News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ मा रहेको ठूली दह प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वका कारण आन्तरिक पर्यटकको मुख्य रोजाइमा पर्न थालेको छ।
- स्थानीय जनप्रतिनिधिले नगर सभा आयोजना गरेपछि चर्चामा आएको यस दहलाई धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण जारी रहेको वडाध्यक्ष एक्कबहादुर पाण्डेले बताए।
- मध्यपहाडी लोकमार्गदेखि दहसम्म पदमार्ग, पिकनिक स्पट र खानेपानीको व्यवस्था गरिएकाले स्थानीय अर्थतन्त्रमा समेत टेवा पुग्ने सम्भावना बढेको छ।
२५ साउन, रुकुमपूर्व । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाबाट दुरीको हिसावले नजिकै भए पनि लामो समयदेखि प्रचारप्रसारमा ओझेलमा परेको ठूली दह पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।
मुसिकोट नगरपालिका–७ साँखमा रहेको ठूली दह घना जंगल र हरियाली फाँटको बीचमा गमक्क परेर बसेको छ। वर्षायाममा कुहिरोले छिनछिनमै रंग फेरिरहँदा दह आसपासको दृश्य झनै मनमोहक देखिन्छ।
२०७९ सालको स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले ठूली दहमै नगर सभा आयोजना गरेपछि यसको चर्चा बढ्न थालेको स्थानीय बताउँछन्।

ठूली दह स्थानीयका लागि पर्यटकीय गन्तव्य मात्रै होइन, धार्मिक आस्थाको केन्द्र पनि हो । लामो समय खडेरी परेमा दहमा पुगेर पूजा–पाठ गरी पानी मागे वर्षा हुने जनविश्वास रहेको मुसिकोट नगरपालिका–७ का वडाध्यक्ष एक्कबहादुर पाण्डे बताउँछन्।
‘ठूली दहलाई धार्मिक र पर्यटकीय दुवै हिसाबले महत्त्वपूर्ण क्षेत्रका रूपमा विकास गरिरहेका छौँ,’ पाण्डेले भने। नगरपालिका र वडा कार्यालयले ठूली दहलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माण गरिरहेका छन्।

मध्यपहाडी लोकमार्गको बैरी दहदेखि ठूली दहसम्म पदमार्ग निर्माण गरिएको छ। बाटोमा पर्ने खोलामा पुल, ठाउँ–ठाउँमा प्रतीक्षालय र मार्ग पहिचानका लागि मार्किङ गरिएको छ।
दह क्षेत्रमा पिकनिक स्पट बनाइएको छ भने आकाशे पानी संकलन गरी खानेपानीको व्यवस्थापनसमेत गरिएको पाण्डेले बताए।
प्राकृतिक सौन्दर्य, धार्मिक विश्वास र सहज पहुँचका कारण ठूली दहमा पर्यटकको चहलपहल बढ्दै गएको छ। स्थानीय उत्पादन, होमस्टे तथा अन्य पर्यटन व्यवसायसँग जोड्न सके ठूली दहले स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्याउन सक्ने सम्भावना छ।

प्रतिक्रिया 4