
काठमाडौं । बलिउड फिल्म कम्पनी कृष्ण शन्ति प्रोडक्सन हाउसले निर्माण गरेको फिल्म ‘इश्क पश्मीना’ को टिजर र गीत काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ ।
निर्माता सुरज सूर्या मिश्र, अभिनेता भाविन भानुशाली र अभिनेत्री मालती चाहरसहितको टोलीले टिजर सार्वजनिक गरेको हो । कार्यक्रममा भाग लिन उक्त टोली काठमाडौं आइपुगेको थियो । सोही दिन टोलीले पशुपतिनाथ मन्दिरको दर्शन पनि गरेको थियो ।
भाविन र मालतीको यो डेब्यु फिल्म हो । भाविन भारतका लोकप्रिय टिकटक स्टार हुन् भने मालती भारतीय क्रिकेटर दीपक चाहरकी बहिनी हुन् । भारतको सिमलामा छायांकन गरिएको फिल्मले ९० को दशकको झल्को दिंदै नवीन प्रेम कथा भनेको फिल्मका निर्माता सुरज सूर्या मिश्राले बताए ।
नेपाल र भारत निकट मित्र रहेको बताउँदै निर्माता मिश्रले सम्बन्धलाई अझै भावनात्मक बनाउन आफूहरु नेपाल आएको बताए । अभिनेत्री मालतीले कथाले युवापुस्ताको मन छुने बताइन् ।
जी म्युजिक कम्पनीबाट सार्वजनिक भएको गीत ‘जोगी हो गया’ मा चर्चित भारतीय गायक जाबेद अलीले स्वर दिएका छन् । फिल्मको निर्देशन अरबिन्द पाण्डेले गरेका हुन् । ‘इश्क पश्मिना’ फिल्मको ट्रेलर ७ सेप्टेम्बरमा सार्वजनिक हुने र सेप्टेम्बर २३ देखि नेपाल र भारतमा प्रदर्शनमा आउने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।
प्रतिक्रिया 4