+
+
Shares

सांस्कृतिक प्रतिरोध दिवस र प्रतिरोध संस्कृति

प्रतिरोधी सांस्कृतिक चेतना र निरन्तर क्रान्तिबाट नै वैज्ञानिक समाजवादी सत्तासँगै समाजवादी संस्कृति निर्माण हुनेमा दुई मत छैन ।

अशोक सुवेदी अशोक सुवेदी
२०८१ चैत ५ गते ७:१५

संस्कृति मानवसभ्यताको विकासका क्रममा उत्पादनका लागि संघर्ष, जीवनका लागि संघर्ष र वर्गसंघर्षबाट निर्मित जीवनशैली, चिन्तन, प्रवृत्ति र व्यवहार हो । माक्र्सवादी संस्कृतिकर्मी र सौन्दर्यचिन्तकहरूका अनुसार संस्कृतिको निर्माण श्रम प्रक्रिया र संघर्षका बीचबाट हुन्छ । वर्गसमाजमा दर्शन, विचार, राजनीति, अर्थशास्त्र, कलाजस्तै संस्कृति पनि वर्गीय हुन्छ । संस्कृति निर्माणको मूल आधार उत्पादन सम्बन्ध र वर्गसंघर्ष हो ।

सामन्तवादी उत्पादन सम्बन्ध भएको समाजको संस्कृति सामन्तवादबाट ग्रस्त/प्रभावित, पुँजीवादी उत्पादन सम्बन्ध भएको समाजको संस्कृति व्यक्तिवादी–पुँजीवादी, साम्राज्यवादी, उत्तरआधुनिकतावादी, नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्था र त्यसैमा आधारित दलाल उत्पादन सम्बन्ध भएको समाजको संस्कृति दलाल, अश्लील, अराजकतावादी र समाजवादी उत्पादन सम्बन्ध भएको समाजको संस्कृति वैज्ञानिक समाजवादी हुन्छ । यसको अर्थ सत्ता र संस्कृतिका बीचको सम्बन्ध अन्योन्याश्रित हुन्छ र संस्कृतिसँगै संस्कार पनि अभिव्यक्त हुन्छ । संस्कृति विचार, संस्कार र व्यवहारका माध्यमबाट अभिव्यक्त हुने भएकाले यिनीहरूका बीच गहिरो अन्तरसम्बन्ध हुन्छ ।

यतिबेला नेपाली समाज नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थामा जकडिएकाले यहाँको सत्ता संस्कृति पनि दलाल पुँजीवादी नै रहेको छ भने यस किसिमको मानवताविरोधी संस्कृतिका विरुद्ध जनवादी–समाजवादी संस्कृति निर्माणका प्रयासहरू पनि क्रान्तिको प्रक्रियासँगसँगै अघि बढिरहेका छन् । सत्ताको मूल चरित्र र स्वरूप राष्ट्रियताविरोधी, जनतन्त्र, जनजीविका, स्वतन्त्रता, समानता र मूलतः मालेमा वा वैज्ञानिक समाजवादविरोधी भएकाले सत्तासंस्कृति पनि मूलतः दलाल छ र यस किसिमको अपसंस्कृतिका विरुद्धको आन्दोलन राजनीतिक आन्दोलनकै पूरक भएर अघि बढिरहेको छ ।

संस्कृतिका बारेमा क. कार्ल मार्क्स, क. माओ, क. पुष्पलाल र क. किरणले परिभाषा र व्याख्या गर्नुभएको विषयले वर्गसमाजको चरित्र र वर्गसंघर्ष–उत्पादन सम्बन्धमा आएको परिवर्तनअनुसार नै संस्कृति पनि रूपान्तरित र निर्माण हुँदै जाने विषय हो भन्ने प्रस्ट हुन्छ । वर्गसंघर्षले नै नयाँ संस्कृति निर्माण गर्ने विषय नेपालमा जनयुद्धका क्रममा निर्माण, प्रयोग र विकास भएको नयाँ अर्थात् जनवादी संस्कृतिका भ्रूणहरूले पनि प्रस्ट पारिसकेका छन् यद्यपि यथास्थितिवादसँग परिवतर्ननकारी शक्तिको मूल नेतृत्वले गरेको लज्जाजनक सम्झौताका कारण उत्पन्न राजनीतिक प्रतिक्रान्तिसँगै वर्गसंघर्ष निर्मित नयाँ संस्कृतिका भ्रूणहरूको पनि हत्या भएको छ र नयाँ ढङ्गबाट उठ्दै गरेको समाजवादी जनक्रान्तिका कार्यक्रमका गति र प्रवाहसँगै पुनः नयाँ वा जनसंस्कृतिको निर्माण हुने क्रम पनि जारी छ ।

यो मानवसभ्यताको विकासको निरन्तर प्रक्रिया भएकाले वर्गसंघर्षसँगै यसको स्वरूपमा परिवर्तन भइरहन्छ र भौतिक र आत्मिक अवस्थालाई एकले अर्कालाई रूपान्तरित गर्ने प्रक्रिया पनि चलिरहन्छ । क्रान्तिको तीव्रताको समयमा सांस्कृतिक रूपान्तरणको प्रक्रिया पनि तीव्रतामा अघि बढिरहेको हुन्छ भने त्यो सुस्त हुँदा सांस्कृतिक क्रान्ति पनि मन्द हुन्छ । विगत इतिहासमा जस्तो सांस्कृतिक क्रान्ति अहिले तीव्रतामा रूपान्तरणमा देखिएको छैन तर दलाल संस्कृतिसँग निरन्तर संघर्ष भने गरिरहेको अवस्था छ ।

आन्दोलनको उठान

सामन्ती युगमा त्यतिबेलाको चेतनाले आरम्भ गरेका संसारका हरेक बस्ती, समुदाय, सम्प्रदाय र जातिविशेषका प्रायः उत्सव, विशेष पर्व, चाडबाड, संस्कार, संस्कृति, सिर्जना, कलाहरू अध्यात्म, अन्धविश्वास र रूढिसँग जेलिएका छन् र पुँजीवादी चरम उपभोक्तावादले पनि तिनै रूढि र अन्धविश्वासको टेको वा सहारा लिएर आफ्ना व्यापार–व्यवसायहरू सञ्चालन गरेर प्राण/अस्तित्व धानिरहेको छ ।

समाजमा सभ्यता र चेतनाअनुसार आवश्यकताले अनिवार्य प्रक्रियाका रूपमा संस्कार र संस्कृतिहरू निर्माण हुन्छन् । मानिस सामाजिक प्राणी भएकाले समाजमा घुलमिल हुन, रमाउन, एकापसमा मिलेर काम गर्न, भलाकुसारी गर्न, आत्मीयता बाँड्न चाहन्छ । सभ्य र उन्नत संस्कार र संस्कृतिहरूले मानिसलाई सामूहिकतामा रमाउन ऊर्जा र उत्प्रेरणा भर्ने गर्छन् ।

सामूहिक रूपमा गरिने यस्ता उत्सवहरूले संस्कार र संस्कृतिको स्वरूप धारण गर्छन् तर शासकहरूले षड्यन्त्रपूर्वक यस किसिमका संस्कार र संस्कृतिमा अध्यात्म, रूढि, पाखण्ड, उपभोक्तावाद, निजी सत्तास्वार्थ घुसाइदिन्छन् र क्रमशः त्यो रूढिका रूपमा सञ्चालन हुन थाल्छ ।

नेपाल बहुजातीय, बहुसांस्कृतिक समाज भएको मुलुक भएकाले विभिन्न किसिमका पर्वहरू संस्कृति र संस्कारका रूपमा मनाउने गरिएको पाइन्छ । हरेक पर्व र संस्कृतिले आआफ्नो समुदायअनुसारका धार्मिक/गैरधार्मिक आस्थाहरूलाई बोकेर ल्याएका छन् । नेपाल हिन्दुबहुल समाज भएकाले यो समाजमा यसै समाजका संस्कृतिहरूले बढी प्रभाव पारिरहेका छन् ।

लेखक ।

हुनत मुसलमान समुदाय, बुद्धलाई आदर्श मान्ने समुदाय र प्रकृतिपूजक किराँत समुदायको पनि राम्रो प्रभाव र उपस्थिति छ । कार्ल माक्र्सले भन्नुभएझैँ कुनै पनि धर्म अफिम हो । अफिममय धर्म, संस्कार र संस्कृतिबाट मुक्ति पाउन र समाजवादी संस्कार र संस्कृति निर्माण गर्न वर्गसंघर्षलाई निर्णायक बनाउनैपर्छ । वर्गसंघर्ष तीव्रतामा अघि नबढेको अवस्थामा जनसंस्कृति निर्माणको क्रम पनि सुस्ततामा अघि बढिरहेको देखिन्छ ।

संस्कृति मानवचेतनाको उत्कर्ष स्वरूप हो । त्यो संस्कारका रूपमा अभिव्यक्त भइरहेको पाइन्छ । वर्गसंघर्षको माध्यमबाट निर्मित समाज जतिजति चेतनशील बन्दै जान्छ, उतिउति सभ्य, सुसंस्कृत र वैज्ञानिक हुन्छ र परम्परावादी र उपभोक्तावादी संस्कार–संस्कृतिलाई त्याग्दै नयाँ र जनवादी, समाजवादी संस्कृति निर्माण गर्दै, अवलम्बन गर्दै जान्छ । समाज जति द्वन्द्ववादी र वैज्ञानिक बन्दै जान्छ, उतिउति सुसंस्कृत र सभ्य बन्दै जान्छ ।

मानिसको जन्मदेखि मृत्युसम्मका संस्कार र संस्कृतिमा उसको र ऊ बाँचेको समाजको जीवनदर्शन अभिव्यक्त हुन्छ । शोषणदमनरहित, सभ्य, सुसंस्कृत उच्च चेतनाले ओतप्रोत समाजवादी– साम्यवादी युगको निर्माणका लागि भएको वर्गसंघर्षकै क्रममा संस्कार र संस्कृति निर्माणका लागि पनि संघर्ष भएका छन् । यस अर्थमा वैचारिक–राजनीतिक संघर्ष र सांस्कृतिक संघर्ष एकअर्काका परिपूरक छन् । संस्कृति–संस्कार सत्तासँग जोडिएको प्रश्न भएकाले समाजमा वर्गसंघर्ष जति घनीभूत बन्दै जान्छ, जतिजति जनसत्ता निर्माण हुँदै जान्छन्, उतिउति वैज्ञानिक र जीवनवादी संस्कृति र संस्कारको पनि निर्माण हुँदै जान्छ ।

महान् जनयुद्धका क्रममा निर्मित संस्कार–संस्कृतिले यो कुरा प्रमाणित गरेको छ । यद्यपि राजनीतिमा भएको प्रतिक्रान्तिसँगै सत्तामा ढलिमली गरिरहेको दलाल पुँजीवादी संस्कृति सत्ता संस्कृति बनेकाले विद्यमान संस्कार र संस्कृतिमा पनि भ्रष्टीकरण हुँदै गएको छ । हामीलाई विश्वास छ, वर्गसंघर्षको निरन्तर प्रक्रिया र अर्काे उचाइको वैज्ञानिक समाजवादी जनक्रान्तिसँगै परम्परागत संस्कार र संस्कृति पनि रूपान्तरित भई नयाँ र समाजवादी संस्कृति निर्माण हुनेछन् ।

राजनीतिक क्रान्तिसँगै निर्माण हुने जनसत्तामा संस्कार र संस्कृति पनि जनपक्षीय बन्दै जान्छन् । राजनीतिक सत्ता उपरि किसिमको हुने भएकाले संघर्षद्वारा निर्मित संस्कृतिमा त्यसको आत्मिक पक्ष अभिव्यक्त हुन्छ । मानिस पढेर मात्र होइन, लडेर, परेर, बुझेर र खारिएर सुसंस्कृत र संस्कारित बन्छ । सामाजिक प्राणी मानिसले आफूसँगै समग्र समाजलाई नै सभ्य र वैज्ञानिक संस्कार र संस्कृतिले सम्पन्न बनाउने, बदलिने र बदल्ने प्रयत्न गर्छ– सामूहिक प्रयासका माध्यमबाट । त्यसैले संस्कार–संस्कृति सामूहिक प्रयत्नबाट बदलिन्छन् राजनीतिक सत्ताजस्तै ।

संस्कृति र संस्कार जीवपद्धति भएकाले यसको निर्माण अझ कठिन हुन्छ । यो लामो प्रयत्नबाट निर्माण हुन्छ । संस्कार–संस्कृति मानव समुदायैपिच्छे पृथक्पृथक् रहेका देखिन्छन् । एउटै वर्गसत्ता नभएको समाजमा मानिसका पृथकपृथक संस्कार–संस्कृति हुनसक्छन्/हुन्छन् । संस्कृति–संस्कार समय र समाजसापेक्ष बदलिन्छ, बदल्नुपर्छ । सचेत प्रयत्नबाट मात्र यो सम्भव हुन्छ ।

विस्तार

विभिन्न अध्ययनहरूबाट प्रमाणित भइसकेको छ– संस्कृतिलाई माजवजातिको चेतनाअनुसार पुरातन र नवीन गरी मूलतः दुई पक्षमा आबद्ध गर्न सकिन्छ । पुरातन संस्कृति मानवचेतना अविकसित, पछौटे हुँदाको अवस्थाको प्रतिक्रियावादी वा प्रतिगमनकारी संस्कृति हो । यसले अग्रगमनको विरोध र निषेध गर्छ । यसप्रकारको संस्कृति सामन्तवाद, साम्राज्यवाद तथा विस्तारवाद र कुलमा नऔपनिवेशिकतावादी दलाल पुँजीवादी संस्कृति हो ।

पुरातन, अन्धविश्वास, रुढिमा आधारित, राजा–महाराजा, गुरुपुरोहित, सामन्त जमिनदार, साहूमहाजन, मुखिया, जिम्मल आदिको हकहितको पक्षपोषण गर्दै आएको संस्कृति पुरातन संस्कृति हो र यो विज्ञान र तथ्यमा आधारित नभएर अन्धविश्वास र दासतामा आधारित हुन्छ । पुरातन संस्कृतिले मानवमूल्यको बोध गर्दैन । मानवश्रमको सम्मान गर्दैन । शिल्पी, श्रमिक, दूरदराजका, पछि पारिएका दलित, विपन्न वर्ग, महिला र उत्पीडित समुदायमाथि झन् उत्पीडन गर्ने, पितृसत्तावाद लाद्ने, महिलालाई अबला र विलासिताका साधन ठान्ने, महिला, श्रमिक, विपन्न वा निर्धन, श्रमजीवी, दलित, अश्वेतहरू स्वतन्त्र हुन योग्य छैनन् भन्ने पुरातनवादी र पूर्वीय चिन्तनअनुसार मनुवादी मान्यता अँगाल्ने यो पछौटे र जड संस्कृति हो ।

हाम्रो समुदायमा सतीप्रथा, मागीविवाह, अनमेलविवाह, बहुपत्नी वा द्रौपदी प्रथामा यो संस्कृतिले जोड दिन्छ । पाश्चात्य पुरातन संस्कृति र पूर्वीय पुरातन संस्कृति दुवैले महिलालाई प्रशंसाका पुल बाँध्दै उपभोग्य वस्तुका रूपमा लिन्छन् ।

पश्चिमा साम्राज्यवादी चिन्तनको प्रतिनिधिन्व गर्ने संस्कृति हो साम्राज्यवादी संस्कृति । हाम्रो सन्दर्भमा भारतीय विस्तारवादी संस्कृतिले पनि साम्राज्यवादी संस्कृतिकै प्रतिनिधिन्व गर्छ । यो संस्कृति विकृत पुँजीपति वर्गको एकाधिकार अर्थतन्त्र, फासिवादी राजनीति र आदर्शवादी एवम् अधिभूतवादी विश्वदृष्टिकोण राख्ने माक्र्सवादी सांस्कृतिक अध्येताहरू बताउँछन् । बहुलवाद, व्यवहारवाद, सारसङ्ग्रहवाद, शून्यवाद यसका विशेषता रहेको यो संस्कृति साम्राज्यवादी भूमण्डलीकरणका रूपमा प्रस्तुत भएको छ ।

नयाँ परिस्थितिमा यो नवऔपनिवेशिक पुँजीवादी संस्कृति लिएर देखापरेको छ । युद्ध, आतङ्क र शोषणको केन्द्र साम्राज्यवादलाई श्रेष्ठ मान्नु वा आदर्श मानक बनाउनु, उत्पीडित राष्ट्र र वर्ग, असहाय जनसमुदायलाई निरीह, हेय, निकृष्ट ठान्नु, जनतालाई प्रविधिको कठपुतली मान्नु, नाफाका लागि आदर्शवादको सहारा र विभ्रम लिनु, वर्गसंघर्षको चेतनालाई कुण्ठित बनाउनु, यौनअराजकता, उत्तरआधुनिकतावाद, बजारीकरण, विलासिता, अराजकता, निराशा, कुण्ठा, चरम व्यक्तिवादिता, प्रयोगवादिता लाद्नु साम्राज्यवादी संस्कृतिको मूल विशेषता हो ।

सामन्तवादी र साम्राज्यवादी संस्कृतिको मिश्रण, खिचडी वा खच्चड संस्कृति हो संशोधनवादी संस्कृति । यो संस्कृति ऐँजेरु संस्कृति भएकाले यसको आफ्नै मौलिक र वैज्ञानिक दार्शनिक आधार हुँदैन । यी सबैभन्दा बेग्लै, उन्नत संस्कृति हो नयाँ संस्कृति, जनवादी संस्कृति, समाजवादी–माक्र्सवादी संस्कृति वा क्रान्तिकारी संस्कृति । यो मालेमावादमा आधारित हुन्छ र विज्ञानलाई आधार मानेर चल्छ । यो जनवादी, देशभक्त, क्रान्तिकारी, वैज्ञानिक मान्यतामा आधारित हुन्छ । यो संस्कृतिले सामन्तवादी, साम्राज्यवादी तथा संशोधनवादी खिचडी संस्कृतिका विरुद्ध संघर्ष गरिरहेको हुन्छ । यो वर्गसंघर्ष वा क्रान्तिको माध्यमबाट स्थापित हुन्छ ।

नयाँ संस्कृतिले जनवादको सम्मान गर्छ । वर्गसंघर्ष र आमूल परिवर्तनलाई आत्मसाथ गर्छ । नारीप्रति सम्मानजनक व्यवहार र दृष्टिकोण अपनाउँछ । प्रेमविवाहलाई प्रोत्साहन गर्ने यो संस्कृतिले छुवाछूतविरोधी चेतना प्रवाह गर्छ । दर्शन र विचारलाई व्यवहारमा रूपान्तरण गर्छ । धार्मिक सहिष्णुता, भ्रातृत्वको भावना, श्रमप्रति आस्था, सामूहिकतावाको भावना फैलाउने यो संस्कृतिलाई माक्र्सवादी संस्कृति पनि भनिन्छ । यसले राष्ट्रियताको रक्षाका लागि वैचारिक र कार्यक्रमिक नेतृत्व गर्छ । साम्राज्यवाद र विस्तारवादका विरुद्धको संघर्षको प्रक्रियामा राष्ट्रिय स्वाधीनता, क्षेत्रीय अखण्डता र सार्वभौमिकताको चेतनाको विकास गर्न निरन्तर प्रयत्नशील रहने यो संस्कृतिले जातीय–राष्ट्रिय–वर्गीय मुक्ति आन्दोलन, सांस्कृतिक क्रान्तिको निरन्तरता, आन्तरिक राष्ट्रियताको प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रियतावादमा जोड दिन्छ ।

यो संस्कृतिले वैज्ञानिक चेतना अभिवृद्धिमा जोड दिन्छ । यसले प्रकृति विज्ञान, मानव विज्ञान र वैज्ञानिक आविष्कारहरूको पक्षपोषण गर्छ । वर्गीय, जातीय, लैङ्गिक र सर्वहारा मानवतावादमा जोड दिन्छ । मालेमाको प्रयोग र वैज्ञानिक चेतनाको विकासमा यो संस्कृति निरन्तर लागिरहन्छ । नेपालमा कम्युनिस्ट विचारधारा, विशेषतः जनयुद्धको प्रक्रियाबाट विकसित नयाँ संस्कृति र माओवादी धारासँग यो संस्कृतिको मेल खान्छ ।

प्रतिरोधी संस्कृति र सांस्कृतिक प्रतिरोध दिवस

सांस्कृतिक प्रतिरोध दिवस नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालित महान् जनयुद्धले स्थापित गरेको प्रतिरोधी संस्कृति निर्माणको नयाँ सांस्कृतिक पर्व हो । जनयुद्धले पुरातन, पछौटे र आयातीत साम्राज्यवादी सबै विकृत, भ्रष्ट र व्यक्तिवादी–संशोधनवादी संस्कृतिका विरुद्ध निर्मम संघर्ष गर्दै सर्वहारा मानवतावादमा आधारित नयाँ संस्कृति निर्माण गर्ने अभियान सुरु गरेको थियो । आत्मत्यागको भावना, सामूहिकताको चेतना, कमरेड्ली, अन्तर्राष्ट्रियतावाद, सर्वहारा मानवतावादको निर्माण जनयुद्धले निर्माण गरेको संस्कृति हो ।

सामन्तवादी, साम्राज्यवादी, संशोधनवादी, मिश्रित अर्थात् राष्ट्रघाती, आत्मसमर्पणवादी, अर्धसामन्ती, अर्धऔपनिवेशिक संस्कृतिको प्रभाव र हालीमुहाली रहेको अवस्थामा मालेमाको वैचारिक आलोकमा आरम्भ भएको जनयुद्धमा समग्र आन्दोलनका साथै जनवादी संस्कृतिकर्मीहरूले विचार र आस्थाको रक्षा गर्दै निहत्था अवस्थामा तत्कालीन फासिवादी सत्ताका सशस्त्र जत्थासँग प्रतिरोध गरेर जीवन उत्सर्ग गर्दै प्रतिरोधी संस्कृति निर्माण गरेको सन्दर्भमा सांस्कृतिक प्रतिरोध दिवस आरम्भ भएको हो र यो दिवस दिलमाया बम्जन, मस्त बिष्टदेखि काभ्रे अनेकोटमा दुस्मनको आगो र गोलीको बर्बरतापूर्ण र निकृष्ट आक्रमणको बहादुरीपूर्वक सामना गर्दै महान् त्याग, शौर्य, समर्पण र बलिदान गर्ने सातजना जनकलाकार च्याङ्बा लामा, मञ्जु कुँवर, चिनीमाया तामाङ, गुम्बासिं तामाङ, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठ र निर्मला देवकोटा हुँदै इच्छुक, चुनु, शिव, शारदा, दिलमाया, रक्तिम, लोकरोशनसम्मका योद्धाहरूको गौरवपूर्ण सहादतको सम्मान र स्मृतिमा हरेक वर्ष चैत ५ गते मनाउने गरिन्छ ।

यो वर्ष हामी २७ औँ सांस्कृतिक प्रतिरोध दिवस मनाइरहेका छौँ र यसै सन्दर्भमा वर्गसंघर्षद्वारा निर्माण हुने प्रतिरोधी संस्कृति, जनसंस्कृति वा वैज्ञानिक समाजवादी संस्कृति निर्माणका लागि वर्गसंघर्षलाई तीव्रतामा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालको जनतामा आऊँ, जनताको सेवा गरौँ अभियान यो प्रतिबद्धताका एउटा ठोस प्रमाण हो । यो संस्कृति वैज्ञानिक समाजवादी जनक्रान्तिलाई तीव्र बनाएर यसको सफलतासँगै निर्माण हुने वैज्ञानिक समाजवादी सत्तासँगै समृद्ध बन्ने आशा र विश्वास पनि राख्दछौँ ।

उत्कर्ष

नेपालमा वगसंघर्षको नयाँ कडीका रूपमा मालेमाको आलोकमा २०५२ साल फागुन १ गते जनयुद्ध आरम्भ भएको थियो । अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राज्यसत्ताका सम्पूर्ण दमन, षड्यन्त्र, राष्ट्रघात, जनघातका विरुद्ध जयाँ जनवादी सत्ता कायम गर्दै समाजवाद स्थापना गर्ने उद्देश्यले जनयुद्ध आरम्भ गरिएको थियो । जनयुद्धले दार्शनिक, वैचारिक, राजनीतिक, सांस्कृतिक रूपमा श्रेष्ठता र विजय हासिल गर्ने क्रममा फासिवादी सत्ताको दमन पनि झेल्दै र सामना गर्दै गयो । नयाँ उदीयमान सर्वहारा वर्गको प्रतिनिधि शक्ति माओवादी र पुरानो फासिवादी साम्राज्यवादको प्रतिनिधि सत्ताका सम्पूर्ण अवयवका बीचमा भएको संघर्षले भीषण रूप लिए ।

सत्ता पक्ष पराजयसँगै अत्यन्त बर्बर, क्रूर र फासिवादी शैलीले दमनमा उत्रिएर हत्याअभियान चलाउन थाल्यो भने माओवादी पक्षबाट पनि त्याग, शौर्य, समर्पण, बलिदानका कीर्तिमान कायम हुन थाले । जनयुद्ध प्रतिक्रियावादका विरुद्ध त केन्द्रित थियो नै यसले संशोधनवाद, अवसरवाद, जडसूत्रवाद, संसद्वादलगायत विभिन्नखाले क्रान्तिविरोधी शक्तिको सामना गर्नुपर्‍यो । जनयुद्धका क्रममा सत्ता पक्षबाट निर्मम, बर्बर दमन, आतंक र अनेक नामका हत्याअभियान चलाइयो । सरकारले क्रान्तिकारी नेताहरूको टाउकाको मूल्य तोक्ने, झोलाभरि टाउको ल्याऊ, झोलाभरि पैसा लैजाऊ भनेर गैरकानुनी हत्यालाई प्रोत्साहन गर्ने, हत्याअभियान चलाउने काम गर्‍यो ।

निहत्था नागरिकको हत्या, महिलामाथि सामूहिक बलात्कार र हत्या, झूटा मुठभेडका नाममा सामूहिक हत्या गर्ने, मानवबस्तीमा आगो लगाउने, बस्ती नै निर्जन पार्नेजस्ता आततायी गतिविधि सञ्चालन गरियो । सरकारले ‘रोमियो’, ‘किलो सेरा टु’, ‘सर्च एन्ड किल’, ‘कर्डेन र स्विफ्ट’, ‘कम्बिङ’ नामका आपराधिक हत्याअभियान सञ्चालन गर्‍यो । माओवादी शक्ति र जनताले सत्ताका हरेक प्रकारका षड्यन्त्र र हत्याअभियानको सामना गरे ।

पूर्वमा रामेछापको बेथान पानीघाटमा छापामार सांस्कृतिक योद्धा दिलमाया बम्जन युद्धमैदानमा निहत्था लड्दालड्दै दुस्मनको गोलीले सहिद बन्नुभयो भने पश्चिममा मस्त बिष्टले बलिदान गर्नुभयो । सांस्कृतिक क्षेत्रबाट बलिदानका शृङ्खला बढ्दै गए ।

यसै क्रममा २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा च्याङ्बा लामा, मञ्जु कुँवर, चिनीमाया तामाङ, गुम्बासिं तामाङ, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठ र निर्मला देवकोटाको निहत्था अवस्था वाद्यवादनका साधनका साथ बसिरहेको घरमा आगो लगाउनुका साथै प्रतिरोध गर्दै घेरा तोड्ने क्रममा गोली प्रहार गरी क्रूरतापूर्वक हत्या गरियो । अनेकोटमा सातजना जनकलाकारले मालेमावादी विचार परित्याग गरी आत्मसमर्पण गरेको भए बाँच्ने विकल्प थियो तर उहाँहरूले आदर्शलाई लत्याएर दुस्मनसँग जीवनको भिक मागी बाँचेर जिउँदै मर्नुुभन्दा सर्वहारा वर्गका लागि बलिदान गरेर सहिद बनी गौरवशाली मृत्युवरण गर्ने र सदैव बाँचिरहने विकल्प रोज्नुभयो ।

बिनाहतियार विचार, आदर्श, गीतसङ्गीत र वाद्यवादनका साधनले दुस्मनको आगो र हतियारको सामना र प्रतिरोध गरी गौरवशाली उदाहरणीय बलिदान गर्ने सातजना कलाकार र अन्य सांस्कृतिक सहिदहरूको स्मृति र सम्मानमा नेकपा (माओवादी) ले उक्त दिनलाई सांस्कृतिक प्रतिरोध दिवस घोषणा गर्‍यो र पार्टी तथा सांस्कृतिक मोर्चाले देशभर अभियान र उत्सव वा दिवसकै रूपमा विविध रचनात्मक र सिर्जनशील कार्यक्रमका साथ दिवस मनाउन थाले । यो वर्गसंघर्षले उत्पन्न गरेको नयाँ चेतना र नयाँ संस्कृति थियो । यो वर्गसंघर्षमा होमिएको जनताको पङ्क्तिबाट निर्माण भएको उन्नत चेतनासहितको नयाँ संस्कृति, जनसंस्कृति थियो ।

सत्ताले अनेकोटमा मात्र होइन, मालेमावादी विचारका साथ कलम, मादल, गितार, सारङ्गी, बाँसुरी, गीत–सङ्गीत, सिर्जना बोकेर जनता जगाउँदै नयाँ संस्कृति निर्माण गर्दै हिँडेका जनसंस्कृतिकर्मीहरूलाई रोल्पाको भाबाङ र गुम्चाल, अछामको डुङ्गला र विनायक, डोटीको मुडभरा र छेंडा, डोल्पाको माझफाल, रामेछापको दोरम्बा, रौतहटको गौरलगायत दर्जनौँ सामूहिक रूपमा हत्या गर्‍यो । सत्ताको हत्याअभियानकै क्रममा कृष्ण सेन ‘इच्छुक’, चुनु गुरुङ, डीबी थापा, रोहित कोइराला, पुष्पराज चौधरी, हर्षबहादुर मल्ल, शिव श्रेष्ठ, अञ्जान विरही, शारदा श्रेष्ठ, कौशिल्या तमु, एकराज विक, डीबी लामा, जयराज भट्ट, इन्द्रिरा आचार्य, सङ्गीता चौधरी, चञ्चला आले, भोगट राय, विदुर भगत, रामकृष्ण महतो, उतिचन राय यादवको हत्या गरियो ।

रोल्पाको भाबाङमा जनसांस्कृतिक प्रशिक्षण लिइरहेका ११ जना जनकलाकारलाई २०५६ साल असार ८ गते कब्जामा लिएर हत्या गरियो । त्यसमा शुकप्रसाद बुढामगर ‘झन्कार’, लालबहादुर सार्की ‘बलदेव’, दिलकुमार बुढामगर ‘माइन्ड’, मङ्गल बुढामगर ‘झरना’, सुन्दर घर्तीमगर ‘कपिल’, गोविन्द घर्तीमगर ‘विशाल’, दुर्गासिंह घर्तीमगर ‘विकास’, दीपेन्द्र घर्तीमगर ‘सुजन’, दुर्गाबहादुर घर्तीमगर, कुमारी घर्तीमगर र देउमती विश्वकर्मा हुनुहुन्थ्यो । गुम्चालमा २०५८ चैत ४ गते जनकलाकार पार्वती परियार, बालसरी रोका, कृष्ण घर्तीमगर र दुर्गी बाठामगरको हत्या गरियो ।

२०५६ साल पुस २९ गते अछामको डुङ्गलामा गुम्बाबहादुर चलाउने, अम्बरबहादुर चलाउने, मदनबहादुर चलाउने, टेके कामी, पद्मबहादुर ढोली, ढाक्रे दमाई, भक्त बुढा, मानबहादुर र रामबहादुर चलाउनेको हत्या गरियो । अछामकै विनायकमा २०६० साल मङ्सिर १८ गते कलाकार नौरता चलाउने, नरबहादुर नेपाली, नेत्रबहादुर कठायत र प्रभुनाथ धिमालको हत्या गरियो ।

तत्कालीन सरकारबाट २०५६ सालमा कालीकोटको घोडेकोटमा जनकलाकार मीनबहादुर बिस्टसहित ४ जना र कालीकोटकै ओदानकुमा २०५७ साल साउनमा रमेश भट्टराई र तिलकन्या खत्री मारिए । डोल्पा जिल्लाको माझफालमा २०५९ साल भदौ ९ गते जयन्ता घर्ती, यामकुमारी खड्का, नारायण शर्मा, सुनिल, नमुना, ललिता, प्रमोद र भिजन मात्र होइन, डोटी जिल्लाको मुडभरा र छेंडामा ७ जना जनकलाकारले पनि बलिदान दिए ।

प्रतिरोधी सांस्कृतिक चेतना र समाजवादी समाज निर्माणकै क्रममा रामवृक्ष यादव, लोकरोशन श्रेष्ठ, प्रदीप दोङ ‘रक्तिम’, रीतबहादुर खड्का प्रताप, अमरबहादुर विक योद्धा सेनानी, अम्मलाल पाण्डे, इच्छुक सल्यानी, ऋषि घिमिरे बन्दी, ऋषि लामिछाने निशान, गोपाल बस्नेत, चन्द्रबहादुर राणा, जनकबहादुर शाही रवीन्द्र, जयधन रोका, तिलप्रसाद गौतम समुद्र, दलबहादुर बोहोरा विशाल यात्रीले ज्यानको आहुति दिए ।

देवकुमार आचार्य ‘डी कौडिन्य’, नन्दप्रसाद न्यौपाने, नमुना यात्री, नारायण घिमिरे, आक्रोश बिहानी, निरबहादुर विक सागर, पुनीत, प्रतिभा, विनोदलाल विक, विश्वेश्वर पोखरेल, भरतबहादुर सिंह संगीन, मीना सापकोटा, रामबहादुर बैठा, रामहरि थपलिया श्याम, रूपलाल बोहोरा आकाश, लोकेन्द्रप्रकाश गिरी, शिला वली, सन्तबहादुर घर्ती क्रान्ति, सरोज कोइराला प्रज्वलित, सूर्यप्रकाश पुन सुन्दर, सूर्यबहादुर भण्डारी उत्तमलगायत १७० भन्दा बढी संस्कृतिकर्मी/स्रष्टाले प्राण उत्सर्ग गरे । यसरी जनयुद्धको प्रक्रियामा नेपाल आमाका सुन्दर छोराछोरीहरूले राज्यआतंकका विरुद्ध प्रतिरोध युद्ध लड्दालड्दै बलिदान गरे र वर्गसंघषर्पकै बीचबाट क्रान्तिकारी प्रतिरोध संस्कृतिको निर्माण गरे ।

निष्कर्ष

नेपालमा संस्कृतिकर्मी/स्रष्टाहरूको बलिदानको प्रक्रिया १९८० बाटै आरम्भ भएको हो । निरंकुश जहानियाँ राणा शासनका विरुद्ध मकैको खेती पुस्तक लेखेर विद्रोह गर्ने र नेपालमा एक दिन जनतन्त्र स्थापना भएरै छोड्ने कवितासमेत लेख्ने सुब्बा कृष्णलाल अधिकारीलाई राणा शासकहरूले जेल हालेर क्रूर यातना दिँदै हत्या गरेका थिए ।

राणा शासनका विरुद्ध सङ्गठित राजनीतिक, वैचारिक आन्दोलन सञ्चालन गर्ने योद्धा गङ्गालाल श्रेष्ठ पनि स्रष्टा थिए र उनले पनि आन्दोलनकै क्रममा गौरवशाली मृत्युदण्ड स्वीकार गरेका थिए । योगमायाको विद्रोह बलिदान र पनि इतिहासमा उल्लेख्य छ । प्रतिरोधी वैचारिक, सांस्कृतिक आन्दोलनकै क्रममा सयौँ योद्धाहरूले वर्गसंघर्षमा बलिदान गरेर प्रतिरोधी संस्कृति निर्माण गर्ने काम गरेका छन् ।

महान् जनयुद्धका क्रममा २०५५ साल चैत ५ गते आजैका दिन काभ्रेको अनेकोटमा सांस्कृतिक कार्यक्रमको तयारी गरेर वाद्यवादनका साधनसहित बसिरहेका सातजना जनकलाकारको कायरतापूर्वक र बर्बर तरिकाले बसेको घरमा आगो लगाउँदै गोली प्रहार गरी हत्या गरिएको थियो । मालेमावादी जनकलाकारहरूले आततायी सत्तासँग आत्मसमर्पण गर्नुभन्दा विद्रोहको मैदानमा शरीरमा लगाइएको आगोसँगै छातीमा गोली थापेर गौरवसाथ बलिदान गर्ने साहसिक विकल्प रोजे र पेरिस कम्युनका कम्युनार्डको स्पिरिटमा एउटा ऐतिहासिक मोर्चामा सहादत प्राप्त गरे ।

संसारकै वर्गसंघर्षको इतिहासमा यो बलिदान र प्रतिरोध अद्वितीय किसिमको थियो र उक्त ऐतिहासिक घटनाको दिनको स्मरण र योद्धाहरूले प्रतिरोध संघर्ष लड्दालड्दै सहादत प्राप्त गरेको भव्य सांस्कृतिक चेतनाको सम्मानमा सांस्कृतिक प्रतिरोध दिवसका रूपमा स्थापित गरिएको थियो ।

जनयुद्ध र जनक्रान्तिको राजनीतिक प्रतिक्रान्ति र पतनसँगै जनयुद्ध र जनक्रान्तिले निर्माण र विकास गरेको नयाँ चेतना र नयाँ संस्कृति पनि प्रतिक्रान्तिको सिकार भएको छ र वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशासहित वैज्ञानिक समाजवादी संस्कृति निर्माण अघि बढेको छ । प्रतिरोधी सांस्कृतिक चेतना र निरन्तर क्रान्तिबाट नै वैज्ञानिक समाजवादी सत्तासँगै समाजवादी संस्कृति निर्माण हुनेमा दुई मत छैन ।
(लेखक अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?