+

‘विपिन दादा, म अझै तिम्रा लागि लडिरहेकी छु’

पूरा सूची
Shares
हमासको कब्जामा परेका आफ्ना दाजु विपिन जोशीलाई सकुशल स्वदेश फर्काउने आशमा पुष्पा जोशीले सडकदेखि सत्तासम्म र नेपालदेखि इजरायल र अमेरिकासम्मको यात्रा तय गरिन्। एउटी साधारण किशोरीले दाजुको प्राण रक्षाका लागि विश्वमञ्चमा देखाएको अदम्य साहस र सङ्घर्षको कथा इतिहासमा सधैं स्मरण गरिनेछ।
पुष्पा जोशी

कञ्चनपुरको महेन्द्रनगर। साँझ पर्न थालेपछि महाकालीको किनारबाट आउने चिसो हावासँगै एउटा घरको आँगनमा एक युवती अक्सर टोलाएर बसिरहेकी भेटिन्छिन्। घरभित्र परिवारका सदस्यहरू विस्तारै सामान्य दिनचर्यामा फर्कन खोजिरहेका छन्, तर ती युवतीको समय भने अझै ७ अक्टोबर २०२३ कै बिहानमा अड्किएको छ।

ती युवती हुन्- पुष्पा जोशी। र, उनको त्यो अनन्त प्रतीक्षा थियो- उनको दाजु विपिन जोशीको।

७ अक्टोबर २०२३ का दिन इजरायलको किबुत्ज अलुमिमस्थित गाजा सीमा क्षेत्रमा हमास समूहले गरेको आक्रमणमा नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि सिक्न गएका १० जना विद्यार्थी मारिए। ४ जना घाइते भए भने कञ्चनपुरका विपिन जोशीलाई हमासले बन्धक बनाएर लग्यो। 

त्यसपछिका दिनहरूमा विपिनको खोज, उद्धार र रिहाइका लागि उनकी बहिनी पुष्पाले जसरी सिङ्गो विश्वको ढोका ढकढक्याइन्, त्यो एउटी बहिनीको असाधारण र साहसिक लडाइँ थियो।

एउटा साधारण गाउँ, असाधारण सम्बन्ध 

१३ साउन २०६४ मा बैतडीको पुर्चौंडी गाउँपालिका–१०, विजयपुरमा जन्मिएकी हुन् पुष्पा। पहाडको शान्त वातावरणमा उनको बाल्यकाल बित्यो। उनको संसार धेरै ठूलो थिएन- बुवा, आमा र दाजु विपिन।

दाजु विपिन उनीभन्दा उमेरमा ठूला भएकाले दाजु–बहिनीको सम्बन्ध उमेरको भन्दा पनि माया र जिम्मेवारीको बढी थियो। बुवाआमा खेतीपातीमा व्यस्त हुँदा विपिन नै पुष्पाका संरक्षक, शिक्षक र साथी बन्थे। ‘स्कूल जान मलाई सबैभन्दा बढी डर उकालो बाटोको लाग्थ्यो। तर दादा सधैं मेरो हात समातेर लैजान्थ्यो’, पुष्पा भावुक हुँदै विगत सम्झिन्छिन्।

२०७२ सालतिर परिवार बसाइँ सरेर कञ्चनपुरको भीमदत्त नगरपालिका-३, बिचपुरी झर्‍यो। पुष्पाका लागि सबैभन्दा ठूलो खुसी नै यही थियो कि अब दाजुसँगै बस्न पाइने भयो। विपिन कृषि विज्ञानमा गहिरो रुचि राख्थे भने पुष्पालाई इन्जिनियर बनाउने उनको सपना थियो। ‘दादा मलाई आर्किटेक्ट बन्नुपर्छ भन्थ्यो। तैंले डिजाइन गरेको घरमा म बस्छु भन्थ्यो’, पुष्पा भारी मनले सुनाउँछिन्। त्यही सपनाले पुष्पाले विज्ञान विषय लिएर प्लस-टु पढिन्।

त्यो कालो बिहान र रोकिएको जीवन 

सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक (आठौं सेमेस्टर) अध्ययनरत विपिन परिवारको ठूलो सपना बोकेर इजरायल पुगेका थिए। इजरायल पुगेको २५ दिन मात्र भएको थियो। अन्य साथीहरूसँगै उनी पनि काममा निस्किएका थिए, तर त्यो बिहान सामान्य रहेन। इजरायलमा हमासको आक्रमण भयो।

नेपालमा पुष्पाले समाचार देख्नेबित्तिकै दाजुलाई फोन गरिन्। घण्टी गयो, तर फोन उठेन। दिनभरको निरन्तर प्रयासपछि पनि फोनले मौनता नै बोलिरह्यो। केही दिनभित्रै विपिनलाई हमासले बन्धक बनाएर लगेको भिडियो सार्वजनिक भयो।

पुष्पाले दाजुलाई त फर्काउन सकिनन्, तर उनले सिङ्गो संसारलाई एउटा सन्देश दिइन्- मानव जीवन राजनीतिक र युद्धको सीमाभन्दा धेरै ठूलो हुन्छ।

‘मेरो जीवनको सबैभन्दा डरलाग्दो क्षण त्यही थियो। दाजु बन्धक बनेको खबर सुन्दा मेरा हातखुट्टा काम्न थाले। म रोएँ कि चिच्याएँ, मलाई नै थाहा छैन’, उनी भन्छिन्। त्यसपछिका ७३७ दिनसम्म जोशी परिवार हरेक बिहान एउटै आशमा ब्युँझियो- कतै आज विपिन फर्किन्छन् कि !

सडकदेखि सत्तासम्म एउटी बहिनीको लडाइँ 

सरकार, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध- यी शब्दहरूसँग पुष्पा परिचित थिइनन्। तर, एउटै कुरा थाहा थियो, जसरी पनि दाजुलाई फर्काउनु छ। उनले महेन्द्रनगरमा युवाहरू भेला गरेर शान्तिपूर्ण प्रदर्शन गरिन्। त्यसपछि उनी काठमाडौं आइन्।

राष्ट्रपति, तत्कालीन प्रधानमन्त्रीहरू र परराष्ट्रमन्त्रीहरूलाई भेटेर उनले एउटै वाक्य दोहोर्‍याइरहिन्- ‘मेरो दाजु निर्दोष छ, उहाँलाई फर्काइदिनुहोस्।’ सबै ठाउँबाट ‘पहल गरिरहेका छौं’ भन्ने आश्वासन त पाइयो, तर ठोस परिणाम आएन। 

कहिलेकाहीं उनलाई कसैले सोध्थ्यो, ‘तिमीलाई डर लाग्दैन ?’ उनी भन्थिन्, ‘डर लाग्छ… तर मेरो दाजु त्यहाँ एक्लै छ।’

इजरायलदेखि अमेरिकासम्मको विश्वयात्रा 

कक्षा १२ को परीक्षा दिएपछि उनले नयाँ अभियान शुरु गरिन्। सामाजिक सञ्जाल मार्फत इजरायली अभियन्ताहरूसँग सम्पर्क बढाएर विश्वव्यापी अभियान छेडिन्।

११ अगस्ट २०२५ मा उनी आमालाई साथमै लिएर इजरायल पुगिन्। तेल अविव विमानस्थलमा झरेर पुष्पाकी आमा पद्माले भक्कानिंदै भनिन्, ‘म मेरो छोरालाई लिन आएकी हुँ। हाम्रो कसैसँग दुश्मनी छैन।’

आमासँग पुष्पा

इजरायलमा पुष्पाले त्यहाँका राष्ट्रपति आइज्याक हर्जोग र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेटेर आफ्ना दाजु सैनिक वा लडाकु नभई केवल एउटा विद्यार्थी भएको स्पष्ट पारिन्। १६ अगस्टमा तेल अविवको ‘होस्टेज स्क्वायर’ मा ६० हजार मानिसको भीड अगाडि उभिएर पुष्पाले रुँदै सम्बोधन गरिन्- ‘दादा, आई मिस यु सो मच। मेरो दाजु निर्दोष छ, उहाँको जीवन जोगाइदिनुहोस्।’ त्यो दिन उनले बुझिन्- पीडाले कुनै राष्ट्रियता चिन्दैन।

इजरायलपछि उनी २४ सेप्टेम्बर २०२५ मा आमासहित अमेरिका पुगिन्। त्यहाँ उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई भेटेर विपिनको रिहाइका लागि गुहार मागिन्।

आशा टुटे पनि हिम्मत हारेकी छैनन्  

इजरायल–हमास युद्धविरामको चर्चाले पुष्पाको मनमा दाजु फर्किने आश पलाइरहेको थियो। तर, त्यो आश धेरै दिन टिक्न सकेन। १३ अक्टोबर २०२५ मा इजरायली पक्षले विपिनको मृत्यु भएको औपचारिक पुष्टि गर्‍यो। झन्डै दुई वर्षदेखि जलिरहेको आशाको दियो निभ्यो। तेल अविवबाट उनको शव काठमाडौं ल्याइयो र कञ्चनपुरको महाकाली नदी किनारमा अन्त्येष्टि गरियो।

‘दाजुको रिहाइका लागि मैले सक्दो प्रयास गरें। तर फर्काउन सकिनँ’ आँसु पुछ्दै पुष्पा भन्छिन्, ‘अब दादाकै सपना र प्रेरणाले अघि बढ्ने प्रयास गर्दैछु।’

विपिन जोशी

दाजुकै रिहाइको लडाइँमा लामो समय पढाइ गुमाएकी पुष्पा अहिले महेन्द्रनगरकै ब्रिक्सटन कलेजमा बीबीए अध्ययनरत छिन्। पढेर आत्मनिर्भर बन्ने र अरूलाई रोजगारी दिने दाजुको सपना अब उनले आफ्नो काँधमा लिएकी छिन्। विपिनको घटनापछि शिक्षक रहेका बुवाले जागिर छाडेका छन् भने आमा अझै स्कूल पढाउँछिन्, तर आँखा प्रायः रसाइरहेका हुन्छन्। घरमा विपिनको कोठा अझै त्यस्तै छ, कसैले चलाएको छैन।

पुष्पाले दाजुलाई त फर्काउन सकिनन्, तर उनले सिङ्गो संसारलाई एउटा सन्देश दिइन्- मानव जीवन राजनीतिक र युद्धको सीमाभन्दा धेरै ठूलो हुन्छ। आज महाकालीको हावा चल्दा उनी आकाशतिर हेर्छिन्। फोन अब आउँदैन भन्ने उनलाई थाहा छ, तर प्रेरणा भने आइरहन्छ। उनको जीवनको बाँकी यात्रामा अब एउटै वाक्य सधैं साथमा हुनेछ- ‘दादा, म अझै लडिरहेकी छु।’

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

मदन गिरी