News Summary
Generated by OK AI. Editorially reviewed.- अक्षय कुमारले आगामी साइन्स फिक्सन एक्सन थ्रिलर फिल्म ‘समुक’को मोसन पोस्टर सार्वजनिक गर्दै नोभेम्बर १६ दिउँसो २:०७ बजे नयाँ जानकारी आउने बताएका छन्।
- पोस्टरमा अक्षय बन्दुक बोकेर घना जंगलमा उभिएको र विशालकाय जीवको हात देखिएकाले कथामा खतरनाक प्राणीको संकेत गरिएको छ।
- कनिष्क वर्माको निर्देशनमा बन्न लागेको फिल्म २०२७ मे २८ मा प्रदर्शन हुनेछ, जसमा रुक्मिणी मैत्रा, विनीत कुमार सिंह, रजत कपूर र अन्य कलाकार देखिनेछन्।
बलिउड अभिनेता अक्षय कुमार यसपटक फरक अवतारमा दर्शकमाझ आउने तयारीमा छन् । उनको आगामी साइन्स फिक्सन एक्सन थ्रिलर फिल्म ‘समुक’को नयाँ मोसन पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अक्षय बन्दुक बोकेर घना जंगलमा उभिएको देखिएका छन् । त्यहाँ एउटा विशालकाय जीवको हात पनि देखिन्छ । यसले फिल्ममा अक्षयको सामना कुनै खतरनाक जीवसँग हुन सक्ने संकेत गरेको छ ।
अक्षय कुमारले सामाजिक सञ्जालमार्फत फिल्मको मोसन पोस्टर सार्वजनिक गर्दै नोभेम्बर १६ दिउँसो २ बजेर ७ मिनेटमा फिल्मसम्बन्धी नयाँ जानकारी सार्वजनिक हुने बताएका थिए ।
उनले पोस्टरसँगै लेखेका छन्, ‘एक सिकारी, एउटा मिसन र यस्तो लडाइँ, जहाँ कुनै नियम छैनन् ।’
पोस्टरमा देखिएको विशालकाय जीवको हातले फिल्ममा कुनै रहस्यमय र खतरनाक प्राणीको सामना गर्नुपर्ने संकेत गर्छ । यद्यपि, फिल्मको कथावस्तु र अक्षयले निर्वाह गर्ने पात्रबारे विस्तृत जानकारी सार्वजनिक भएको छैन ।
कनिष्क वर्माको निर्देशनमा बन्न लागेको यो फिल्म सन् २०२७ मे २८ मा सिनेमा घरमा प्रदर्शन हुनेछ । विपुल अमृतलाल शाहले सनसाइन पिक्चर्सको ब्यानरमा फिल्म निर्माण गरिरहेका छन् । फिल्ममा अक्षय कुमारसँगै रुक्मिणी मैत्रा, विनीत कुमार सिंह, रजत कपूर, स्वानन्द किरकिरे, बनिता सन्धु र सुशान्त सिंह पनि देखिनेछन् ।
फिल्मको अधिकांश छायांकन बेलायतमा गरिएको छ । रिपोर्टअनुसार, बेलायतमा निर्धारित छायांकनको करिब ८० प्रतिशत काम पूरा भएको थियो । फिल्मको अर्को विशेष पक्ष यसमा जोडिएका प्राविधिक हुन् । ‘एलियन’ र ‘प्रिडेटर’ जस्ता चर्चित हलिउड फिल्ममा काम गरिसकेका ओस्कारमा मनोनीत क्रिएचर इफेक्ट्स डिजाइनर एलेक गिलिसलाई यसमा सहभागी गराइएको छ ।
त्यस्तै, बेलायती एक्सन निर्देशक लुक टम्बरले फिल्मका एक्सन दृश्य तयार पारेका छन् ।
साइन्स फिक्सन, जंगल, रहस्यमय जीव र एक्सनको संयोजन रहेको ‘समुक’मा अक्षय कुमारको नयाँ अवतार दर्शकका लागि कति रोमाञ्चक हुनेछ, त्यो भने प्रदर्शनपछि नै थाहा हुनेछ ।
प्रतिक्रिया 4