
२० पुस, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई आरोपीलाई विशेष अदालतमा हाजिर गर्नु पर्ने/नपर्नेबारे प्रहरीले अदालतलाई सोधेको छ ।
विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेकाले रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदीलाई हाजिर गर्नु पर्ने/नपर्नेबारे अदालतलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोधेको हो ।
ब्यूरोका एक अधिकृतले भ्रष्टाचार सम्बन्धी अर्को मुद्दा विचाराधीन रहेकाले नियमित प्रक्रिया अनुसार अदालतलाई पत्र काटिएको अनलाइनखबरलाई बताए । ब्यूरोले सुवेदी दम्पत्तीविरुद्ध सरकारी लिखत कीर्ते सम्बन्धी कसूरमा जिल्ला अदालत, काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
मुलुकी अपराध संहितामा भएको व्यवस्था अनुसार यो मुद्दा २७ पुस अगावै अदालतमा पेश हुनुपर्छ । ब्यूरोका डीआईजी धिरजप्रताप सिंह समयमै अनुसन्धान प्रतिवेदन बुझाउने गरी तयारी भइरहेको बताउँछन् । उनी भन्छन्, ‘कीर्ते प्रकरणका मुख्य आरोपी २ जना हुन्, अरुलाई पनि प्रतिवादी बनाएर रायसहितको प्रतिवेदन बुझाउँछौं ।’
ब्यूरोले गरेको अनुसन्धानका क्रममा २०४९ सालदेखि २०७० सालसम्म चारपटक कागजात कीर्ते गरेर ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारिएको निष्कर्ष निस्किएको छ । त्यहीअनुसार सीआईबीले चार वटा मुद्दा दायर गर्ने गरी तयारी गरिरहेको छ ।
प्रतिक्रिया 4