+
+
Shares
विचार :

ओली-मोदी मित्रमिलन र नेपाल-भारत सम्बन्ध

नेपालमा अब खेल्ने होइन, मिल्ने हो भन्ने भारतीय संस्थापनको निष्कर्ष हो भने, यसले बहुआयामिक सकारात्मक परिणामको बाढी ल्याउँनेछ ।

दयालबहादुर शाही दयालबहादुर शाही
२०८१ चैत २५ गते १३:४१

शक्तिशाली देशको प्रभावशाली नेताले ठूलो चित्त गर्दा कसैको केही बिग्रिहाल्दैन । तर, त्यस्तै प्रकारको चित्त भौगोलिक, जनसांख्यिक, सामरिक र अर्थतन्त्रका हिसाबले कमजोर देशको प्रभावशाली नेताले देखायो भने दलाली, चाकरी वा गद्दारी भनेर उडाउने, शंका गर्ने वा आक्षेप लगाउने प्रचलन छ ।

यो जोखिम मोलेर थाइल्यान्ड भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार हिन्दी भाषा प्रयोग गर्दै एउटा ट्विट गर्नुभयो, ‘मेरो प्रिय मित्र श्री नरेन्द्र मोदीजीसँग आत्मीय र सौहार्द्रपूर्ण भेट भयो । हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो । यस आत्मीय भेटवार्ताप्रति खुसी व्यक्त गर्दछु ।’

सवाल मनसँग जोडिएको थियो । र, गुनको पैँचो त्यसरी नै तिर्नुपर्ने बाध्यता थियो । किनकि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ठूलो चित्त देखाउँदै प्रधानमन्त्री ओलीसँगको बैंकक भेटवार्तालगत्तै ट्विटरमा नेपाली भाषामा लेख्नुभएको थियो, ‘बैंककमा प्रधानमन्त्री केपी ओलीसँगको भेट फलदायी रह्यो ।

भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ । हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरु विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरुमा छलफल गर्‍यौं । हामीले यस वर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरु विशेषगरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरुमा पनि कुरा गर्‍यौं ।’

दुवै नेताको यो दोस्तीले नाकाबन्दी, नेकपाको विभाजन, एमालेको विभाजन र चुच्चे नक्सा जारी गर्दा बेलाको त्यो कुस्तीमा पूर्णबिराम लागेको संकेत गर्छ । नेताद्वयको मिलनले स-साना कुरामा पस्ने र फस्ने, मिलेर बिराट सम्भावनाको खोजी नगर्ने दक्षिण एसियाको राजनीतिको पक्षघातलाई हटाउनका लागि चाहिने उच्च राजनीतिक सुझबुझ र चेतनाको बलियो आधारतिर संकेत गरेको छ ।

ओली-मोदीबीच समानता

दुवै प्रधानमन्त्रीको कष्टमय बाल्यकाल उस्तैउस्तै छ । र, संघर्षमय जीवनको रुपरङ पनि मिल्दोजुल्दो छ । दुवै नेताको उद्देश्य ब्याग होइन, त्याग हो । कुण्ठालाई निष्ठाले, अवसरलाई आस्थाले, अराजकतालाई अनुशासनले, आवेगलाई धैर्यले तह लगाउने कलामा समानता छ । थोपरिएको होइन, खारिएको नेतृत्व उहाँहरुको व्यक्तित्वको साझा पाटो हो ।

कुनै समयमा अस्तित्व रक्षाको संकट र कुशल नेतृत्वको आसन्न संकट एकैसाथ समान ढंगले बेहोरिरहेका एमाले र भाजपाको लागि उहाँहरुले निर्वाह गरेको तारणहारको भूमिका मिल्दोजुल्दो छ ।

जननेता मदन भण्डारी र सादगी नेता मनमोहन अधिकारीको अवसानपछि नेकपा एमालेले कुशल र सर्वस्वीकार्य नेतृत्वको आन्तरिक संकट झेलिरहेको थियो । त्यही संकटका बेला एमालेलाई उग्रवामपन्थको सिकार हुनबाट जोगाउने क्रममा ओलीको उदय भएको थियो ।

यसैगरी, भारतमा अटल बिहारी वाजपेयीको कमजोर शारीरिक अवस्थासँगै थलिन सक्ने खतराको अवस्थामा भाजपालाई चाहिएको जनतासँग प्रत्यक्ष संवाद गर्ने नेतृत्वको खाँचो पूर्ति गर्दैगर्दा मोदीको उदय भयो । त्यसैले, यी दुई नेताबीचको उदय हुँदाको अवस्था पनि समानखाले छ ।

लोकतन्त्रमा असल नेताले जनताको विश्वासको बलले आफ्नो शासन आफैं गर्छन् । दुवै ओली र मोदी दुवै नेताको जीवन कथाले यही समान शिक्षा दिएको छ ।

महाशक्तिको रुपमा उदाउँदै गरेको भारत र सदियौंदेखि स्वाभिमानको मेरुदण्डमा उभिने बानी परेको नेपालको शक्ति सन्तुलनले नेपाल-भारत असल सम्बन्धको स्वर्ण युगतिर संकेत गरेको छ ।

नेपाल र भारतको भूगोल, जनसंख्या, सामरिक शक्ति र अर्थतन्त्र सानो-ठूलो भए पनि स्वाभिमान, संस्कार, सभ्यता, चेतना, सार्वभौम सत्ता, हिम्मत, देशभक्ति, इमान, निष्ठा, विवेक र भाइचारा समान छन् । ओली र मोदीले एकअर्कालाई गरेको कदरले नेपाल र भारतबीचको मजबुत सम्बन्धलाई देशाउँछ ।

घरेलु धुन्धुकारी र भूराजनीतिक दाउपेचका खेलाडीलाई एकैसाथ असफल पार्ने नेपालसँग कला छ । नेपालमा जनसमुदायले थामेको र विश्व समुदायले विश्वास गरेको अक्षुण्ण लोकतान्त्रिक व्यवस्था भित्रैदेखि मजबुत छ ।

स्वाभिमानको मेरुदण्डबाट टसमस नहुने नेपालको आफ्नै सदाचार छ । हामीलाई थाहा छ, महान मन भएकालाई महामित्रको अभाव हुँदैन । नेपाल र नेपालीको इज्जत गरेरै कुनै बेलाको विश्व महाशक्ति बेलायत दुई-दुई वटा विश्वयुद्ध लडेको थियो ।

भारत-पाकिस्तान विभाजन बेलाको हिन्दू-मुसलमान दंगाको नरसंहार रोक्नमा होस् वा भारतले लडेका जम्मु-काश्मिर क्षेत्रका साना-ठूला भिडन्तमा होस् । वा, जारी रुस-युक्रेन युद्धमै किन नहोस्, नेपालीका बजारिएका पाखुरा, नेपालीका खुन, पसिना र आँसुको विशिष्ट योगदान छ ।

नेपाली मनले कति तागत राख्छ, असल आत्माले मात्र नाँप्न र जाँच्न सक्छ । नेपालीबाट गुन पाएकाले भन्दा गोदाइ खाएकाले राम्ररी चिन्ने गर्छन्, नेपाल र नेपाली मनको तागत ।

सन् १९८६ को विश्वकप फुटबलको क्वार्टरफाइनल खेलमा बेलायतलाई हराएपछि अर्जेटिनाका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाले ठिकै भने । नेपालको साथ पाउन सक्नुको विश्वव्यापी महत्तामाथि प्रकाश पार्दै म्याराडोनाले भनेका थिए, ‘आज हामीले उनीहरुलाई हरायौं । किनकि, फुटबल मैदानमा गोर्खालीहरु थिएनन् ।’

भुटानीकरण, सिक्किमीकरण र फिजीकरणको अभ्यासले यहाँ काम गरेन । अफगानिस्तान, पाकिस्तान, बंगलादेश, श्रीलंका र बंगलादेश मोडलका महासंकट नेपालले पचाइसक्यो । त्यस प्रकारका महासंकट आयात गर्ने घरेलु धुन्धुकारी इतिहासको कुँडाकर्कट भइसके । महासंकट निर्यात गर्ने भूराजनीतिक दाउपेचका व्यापारीले पनि घाटा बेहोर्नुपरेको छ ।

नेपाल लेण्डुप दोर्जे, दलाई लामा, जेलेन्स्की उत्पादन गर्ने कारखाना हुनबाट जोगिइसकेको छ । घरेलु धुन्धुकारी र भूराजनीतिक दाउपेजका खेलाडीलाई एकैसाथ असफल पार्ने नेपालसँग कला छ । नेपालमा जनसमुदायले थामेको र विश्व समुदायले विश्वास गरेको अक्षुण्ण लोकतान्त्रिक व्यवस्था भित्रैदेखि मजबुत छ ।

नेपालमा अब खेल्ने होइन, मिल्ने हो भन्ने भारतीय संस्थापनको निष्कर्ष हो भने यसका बहुआयामिक सकारात्मक परिणामको बाढी आउनेछ । त्यतिबेला हामी हामीले जारी गरेको चुच्चे नक्सा गुगल र भूगोल दुवै हिसाबले पाइसकेका हुनेछौं । बदलामा भारत पनि रित्तो हात हुने छैन । असल छिमेकीको साथ र काँधले भारतको फलिफापै फलिफाप हुनेछ ।

असल छिमेक नीति र असल छिमेकीको मनैदेखिको साथ पाएर भारतले पनि युरोप-अमेरिकाको मुख ताक्नुपर्ने नियतिलाई बदलेर दक्षिण एसिया केन्द्रित विश्व व्यवस्थाको यो विराट सम्भावनालाई वास्तविकतामा बदलिसकेको हुनेछ ।

हामी पूर्वी सभ्यतालाई पुनरुद्धार गर्न सक्नेछौं । जननेता मदन भण्डारीको विचार- जनताको बहुदलीय जनवादले विश्वका चिन्तनहरुलाई जोड्नेछ । उहाँले मानव जातिलाई दिनुभएको नासोको रुपमा रहेको भाइचारा, पञ्चशील, सामाजिक न्याय, शान्ति, समानता, लोकतन्त्र र जनताको सर्वोच्चता विश्व समुदायको जीवनशैलीमा बदलिनेछ ।

केवल दाँतदेखिको होइन, आँतदेखिको नेपाल-भारत न्यानो, खँदिलो र पञ्चशीलमा आधारित असल सम्बन्धमा आपसी हित र अटल सौभाग्य छ । यसैमा दक्षिण एसियाको शान्ति र समृद्धि निर्भर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?