२९ माघ, काठमाडौं । परराष्ट्र एवं स्थानीय विकास मन्त्री कमल थापा मन्त्रालयमा नेपाली कांग्रेसको एकाधिकार तोड्ने अभियानमा लागेका छन् । सुशील कोइरालाका पालामा राजनीतिक नियुक्ति लिनेहरुलाई मन्त्री थापाले हटाउन थालेपछि कांग्रेसभित्र हल्लीखल्ली मच्चिएको छ ।
प्रकाशमानका साढुभाइलाई हटाइयो
कमल थापाले कांग्रेस विरुद्धको ‘फायर’ महामन्त्री प्रकाशमान सिंहका साढुभाइमाथि प्रहार गरेर सुरु गरेका हुन् । स्थानीय विकास मन्त्रालयअन्तरगत ‘मालदार निकाय’ मानिने स्थानीय पूर्वाधार विकास कृषि सडक विभाग (डोलिडार) का महानिर्देशक (डीजी) जीवन श्रेष्ठलाई उपप्रधानमन्त्री थापाले हटाइदिएका छन् । श्रेष्ठ कांग्रेस महामन्त्री प्रकाशमान सिंहका साढुभाइ हुन् ।
सुशील कोइराला नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्री रहेका बेला कांग्रेस महामन्त्री सिंहले आफ्ना नातेदार श्रेष्ठलाई डोलिडारको डीजी बनाएका थिए । तीनजना बरिष्ठहरुलाई छाडेर कांग्रेस नेता सिंहले चौथो बरियताका श्रेष्ठलाई अघि सारेका थिए । अहिले मन्त्री थापाले पूर्वमन्त्री सिंहको निर्णयलाई उल्टाउँदै बरिष्ठताका आधारमा रामकृष्ण सापकोटालाई डोलिडारको डीजी बनाएका हुन् ।
आफूलाई हटाइएपछि श्रेष्ठले मन्त्रालयको पत्र नआई जिम्मेबारीबाट नहट्ने भन्दै केही दिन घुर्क्याएका थिए । यद्यपि उनको केही पनि सीप चलेन र आन्तरिक सरुवालाई स्वीकार गर्न बाध्य भए ।
कांग्रेस महामन्त्री सिंहले तत्कालीन डीजी भीम उपाध्याय बढुवा भएपछि खाली रहेको ठाउँमा श्रेष्ठलाई नियुक्त गरेका थिए । डीजी हुने बरियतामा रामकृष्ण सापकोटा, रामचन्द्र श्रेष्ठ र राजा कर्माचार्य थिए । उनीहरुको पालो मिचेर साढुभाइलाई डीजी बनाएकोमा तत्कालीन मन्त्री सिंहले नातावाद लादेको आरोप लागेको थियो ।
स्थानीय विकास मन्त्रालयमा डोलिडार आर्थिक परिचालनको हिसाबले निकै शक्तिशाली निकाय हो । कुनै पनि जिल्ला विकास समितिमा जाने बजेटको चौगुणा बजेट डोलिडारमा हुन भएकाले यहाँबाट नीतिगत भ्रष्टाचार गरी कमाऊ धन्दा गर्न सकिने भएकाले कांग्रेस नेता सिंहले आफन्तलाई जसरी पनि डीजी बनाउने प्रपञ्च रहेको आरोप लाग्दै आएको थियो ।
थापाविरुद्ध दीपकजंगको मुद्दा
यसैवीच दुर्गम क्षेत्र विकास समितिको उपाध्यक्षबाट हटाइएका जाजरकोटे कांग्रेस नेता दीपकजंग शाहले उपप्रधानमन्त्री कमल थापाविरुद्ध सर्वोच्च अदालतमा रीट दर्ता गराएका छन् ।
मन्त्री थापाले स्थानीय विकास मन्त्रालय अन्तर्गतको दुर्गम क्षेत्र बिकास समितिको उपाध्यक्षमा शाहलाई हटाएर राप्रपा नेपाल सोलुखुम्बुका नेता भूपाल किराँतीलाई नियुक्त गरेपछि शाह अदालत गएका हुन् । रोजगारी गर्न पाउने आफ्नो हक खोसिएको भन्दै कांग्रेस नेता शाहले अदालत गुहारेका हुन् ।
जाजरकोटका पूर्व सांसदसमेत रहेका शाहलाई प्रकाशमान सिंहले नै गत साल बढीमा चार वर्षका लागि उपाध्यक्षमा नियुक्त गरेका हुन् । तर, एक वर्ष नपुग्दै उनी राप्रपा नेपालको प्रहारमा परे । बढीमा चार वर्षका लागि नियुक्त भए पनि सरकारले चाहेको बखत हटाउन सकिने कानूनी प्रावधान रहेको राप्रपा नेपालका नेताहरुको दाबी छ ।
कांग्रेस नेता शाहले कमल थापालाई अदालतमा उजुरी मात्रै गरेका छैनन्, सरकारी गाडीसमेत फिर्ता नगरी कांग्रेस महाधिवेशनको चुनावमा प्रयोग गरिरहेका छन् । शाहले सरकारी गाडी फिर्ता नगर्दा किरातीले चढ्न पाएका छैनन् ।
समितिको उपाध्यक्षमा अर्को व्यक्ति नियुक्त भइसक्दा पनि शाहले गाडी फर्ता नगरेको र मन्त्रालयले पटक-पटक ताकेता गर्दा उल्टै धम्की दिने गरेको स्रोतले बतायो । पुल्चोकमा कार्यालय रहेको दुर्गम विकास समितिका एक कर्मचारीले भने- ‘गाडी फिर्ता गर्न ताकेता गर्दा आफु अदालत गएको र पार्टीको महाधिवेशनसम्म गाडी प्रयोग गर्ने शाहले जवाफ दिएका छन् ।’
को हुन् शाह ?
कांग्रेस नेता शाह उनै व्यक्ति हुन्, जसले विगतमा आफ्नै पार्टीका प्रधानमन्त्री शेरबहादुर देउवालाई पदच्युत गर्ने कार्यमा भूमिका खेलेका थिए । संसदमा सुरासुन्दरी प्रकरण भएका बेला बैंकक पुर्याइएका सांसदमध्ये शाह पनि एक थिए ।
कांग्रेस संस्थापन पक्षका नेता शाह जाजरकोट जिविस सभापति बन्ने आशमा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालका बेला राप्रपामा प्रवेश गरेका थिए । तर, तत्कालीन गृहमन्त्री कमल थापाले उनलाई जाजरकोट जिविस सभापति बन्न नदिएपछि उनी पुनः कांग्रेसमै फर्किए ।
जाजरकोटका धनीमानी खान्दानका शाह कांग्रेसमा फर्केर पार्टीको जिल्ला सभापति पद आफ्नो हातमा पार्न सफल भए । पछि सुशील कोइराला प्रधानमन्त्री बनेका बेला प्रकाशमान सिंहमार्फत् दुर्गम विकास समितिको उपाध्यक्ष बने । त्यहाँ रहँदा शाहले सरकारी सम्पत्तिको राम्रैसँग दुरुपयोग गरे ।
यतिबेला नेपाली कांग्रेसको जारी जिल्ला अधिवेशनमा शाह फेरि सभापतिको उम्मेद्वार बनेका छन् । तर, देउवा पक्षका सांसद राजीवबिक्रम शाहले उनलाई चुनौती दिइरहेका छन् । सभापति पदमा जित हात पार्न भन्दै उनी सरकारी गाडीको दुरुपयोग गरेर हिँडिरहेका छन् । शाहले दुईवटा सरकारी गाडी कब्जा गरेको समितिको कार्यालयले जानकारी दिएको छ । बा १ झ ९०४४ र बा १ झ ४४४१ नम्बरका दुईवटा सरकारी गाडीहरु कांग्रेस नेता शाहले लगेका छन् ।
दुर्गम क्षेत्र विकास समितिको अध्यक्ष स्थानीय विकास मन्त्री नै रहने प्रावधान छ । उपाध्यक्षसहित सो समितिमा करिब ५० भन्दा बढी कर्मचारी छन् । जुनसुकै दलको मन्त्री बन्दा पनि राजनीतिक नियुक्ति गर्ने स्थल बनेको यो निकाय आर्थिक चलखेलका कारण बदनाम भएको निकाय हो ।
कमल थापाले उपाध्यक्ष बनाएका भूपाल राई सोलुखुम्बुका राप्रपा नेपालका कार्यकर्ता हुन् । पञ्चायतकालमा उनी कोशी अञ्चलको सुकुम्वासी आयोगमा नियुक्त भएका थिए ।
उपप्रधानमन्त्री थापासँग कांग्रेस, एमालेको डर
स्थानीय विकास मन्त्रालयलको जिम्मेवारी सम्हालेका मन्त्री थापाले आफ्नो मातहतका निकायमा रहेका कांग्रेस र एमालेको जालो तोड्न र आफ्ना कार्यकर्तालाई ठाउँ ठाउँमा सेटिङ गर्न थालेपछि एमाले र कांग्रेसका कर्मचारी युनियनमा तरंग उत्पन्न भएको स्रोतले बतायो । आगामी स्थानीय निकायमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिमा मन्त्री थापा लागि परेको तीन ठूला दलका नेताहरुको सम्भवतः राम्रैसँग बुझेका छन ।
उता परराराष्ट्र मन्त्रीको हैसियतमा पनि मन्त्री थापाले भारत र चीन भ्रमण गरी अन्तरराष्ट्रिय जगतमा आफ्नो प्रभाव विस्तार गरेकोमा पनि एमाले नेताहरु बेखुश बनिरहेको अवस्थामा छ ।
परराष्ट्र मन्त्रालयमा थापालाई साइजमा राख्न एमाले र एमाओवादीले पहल थालिसकेका छन् । हालै प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा अर्थ मन्त्री विष्णु पौडेललाई पठाउनु र थापाको चीन भ्रमणमा कानूनमन्त्रीलाई समेत साथ लगाएर पठाउनुलाई त्यही अर्थमा विश्लेषण गरिँदै आएको छ ।