसको सहमतिबिना संघीयता खारेज गरियो भने, त्यसको परिणाम गम्भीर र आत्मघाती हुनसक्छ। यदि कसैले संघीयता खारेज गरिदियो भने र त्यसले देश टुक्रियो भने, त्यसको जिम्मेवारी कसले लिन्छ? यो अत्यन्तै डरलाग्दो परिदृश्य हो।

यस विषयमा कुरा गर्दा, यहाँ हाम्रो सहमति-असहमति मात्र महत्त्वपूर्ण छैन। केही संकीर्ण मानसिकताका मानिसहरू छन्, जसले पूर्वराजाको आन्दोलनमा आफूलाई मिसाएका छन्।

नेपालमा वामपन्थको इतिहास मेट्न सकिँदैन। स्वतन्त्रता र लोकतन्त्र शाश्वत छन्, जसलाई आत्मसात् गरेर नेपाली जनताको विवेकले संविधानसभामार्फत् नेपालमा स्थान दिएको हो।

यही संविधानले कांग्रेस, एमाले, माओवादी लगायतका दलहरूलाई सत्तामा ल्यायो। अहिले यी शक्तिहरूलाई विस्थापित गर्ने प्रयास भइरहेको छ। ज्ञानेन्द्र शाह र उग्रवामपन्थका केही तत्वहरू कुनै कोणबाट सक्रिय हुनसक्छन्, तर त्यस विषयमा अहिले नजाऔं।

नेपालको सबभन्दा सुन्दर पक्ष समायोजन हो। यहाँ न त एकलौटी लोकतन्त्र मात्र टिक्छ, न त वामपन्थलाई निषेध गरेर राजनीति अगाडि बढ्न सक्छ। सत्ता र राजनीतिमा सबैलाई ठाउँ दिइएको छ। तर, अहिले एउटा पक्षले अराजक आन्दोलनको सहारा लिएको छ, अर्काे पक्षले पुरानो व्यवस्था फर्काउने प्रयास गरिरहेको छ। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय राजनीतिक लेनदेनको खेल हुन सक्छ।

अहिलेको परिदृश्य हेर्दा, दक्षिणपन्थी संस्थापनले ज्ञानेन्द्र शाहको काठमाडौं प्रवेशलाई शक्ति प्रदर्शनको रूपमा प्रयोग गर्‍यो। सत्ता पक्षले त्यसलाई कमजोर आँक्यो। तर, उनीहरू दोस्रो चरणतिर अघि बढ्दैछन्। पछिल्लो हिंसात्मक घटनाबाट तत्काल उनीहरू थच्चिएका जस्तो देखिए पनि, धार्मिक आधारमा आन्दोलन बौराउने खतरा अझै बाँकी छ।

विशेष गरेर भारत र चीनको सुरक्षा संवेदनशीलतामा तपाईंले छोइदिनुभयो भने हाम्रो सार्वभौमसत्ता नै धरापमा पर्छ । त्यसैले चीन र भारतसँगको सम्बन्धमा निकै विचार गरेर चल्नुपर्छ ।

यस खतरा बुझ्न आवश्यक छ। छिमेकी मुलुकहरूसँगको असमझदारी न्यूनीकरण गर्न जरुरी छ। नेपालको प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिइएको छैन भने, त्यसको गम्भीर अर्थ छ। यस्तो अवस्थामा नेपाल र छिमेकी मुलुकबीचको असमझदारी कुन हदसम्म पुगेको छ भनेर बुझ्नुपर्छ।

नेपालका विदेशमन्त्रीलाई उपेक्षा गरिँदैछ, भेटघाट टारिँदैछ। यी कूटनीतिक असहमतिहरूलाई समाधान नगर्ने हो भने, नेपालभित्र अन्य संकटहरू गहिरिन सक्छन्।

मलाई सबैभन्दा दुःख लागेको कुरा, चीन अमेरिका र भारतको हकमा पनि नेपाली नेताहरूले धेरै कार्ड खेले । धेरै रमाइलो माने । आज चाइना कार्ड खेलेको छ भोलि भारत । जिस्काएको जस्तो । हामीलाई चीन र भारतको झगडाले ज्यूज्यू गरिराख्छन् भन्ने भयो । होइन, आक्रमण गर्छन् तीनवटैले । विशेष गरेर भारत र चीनको सुरक्षा संवेदनशीलतामा तपाईंले छोइदिनुभयो भने हाम्रो सार्वभौमसत्ता नै धरापमा पर्छ । त्यसैले चीन र भारतसँगको सम्बन्धमा निकै विचार गरेर चल्नुपर्छ ।

स्थिर नीति र एकरूपता हुनुपर्छ । दुवैसँग समदूरी त म भन्दिनँ तर चीन र भारतको सुरक्षा संवेदनशीलतामा अप्ठ्यारो पर्‍यो भन्ने दुवैलाई लाग्यो र त्यो नारा दियो भने यहाँ जे पनि गर्न सक्छ, कुनै पनि व्यवस्था टिकाउ हुँदैन ।

अर्को महत्त्वपूर्ण पक्ष भनेको कुशासन हो। भ्रष्टाचारमा लिप्त, पदको दुरुपयोग गर्ने नेताहरूलाई अब बिदा दिनुपर्छ, चाहे उनीहरू जुनसुकै पार्टीका हुन्। जबसम्म यस्ता भ्रष्ट नेताहरू सत्ता सञ्चालक भइरहन्छन्, तबसम्म ज्ञानेन्द्र शाह वा पारस शाहको फर्कने सम्भावना रहन्छ। तर, यदि कुशासन अन्त्य गरियो भने, म दाबीका साथ भन्छु—न त ज्ञानेन्द्र फर्किन्छन्, न त पारस।

यही अहिलेको तरल अवस्थामा ज्ञानेन्द्र शाहले पोखरीमा ढुंगा हान्नुभएको हो । ढुंगा हान्दाहान्दै उहाँ यसरी डुब्नुभयो कि निसास्सिनुभएको छ । यो निसास्सिएको बेलामा तपाईंले उहाँलाई कारबाही गर्नुभएन, कानुनसम्मत प्रक्रिया अगाडि बढाउनुभएन भने ज्ञानेन्द्र शाहले लत्तो छोडिसके । यस्तो मानिसले म जे पनि गर्छु भन्ने हुन्छ ।

नभए कल्पना गर्नुहुन्छ, नेपालको राजतन्त्रको इतिहासमा उत्तराधिकारी नभएर पनि दुईपटक राजा भइसकेका मान्छे, व्यापारिक प्रतिष्ठा लुटाउनमा लाग्छ, जडिबुटी कारखानामा आगो लगाउन लाग्छ, विमानस्थलमा आगो लगाउन लाग्छ, प्रेसलाई ढुट्याउनतिर लाग्छ, तपाईं कल्पनै गर्न सक्नुहुन्न । भनेपछि त उहाँले संयम गुमाइसक्नुभयो । संयम गुमाएको मानिसले जे पनि गर्नसक्छ । आवरण ज्ञानेन्द्र शाह हो, यो आवरणभित्र को को छन् खोजी गर्नुपर्छ ।

(नागरिक अगुवा पहाडीसँग सुदर्शन खतिवडागौरव पोखरेलले गरेको कुराकानीमा आधारित)

लेखक
कृष्ण पहाडी

कृष्ण पहाडी नागरिक अगुवा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?