+
+

किन पक्राउ परे भुटानी नेता टेकनाथ रिजाल ?

झापा र मोरङमा नेपाली नागरिकसँग ‘मोटो रकम’ असूली गरेर भुटानी शरणार्थी बनाउन खोजिएको हल्ला चलेको थियो । त्यसबारे छनक पाएका रिजाल आफैंले जिल्ला प्रशासन कार्यालयदेखि गृह मन्त्रालयसम्ममा जानकारी गराएका थिए । तत्कालीन गृहमन्त्री र गृहसचिवलाई भेटेर चलखेल भइरहेको सुनेको बताउँथे ।

गौरव पोखरेल गौरव पोखरेल
२०८० जेठ ४ गते २३:०३

४ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याएको एसएसपी दानबहादुर कार्की बताउँछन् । उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतलाई पक्राउ गरिसकेको प्रहरीले बिहीबार भुटानी नेतालाई पनि नियन्त्रणमा लिएको हो ।

घरफिर्ती अभियानका अभियन्ता

सन् १९९० मा भुटानबाट लखेटिएर आएर झापा र मोरङमा बसेका शरणार्थीहरुलाई स्वदेश फर्काउनुपर्ने मागमा भुटानी अधिकारवादी नेता रिजाल सधैँ अडिग रहे ।

शरणार्थी मामलालाई अन्तर्राष्ट्रियकरण गरेर विश्वको ध्यान खिच्न पनि रिजालको महत्वपूर्ण भूमिका थियो । तेस्रो मुलुक पुनर्वासको पक्षमा भने उनी थिएनन् ।

वार्तामार्फत भुटानले घुँडा टेक्न लागेका बेला तेस्रो मुलुक पुनर्वास प्रक्रिया अघि बढाएपछि यो समस्या समाधान नहुन नसकेको उनको जिकिर थियो । उनी भन्थे, ‘सकभर सबैलाई भुटान नै फर्किने व्यवस्था गर्नुपर्छ, सबै सम्भव नभए केहीलाई भएपनि भुटान लैजानुपर्छ ।’

रिजालको बुझाइमा तेस्रो मुलुक पुनर्वासलाई स्वीकार्नु भनेको भुटानसँग हार स्वीकार्नु थियो । त्यहाँको राज्य पक्षलाई सन् १९९० मा जे भयो, त्यो गलत थियो भन्ने बुझाउन पनि भुटान फर्किने वातावरण बनाउनुपर्ने उनको मत रहन्थ्यो ।

हाल झापाको बेलडाँगी र मोरङको पथरीशनिश्चरेस्थित शिविरमा ६ हजार ५७७ शरणार्थी बाँकी छन् । जम्मा १ लाख १३ हजार ४२८ शरणार्थीमध्ये तेस्रो मुलुक पुनर्वासपछि बचेका उनीहरुको दीर्घकालीन व्यवस्थापनका लागि उनले माग उठाइरहेका थिए ।

२०७६ सालमा उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई एउटा ज्ञापन पत्र बुझाउँदै आफ्नो उही पुरानो माग दोहोर्‍याएका थिए, ‘स्वदेश फर्किने व्यवस्था गर्न पहल गरिपाउँ ।’

उनले तेस्रो देश पुनर्वासले निम्त्याएको पारिवारिक वियोग हटाउन परिवार एक हुने वातावरण सिर्जना गर्नुपर्नेसहितका १२ बुँदे माग पेश गरेका थिए । उनै रिजालको ज्ञापन पत्रलाई आधार बनाएर तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले १४ जेठ २०७६ मा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन भन्दै कार्यदल गठन गर्ने निर्णय गरे ।

३० जेठमा मन्त्रालयले शरणार्थी मामिलामा समेत काम गरिसकेका गृह प्रशासनका अनुभवी पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गर्‍यो । कार्यदलले काम गर्न थालेलगत्तै झापा र मोरङका शिविरमा शरणार्थी दर्तामा छुट भएका व्यक्तिहरुसँग आवेदन मागिएको थियो ।

त्यसबेला झापा र मोरङमा नेपाली नागरिकसँग ‘मोटो रकम’ असूली गरेर भुटानी शरणार्थी बनाउन खोजिएको हल्ला चलेको थियो । त्यसबारे छनक पाएका रिजाल आफैंले जिल्ला प्रशासन कार्यालयदेखि गृह मन्त्रालयसम्ममा जानकारी गराएका थिए । तत्कालीन गृहमन्त्री र गृहसचिवलाई भेटेर चलखेल भइरहेको सुनेको बताउँथे ।

के हो अभियोग ?

शरणार्थी नेता रिजाललाई प्रहरीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग सम्बन्ध देखिएको भन्दै पक्राउ गरेको हो ।

रिजाल नेपालको भुटानी शरणार्थी मामलालाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण भूमिका खेलेका व्यक्ति हुन् । त्यही कारण विगतमा गृह मन्त्रालयले उनलाई गाडी र भत्ताको सुविधा दिएको थियो

प्रहरीले उनीमाथि के अभियोग लागेको भन्ने अझै स्पष्ट जवाफ दिइसकेको छैन । ‘घटनामा पक्राउ परेकाहरुसँग सम्बन्ध देखिएपछि छानबिनका लागि नियन्त्रणमा लिएका हौं’, काठमाडौं प्रहरी प्रमुख एवं एसएसपी कार्की भन्छन्, ‘जिल्ला अदालतबाट उहाँविरुद्ध अनुसन्धान गर्न दुई दिनको अनुमति पाएका छौं ।’

अनुसन्धान अधिकृतहरुको भनाइमा उनी मोरङको पथरीशनिश्चरीका पूर्ववडाध्यक्ष सागर राईको बयानका आधारमा पक्राउ परेका हुन् । राईसँग उनले लनदेन गरेको देखिएको प्रहरी अधिकृतहरु बताउँछन् ।

मोरङको पथरीशनिश्चरेका पूर्ववडाध्यक्ष राईलाई प्रहरीले १५ चैत २०७९ मा पक्राउ गरेको थियो । नेता रिजालले स्वयम् बताएअनुसार उनले एक पटक उनीसँग ७ लाख रुपैयाँ सापटी लिएका थिए । त्यो रकम उनले त्यसबेलै फिर्ता समेत गरिसकेको दाबी गर्थे ।

त्यही विषयलाई जोडेर आफ्नो चरित्र हत्या गर्न खोजिएको उनले एक साताअघि अनलाइनखबरसँग बताएका थिए ।

उनले २०७६ सालतिर शरणार्थी मामलामा गडबडी भएको नेताहरुलाई गएर बताएका मात्र थिएनन्, पछिल्लो समय पनि यो प्रकरणलाई बाहिर ल्याउन थेरथोर भूमिका खेलेका थिए । त्यसवापत आफूलाई सुरक्षा चुनौति समेत भएको रिजालले बताएका थिए । उनले यो कुरा गृह मन्त्रालयसम्म पनि पुर्‍याएका थिए ।

प्रहरी अधिकृतहरु भने उनले केही व्यक्तिहरुलाई मानवअधिकारसम्बन्धी परिचयपत्र बनाउन समेत सहयोग गरेको आशंका गरिएको बताउँछन् ।

रिजालको छवि यसअघि भुटानी शरणार्थी मामलामा निःस्वार्थ संघर्ष गरिरहेको अगुवाको रुपमा थियो । उनी स्वयम्ले आफूलाई शरणार्थी कार्यदलमा बस्न प्रस्ताव आएको खुलाएका थिए । भित्री साँठगाँठ बुझेका केही सरकारी अधिकारीहरुकै सुझावका कारण आफू जोगिएको उनी बताउने गर्थे ।

रिजाल नेपालको भुटानी शरणार्थी मामलालाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण भूमिका खेलेका व्यक्ति हुन् । गृह मन्त्रालयका अधिकारीहरुका अनुसार रिजालले त्यति अग्रसरता नदेखाइदिएको भए भुटानी शरणार्थी मामला यो तहसम्म अन्तर्राष्ट्रियकरण हुने थिएन । त्यही भूमिकाका कारण विगतमा गृह मन्त्रालयले उनलाई गाडी र भत्ताको सुविधा पनि दिएको थियो ।

सन् १९८८ मा राजनीतिक आरोपहरुका कारण त्यहाँको सत्ता पक्षको विद्रोही बन्नुअघि उनी भुटानको लोकप्रिय नेता थिए । उनी दक्षिण भुटानको लामीडाँडा क्षेत्रबाट चुनाव जितेर जनप्रतिनिधि बनेका थिए । उनी भुटानी राजाको सल्लाहकार समेत थिए । उनले सधैँ शिक्षा र भ्रष्टाचार नियन्त्रणलाई मुल एजेण्डा बनाएका थिए । नेपाल आएका बेला उनलाई तत्कालीन पञ्चायती सरकारले झापाको विर्तामोडबाट पक्राउ गरेर भुटानलाई सुपुर्दगी गरेको थियो ।

त्यसक्रममा उनी भुटानमा सैन्य कारागारमा १० वर्ष बसेका थिए । जन्मकैद सजाय तोकिएका उनलाई शरणार्थी समस्या समाधान भुटान–नेपाल वार्ताबाट गरिने भन्दै १७ डिसेम्बर १९९९ मा थुनामुक्त गरिएको थियो । छुटेपछि उनले पटकपटक भुटानी राजालाई भेट्न गरेको प्रयास असफल भयो । कुनै उपाय नलागेपछि उनी भारतको सिलगुढी, कोलकाता र दिल्ली हुँदै ३० असोज २०६० मा काठमाडौं आएका थिए ।

काठमाडौंमा आएर उनी पटकपटक भुटानी शरणार्थीको पक्षमा वकालत गर्दै अनसन बसे । १ असोज २०६१ मा सरकारले उनलाई ‘अन्तर्राष्ट्रिय भ्रमण’का लागि ‘ट्राभल डकुमेन्ट’ बनाइदियो । त्यसपछि उनले जेनेभामा गएर राष्ट्रसंघीय शरणार्थी उच्च आयोग (यूएनएचसीआर) को बैठकमा समेत भाग लिएका थिए ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?