१२ वैशाख । यी तस्वीर गतवर्ष १२ वैशाखलगत्तै खिचिएका होइनन् । भूकम्प आएको एक वर्षपछि उपत्यका वरिपरिका चार जिल्लामा पुगेर खिचिएका ताजा दृश्य हुन् यी । यी तस्वीरहरुले भूकम्पप्रभावित गाउँको वर्तमान अवस्था कस्तो छ भन्ने सजीव चित्र उतारेका छन्, शब्दमा बताइरहनै पर्दैन ।
अनलाइनखबरको टोलीले भूकम्पबाट अत्यधिक प्रभावित जिल्लाहरू दोलखा, सिन्धुपाल्चोक, लमजुङ र रामेछाप, गोरखा, धादिङमा पुगेर यसैसाता यी तस्वीर खिचेको हो । वरिष्ठ पत्रकार किशोर नेपालको नेतृत्वमा यी जिल्लाहरुको भ्रमणपछि त्यहाँको शब्दचित्र अनलाइनखबरमा केही दिनदेखि प्रकाशित हुँदै आएको छ । यहाँचाहिँ हामीले चार जिल्लाको फोटोकथा पाठक समक्ष पस्कने जमर्को गरेका छौं ।
विद्यालयको हालत दयनीय छ, प्रहरी चौकी र सरकारी कार्यालयहरुको दशा पनि उस्तै छ । बाख्राले बड्कुँल्याउने र मानिसले खाना पकाउने ठाउँ एउटै छ । यिनै भग्न संरचनामा बसेर किसानहरु खेतीपाती लगायत आफ्नो नियमित धन्दा चलाउन बाध्य छन् ।
तस्वीरले नै भनिरहेको छः अधिकांश ठाउँमा भग्नावशेष जस्ताको त्यस्तै छन् । त्यही भग्नावशेषभित्रबाट भूकम्पपीडितहरु आफ्नो जीवन धानिरहेका छन् । कतिपयले पाललाई नै स्थायी घरजस्तो बनाएका छन् र त्यसैमा लिपीपोती गरिरहेका छन् ।
यावत् दुख-पीडाका बीच भूकम्पपीडितहरु आफ्नो दैनिकीमा फर्किएका छन् । केटाकेटीहरु स्कुल जान थालेका छन् । महिला-पुरुषहरु मेलापात गर्न थालेका छन् । बाँच्नु त जसरी पनि छ नै । विदेशीहरु त्यसै भन्दैनन्, दुखमा हाँस्न कसैले नेपालीहरुबाट सिकुन् ।
तथापि, भग्न वस्तीका यी दारुण अनुहार, ढल्न लागेको घर छेउमा अनिश्चित भविश्य बोकेर उभिएका अकिञ्चन वालवालिका अनि वस्ती नै ढाकिएका नीला त्रिपालहरु हेर्दा यस्तो प्रतीत हुन्छ, कतै हामी पनि हाइटीको बाटोमा हिँडिरहेका त छैनौं ?
सिन्धुपाल्चोकमा भूइँचालोपछिको विपद व्यवस्थापनमा व्यवस्थाभन्दा बढी हाहाकार देखियो । राहत पाउनुपर्ने पीडित जनताले पाएनन् । धेरै अनकण्टार गाउँका लागि पठाइएका राहतका सामानमा बाठाटाठा, लुटेरा र ठगहरुले कब्जा जमाए । भूइँचालोको लगत्तै सरकारले वितरण गरेको २ हजार रुपैयाँको राहतमा पनि राजनीतिक मनोमानी भयो । दुर्गम भेगका अधिकांश जनताले त्यो रकम पाएनन् ।
भूइँचालो अघि निकै रमाइलो सिंगटी अहिले पनि रमाइलो छ । त्यो रमाइलोमा उदासीका थुप्रै रेखाहरु कोरिएका छन् । वैशाख १२ र त्यसपछि गएका भूइँचालोका कडा धक्काले यहाँका व्यवसायी र बासिन्दालाई निरीह बनाएको थियो । अहिलेसम्म घाउ राम्ररी पुरिएको छैन र पनि बासिन्दाहरुले निराशालाई थिचेका छन् ।
अघिल्लो वर्ष वैशाख १२, १३ र २९ गतेको भुईंचालोले विनाकुनै भेदभाव तामाकोशी किनाराको यो अनकण्टार वस्तीलाई समान रुपले ध्वस्त पारिदियो । यो नयाँ वर्षको विहानले पनि यसमा कुनै विभेद गरेन । साविक झैं समयमा नै सूर्य उदायो ।
भूइँचालोले लमजुङ जिल्लाको सबै भू-भागलाई समान रुपले प्रभावित गरेन । तर, जिल्लाको पूर्वी र उत्तरी भागका वस्तीहरु भने सखाप भए । लमजुङको भू-बनोटलाई हेर्दा यो जिल्ला किन दुर्गम वा विकटको श्रेणीमा परेन ? यो प्रश्न लगातार उठिरहन्छ मनमा । सम्वृद्ध भएर पनि दरिद्रजस्तो देेखिन्छ लमजुङ ।
गोरखाः
वैशाख १२ को भूकम्पको केन्द्र हो गोरखा । धेरै क्षति भएका कारण बरपाक र लाप्राक धेरै चर्चामा आए तर, अन्य ठाउँको पीडा कम छैन ।
धादिङः
काठमाडौंबाट नजिक भएर मात्र के गर्नु ? धादिङका भूकम्प पीडितको अवस्था झन दर्दनाक छ । त्यहाँ अहिले पनि धेरै मानिस पालमुनी बस्छन् । र, त्यहाँको अवस्था हेर्दा नेपाल कतै हाइटीको पथमा छैन भन्ने प्रश्न उठछ ।
प्रतिक्रिया 4