१३ मंसिर, पाल्पा । संविधानसभा निर्वाचनमा पाल्पाका २६ जना उम्मेदवारको धरौटी जफत भएको छ ।
कुल सदर मत खसेको १० प्रतिशत मत नल्याएका दलका उम्मेदवारहरूको धरौटी जफत हुने कानुनी व्यवस्थाअनुसार पाल्पामा २६ जना उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मुक्तिराम रिजालले बताउनुभयो ।
अखण्ड नेपाल, राप्रपा, राप्रपा नेपाल, आमा पार्टी, नेपाल परिवार दल, दलित जनजाति, जनमोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी लगायतका उम्मेदवारको धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।
धरौटी सुरक्षित गर्नेहरूमा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवार रहेका छन् ।
जिल्लामा १७ दलका ३४ जनाले उम्मेदवारी दिएकामध्ये २६ जनाको धरौटी निर्वाचन कार्यालयले जफत गरेको हो । एकीकृत नेकपा माओवादीबाट पाल्पा निर्वाचन क्षेत्र नं. १ का उम्मेद्वार तेजबहादुर सिजाली मगरले दुई हजार ७ सय ६० मत प्राप्त गरेका थिए । यो मत कुल खसेको ३३ हजार ७ सय १७ को झन्डै आठ प्रतिशत मात्र मत देखिएकाले सिजालीको समेत धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पाल्पा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा एकीकृत नेकपा माओवादीका वसन्त शर्मा र नेपाली काँग्रेसका वीरबहादुर राना भने धरौटी जफत हुनबाट जोगिएका छन् । यसैगरी क्षेत्र नं. ३ मा एकीकृत नेकपा माओवादीका नेत्र पाण्डेय र नेकपा एमालेका कुलप्रसाद नेपाल सिज धरौटी जफत हुनबाट जोगिएका छन् । रासस
प्रतिक्रिया 4