News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा अवामी लिगका नेता र कार्यकर्ताको प्रदर्शनका क्रममा प्रहरीका गाडी, चौकी र सार्वजनिक संरचनामा तोडफोड भएको छ।
- प्रदर्शनपछि बंगलादेश सरकारले गोपालगञ्जका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित तीन प्रहरी चौकीका प्रमुखलाई सरुवा गरेको छ।
- हसिनाले डिसेम्बरमा बंगलादेश फर्किने बताएकी छन्, जबकि बंगलादेशले उनलाई भारतबाट सुपुर्दगी गर्न कानुनी प्रक्रिया अघि बढाएको छ।
३० कात्तिक, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा आइतबार अवामी लिगका नेता तथा कार्यकर्ताले प्रदर्शनका क्रममा तोडफोड गरेका छन् ।
उनीहरूले प्रहरीका अवरोध तोड्दै सहरका विभिन्न सडकमा जुलुस निकालेका थिए । प्रदर्शनका क्रममा प्रहरीको सशस्त्र गाडी, प्रहरी चौकी र सार्वजनिक संरचनामा क्षति पुर्याइएको छ ।
बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारीले गोपालगञ्ज सहरमा रहेको जुलाई स्मारक र गोपालगञ्ज विज्ञान तथा प्रविधि विश्वविद्यालय परिसरको हादी चोकको नामपट्टिकासमेत तोडफोड गरेका छन् । केही सरकारी संरचनाका नामपट्टिका हटाएर पुराना नाम राखिएको छ । प्रदर्शनकारीले सडकमा टायर बालेर यातायातसमेत अवरुद्ध गरेका थिए ।
प्रदर्शनमा सहभागी कतिपयले खुकुरी, भाला, बन्चरो, लाठी र डुंगा चलाउन प्रयोग गरिने काठका डाँडाजस्ता स्थानीय हतियार बोकेका थिए । उनीहरूले पूर्वप्रधानमन्त्री हसिना र अवामी लिगको समर्थनमा नाराबाजी गरेका थिए ।
द डेली स्टारका अनुसार आइतबार बिहानैदेखि जिल्लाका विभिन्न क्षेत्रबाट मोटरसाइकल, रिक्सा, बस र ट्रकमा प्रदर्शनकारी गोपालगञ्ज सहर आइपुगेका थिए । उनीहरू दिउँसो १२ बजेतिर बीएसआईसी पुल क्षेत्रबाट जुलुससहित निस्किएका थिए । प्रदर्शन दिउँसो करिब १ः४५ बजेसम्म चलेको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीका गाडीमा तोडफोड गरिएको थियो । प्रदर्शनकारीले टायर र अन्य सामग्रीमा आगो लगाएका थिए ।
घटनापछि जिल्लाका प्रमुख अधिकारी र प्रहरी प्रमुख सरुवा
प्रदर्शन र तोडफोडपछि बंगलादेश सरकारले गोपालगञ्जका प्रमुख जिल्ला अधिकारी (डीसी) र प्रहरी प्रमुख (एसपी)लाई सरुवा गरेको छ ।
द डेली स्टारका अनुसार जिल्ला प्रहरी प्रमुख मोहम्मद हबीबुल्लाहलाई फेनी जिल्लामा सरुवा गरिएको छ । उनको ठाउँमा फेनीका प्रहरी प्रमुख प्रत्युष कुमार मजुमदारलाई नियुक्त गरिएको छ ।
त्यस्तै, गोपालगञ्जका प्रमुख जिल्ला अधिकारी मोहम्मद आरिफ उज्जमानलाई जिम्मेवारीबाट हटाएर सार्वजनिक प्रशासन मन्त्रालयमा तानिएको छ । हबीगञ्जका प्रमुख जिल्ला अधिकारी जीएम सरफराजलाई गोपालगञ्जको जिम्मेवारी दिइएको छ ।
सोमबार सार्वजनिक भएको अर्को विवरणअनुसार जिल्लाका तीन प्रहरी चौकीका प्रमुखलाई समेत सरुवा गरिएको छ ।
जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमावर्ती सुरक्षा बल बंगलादेश (बीजीबी), प्रहरी र अन्य सुरक्षा निकाय परिचालन गरिएको छ । युनाइटेड न्युज अफ बंगलादेशका अनुसार गोपालगञ्जमा करिब १५० बीजीबी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

डिसेम्बरमा फर्किने हसिनाको घोषणा
गोपालगञ्जमा हिंसात्मक प्रदर्शन भएको समयमा हसिनाले डिसेम्बरमा बंगलादेश फर्किने बताउँदै आएकी छन् । ७९ वर्षीया हसिना सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर भारत पुगेकी थिइन् । त्यसयता उनी भारतमै बस्दै आएकी छन् ।
हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि कानुनी लडाइँ लड्ने र स्वदेश फर्किने बताएकी छन् । उनले बंगलादेश फर्केर अदालतसमक्ष उपस्थित हुने इच्छा व्यक्त गरेकी छन् ।
उनका लन्डनस्थित कानुन व्यवसायीहरूले नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र जारी गरिदिन आग्रह गर्दै नयाँदिल्लीस्थित बंगलादेशी कूटनीतिक नियोगमा पत्र पठाएका थिए । तर बंगलादेश सरकारले उक्त माग अस्वीकार गरेको समाचार सार्वजनिक भएको छ ।
द एसोसिएटेड प्रेसका अनुसार हसिनाका सहयोगी अबु ओबैदाह आरिनले उनी डिसेम्बरसम्म बंगलादेश फर्किने तयारीमा रहेको बताएका छन् । उनका कानुन व्यवसायीले हसिनाको बंगलादेशी नागरिकताको आधारमा आवश्यक कागजात उपलब्ध गराउन आग्रह गरेका थिए ।
भारतसँग हसिनाको सुपुर्दगी माग
बंगलादेश सरकारले हसिनालाई भारतबाट फिर्ता ल्याउन सुपुर्दगी सन्धिअनुसार प्रक्रिया अघि बढाएको बताउँदै आएको छ ।
बंगलादेशका कानुनमन्त्री मोहम्मद असदुज्जमानले शनिबार पत्रकारहरूसँग कुरा गर्दै हसिनालाई स्वदेश फर्काउन आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकेको बताएका थिए ।
‘कानुनी प्रक्रियाअनुसार हामीले गर्नुपर्ने सबै काम पूरा गरेका छौँ । अब भारतले के गर्छ, त्यो उसको निर्णयमा निर्भर गर्छ,’ उनले भनेका थिए ।
भारतले भने हसिनालाई सुपुर्दगी गर्ने वा नगर्नेबारे अन्तिम निर्णय सार्वजनिक गरेको छैन । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नोभेम्बर १० मा पत्रकारहरूसँग कुरा गर्दै हसिनाको सुपुर्दगी कानुनी विषय भएको र त्यसलाई कानुनी प्रक्रियाबाटै सम्बोधन गरिने बताएका थिए ।
‘यो कानुनी विषय हो र यसलाई सोहीअनुसार सम्बोधन गरिनेछ,’ उनले भनेका थिए ।
बंगलादेशले हसिनाको फिर्तीलाई भारतसँगको द्विपक्षीय सम्बन्धसँग पनि जोड्दै आएको छ । हसिना र अन्य फरार व्यक्तिको स्वदेश फिर्तीले दुई देशबीचको सम्बन्ध तथा उच्चस्तरीय भ्रमणका लागि अनुकूल वातावरण बन्ने ढाकाको भनाइ छ ।
मानवताविरुद्धको अपराधमा मृत्युदण्ड
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२५ नोभेम्बर १७ मा हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै अनुपस्थितिमै मृत्युदण्ड सुनाएको थियो ।
सन् २०२४ मा विद्यार्थी आन्दोलन दबाउने क्रममा भएको हिंसात्मक कारबाहीमा भूमिका खेलेको अभियोगमा उनलाई दोषी ठहर गरिएको थियो । पूर्वगृहमन्त्री असदुज्जमान खान कमाललाई पनि सोही मुद्दामा मृत्युदण्ड सुनाइएको थियो ।
तर हसिनाले आफूमाथिको अभियोग र अदालतको फैसलालाई अस्वीकार गर्दै आएकी छन् । मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले भने अभियुक्तको अनुपस्थितिमा भएको सुनुवाइ र मृत्युदण्डको फैसलालाई लिएर निष्पक्ष सुनुवाइसम्बन्धी प्रश्न उठाएको थियो ।
हसिना सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको जनआन्दोलनपछि सत्ताच्युत भएकी थिइन् । त्यसपछि अवामी लिगका गतिविधिमाथि प्रतिबन्ध लगाइएको छ । यही राजनीतिक पृष्ठभूमिमा हसिनाको स्वदेश फिर्तीको घोषणासँगै उनको गृहजिल्ला गोपालगञ्जमा प्रदर्शन र तनाव बढेको छ ।
(बंगलादेशका सञ्चारमाध्यमहरूको सहयोगमा)
प्रतिक्रिया 4