
४ चैत, काठमाडौं । डिल्लीबजारमा पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनीदेखि केशर बहादुर विष्ट लगायतलाई एक ठाउँ जुटाएर राजसंस्था फर्काउने अभियान घोषणा गरे पन्चायतकालीन नेता नवराज सुवेदीले ।
८६ वर्षीय सुवेदी राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक पनि हुन् । समितिमा अस्मिता भण्डारी, कमल थापा, दुर्गा प्रसाई, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, रमा सिंह लगायत सदस्य छन् ।
सुवेदीसँग अनलाइनखबरका बसन्त बस्नेतले गरेको संक्षिप्त कुराकानी :
कुन कारणले गर्दा चैत १५ देखि राजा ल्याउने आन्दोलन घोषणा गर्नुभएको हो ?
अहिले देशमा कुशासन फैलिएको मात्र होइन, दलका नेताहरुप्रति घृणा पनि चुलिएको छ । भ्रष्टाचारदेखि बेथिति चरममा पुग्यो । श्री ५ महाराजधिराज सरकार पोखराबाट पाल्नुहुँदा जुन किसिमले स्वागत सत्कार भयो, त्यसले नै देशको अवस्थाबारे प्रष्ट गरिसक्यो, र नयाँ माहोल बनेको छ भन्ने प्रष्ट गरिसक्यो ।
अब चैत १५ बाट हामीले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन गर्ने भनेर आज घोषणा गरेका छौं । दलहरुलाई न्युनीकरण गर्ने वा राजसंस्थालाई प्रतिशोध साँधेर निषेध गर्ने काम चल्दैन भन्ने स्पष्ट भइसकेको छ । सबैलाई साथ दिन म अपिल पनि गर्छु ।
तर तपाईंले जनआन्दोलन निर्देशक समितिमा राखेका केशर विष्ट लगायत केहीले आफू सदस्य नबस्ने घोषणा गर्नुभयो नि ?
त्यो घोषणामात्रै हो, उहाँहरु बस्नुहुन्छ नि । नबसेर कहाँ जाने ? आन्दोलन परिचालन समितिमा बस्ने साथीहरु यसमा सामेल हुनुहुन्छ । हामी कुनै पार्टीमा होइन, राष्ट्रिय झन्डाको मुनि हो । मैले राजसंस्था पुनर्स्थापना नहुन्जेलसम्म यो बाचा गरेको छु । साथीहरुले पनि गर्नुहुने छ ।
राप्रपा चाहिँ किन परित्याग गर्नुभएको ?
म आफू सदस्य रहँदै आएको पार्टी हो राप्रपा । तर यो समितिमा बस्नेमध्ये कोही कुन पार्टीमा रहने, कसले कसलाई मान्ने वा नमान्ने अवस्था सिर्जना भयो । त्यसका कारण हाम्रो मूल लक्ष्यमा विचलन नआओस् भनेर मैले राजसंस्था पुनर्स्थापनाकै एजेन्डामा सक्रिय हुने, त्यस बेलासम्म पार्टीमा नहुने भनेर घोषणा गरेको हुँ ।
तपाईंले आयोजना गरेको कार्यक्रममा विगतमा राजवादी पार्टीका नेता भनेर चिनिएका राजेन्द्र लिङ्देन, कमल थापालाई त देखिएन नि ?
उहाँहरुले आफ्नो प्रतिनिधि पठाउनुभयो । यसमा समर्थन नै छ उहाँहरुको । जब राजा फर्काउन जनता नै जागरुक भएर सडकमा आउँछन् भने हामी मध्ये कोही छुटौंला भन्ने हुँदैन । उहाँहरु सबै यसैभित्र अटाउनुभएको छ । कसैलाई बाहेक गरेर हामी अघि बढ्दैनौं । यो मेरो, उसको अभियान होइन, सबैको अभियान हो ।
थापा, लिङ्देन आउनुहोला त ? तपाईं विश्वस्त हो ?
आउनुहोला भोलिसम्म । भोलि हाम्रो अर्को मिटिङ छ । सबैलाई एक ठाउँमा जुटाउन मेरो संयोजनकारी भूमिका रहन्छ ।
पार्टीका नेताहरुले राजा फर्काउने अभियान चलाउने भनेर गुनासो गरेको सुनियो नि आज ?
त्यस्तो गुनासो छैन । केशरबहादुरले गर्नुभएको हो । तर उहाँले पनि कुरा बुझ्नुहुन्छ । मूल कुरा यो कुनै भावनात्मक लहडको कुरा होइन, राजसंस्थासहितको प्रजातन्त्रको आधारमा नै अब देशले राष्ट्रियता बचाउन सक्छ र जनतालाई अघि बढाउन सक्छ । यो कुरा हामीमध्येका साथीहरुले नबुझ्ने कुरै हुँदैन ।
प्रतिक्रिया 4