
१२ चैत, पोखरा । पूर्णप्रसाद तुलाचन उमेरले ८४ पुगिसके । गाला चाउरिसक्यो । केही वर्षदेखि कान पनि कम सुन्न थालेका छन् । उनीसँग दोहोरो कुरा गर्नेले केही चर्को श्वरमा बोल्नुपर्छ ।
तर पोखरा लेकसाइडमा बस्दै आएका तुलाचनको आँट तन्नेरी–युवाको झैं छ । त्यस्तो तन्नेरी, जो पोखरामा हुने हरेक सानाठूला दौड प्रतियोगिताहरुमा दौडिने आँट राख्छन् ।
तुलाचनले शनिबार भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको स्वेच्छिक ५ किलोमिटर दौडमा पनि सहभागिता जनाएका छन् ।
उनले निर्धारित दूरी करिब ३९ मिनेटमा पूरा गरे । ‘८४ वर्षको बुढो दौडिन लागेको छ भनेर पहिल्यै पत्रपत्रिका, रेडियोले भनिदिएछ । बाटोभरि मलाई भेट्नेहरु धेरै भए,’ तुलाचन भन्छन्, ‘साथीभाइ हाइहेल्लो गर्दा अल्मिलिएँ । नत्र ३४/३५ मिनेटमा पूरा गर्थें ।’
तुलाचनले यस वर्षमात्रै दौडमा भाग लिएका होइनन् । यो प्रतियोगितामा ०७५ सालदेखि नै निरन्तर दौडिँदै आएका छन्, अरु साना ठूला दौडमा पनि भाग लिन्छन् ।
बुढेशकाललाई निरोगी बनाउन तुलाचनले नारा पनि बनाएका छन्, ‘खानपिनमा विशेष ध्यान दिऔं, योग र व्यायाम प्रणायामको साधना गरौं । स्वस्थ जीवनका लागि दौडौं, सुखी र खुसीसँज बुढेशकाल बिताऔं ।’
शनिबार सहभागीमध्ये सबभन्दा पाका उमेरका धावक उनी नै थिए । बाटोबाटोमा शुभेच्छुकहरु उनको फोटो खिच्ने र शुभकामनाका हात हल्लाउने प्रशस्त थिए । ५ किलो मिटर दौड सकिएपछि उनले भने, ‘यो मेरा लागि मात्रै दौडिएको होइन, स्वच्छ जीवन चाहने सबैका लागि पनि दौडिएको हो ।’
उनको हरेक बिहान दौडमै बित्छ । नियमित शारीरिक अभ्यासले नै आफूमा अझै पनि कुनै प्रकारको गडबडी नदेखिएको दाबी गर्छन् । ‘म दौडिएको स्वास्थ्यका लागि हो । यो एक दिनले मात्रै गर्न सकिने होइन, प्राक्टिस चाहिन्छ,’ तुलाचनले अनलाइनखबरसँग भन्छन्, ‘दिनदिनै बिहानै उठेर व्यायाम गर्छु । बाहिर निस्केर एक घन्टा दौडिन्छु । त्यही भएर होला, अहिलेसम्म स्वास्थ्यमा कुनै गडबडी छैन ।’
तुलाचनलाई अझै आफ्नो दौड रोक्न मन छैन । उनी आफू ९० वर्षको हुँदासम्म दौडिरहने बताउँछन् । ‘अहिलेसम्म केही भाको छैन । छोरा नातिले राम्रो भनिराछन् । म त ९० वर्षको हुँदासम्म दौडिने हो,’ उनको बोलीमा उत्साह सुनिन्छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा जन्मिएका तुलाचन लेखक, अध्येता पनि हुन् । उनले थकालीहरुको धर्मसंस्कृति सम्बन्धी ३ वटा किताबसमेत प्रकाशित गरिसकेका छन् । उनको पहिलो कृति ०७३ सालमा प्रकाशित भएको थियो ।
‘लामो समय व्यापार गर्दै कहिले म्याग्दी, कहिले मुस्ताङ, पोखरा गरिरहें । ५८ सालबाट भने निरन्तर पोखरामै बसेर सामाजिक सेवामा ध्यान दिइरहेको छु,’ भन्छन्, ‘यसबाहेक अर्को एउटा किताबको पनि तयारी गरिरहेको छु ।’
प्रतिक्रिया 4