 
																			२२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिहीबार साँझ बिमस्टेक सम्मेलनअगाडि बैंककमा आयोजना गरिएको डिनरमा सँगसँगै देखिए ।
मोदीको अर्को छेउमा बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस बसेका थिए । मोदीसँग ओली र युनुसको पछिल्लोपटक सत्तासिन भएपछिको भेटको सन्दर्भ उत्तिकै दुर्लभ देखिन्छ ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएको वेला गत ७ असोजमा न्युयोर्कमा ओली र मोदीबीच भेट भएको थियो ।
त्यस्तै, बंगलादेशमा गत वर्ष अगस्टमा भएको सत्तापलटपछि मोदी र युनुसबीचको यो पहिलो प्रत्यक्ष भेट हो । त्यतिबेला प्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएपछि भारतमा शरण लिएकी थिइन्, जसले दुई देशबीचको सम्बन्धमा चिसोपन ल्याएको थियो।
ओली र मोदीबीच आज अपराह्न ४ बजेदेखि ४:२० सम्म भेटवार्ता तय भएको छ । आजको भेटसँगै ओली र मोदीबीच तेस्रो देशमा दोस्रो भेटवार्ता हुनेछ ।
बिमस्टेक बैठक र सम्भावित द्विपक्षीय वार्ता
पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्ने ओलीको प्रयास अहिलेसम्म सफल भएको छैन । वर्तमान सरकार बनेको अहिले नौ महिना बितिसकेको छ ।
आज (शुक्रबार) बाट बैंककमा बिमस्टेक शिखर सम्मेलन हुँदैछ। सम्मेलनपछि प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच औपचारिक द्विपक्षीय वार्ता हुनेछ ।
बिमस्टेक सम्मेलन सकिएपछि केवल २० मिनेटको लागि तय भएको वार्ता मोदी बस्ने म्यान्डेरियन ओरिन्टल होटलमा हुनेछ । वार्ता दुई प्रधानमन्त्रीबिच प्रतिनिधिमण्डल स्तरीय टोलीबीच औपचारिक रूपमा हुनेछ ।

७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र प्रधानमन्त्रीका अर्थ तथा विकास सल्लाहकार डा. युवराज खतिवडा सहभागी हुनेछन् ।
त्यस्तै, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्रसचिव अमृतबहादुर राई र परराष्ट्रका उपसचिव अम्बिका जोशी पनि सहभागी हुनेछन् ।
भेटमा प्रधानमन्त्री ओलीले अन्य मुद्दासँगै नेपालले आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुन पुनः अनुरोध गर्नेछन् । सरकारले यसअघि नै भारतीय प्रधानमन्त्री मोदीलाई निमन्त्रणा पठाइसकेको छ ।
बिमस्टेक के हो?
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) बंगालको खाडी क्षेत्रसँग जोडिएका सात राष्ट्रहरूको क्षेत्रीय संगठन हो।
सन् १९९७ मा स्थापना भएको यस समूहमा बंगलादेश, नेपाल, भारत, श्रीलंका, थाइल्याण्ड, म्यानमार र भुटान सदस्य छन्। यसले सदस्य राष्ट्रहरूबीच बहुपक्षीय प्राविधिक र आर्थिक सहकार्यलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
यसपटक बिमस्टेक सम्मेलनमा शीर्ष नेताहरूले सम्बोधन गरेसँगै विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4