+
+

नक्कली शरणार्थी प्रकरणमा कम्तिमा ३२ जना संलग्न, थप संलग्नता खुले पुरक प्रतिवेदन लगिने

गौरव पोखरेल गौरव पोखरेल
२०८० जेठ ७ गते २२:२०
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू । तस्वीरः अनलाइनखबर

७ जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असूली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।

झण्डै दुई महिना लामो अनुसन्धानपछि प्रहरीले यो संगठित अपराधमा हालसम्म ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अनलाइनखबरलाई बताए ।

उनीहरुमध्ये १६ जना जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका इकाइको हिरासतमा छन् । थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिनेछ ।

एसएसपी कार्कीका अनुसार प्रहरीले स्पष्ट संलग्नता देखिएका ३२ जनालाई प्रतिवादी बनाएर सोमबार रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई बुझाउँदैछ ।

‘आरोपीहरुविरुद्ध ठगी, कीर्ते र संगठित अपराधको कसूरमा मुद्दा चलाउन सिफारिस गरिनेछ’, कार्कीले अनलाइनखबरसँग भने, ‘केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिनेछ ।’

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार हालसम्म प्राप्त जाहेरी अनुसार यो गिरोहले कम्तिमा २४ करोड रुपैयाँ असूली गरेको देखिएको छ ।

रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको दिन आइतबार पनि जिल्ला प्रहरी परिसर, टेकुमा पीडितहरु जाहेरी लिएर आइपुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताए ।

‘दोलखाका पाँच जना पीडितहरुले आएर पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध जाहेरी दिएका छन्’, उनले भने, ‘थपको पनि जाहेरी आउन सक्छ, त्यसैले कति उठाइएको हो भन्ने विषय हेरफेर हुनसक्छ ।’

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले आफूहरुलाई अध्ययन गर्ने समय पनि चाहिने भन्दै प्रहरीलाई बुधबार नै अनुसन्धान प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

तर अन्तिम समयमा सांसद् आङटावा शेर्पा र भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल पक्राउ परेपछि बयान लगायतका आधारमा प्रहरीले थप समय मागेको थियो ।

‘पहिल्यै प्रतिवेदन बुझाउन निर्देशन दिइएपनि थप व्यक्ति पक्राउ परेकाले समय लाग्यो’, नेउपाने भन्छन्, ‘भोलि प्रहरीले प्रतिवेदन बुझाउने भएको छ, बयानका क्रममा वा फेरि थप व्यक्तिहरुको संलग्नता खुले पुरक प्रतिवेदन फेरि अदालतमा पेश हुन्छ ।’

अधिकृतहरुका अनुसार प्रतिवेदन अहिले कम्तिमा ३२ जना मात्र प्रतिवादी भएपनि थप केही व्यक्तिको नाम पनि किटान गरिनेछ । नाम, थर, ठेगाना लगायत स्पष्ट रुपमा नखुलेकालाई पनि फेरि अनुसन्धान गरेर पुरक प्रतिवेदन लैजान सक्ने गरी अन्यको पनि नाम उल्लेख गरिने उनले बताए ।

गोप्य प्रतिवेदन सचिवको घरमा

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा उर्जामन्त्री रहेका टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईकै योजनामा नक्कली शरणार्थी प्रकरणको योजना बुनिएको निष्कर्ष निस्किएको छ ।

रायमाझी र राईले लगानीकर्ताका रुपमा ललितपुरका सानु भण्डारी र मोरङका केशव दुलाललाई जोडेर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दा चलाएको प्रहरीको निष्कर्ष छ । प्रहरीले १२ चैत २०७९ मा दुलाल, भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङको पथरीशनिश्चरेका पूर्ववडाध्यक्ष सागर राई पक्राउ परेका थिए ।

प्रहरीका अनुसार गुरुङ र राईलाई उनीहरुले विभिन्न व्यक्तिबाट रकम उठाउन प्रयोग गरेका थिए । राई मोरङस्थित शिविर नजिककैका व्यक्ति भएकाले पनि उनीहरुले सहयोगीका रुपमा राखेको पाइएको अधिकृतहरुको दाबी छ ।

प्रहरीका अनुसार भण्डारी र तत्कालीन उर्जामन्त्री रायमाझी ललितपुरमा छिमेकी हुन् । ‘नेपाल स्टालाइट टेलिकम कम्पनीमा काम गरिरहेका बेला उनलाई इन्द्रजित राईसँग भेट्न पठाएको देखिन्छ’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘त्यसपछि राईले शरणार्थी बनाएर विदेश पठाएर रकम उठाउन सक्नेबारे उनलाई बताएर यो काममा जोेडेको देखिन्छ ।’

अरु राजनीतिक मेसो मिलाउनलाई दुलाल पनि प्रयोग भएको प्रहरी अधिकृतहरु बताउँछन् । दुलाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेलाा निजी सहायक थिए । त्यतिबेलाकै चिनजान र सम्बन्धलाई प्रयोग गरेर उनले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने कार्यमा प्रयोग गरेको अधिकृतहरु बताउँछन् ।

प्रहरीका अनुसार रायमाझी र इन्द्रजितसहितको समूहले भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानका लागि भन्दै अध्ययन कार्यदल गठन गरेर त्यसमार्फत नयाँ शरणार्थी थपेर अमेरिका पठाउने योजना बनाएका थिए । ‘एकातिर अन्तर्राष्ट्रिय रुपमा तेस्रो मुलुक पुनर्वासका लागि दबाब बढाइराख्ने, अर्कातिर मन्त्रालयबाट कार्यदल बनाएर नयाँ शरणार्थी थप्ने योजना रहेछ’, ती अधिकृत भन्छन्, ‘त्यही योजना अनुसार गृह मन्त्रालयले ३० जेठ २०७६ मा बनाएको कार्यदलमा गिरोहले घुसपैठ गरेको पाइएको छ ।’

अनुसन्धान अधिकृतहरुका अनुसार प्रतिवेदनमार्फत असूली गरिएका व्यक्तिहरुको नाम समेट्न पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलमा ‘विज्ञ’का रुपमा भण्डारीले आफ्ना छिमेकी गणेशबहादुर केसीलाई सदस्य बनाएका थिए ।

केसीले अनलाइनखबरसँग कुरा गर्दै आफूलाई भण्डारीले तत्कालीन सुरक्षा सल्लाहकार राईसँग भेट गराएर कार्यदलमा सदस्य बनाएको स्वीकारेका छन् । यद्यपि कार्यदलले मन्त्रालयमा प्रतिवेदन बुझाउँदा उनीहरुले असूली गरेर निवेदन दिन लगाएका ८७५ जनाको नाम समेटेन । त्यसपछि गिरोहको योजनामा धक्का पुगेको अधिकृतहरु बताउँछन् ।

पछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेका बेला उनीहरुले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेमार्फत प्रतिवेदन नै कीर्ते गराएको अधिकृतहरु बताउँछन् । पाण्डेले स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखामा राखिएको गोप्य प्रतिवेदन घर लगेर एक सातापछि फर्काएको पाइएको छ ।

त्यसक्रममा प्रतिवेदन फिर्ता ल्याउँदा कीर्ते गरिएको कागजात राखेको प्रहरीको निष्कर्ष छ । यसमा प्रहरीले अन्य कर्मचारीको पनि संलग्नता हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाएको थियो । तर पुष्टि हुन सकेन ।

प्रहरीका अनुसार प्रतिवेदन कीर्ते गराउनु अघि उनीहरुले पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन सच्याउन अर्को उपसमिति बनाउने निर्णय गराएका थिए । तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, उनका स्वकीय सचिव नरेन्द्र केसी लगायतलाई प्रभावमा पारेर जिल्ला प्रशासन कार्यालय, झापाका उपसचिव चोमेन्द्र निरौलोको नेतृत्वमा उपसमिति बनाइएको थियो । तर, उपसमितिले ‘विवादित विषय’ भन्दै काम गरेको थिएन ।

पहिले गएको देखाउँदै, असूल्दै

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार हाल प्रहरी हिरासतमा रहेका पूर्वसभासद् आङतावा शेर्पाका परिवारका एक जना सदस्य आफैं भुटानी शरणार्थी बनेर अमेरिका गएका थिए ।

‘गिरोहमा संलग्न शेर्पा जस्ता अन्य व्यक्ति पनि छन्, जो पहिले भुटानी शरणार्थी बनेर तेस्रो मुलुक पुनर्वासमा गएका छन्’, ती अधिकृत भन्छन्, ‘त्यसैलाई समेत देखाएर विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारिएको देखिएको छ ।’

शेर्पाले रामेछाप, दोलखा, ओखलढुंगा लगायतका जिल्लाका व्यक्तिहरुसँग असूली गरेको पाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की बताउँछन् । प्रहरीले यसमा भुटानी शरणार्थीका अधिकारवादी नेता टेकनाथ रिजाललाई पनि पक्राउ परेको छ ।

प्रहरीको दाबीमा उनले पनि गिरोहबाट ७ देखि १० लाख रुपैयाँ आर्थिक लाभ लिएको देखिएको छ । ‘उहाँले भुटानको ठेगानाहरु बताउन सहयोग गर्नुभएको देखिन्छ, केही कागजात पनि बनाएको देखिन्छ’, एक अनुसन्धान अधिकृतले भने, ‘तर उहाँले बयानमा आफ्नो संलग्नता अस्वीकार गर्नुभएको छ ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?