९ चैत, काठमाडौं । यो साता चीन र भारतका रक्षा अधिकारीहरु नेपाल भ्रमणमा आउँदैछन् । उनीहरु नेपाल आउनुभन्दा एक साता अघिदेखि नै दुबै ठूला देशका अखबारमा ‘पेपर वार’ सुरु भएको छ ।
चीनबाट प्रकाशित हुने अंग्रेजी दैनिक पत्रिका ‘द ग्लोबल टाइम्स’ले नेपाल र चीनको सैन्य सम्वन्ध विस्तारले भारतमा ‘छटपटी’ पैदा गरेको टिप्पणी गरेको छ ।
चीनका रक्षामन्त्री जनरल चाङ वाङगुआनको विहीबारदेखि हुन लागेको नेपाल भ्रमणलाई लिएर दिल्लीका अखबारहरुले पनि नानाथरि टिप्पणी सुरु गरेका छन् ।
चीनका रक्षामन्त्री वाङगुआन रक्षा मन्त्रालयको निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै विहीबार नेपाल भ्रमणमा आउँदैछन् । नेपालअघि उनी श्रीलंकाको भ्रमणमा छन् ।
चिनियाँ रक्षामन्त्री यस्तो बेलामा नेपाल आउन लागेका छन् कि उनी फर्केको तीन दिनपछि अर्थात् चैत १५ गते भारतीय सेनाध्यक्ष जनरल बिपिन रावत नेपाल भ्रमणमा आउँदै छन् ।
भारतीय सेनाप्रमुख आउनुपूर्व नै चिनियाँ रक्षामन्त्री नेपाल आउने भएपछि भारतमा यसको तीब्र प्रतिक्रिया देखा परेको हो, जसलाई प्रतिवाद गर्दै चिनियाँ अखबार ग्लोबल टाइम्सले भनेको् छ, ‘यो भ्रमणले नयाँ दिल्लीलाई छटपटीमा पार्न सक्ने विश्लेषकहरुले अनुमान गरेका थिए र भारतीय मिडियाहरुले यो अनुमानलाई सत्य सावित गरेका छन् ।’
यस सन्दर्भमा भारतबाट निस्कने हिन्दूस्तान टाइम्सले प्रकाशित गरेको रिपोर्ट अमिलो र सतर्कतापूर्ण रहेको सो चिनियाँ अखबारको टिप्पणीमा उल्लेख छ ।
‘रक्षामन्त्री चाङको नेपाल भ्रमण र चीन-नेपालबीच पहिलो संयुक्त सैन्य अभ्यासले नयाँ दिल्ली हतास बनेको भन्दै पत्रिकाले यो पनि लेखेको छ कि नेपालले चीनको प्रस्तावलाई अस्वीकार गर्न सक्दैनथ्यो, मानौं चीन आफ्ना छिमेकीहरुसँग संवाद गर्दा हातमा छडी लिएर उभिएको हुन्छ,’ द ग्लोबल टाइम्स लेख्छ, ‘तर सत्य यो हो कि भारतले दक्षिण एशिया र हिन्द महासागरलाई आफ्नो पुच्छर बनाउने असफल प्रयास गर्दै आएको छ । त्यसैले यस क्षेत्रमा बेइजिङको बढ्दो प्रभावप्रति उसको असजिलोपन प्रकट हुनु स्वाभाविक हो । उदाहरणका लागि, आर्थिक तथा कुटनीतिकरुपमा भारतीय नियन्त्रणमा रहेको भुटानसँग चीनको दौत्य सम्वन्ध स्थापना नहुनुमा नयाँ दिल्लीको प्रमुख हात छ ।’
भारतको यस्तो व्यवहारले बेइजिङको श्रीलंका र नेपालसँगको सम्वन्धलाई समेत प्रभावित बनाइरहेको टिप्पणीमा उल्लेख छ ।
ग्लोबल टाइम्स अगाडि लेख्छ, ‘यदि उनीहरुले दुई विशाल छिमेकीबीच सन्तुलित व्यवहार गर्न खोजे भने नयाँ दिल्लीले यो तटस्थतालाई चीन पक्षधर नीतिका रुपमा व्याख्या गर्छ, जब यी देशबाट चीनमा कुनै उच्चस्तरीय भ्रमण हुन्छ, भारतीय मिडियाहरुले यो प्रचारवाजी गर्छन् कि भारतले उनीहरुबाट आफ्नो नियन्त्रण गुमाउन थाल्यो र दक्षिण एशियामा चीन नयाँ दिल्लीको प्रमुख थ्रेटका रुपमा प्रकट भयो ।’
भारतबाट प्रकाशित हुने टाइम्स अफ इन्डियाले भारतीय सेना प्रमुखको आसन्न नेपाल भ्रमणले चीनको टाउको दुःखाएको दाबी गरेको छ
‘अपितु, भारत वरिपरिका अधिकांश राष्ट्रहरु बेइजिङका पनि छिमेकी हुन् । छिमेकीहरुसँग स्थिर सम्वन्ध विकास गर्नुले कुनै पनि राष्ट्रको आन्तरिक विकासमा प्रमुख भूमिका खेल्छ । चीन र यसका छिमेकीहरु बीचको प्रत्येक चहलपहललाई चरम शंकाको आँखाले हेर्न नयाँ दिल्लीले बन्द गर्नुपर्छ, चिनियाँ टिप्पणीमा भनिएको छ, ‘आफ्नो कमजोर पूर्वाधारका कारण नेपाल र श्रीलंका चीनसँग संयुक्त परियोजना अघि बढ्न खोजिरहेका छन् । यी राष्ट्रहरुमा चिनियाँ कम्पनीहरुको बढ्दो संख्यामा उपस्थितिसँगै बेइजिङले उनीहरुसँग सैन्य सम्वन्ध प्रवर्द्धन गर्नु चीनको मात्र होइन, यस क्षेत्रकै हितको कुरा हो ।’
‘साझा विकासका लागि चीन र क्षेत्रीय राष्ट्रहरुले गरिरहेको प्रयासलाई भारतले बुझ्न सकोस र यसको अंग बन्न सकोस भन्ने चीन आशा राख्छ । यद्यपि, नयाँ दिल्लीले सँधै चीनलाई ठेगानमा राख्ने कुरा मात्रै सोचिरहेको हुन्छ । उसको यो सोच बदलिएन भने चीनले प्रतिकार गर्नुपर्नेछ, किनकि यसका आधारभूत हितहरु उल्लंघन हुनेछन् । हामी यस्तो चाहिरहेका छैनौं, तर बल भारतको कोर्टमा छ ।’
टाइम्स अफ इन्डिया भन्छः भारतीय सेनाप्रमुखको भ्रमणले चीन चिन्तित
उता भारतबाट प्रकाशित हुने टाइम्स अफ इन्डियाले भारतीय सेना प्रमुखको आसन्न नेपाल भ्रमणले चीनको टाउको दुःखाएको दाबी गरेको छ ।
भारतीय सेना प्रमुख जनरल बिपिन रावतले आउँदो मार्च २८ देखि ३१ सम्म नेपालको भ्रमण गर्दैछन् ।
तर, भारतीय सेना प्रमुख आउनुभन्दा ५ दिनअघि बिहीबार हुने चाङको भ्रमणका क्रममा नेपालको निर्णय प्रक्रियालाई रावतको भ्रमणले प्रभावित तुल्याउने दाबी भारतीय अखबारले गरेको छ ।
‘रावतको भ्रमणमा नेपाललाई सैन्य हार्डवेयर र सफ्टवेयर सामग्री विक्रीको विषयमा छलफल हुने अपेक्षा छ, जबकि चीन पनि यो कारोबारका लागि इच्छुक छ । यसैले चीनको चिन्ता बढाएको हो,’ अखबारले लेखेको छ ।