+
+
Shares
शानदार मृत्युको पैरवी :

भैरव रिसाल : इमानको जीवन बाँचे, सम्मानको मृत्यु रोजे

कसैको साहारा, कसैको दया, कसैको सहानुभूति लिन नपरोस्, ज्यानै गए पनि । त्यसैले त भैरव रिसाल स्वेच्छिक मृत्युको अधिकारलाई सुनिश्चित गर्न चाहन्थे, जीवनभरमा ।

शिव मुखिया शिव मुखिया
२०८१ चैत २५ गते २२:०२

२५ चैत, काठमाडौं । ‘देवयानी, तिमीले अदालतमा मेरो लागि मुद्दा लड्नुपर्छ ।’

एक साँझको कुरा हो । जवान पुरुषले महिला वकिललाई हठात्  आफ्नो घरमा बोलाउँछन् । अनि एउटा अनौठो मुद्दामा आफ्नो पैरवी गरिदिन आग्रह गर्छन् । पुरुष भन्छन्, ‘म मृत्यु चाहन्छु । र, मैले मर्न पाउने अधिकारलाई अदालतले न्याय गरोस् । मलाई यसमा जित्नु नै छ ।’

पुरुषको यस्तो कुराले वकिल देवयानी दुःखद् आश्चर्यमा पर्नु स्वभाविक हो । उनी कालोनिलो हुन्छिन् । र, प्रतिप्रश्न गर्छिन्, ‘के तिम्रो दिमागको हालत ठिक छ ? तिमीलाई सञ्चै छ ?’

पुरुष दृढतापूर्वक भन्छन्, ‘म सचेतापूर्वक यो निर्णयमा पुगेको छु कि मैले मर्न पाऊँ । म मेरो जीवनबाट मुक्ति चाहन्छु । यो नै मेरो सबैभन्दा सानदार जित हुनेछ ।’

इथन मस्कारेनास नामक यी पुरुष वास्तवमै आफ्नो जीवनसँग हारिसकेका छन् । किनभने उनको हात चल्दैन, खुट्टा चल्दैन, मिर्गौला राम्ररी चल्दैन । शरीरको अधिकांश भाग चल्दैन । केबल टाउको बाहेक । किनभने एक दुर्घटनामा परेपछि उनको शरीर पक्षघात हुन्छ । त्यसपछिका दिनमा उसले ह्वीलचियरमा बाँच्नुपरेको छ । खान र दिसापिसाब गर्न पनि अरुको सहारा लिनुपरेको छ । जिन्दगी कतिसम्म टिठलाग्दो छ भने, आफ्नो नाकमा बस्न आएको झिँगासमेत धपाउन सक्दैनन् ।

एक दिन होइन, एक वर्ष होइन । १४ वर्षसम्म उनी यस्तै जीवन बाँचिरहेका छन् । त्यसैले यो पीडादायी जीवन भन्दा सम्मानपूर्वक मृत्यु ठिक हो भन्ने निर्णयमा पुग्छन् ।

तर देवयानी भन्छिन्, ‘संसारको कुनै पनि अदालतले मान्छेलाई मर्नका लागि अनुमति दिँदैन । यो जटिल कुरा हो ।’

विपक्षी वकिल भन्छन्, ‘जीवन अमूल्य छ र यो समाप्त पार्ने अधिकार कसैलाई छैन ।’

चिकित्सक भन्छन्, ‘हाम्रो काम बचाउने हो, मार्ने होइन । मृत्युको मुखमा पुगेकालाई पनि मृत्युसँग खोसेर जीवन दिने हो ।’

सम्मानपूर्वक मर्न पनि नपाउनु कस्तो बिडम्बना !

सञ्जयलिला भन्सालीको फिल्म ‘गुजारिश’ हेरिरहँदा मैले भैरव रिसाललाई सम्झें । उनले बिताइरहेका आखिरी दिनहरूलाई सम्झें । उनको आत्मस्वाभिमानलाई सम्झें । उनको अन्तर्वार्ता सम्झें ।

अनलाइनखबरका लागि जतिबेला उनको घरमा अन्तर्वार्ताका लागि पुगेको थिएँ, त्यसबेला हामीले ‘स्वेच्छिक मृत्यु’को सेरोफेरोमा कुरा गरेका थियौं । उनले दृढतापूर्वक यत्ति भनेका थिए, ‘मान्छेले सम्मानपूर्वक मर्ने अधिकार पाउनुपर्छ ।’

यसलाई ‘स्वेच्छिक’ वा ‘इच्छामृत्यु’ भनी उनले व्याख्या गरेका थिए र आत्महत्या भन्दा यसको प्रारुप र प्रक्रिया कति फरक छ भनी अर्थ्याएका थिए । ‘जब मान्छेका लागि जीवन भन्दा मृत्यु सहज हुन्छ, त्यो स्थितिमा उसले मर्ने अधिकार प्राप्त गर्नुपर्छ,’ उनले यही भनेका थिए ।

जिन्दगीमा कहिल्यै नथाक्ने र कहिल्यै नहार्ने ‘मास्टरपिस’ मान्छे थिए भैरव रिसाल । बच्चाको जस्तो उत्सुकता, किशोरको जस्तो चञ्चलता, युवाको जस्तो ऊर्जा, वयस्कको जस्तो बुद्धिमत्ता र प्रौढको जस्तो परिपक्कता । हामीलाई लाग्थ्यो, ‘भैरव सर, हटी होइन डटी लड्ने मान्छे हुन् ।’

उमेरले नेपालीको औसत आयु जितेर अर्को दशक बाँचेका उनी बुढो भएनन् । र, जीवनप्रति उनको एउटै सदीक्षा थियो, ‘इमानले बाँचे, सम्मानले मर्न पाउँ ।’

फुर्तिला र जोशिला थिए उनी । होचो–होचो कदका । सफाचट । फराकिलो निधार, तेजिलो आँखा, चर्को तर स्पष्ट बोली । तनावमुक्त र स्निघ्ध । भैरव सर होचो कदका अग्ला मान्छे हुन् ।

सानो सानो कुरामा फुरुङ्ग हुने, हरेक कुरामा जिज्ञासु रहने र सधैं परिपक्क चिन्तन गर्ने उनी यस्ता मान्छे थिए, जसले जीवनलाई सन्तुष्ट भोगचलन गरे । जीवनप्रति उनलाई कुनै दुखेसो थिएन, गुनासो थिएन । किनभने उनका हरेक दिन यस्तो हुन्थ्यो, जसलाई भोलि पछुतो गर्न नपरोस् । हामीलाई लाग्थ्यो, ‘भैरव सर उधुमै आनन्दका मान्छे हुन् ।’

बिहान सबेरै उठ्ने, चिसो पानीले एकसरो ज्यान पखाल्ने, योग गर्ने । ठिक समयमा खाने, ठिक समयमा सुत्ने । सफासुग्घर हुने, पैदल हिँड्ने । नढाँट्ने, नछल्ने, बहाना नबनाउने । आत्मविश्वासले हराभरा, दृढ र स्पष्ट थिए उनी । वर्षौंपछि भेट्दा पनि भैरव सर उस्तै थिए । उस्तै हिँडाइ, उस्तै बोलाइ, उस्तै हाउभाउ, उस्तै पहिरनशैली । उमेर फेरिएको थियो, तर उनी फेरिएका थिएनन् । हामीलाई लाग्थ्यो, ‘भैरव सरले अजम्बरीको बुटी खाएका छन् ।’

उमेरले नेपालीको औसत आयु जितेर अर्को दशक बाँचेका उनी बुढो भएनन् । र, जीवनप्रति उनको एउटै सदीक्षा थियो, ‘इमानले बाँचे, सम्मानले मर्न पाउँ ।’

कसैको साहारा, कसैको दया, कसैको सहानुभूति लिन नपरोस्, ज्यानै गए पनि । त्यसैले त उनी स्वेच्छिक मृत्युको अधिकारलाई सुनिश्चित गर्न चाहन्थे, जीवनभरमा ।

उनले हामीसँगको कुराकानीमा भनेका थिए, ‘मृत्यु । कति डरलाग्दो कुरा है । मृत्यु जस्तो डरलाग्दो कुरा संसारमा के होला ? मृत्यु भन्नासाथ मान्छे आतंकित हुन्छन् ।’

मान्छेले जीवनमा आइपर्ने सबै कुराको अभ्यास गर्छ । तर, मृत्युको अभ्यास गर्दैन । मान्छेले मर्न सिक्दैन । किनभने मान्छेले जीवनभर त्यही भ्रमले आफूलाई ढाकछोप गरिरहन्छन् कि, मैले मर्नु पर्दैन । उनले थपेका थिए, ‘मृत्युले कसैलाई बाँकी राख्दैन । यसकारण मृत्युलाई स्वीकार्नुपर्छ । हामीले यति मात्र कामना गर्नुपर्छ कि, मृत्यु सहज र स्वाभाविक होस् ।’

मान्छे चाहेजस्तो बाँच्न सक्छ तर चाहेजस्तो मर्न सक्दैन ।

त्यसैले त मान्छेहरू थलिएर, ऐया-आत्था गरेर अत्यन्तै कष्टका पलहरू बिताउन बाध्य हुन्छन् । जब मान्छेका इन्द्रियहरू आफ्नै वशमा हुँदैनन् । जब मान्छेले खाना होइन औषधि खाएर बाँच्नुपर्ने हुन्छ । जब मान्छे उठ्न र हिँड्नै सक्दैनन् । पीडादायक मृत्युलाई कुरेर बस्नुपर्ने यस क्षणमा कुनै मान्छेले ‘म मर्न चाहन्छु’ भन्दा त्यो के अन्यथा हुन्छ ?

‘अति दुःख पाएर, कष्ट खेपेर, अधकल्चो मरेर, अलिकति मात्र बाँचेर, धेरै मरेर जो थलापरेका हुन्छन्, उनीहरूले मर्न पाउनुपर्छ’ उनले भनेका थिए, ‘यो उनीहरूको मौलिक अधिकार हो भन्ने मेरो बुझाइ हो । बाँच्न पाउने मौलिक अधिकार जस्तै मर्न पाउने पनि अधिकार हो ।’

के अब भैरव सरलाई बुढ्यौलीले छोपेको हो ? के उनी जीवनसँग हारेका हुन् ? हामीले त्यसबेला यो कठोर प्रश्न गरेका थियौं ।

उनको विस्तारमा यस्तो जवाफ थियो, ‘मेरो अहिले सिंगो जीवन छैन । म राम्ररी हिँड्न सक्दिनँ, दौडन सक्दिनँ । तर, म मर्न जरुरी छैन । किनभने मसँग चेतना छ । उत्साह र ऊर्जा छ । म अहिले पनि लेख्छु । समाजको विवेचना गर्छु । मेरो लागि अहिले इच्छामृत्यु आवश्यक छैन । तर, कोही व्यक्ति असाध्यै अशक्त छन्, बाँच्न चाहँदैनन् भने उनीहरूले आफ्नो इच्छा जाहेर गर्न सक्छन् । आफूलाई मृत्यु नै सहज हो भन्न सक्छन् । आनन्दसँग मर्न पाए हुन्थ्यो भन्न सक्छन् । यस्तो अवस्थामा परिवारले कानुनी प्रक्रिया पुरा गरेर, चिकित्सा विधिबाट सहज रुपमा उनलाई मृत्युवरण गराउन सक्छन् । इच्छामृत्यु यस्तो हो ।’

भैरव रिसाल मितव्ययी थिए । अरूको शोषण गरेर मात्र होइन प्रकृति र स्रोतको दोहन गरेर पनि जीवन भोग नगरौं भन्ने ठान्थे । कतिसम्म भने, आफ्नो शेषपछि त्यो पार्थिव शरीरलाई पुनः सदुपयोग गरियोस् भनी चिन्तन गर्थे ।

उनको तर्क थियो, ‘मान्छेले स्वेच्छिक मृत्युवरण गर्छन् भने त्यसले अर्कोतर्फ ठूलो फाइदा गर्छ । एक त ती व्यक्तिले सुविस्ताले मृत्युवरण गर्न सके । अर्कोतर्फ उनको मृत्युले अरु आठ जनाको जीवन बाँच्छ । किनभने उनको आँखा लगायत थुप्रै कुरा अर्को व्यक्तिमा प्रत्यारोपण हुन्छ । तात्तातो भयो भने मुटु पनि प्रत्यारोपण हुन्छ । मैले बुझे अनुसार एउटा मान्छेको शरीरले अरु आठ जना मान्छेले नयाँ जीवन पाउँन सक्छन् ।’

मृत्युअघि उनले जीवनदान दिएका थिए र आज उनको पार्थिव शरीर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

यद्यपि वर्षौंदेखि उठाएको ‘इच्छामृत्यु’को बहस जहाँको त्यहीँ थाती छ ।

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?