८ भदौ, सप्तरी । सरकारी राहत बहिस्कार गर्दै आएका सप्तरीको तिलाठीबासीले गैरआवासीय नेपाली संघ (एनआरएन)को राहत बुझेका छन् । एनआरएन अध्यक्ष शेष घले नेतृत्वको टोलीले तिलाठीका करिब ९ सय घर परिवारलाई राहत वितरण गरेको हो ।
बिहीबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षामा राप्रावि तिलाठीबाट बाढीपीडितलाई राहत वितरण गरिएको छ ।
तिलाठीबासीले हरेक वर्ष बाढी र डुबानको समस्या भोग्दै आएका छन् । स्थानीय खाँडो नदीको बाढीले बस्ती डुबानमा पर्दछ । नेपालसँग जोडिएको सीमामा भारतले करिब चार किलोमिटर लामो बाँध बाँधेको छ । उँचो बाँधको कारण पानीले निकास नपाउँदा नेपाली बस्ती डुबानमा पर्दै आएको स्थानीय देव नारायण यादवले बताए ।
तिलाठीबासीले डुबानको समस्या समाधान नभएसम्म सरकारी राहत नलिने घोषणा गरेका थिए । तर, यसपटक एनआरएनले दिएको राहत उनीहरुले बुझेका छन् ।
‘तिलाठीमा यदि कसैले सरकारी राहत लिएमा सरकारी नुन खाए सरह हुन्छ । बाढीले यति धेरै विपत्ती ल्यायो कि राहत लिनैपर्ने बाध्यता आयो,’ यादवले अनलाइनखबरसँग भने ।
यादवका अनुसार तिलाठीमा मात्रै ९ सय घर परिवार बाढीपीडित छन् ।
एनआरएनको टोलीले नेपाल सरकारसँग समन्वय गरेर सप्तरी जिल्लाका बाढीपीडितलाई गत मंगलबारदेखि राहत बाँड्दै आएको छ । हालसम्म करिब ३ हजार घर परिवारलाई राहत वितरण गरिसकिएको एनआरएनले जनाएको छ ।
एनआरएनले मंगलबार बोदेबर्साइन र बुधबार तिरहुतका बाढी पीडितलाई राहत बाँडेको थियो । एक परिवारलाई एउटा त्रिपाल, झुल, २५ किलो चामल, दुई किलो दाल, नुन, चिनी र तेल लगायतका सामाग्री रहेको राहत प्याकेज बितरण गरिएको छ । प्रतिप्याकेज झण्डै ६ हजार रुपैयाँ खर्च भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ ।
बाढीको प्रकोप सुरु भएसँगै गैरआवासीय नेपाली संघले आपतकालिन राहत कोष स्थापना गरी रकम संकलन अभियान सुरु गरेको थियो । सो कोषमा अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङले एक करोड रुपैयाँ दान गरेका थिए । झण्डै दुई करोड रुपैयाँ संकलन गरी करिव पाँच हजार परिवारलाई राहत बितरण गर्ने लक्ष्यसहित एनआरएन टोली सप्तरी आएको हो ।