Comments Add Comment

नारायणगढ-मुग्लिन सडक विस्तारः चार महिनामा ४ प्रतिशत मात्रै काम

muglin_sadak (3)
११ कात्तिक, चितवन । विगत चार महिनामा नारायणगढ–मुग्लिन सडकखण्डको सडक विस्तार कार्य चार प्रतिशत मात्रै भएको छ । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण काम प्रभावित भएको सो सडकमा यस वर्षको असारयता अधिकतम बर्सात र चाडपर्वले गर्दा काम हुन नसकेको निर्माण कम्पनीले जनाएका छन् ।

असार महिनासँगै गाडी रोकेर काम गरिएको छैन भने अग्रिम र निरन्तर बर्सातका कारण काम प्रभावित भएको छ । चाडपर्वका बेला सवारी आवागमन बढ्ने हुँदा कामै रोकेर आवागमनलाई सहज बनाइएको छ ।

नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार हालसम्म २९ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । संशोधित तालिकाअनुसार हालसम्म ३७ प्रतिशत काम सम्पन्न हुनुपर्ने थियो ।

सुरुमा सन् २०१७ को अप्रिलसम्ममा योजना सम्पन्न गर्नुपर्ने सम्झौता भएको भए पनि भूकम्प र नाकाबन्दीका कारण समय थप गरी सन् २०१७ को सेप्टेम्बरसम्म पुर्याइएको थियो । तिहारलगत्तै स्थानीय प्रशासनसँग सहकार्य गरी सडक रोकेर काम गर्नुपर्ने आयोजनाको निष्कर्ष छ ।

बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गराउन सके लक्ष्यअनुरुप काम अघि बढाउन सकिने खनालले बताउनुभयो । सडकको १६ किलो भन्ने ठाउँमा हाल भित्तो काट्ने काम भइरहेको छ । छिट्टै घुमाउने क्षेत्रमा भित्तो काटिने उहाँले जानकारी दिए ।

सो सडकको कालीखोलादेखि मुग्लिनसम्मको २.५ किलोमिटर क्षेत्रमा सडक फराकिलो बनाउने काम बाँकी छ । जुन निकै जटिल कामभित्र पर्दछ । सो क्षेत्रमा सडकको चौडाइ कम भएकाले ठूलो मात्रामा भित्तो काट्नुपर्ने हुन्छ । तिहारपछि सो क्षेत्रमा पनि भित्तो काट्ने काम गरिने उनले बताए ।

भित्तो काटेर फराकिलो बनाइसकेका सडकमा पिच गर्ने कार्य पनि छिट्टै सुरु गरिने उनले जानकारी दिए। सडक खाल्डाखुल्डी पुर्ने काम भइरहेको भए पनि धुलाम्य सडकका कारण यात्रा असहज बनेको छ । तीनवटा ट्याङ्करले नियमित पानी छर्कने काम गरिरहेको भए पनि अपुग भएको पाइन्छ ।

विश्व बैंकको दुई अर्ब ९० करोड रूपैयाँको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियाली राजमार्गअन्तर्गतको एएच ४ टू खण्डअन्तर्गत नारायणगढ–मुग्लिन सडक पर्दछ ।

इन्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन, नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियाली राजमार्गको एक खण्ड हो । सो सडक हुँदै दैनिक आठ हजारको हाराहारीमा सवारीसाधन आवागमन गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment