
४ चैत, काठमाडौं । नेकपा एमाले र एकीकृत समाजवादीका नेताहरूबीचको सम्बन्धमा अझै पनि हार्दिकता छैन । साढे तीन वर्षअघि एमालेबाटै अलग भएर एकीकृत समाजवादी गठन भएकाले दुवैतर्फका पार्टी–पंक्तिमा एकअर्काविरुद्ध आक्रोश कायमै छ ।
विशेषगरी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच तिक्ततापूर्ण सम्बन्ध छ । उनीहरूले सार्वजनिक मञ्चदेखि चुनावी प्रक्रियामा समेत एकअर्कालाई निषेध गर्दै आएका छन् ।
तर भोलि ५ चैतमा मतदान हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को चुनावमा यिनै एमाले र एकीकृत समाजवादीको विद्यार्थी संगठन साझा प्यानल नै बनाएरै मैदानमा उत्रिएका छन् ।
राजधानी काठमाडौंका ठूला क्याम्पसहरू रत्न राज्यलक्ष्मी (आरआर), त्रिवि केन्द्रिय क्याम्पस, अस्कल र त्रिचन्द्रमा एमालेको अनेरास्ववियु र एकीकृत समाजवादीको अनेरास्ववियूबीच सहकार्य छ ।
यी सबै क्याम्पसमा एमाले अखिलले सभापति पद लिएको छ । आरआरमा एमाले अखिलका लोकेशकुमार खड्का सभापति पदका उम्मेदवार छन् । कोषाध्यक्ष पदमा एकीकृत समाजवादी अखिलकी अम्बिका अधिकारी उम्मेदवार छन् । अरु दुई सदस्य पनि अनेरास्ववियूले पाएका छन् ।
त्रिवि केन्द्रीय क्याम्पसमा एमाले अखिलका सिद्धान्त भट्टलाई एकीकृत समाजवादी अखिलले समर्थन जनाएको छ । भट्टकै प्यानलबाट एक प्रत्यक्ष र एक समानुपातिक सदस्य एकीकृत समाजवादीले पाएको छ । स्रोतका अनुसार, समानुपातिक सदस्यलाई पछि सहसचिव मनोनित गर्ने सहमति छ ।
त्रिचन्द्र क्याम्पस एमाले अखिलकै नेतृत्वमा प्यानल छ । अनेरास्ववियुका प्रमित बिष्टलाई सभापति पदको उम्मेदवार बनाएर कम्युनिस्ट विद्यार्थी संगठनहरूबीच गरिएको भागबण्डामा एकीकृत समाजवादी अखिलले कोषाध्यक्षको उम्मेदवार उठाएको छ ।
अस्कल क्याम्पसमा एमाले अखिलकै प्यानललाई एकीकृत समाजवादीको समर्थन छ । रुद्रहरि पोखरेल नेतृत्वका प्यानललाई समर्थन गरेको एकीकृत समाजवादी अखिलले दुई सदस्य मात्र उम्मेदवार बनाएको छ ।
विद्यार्थी नेताहरूका अनुसार राजधानी उपत्यकाका चुनाव हुन बाँकी अरु क्याम्पसहरूमा पनि सहकार्यको सम्भावना छ । ‘केन्द्रीय नेतृत्वले कसैसँग सहकार्य गर्नेबारे नीति निर्णय लिएको छैन । तर क्याम्पसको आश्यकताका आधारमा जोसुकै संगठनसँग हाम्रो सहकार्य भएको छ,’ अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष नारायण घर्ती भन्छन् । उनका अनुसार आवश्यकताका आधारमा खुला रहने नीतिकै आधारमा राजधानी उपत्यकाका क्याम्पसहरूमा एकीकृत समाजवादीको विद्यार्थी संगठनसँग पनि सहकार्य भएको हो ।
एकीकृत समाजवादीका विद्यार्थी नेताहरू पनि आवश्यकताकै आधारमा एमाले अखिलसँग सहकार्य गरिएको बताउँछन् । ‘विचार मिल्नेहरू एकअर्कासँग जुधिरहने, अनि नतिजा अर्कोले लैजाने राम्रो होइन । त्यसैले यो सहकार्यलाई सकरात्मक रुपमै लिनुपर्छ,’ अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष अशोक थापा भन्छन् ।
राजधानी बाहिरका क्याम्पसहरूमा पनि यी दुई संगठनबीच सहकार्य भएको छ । मोरङको डिग्री क्याम्पसमा एकीकृत समाजवादीको अखिल नेताको नेतृत्वमा संयुक्त प्यानल बनेको छ । अनेरास्ववियूका निर्मल भण्डारी सभापति पदका उम्मेदवार रहेर एमाले अखिल सहितको प्यानल बनेको हो ।
एमाले अखिलका केन्द्रीय सचिव एवं प्रवक्ता प्रकाश पौडेल राजधानीभित्र र बाहिरका थुप्रै क्याम्पसहरूमा वाम शक्तिहरूबीच सहकार्य भएको बताउँछन् । ‘नेविसंघसँग पनि कतिपय क्याम्पसमा संयुक्त प्यानल बनेको छ । तर तुलनात्मक रुपले कम्युनिस्ट घटकका विद्यार्थी संगठनहरूसँग सहकार्य भएको छ’, उनी भन्छन् ।
पार्टी विभाजनपछि कुनैपनि चुनावमा एमाले र एकीकृत समाजवादी एकैठाउँ उभिएको यो पहिलोपटक हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, विद्यार्थीहरूले आफ्नो नेतृत्व स्थापित गर्न एकीकृत समाजवादीसँग सहकार्य हुन पुगेको तर्क गर्छन् । ‘कुनैपनि पार्टीसँग चुनावी सहकार्य पार्टी केन्द्रको पोलिसी होइन, तर स्थानीय तहमा नेतृत्व स्थापित गर्न सहकार्य भइरहेको छ’, उनी भन्छन् ।
यो चुनावले एकअर्का संगठनका विद्यार्थीहरूबीच हार्दिकता बढाउने काम गरेको उनी बताउँछन् । ‘यो सहकार्यको प्रभाव रहँदैन, तर कार्यकर्ता पंक्तिमा हार्दिकता चाहिँ बढायो’, गौतमले भने ।
विद्यार्थी नेताहरू पनि लामो समय सँगै रहेकाले एकअर्कासँग सहकार्य सहज बनेको बताउँछन् । ‘पार्टी फुटेपछि हाम्रो संगठन पनि फुटेको थियो । यसपटकको स्ववियू चुनावले हामीलाई केही ठूला क्याम्पस मार्फत जोडेको छ’, एक विद्यार्थी नेता भन्छन् ।
दुई वर्ष अगाडि सम्पन्न स्ववियू चुनावको नतिजाले पनि यी दुई अखिललाई सहकार्य गर्न सहयोग पुगेको ती नेता बताउँछन् । ‘यसअघिको स्ववियू चुनावमा हामीले नेविसंघ र अखिल क्रान्तिकारीहरूसँग सहकार्य गर्ने, तर एमाले अखिललाई जसरी पनि हराउने अभियानमा लाग्यौं,’ उनी भन्छन्, ‘त्यसको अनुभव सुखद् रहेन । त्यसैले यसपटक संभव भएसम्म मिल्ने नीति लियौं ।’
अनेरास्ववियूका इन्चार्ज रहेकी एकीकृत समाजवादीका नेता रामकुमारी झाँक्री आफैंले एमाले अखिलसँग सहकार्य भएको क्याम्पसहरूको प्रचार गरिरहेकी छन् । एमाले नेताहरूले पनि एकीकृत समाजवादीसँगको प्यानल उम्मेदवारीको पक्षमा मत मागिरहेका छन् ।
अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल, स्ववियु चुनाव राजनीतिको नर्सरी भएकाले सकेसम्म एकताबद्ध बन्ने प्रयास भएको बताउँछन् । ‘स्ववियु चुनाव भोलिको नेतृत्व निर्माणमा नर्सरी हो, यो सहकार्यबाट अनेरास्ववियुलाई पनि नोक्सान पुग्दैन’, उनी भन्छन् ।
प्रतिक्रिया 4