
काठमाडौं । गत सेप्टेम्बर १६ र १७ मा रचना दाहालले एक वर्षको अन्तरमा राष्ट्रिय नाचघरको मञ्चमा पाइला टेकिन् । ‘म एउटै कुरा गरिरहँदा थाकेकी थिएँ,’ उनी भन्छिन्, ‘त्यसैले फरक दृष्टिकोण र नयाँ सोचका लागि ब्रेक लिएँ ।’
दृष्टिविहीन बालबालिकालाई सहयोग गर्ने उद्देश्यले आयोजित दुई दिने सांगीतिक कार्यक्रम ‘शो फर द ब्लाइन्ड’बाट उनले कमब्याक गरिन् । जसलाई रचनाकै समूह ‘निर्विकल्प’ले आयोजना गरेको थियो । दुई दिनमा हजारभन्दा बढी दर्शकले शो हेरे ।
उक्त कार्यक्रममा रचनालाई किबोर्डमा प्रज्वल लामा, गितारमा विजय म्याक्सिमस र हरि कुँवर, ड्रममा किरण शाही र बेसमा सनिश महर्जनले साथ दिएका थिए । यस्तै रोशन गहतराजको कोरियोग्राफीमा निरञ्जन मगर, सुनिता दर्नाल, सिर्जन भट्टराई, युमी बलामी, अविनाश हमाल ठकुरी, स्नेहा सिटिखु, सरिना पोत्रेल र रोशन गहतराजले नृत्य गरे ।
त्यो शोका दुई भिडियो युट्युबमा सार्वजनिक भइसकेका छन् । प्रतिक्रिया राम्रै मिलेको छ । कार्यक्रमका अन्य भिडियो पनि प्रत्येक १५ दिनमा अपलोड गरिने उनले बताइन् ।
रचनाले यसअघि पनि प्रशस्तै कार्यक्रम गरिन् । दृष्टिविहीनका लागि गरिएका यस्ता कार्यक्रम व्यावसायिक कन्सर्टभन्दा भिन्न हुने नै भए । उनी यी शोबाट दर्शकलाई फरक र विशेष महसुस गराउन चाहन्थिन् । जसका लागि कन्सर्टको ढाँचा भिन्न हुनु जरुरी थियो ।
नृत्य, अभिनय र चित्रकलाजस्ता विधालाई संयोजन गरी उनले मर्मस्पर्शी कार्यक्रम उत्पादन पनि गरिन्, जसले कलाका विविध रूपलाई समेटेको थियो । यो नयाँ दृष्टिकोणले निर्वाधरुपमा रचनाको कला चेत र व्यक्तित्वको विशिष्टतालाई दर्शाउँछ ।
आफूभित्रको कलाकारिता जगाउँदै
रचनाले सुरुवातदेखि संगीत मात्र होइन अन्य विधा पनि अभिरुचि जगाएकी छन् । उनी गीत लेखनमा पनि रुचि राख्छिन् । ‘म आफ्ना कृतिमा कलाका विभिन्न विधा समेटेर आफूलाई पूर्णरुपमा अभिव्यक्त गर्न चाहन्छु,’ उनी भन्छिन्, ‘म स्टेजमा गएर गाउन मात्र चाहन्नँ । मैले धेरै पटक स्टेजमा जाने, गाउने र फर्किने गरिसकेको छु । र, हरेकपटक आफैंलाई सोध्ने गर्छु, अब के त ? एउटा कलाकारको हैसियतले ममा सिर्जनशील बन्ने जिम्मेवारी पनि त छ ।’
रचनालाई लाग्छ, जिन्दगीमा एक्लै हिंडेर कोही पनि सफल हुन सक्दैन । ‘एक्लै काम गर्नुमा रमाइलो पनि छैन,’ उनी थप्छिन् ।
२६ वर्षीया यी ठिटीले नेपाली सांगीतिक क्षेत्रमा परिवर्तनको सपना देखेकी छन् । ‘शो फर द ब्लाइन्ड’जस्ता कार्यक्रमले मानिसलाई असल उद्देश्य राखेर काम गर्न प्रेरित गर्न चाहन्छिन् । ‘यस्ता मानिस छन् जो भोकले मरिरहेका छन्,’ उनी भन्छिन्, ‘यदि म तिनीहरूसँग समानुभूति गर्न सक्दिन भने मेरो जीवनको अर्थ के ?’
आज पनि आयोजक कलाकारलाई राम्रो दर्जा दिन हिच्किचाउँछन् । उचित पारिश्रमिक दिन खोज्दैनन् । यस्ता अव्यावसायिक आयोजकप्रतिको निराशाले नै ‘शो फर द ब्लाइन्ड’लाई जन्माएको रचना बताउँछिन् । जसमार्फत रचनात्मक विचारलाई एकीकृत गर्न र नेपालमा अधिकांश कार्यक्रम आयोजकसँग सामना गर्नुपर्ने अव्यावसायिकताबाट मुक्त हुन सहयोग पुग्ने उनको विश्वास छ ।
परिवर्तनकर्ता
रचना आफैंभित्र परिवर्तन चाहने संगीतकर्मी हुन्, जसको सुरुवात उनले गरिसकिन् । धेरै आयोजकसँग निराश बनेकी उनी आफूले धेरैपटक अपमान सहेको र सम्झौतापत्रमा हस्ताक्षर गर्ने कुरामा पनि सास्ती व्यहोरेको अनलाइनखबरलाई बताइन् ।
आफू र आफूजस्ता अन्य कलाकर्मीलाई सास्ती दिने आयोजकको विषयमा रचनाले पटक-पटक आवाज उठाएकी छन् । यद्यपि धेरै कलाकार यो कुरालाई बाहिर ल्याउन चाहँदैनन् जसले उनलाई थप निराश तुल्याउँछ ।
लैङ्गिकताको आधारमा कलाकारलाई विभेद गर्ने आयोजक पनि प्रशस्तै रहेको उनी बताउँछिन् । जोसँग काम गर्न धेरैले असुरक्षित महसुस गर्छन् । यस्तो अवस्थाको सामना गर्नुपर्ने अनुभव रचनासँग पनि छ । यसबारे उनी भन्छिन्, ‘त्यस्ता व्यक्तिले आयोजना गरेको कार्यक्रमले मेरो मानसिक स्वास्थ्यमा असर परेको थियो । मैले आफूलाई किन यस्तो व्यवहार गरियो भन्ने कुरा बुझ्न संघर्ष गरें । जसले गर्दा मलाई त्यस्ता आयोजकबाट टाढा रहन बाध्य बनायो ।’
यी विविध कारणले रचनालाई ‘शो फर द ब्लाइन्ड’ स्थापना गर्न प्रेरित गर्यो । आउँदा दिनमा पनि यस्तै किसिमका कार्यक्रम गर्ने सोचमा उनी छिन् । यस्ता कार्यक्रमले खुसी र सन्तुष्टि मिल्ने उनको कथन छ । यो कार्यक्रमका लागि उनले गो-फन्डमार्फत आर्थिक संकलन अभियान पनि चलाइरहेकी छन् ।
उनले दर्शकसँग जोडिइरहन उनीहरुको रुचि बुझ्ने उपाय खोजिरहेकी छिन् । जसका लागि उनले ‘सिक्रेट शो’हरू प्रस्तुत गर्दैछिन् । प्रत्येक महिना आयोजना हुने यो ‘शो’ कम्तीमा एक वर्षसम्म चल्नेछ ।
यस्तो शोले मानिसलाई संगीतको नजिक ल्याउने र श्रोतालाई नजिकबाट चिन्न सकिने उनको विश्वास छ ।
शब्दमार्फत अभिव्यक्त
रचनाले गीतमार्फत नेपाली समाजमा कमै छलफल हुने मानसिक स्वास्थ्य र सम्बन्धजस्ता संवेदनशील विषय उठाउने गरेकी छन् । संगीत अनुयायीमाझ उनको सशक्त लेखनको सधैं चर्चा हुन्छ ।
‘मैले धेरै संवेदनशील विषय लेखे पनि म भावनात्मक रूपमा चुनौती महसुस गर्दिनँ । मृत्यु, दुःख र बिछोड जस्ता चीज अपरिहार्य छन् भनेर मैले पहिले नै स्वीकार गरिसकेको छु । त्यसैले यसले मलाई अप्ठ्यारो पार्दैन,’ रचना भन्छिन्, ‘तर बाल्यकालमा म यस्ता कुरा सोचेर रुन्थें । यी सबै कुराहरू ममा स्वाभाविक रूपमा हुन्थ्यो ।’
जब कुनै कुराले उनलाई सताउँछ, उनी बस्छिन् र लेख्न थाल्छिन् । ‘कुनै कुराले दुःख दिइरहेका बेला कसैलाई भन्न सकिंदैन, भनिहाले पनि मनमा बेचैनी रहन्छ । यस्तो अवस्थामा लेखिएका गीतले घाउमा मल्हमको काम गर्छन्,’ उनले भनिन् ।
लेखन र रचना आफैंमा जटिल विषय हो । धेरैपटक आफूले बनाएका गीतको धुन अन्य गीतसँग मेल खाएपछि गीत रिलिज गर्ने सोच छाड्नुपर्ने अवस्थाबाट गुज्रिएको उनी बताउँछिन् ।
उनका लागि गीत लेखन र रचनाभन्दा रेकर्डिङमा बढी समय लाग्छ । योजना बनाएर गीत लेख्न बस्दिनन् । सामान्य अवस्थामा नै दिमागमा आउने झल्कोलाई गीतका रुपमा विकसित गर्छिन् ।
लेखन उनका लागि स्वभाविक कुरा हो । तर यसले नै उनलाई संगीतमा डोर्याउँछ र करिअरको लागि बाटो प्रशस्त गर्छ भन्ने कहिल्यै सोचिनन् । ‘तपाईं पत्याउनुहुन्न तर मैले कक्षा ६ मा हुँदा सोच भन्ने गीतको कोरस लेखेको थिएँ,’ रचना सुनाउँछिन्, ‘त्यतिबेला मैले गीतका लागि ती पंक्ति लेखेको थिइनँ, मलाई भविष्यमा गायक र गीतकार बन्छु भन्ने कल्पना पनि थिएन ।’
लेख्न बस्दा अलग्गै दुनियाँमा पुग्ने उनको अनुभव छ । ‘लेखनले मलाई छुट्टै आनन्द दिन्छ,’ उनी भन्छिन् । रचनाका लागि जीवन भनेको आफूलाई अभिव्यक्त गर्नु हो ।
रचनाको आत्मविश्वास
अधिकांशले गीत सकिएपछि साथीभाइ र संगीतकारबाट प्रतिक्रिया खोज्ने गर्छन् । तर रचनाको बानी फरक छ, उनी काममा विश्वास गर्छिन् । कामको आत्मसमीक्षा गर्न रुचाउँछिन् ।
उनले ‘भूमरी’ गीतबाट संगीत क्षेत्रमा डेब्यु गरेकी हुन् । गीत सार्वजनिक गर्नुअघि उनले आफ्ना दाइ रोचक दाहाललाई (जो रक ब्यान्ड पहेंलो बत्तीमुनिका फ्रन्टम्यान समेत हुन्) सुन्न भनेकी थिइन् । जसले उनलाई आफ्नो कामप्रति आत्मविश्वास दियो । ‘हामीले रिलिज गर्नुअघि आफ्नो कामलाई विश्वास गर्नुपर्छ,’ रचना भन्छिन् ।
राम्रो गीत तयार गर्न लेखनमा स्पष्टता हुनुपर्ने उनको धारणा छ । भन्छिन्, ‘गीतको भाषा र शब्द अर्थपूर्ण हुनुपर्छ । पंक्तिबीचको तालमेल राम्रो नभए गायकले जतिसुकै राम्रो गाए पनि हुँदैन ।’
उनको गीत सुन्नेले उनी दुःखी र गम्भीर प्रकृतिको व्यक्ति भएको अनुमान लगाउँछन् । तर संवेदनशील विषय उठाए पनि आफू भने त्यस्तै नरहेको उनी बताउँछिन् । ‘केही हदसम्म मेरो गीतले मेरो व्यक्तित्व झल्काउँछ तर पूर्णरूपमा होइन,’ रचना भन्छिन्, ‘मानिसले मलाई मैले बनाएका गीतको आधारमा मेरो उमेर धेरै भइसकेको ठान्छन् । म यसमा हाँस्नबाहेक केही गर्न सक्दिनँ ।’
प्रतिक्रिया 4