+
+

पोखरामा ट्राफिक लाइट देखाउन मात्रै, हातकै इशाराको भर

विकास रोकामगर विकास रोकामगर
२०७९ फागुन ३ गते १७:३३

३ फागुन, पोखरा । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै ट्राफिक चाप चाउथेमा पुगेको छ । पृथ्वीराजमार्गसँगै अन्तर्राष्ट्रियस्तरको विमानस्थल जोडिएको हुँदा राजमार्गमा ट्राफिक चाप पनि बढेको छ ।

नयाँ विमानस्थल सञ्चालनमा आएपछि महानगरले राजमार्गको चाप कम गर्न रामबजार, मितेरी पुल हुँदै विरौटा, लेकसाइडको बाटोलाई वैकल्पिक बाटोका रुपमा अगाडि सारेको छ । लेकसाइड नजाने यात्रुले बिकल्पको रुपमा मियाँपाटन, रानीपौवा हुँदै महेन्द्रपुलको बाटो प्रयोग गर्न थालेका छन् ।

तर, सडकसहित भौतिक पूर्वाधारको उचित व्यवस्थापन नहुँदा अहिले मुख्य राजमार्गमात्रै होइन, सहायक बाटोमा समेत ट्राफिक जामको समस्या बढ्न थालेको छ । नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु नहुँदै ट्राफिक जाम बढ्न थालेपछि जनस्तरबाट गुनासो उठ्न थालेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट महेन्द्रपुल हुँदै आउने सवारी साधनका् चाप बढ्न थालेपछि अहिले महानगरले ती क्षेत्रमा हुने सडक पार्किङ हटाउन थालेको छ । महानगरले सुरुमा माघ २३ गतेदेखि महेन्द्रपुल, न्युरोड, नयाँबजार, चिप्लेढुंगालगायत ठाउँमा सडक पार्किङ पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको थियो ।

तर, बिना विकल्प केवल एकहप्ताको समय दिएर पार्किङ बन्द गर्न खोजेपछि ती ठाउँका व्यवसायीमात्रै नभएर सवारी धनीसमेतले विरोध गरे । उद्योगी, व्यवसायीहरुको छाता संगठन पोखरा उद्योग वाणिज्य संघले २२ गते विकल्पबिना तत्काल सूचना लागू नगर्न महानगलाई ज्ञापनपत्र नै बुझायो ।

तर, सडकको पार्किङ हटाउँदैमा ती बाटोमा बढ्दै गएको ट्राफिक जामको समस्या तत्काल हट्ने देखिँदैन । ठूला बाटोमा साँघुरा पुल मुख्य अहिले ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न मुख्य टाउको दुखाइको विषय बनेको छ ।

यातायात कार्यालय गण्डकीअनुसार अहिलेसम्म प्रदेशभर ३ लाख बढी २ पांग्रे र ६० हजार चार पांग्रे सवारी साधन दर्ता छन् । त्यसमध्ये ९० प्रतिशत पोखराकै सडकमा गुड्छन् । दैनिक २ लाखभन्दा बढी सवारीसाधन गुड्ने पोखरा महानगर भने ट्राफिक लाइटविहीनजस्तै छ । जसको मार ट्राफिक प्रहरीले खेप्नु परेको छ ।

नयाँ विमानस्थल सञ्चालनमा आएपछि केही दिनअघि महेन्द्रपुलमा भएको ट्राफिक लाइट पनि चलाउन सुरु गरिएको थियो । तर, उक्त ट्राफिक लाइट पनि करिब ३ दिन चलेर बन्द भयो । रातो, पहेंलो र निलो बत्ती बल्ने ट्राफिक लाइटमा अहिले केवल पहेँलो बत्तीमात्रै बल्छ ।

महेन्द्रपुल चोकमा सुरु गरिएको ट्राफिक लाइट पुल साँघुरो हुँदा सञ्चालनमा ल्याउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको भनाइ छ । पुलका कारण ट्राफिक लाइट सञ्चालनमा ल्याउन लेन सानो हुने र त्यसले गर्दा समस्या सुल्झिनुको साटो झनै बढेको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ नायब निरीक्षक शिव पाठक बताउँछन् ।

‘यो हामीले ३ दिनसम्म त चलायौं । त्यसमा हामीले के पायौं भने यहाँको लेन नै मिलेन । दायाँ लेनमा आएको सवारी बायाँ लेनमा जान नपाउँदा लाइन लामो देखियो,’ पाठक भन्छन्, ‘त्यसले सवारीको अवरोध झनै बढ्यो । झन् जाम बढ्यो ।’
महानगरले उक्त ट्राफिक लाइट गत वर्ष करिब १८ लाख रुपैयाँ लागतमा जोडेको महानगर ट्राफिक व्यवस्थापन समितिका इन्जिनियर सुरेन्द्र पौडेल सुनाउँछन् । उनले पनि सुरुमा परीक्षणका लागि ट्राफिक लाइट जोडिएको भए पनि लेन सानो हुँदा समस्या आएर बन्द गर्नु परेको स्वीकारे ।

‘अहिले त्यहाँ रहेका संरचना (पोखरा आर्ट ग्यालरी र पुस्तकालय) भत्काइसकेका छौं । अब सडक चाख्लो बनाउन लागेका छौं । केही अध्ययनपछिमात्रै सञ्चालनमा आउँछ,’ इन्जिनियर पौडेलले अनलाइनखबरसँग भने, ‘अहिले केही दिन चले पनि लेन सानो भएर सुरु हुन सकेन ।’

ट्राफिक प्रहरी प्रवक्ता पाठक पोखरामा दैनिक ट्राफिक जाम समस्या बढ्दै जाँदा मुख्यमुख्य चोकमा ट्राफिक लाइट भए ट्राफिक व्यवस्थापनमा सहज हुनेमात्रै नभएर जनशक्ति पनि कम लाग्ने सुनाउँछन् । ट्राफिक लाइट नहुँदा ट्राफिक प्रहरीले हात र सिट्ठीको सहारामा लाखौं सवारी साधनको चाप व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।

जिल्ला ट्राफिक कार्यालयसँग अहिले २८ जनाको दरबन्दी छ । जसमा अन्य प्रहरी कार्यालयबाट तानतुन गरेर ९८ जना ट्राफिक व्यवस्थापनमा खटिएका छन् । ‘म्यानुअलभन्दा ट्राफिक लाइटले काम गर्दा सहज हुन्छ । ट्राफिक लाइट भयो भने जनशक्ति पनि कम लाग्छ,’ पाठक भन्छन्, ‘सवारी साधन न्युनीकरणका लागि पनि ट्राफिक लाइट जरुरी छ ।’

०७६ वैशाख १० गते पोखरा १३ मा तत्कालीन मेयर मानबहादुर जिसीले उद्घाटन भएको ट्राफिक लाइट पनि अहिले सञ्चालनमा छैन । वडाध्यक्ष किरण बराल लाइटमा केही प्राविधि समस्या आएको र मर्मतपछि सञ्चालनको तयारीमा रहेको जानकारी दिए ।

लाइट जोड्ने योजना नै अलपत्र

पोखरा महानगरमा कहिल्यै ट्राफिक लाइट नभएका भने होइनन् । तत्कालीन पोखरा उपमहानगर मेयर कृष्ण थापाकै पालामा २०५६ मा पोखराका विभिन्न चोकमा ट्राफिक लाइट जोडिएका थिए ।

तत्कालीन समयमा पोखरा कमर्सियल अटो पार्किङ (पीक्याप) सँगको साझेदारीमा पोखरामा ट्राफिक लाइट जोडिएको थियो । पीक्यापले पोखराको सडक पार्किङ शुल्क उठाउने ठेकेदार कम्पनी भएकाले लामो समय उपमहानगरसँग सम्बन्ध राम्रो बनेन, फलस्वरुप जोडिएका ट्राफिक लाइट पनि अलपत्र बन्न पुगे ।

जोडिएका ट्राफिक लाइट कुनै नियमित मर्मतको अभावमा बिग्रिए भने कुनै तत्कालीन जनआन्दोलनका क्रममा फुटाइएपछि न पुनः मर्मत भए न त जडान नै गरियो । पहिलो चरणमा ट्राफिक लाइट जोडिएको करिब २ दशकदेखि ०७५ सालमा सडक विभागले पोखराका विभिन्न ठाउँमा लाइट जोड्न अध्ययन सुरु गर्‍यो ।

पोखराका विभिन्न १० चोकमा ट्राफिक लाइट जोड्न सडक विभाग पोखरा र पोखरा महानगरले ४ वर्षअघि नै संयुक्त अध्ययन गरेका थिए । तर, योजना लामो समय बितिसक्दासमेत पूरा हुन सकेको छैन ।

विभागले अध्ययन सुरु गरेको ३ वर्षपछि ०७८ कात्तिकमा पोखराका २६ ठाउँमा ट्राफिक लाइट जोड्ने महानगरसँग सम्झौता गरेको थियो । महानगरका इन्जिनियर सुरेन्द्र पौडेललाई सडक विभागबाट तत्काललाई ५ ठाउँमा ट्राफिक लाइट राख्ने गरी टेन्डरमा गइसकेको जानकारी दिए ।

पौडेका अनुसार पहिलो चरणमा सभागृह, सिर्जनाचोक, विरौटालगायत ठाउँमा ट्राफिक लाइट राखिँदैछ । ‘सायद असार मसान्तसम्म सकिनुपर्ने हो, त्यसपटि थप १० वटामा लाइट राख्न महानगरले अध्ययन गर्दैछ,’ उनले भने । प्रत्येक चोकमा ट्राफिक लाइट राख्न २५ लाख रुपैयाँ लाग्ने विभागले जनाएको छ ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?