
२५ चैत काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र कर्मचारी अध्ययन बिदामा गएर नफर्किने गरेको पाइएपछि खोजबिन समिति क्याम्पस क्याम्पसमा पुगेर खोज्न थालेको छ ।
ठूलो संख्यामा प्राध्यापक र कर्मचारी अध्ययन बिदा लिने र विदेश गएर उतै लुक्ने पाइएपछि त्रिविले छानबिन समिति बनाएको थियो । समितिका संयोजक डा. जीवन काफ्लेले डिन कार्यालय, क्याम्पस, केन्द्रीय विभाग लगायतका कार्यालयमा पुगेर नफर्किने प्राध्यापक र कर्मचारीको खोजी गरिरहेको बताए ।
त्रिविले पत्र काटेर नफर्किने शिक्षकको विवरण उपलब्ध गराउन सबै निकायलाई भनेको थियो । तर सही विवरण नआएपछि समिति क्याम्पस क्याम्पसमा पुगेर संकलन गर्न लागेको हो । ‘समितिले सम्बन्धित क्याम्पसमै पुगेर खोजबिन गरिरहेको छ । ठूलो संख्यामा शिक्षक र कर्मचारी अध्ययन बिदामा गएर नफर्किएको पाइएको छ’, उनले भने, ‘पुराना फाइलबाट पनि संकलन गरिरहेका छौं ।’
अध्ययन बिदामा गएका त्रिविका कति शिक्षक कर्मचारी फर्किए कति उतै लुके भन्ने तथ्यांक त्रिविसँग छैन । त्यसैले समिति बनाएर त्रिविले तथ्यांक संकलन गरिरहेको हो । पहिलो चरणमा तथ्यांक संकलन गरेपछि नफर्किनेलाई कारबाही गर्ने त्रिविले जनाएको छ ।
अध्ययन बिदामा गएर नफर्किएका त्रिविका कर्मचारीको तथ्यांक भने संकलन गर्न समितिलाई कठिन भएको छ ।
त्रिविको स्ववियु चुनावले क्याम्पस प्रमुख र कर्मचारी व्यस्त भएकाले सोचेभन्दा ढिलाइ भएको संयोजक काफ्लेले बताए । ‘अब चुनाव सकिएको छ । छिटै समितिले काम टुंगो लगाउछ’, उनले भने ।
उनका अनुसार त्रिविका ३८ वटा क्याम्पस/डिन कार्यालय/केन्द्रीय विभागमा खोजबिन सकिएको छ । कति संख्यामा शिक्षक कर्मचारी बिदेशमै लुकेका छन् भन्ने तथ्यांक एकैपटक सार्वजनिक गरिने उनले बताए । ‘क्याम्पस क्याम्पसबाट नाम आउने क्रम जारी छ । सबै संकलन भएपछि सार्वजनिक गर्छौ’, उनले भने ।
त्रिवि स्रोतका अनुसार भने ३०० बढी शिक्षक कर्मचारी अध्ययन बिदामा गएर फर्किएका छैनन् । यो संख्याबाट मात्र पनि एक अर्ब बढी रकम त्रिविलाई उठ्छ ।
जरिवाना बुझाउन र फर्किन थाले प्राध्यापक
अध्ययन बिदामा गएर नफर्किने गरेको समाचार सार्वजनिक भएपछि शिक्षकले जरिवाना बुझाउन र फर्किन पनि थालेका छन् । त्रिविका अनुसार तीन जनाले अध्ययन बिदामा बसेर नफर्किएपछि आफूले गाएको तलब भत्ता फिर्ता गर्न थालेका छन् । फिर्ता गर्ने तीन जनाले ४४ लाख, २८ लाख र २२ लाख फिर्ता गरेका छन् ।
‘फिर्ताको प्रक्रियामा शिक्षकहरू आइरहेका छन् । नफर्किनेले बिदेशबाट राजीनामा पनि पठाइ रहेका छन्’, त्रिविका एक अधिकारिले भने ।
कतिपय शिक्षक हाजिर गर्न फर्किन थालेका छन् । कम्युटरका एक शिक्षकले ४ वर्षको अध्ययन बिदा लिएका थिए । तर उनी ५ वर्षमा फर्किए । बिदा स्वीकृत नगरी १ वर्ष बढी उनी बिदामा बसेका थिए । बिदा सकिएको ९० दिनभन्दा बढी भएमा कारबाही हुने त्रिविको नियम छ । करिब १ वर्ष ढिला गरि हाजिर हुन ती शिक्षक आएका छन् ।
‘कम्प्युटर साइन्सको एउटा केस आएको छ । सबै पीएचडी सकाएर आउनुभएको हो । तर, बिदा बढी उपभोग गरेको देखिन्छ । उहाँले पेनाल्टी तिर्छु भनेर आउनुभएको छ। अहिले प्रक्रियामा छ’, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शंकर खनालले भने ।
त्रिविका अनुसार महाराजगन्ज क्याम्पसमा पनि एक जना प्राध्यापक यसैगरी फर्किएका छन् । धेरैजसोले भने नफर्किकन राजीनामा बुझाउन थालेका छन् । यी सबै विवरण एकैपटक सार्वजनिक गर्ने तयारी त्रिविले गरेको छ ।
विश्वविद्यालयको नियममा ५ वर्षसम्म अध्ययन बिदामा बस्न पाउने प्रावधान छ । ३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ ।
यदि नफर्किएमा वा सेवा नगरेमा खाएको तलब १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नपर्ने नियम छ । बिदामा बस्दा शिक्षकले नेपाली कागजमा फर्किने कबुलियतनामा गरेको हुन्छ । नफर्किएमा जायजेथाबाट भएपनि खाएको रकम असुल गर्ने भनिएको छ । २०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् ।
अध्ययन बिदामा बसेर नफर्केका शिक्षक/कर्मचारीहरूको खोजबिन समितिले अहिलेसम्म खोजबिन गरेको विवरण :
१) विज्ञान तथा प्रविधि अध्ययन संस्थान, कीर्तिपुर, काठमाडौं
२) कृषि र पशु विज्ञान अध्ययन संस्थान, कीर्तिपुर, काठमाडौं
३) वन विज्ञान अध्ययन संस्थान, कीर्तिपुर, काठमाडौं
४) इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, ललितपुर
५) चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज, काठमाडौं
६) रसायनशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौं
७) प्राणीशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौं
८) भौतिकशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौं
९) वनस्पतिशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौं
१०) भूगर्भशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौं
११) जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, कीर्तिपुर
१२) माइक्रोबायोलोजी केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौं
१३) गणित केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौं
१४) तथ्याङ्कशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौं
१५) वातावरण केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौं
१६) कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग, कीर्तिपुर
१७) बायोटेक्नोलोजी केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौं
१८) रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौ
१९) अमृत क्याम्पस, लैनचौर, काठमाडौं
२०) नेपाल ल क्याम्पस , प्रदर्शनीमार्ग, काठमाडौ
२१) विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौ
२२) महेन्द्र रत्न बहुमुखी क्याम्पस, इलाम
२३) मेची बहुमुखी क्याम्पस, झापा
२४) महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर
२५) स्नातकोत्तर क्याम्पस, विराटनगर
२६) विराटनगर नर्सिङ क्याम्पस, विराटनगर
२७) पूर्वाञ्चल क्याम्पस, धरान
२८) महेन्द्र बहुमुखी क्याम्पस, धरान
२९) केन्द्रीय प्रविधि क्याम्पस, धरान
३०) पुल्चोक क्याम्पस, पुल्चोक, काठमाडौ
३१) थापाथली क्याम्पस, थापाथली, काठमाडौ
३२) त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं
३३) मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा
३४) ट्रान्सप्लान्ट केन्द्र, महाराजगञ्ज, काठमाडौं
३५) महाराजगञ्ज नर्सिङ क्याम्पस, महाराजगञ्ज, काठमाडौ
३६) पृथ्वी नारायण क्याम्पस
३७) पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस
३८) वन विज्ञान क्याम्पस
३९) आयुर्वेद क्याम्पस, कीर्तिपुर, काठमाडौं
प्रतिक्रिया 4