+
+

धनकुटा-भोजपुर सडकमा यातायात व्यवसायीको सिन्डिकेट

अनलाइनखबर अनलाइनखबर
२०७० असोज २५ गते १३:२८

२५ असोज, भोजपुर । कोशी पहाडी सडकमा यातायात व्यवसायीले सिन्डिकेट लगाएपछि दसैं मनाउन घर फर्केका भोजपुर र खोटाङ सयौं यात्रुले हैरानी व्यहोर्नुपरेको छ ।

धनकुटा-भोजपुर सडकखण्डमा ट्याम्के पहाडी बस व्यवसायीको नाममा सिन्डिकेट लगाएर बाहिरबाट रिजर्भमा गएका बस समेत छिर्न नदिएपछि यात्रुलाई सास्ती भोग्नुपरेको हो ।

भोजपुरलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने अरुण नदीमाथिको पूल निर्माण भएर सञ्चालनमा आएलगत्तै स्थानीय बस व्यवसायीले सो पूलबाट बाहिरबाट जाने बसलाई जिल्ला प्रवेशमा निषेध गरेका हुन् ।

मध्य पहाडी वस व्यवसायी संघ र सिद्दकाली बस व्यसायी संघमा रहेका यातायात व्यवसायीको समूहले विहिबारमात्रै विद्यार्थीहरुले काठमाडौंबाट रिजर्भमा लगेको बसलाई जबरजस्ती फकाईदिएका छन् ।

काठमाडौंबाट भोजपुर बजारका आर्सन श्रेष्ठसहितले ४० जना यात्रुसहित लगेको बसलाई सिद्धकाली बस व्यवसायीका गोपाल तामाङसहितको समूहले जवरजस्ती फर्कादिएको हो । यातायात व्यवसायीले जवरजस्ती रिजर्भ बसलाई फर्काइरहादा त्यहाँ सुरक्षामा खटिएका धनकुटा र भोजपुरका प्रहरी रमिते बनेका थिए ।

बुधबारमात्रै सिन्डिकेटको अन्त्यका लागि जिल्लामा बसेको सर्वपक्षीय बैठकले धरान विराटनगरबाट आउने गाडीलाई कतै नरोकी भोजपुरसम्म आउन दिने निर्णय गरेको थियो ।

‘प्रशासनको समेत उपस्थितिमा भएको निर्णय लत्याइएको छ । अरुणमा पक्की पूल बनेपछि पनि धरानबाट आएको गाडीबाट पारी नै यात्रु ओरालेर वारी आएर अर्को गाडी चढ्न बाध्य बनाइएको छ ।’, भोजपुरका स्थानीयबासी मणिकुमार राईले भन्नुभयो, ‘यातायात व्यवसायीले खुलाआम मनपरी गरिरहंदा यहाँको प्रशासन र कानुन कार्यान्वयन गर्ने निकाय आाखा चिम्लेर बसेका छन् ।’

धनकुटाको लेगुवाबाट भोजपुरको जम्म दूरी ६६ किलोमिटर हो । तर यहााको भाडा देशकै सबैभन्दा महंगो छ । अहिले पनि यातायात व्यवसायीले सिन्डिकेटको आडमा ६६ किलोमिटरको ५ सय रुपैयाँ भाडा असुलिरहेका छन् ।

‘हामीले पटक पटक खबरदारी गर्दा पनि प्रहरी प्रशासन मौन छ । यातायात व्यवसायीको मनपरी रोक्न प्रशासनले गम्भीरतापूर्वक भूमिका खेलेको छैन ।’ नागरिक समाजका संयोजक परशुराम तिवारीले भन्नुभयो, ‘अरुणमा पूल बनेपछि  र बाटाको अवस्थामा पनि सुधार आएकाले भाडा घटाऊँ भन्दा यातायात व्यवसायीका दादागिरीका अगाडि प्रशासन चासो नदिई बसेको छ ।’

मध्य पहाडी वस व्यवसायी संघ र सिद्धकाली यातायात व्यवसायी संघमा आवद्ध २८ वटा बस अहिले लेगुवा-भोजपुर सडक खण्डमा गुडिरहेका छन् । सर्वोच्च अदालतले समेत खारेज गरिसकेको सिडिन्केट लादेर यातायात व्यवसायीहरुले यात्रुको हुर्मत लिइरहेको स्थानीयबासी मणिकुमार राईले बताउनुभयो ।

दसैं मनाउन घर फर्केकाहरुलाई मानवीय नाताले पनि दुःख नदिई सिधै भोजपुरसम्म आउन दिन आग्रह गर्दा यातायात व्यवसायीहरुले नाफाका लागि मात्र काम गर्न खोजेको बताउनुभयो । ‘दसैं मान्न आउनेहरुलाई राहत दिनुको साटो उल्टो सास्ती दिइरहेका छन्, यातायात व्यवसायीले । देशमै कहीं नभएको नियम यहााका यातायात व्यवसायीको छ ।’, उद्योग वाणिज्य संघ भोजपुरका उपाध्यक्ष कर्ण मोक्तानले भन्नुभयो, ‘जिल्लामा बसेको सर्बपक्षीय बैठकको निर्णयलाई समेत लत्याएर रिजर्भ बसलाई फर्काउने जस्तो ज्यादतिपूर्ण कामले यात्रुले भोगेको सास्ती भनिसाध्य छैन ।’

बुधबार भोजपुरका प्रमुख जिल्ला अधिकारी उद्धव थापा र डिएस्पी नान्तीराज गुरुङले समेत हस्ताक्षर गरेको निर्णयको मसी सुक्न नपाउादै पुनः सिन्डिकेट लाएर यातायात व्यवसायीले कानुनलाई खुलेआम चुनौति दिएको नागरिक समाज भोजपुरका सह-संयोजक नेत्रविनोद लुईटेलले बताउनुभयो ।

बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण पूरा भएर केही दिनअघि देखि सञ्चालमा आएको अरुण नदिको पूलबाट गाडी गुड्न थालेपनि यातायात व्यवसायीले काठमाडौ र धरानबाट आएका अन्य संघमा आवद्ध गाडीलाई भोजपुर छिर्नै दिएका छैनन् ।

मध्य पहाडी यातायात व्यवसायी संघका अध्यक्ष भरत तामाङले बुधबार प्रजिअसमेत उपस्थि बैठकमै सिन्डिकेट नहट्ने चेतावनी दिएका थिए । अध्यक्ष तामाङले मधेशबाट आएका पूलपारी रोकेर यात्रु झारेर पूलवारीबाट ती यात्रुलाई आफ्ना गाडीले बोक्न नपाए दसैंको मुखमा यातायात ठप्प पार्ने धम्की समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?