२९ असोज, काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका ८८ वटै राजनीतिक दलहरुले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेश गर्न टोकन लिएका छन् । राति पाैने ९ बजेसम्मको विवरण अनुसार ५५ राजनीतिक दलहरूले सूची बुझाइसकेका छन् ।
आयोगका प्रवक्ता नवराज ढकालले राति ८:४५ बजेसम्म ५५ राजनीतिक दलहरूले सूची बुझाएको जानकारी दिए । उनले भने, ‘अझै पनि केही राजनीतिक दलका प्रतिनिधिहरू आयोग परिसरमा हुनुहुन्छ र यो संख्या बढ्नसक्छ ।’
निर्वाचन आयोगले समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाउन आइतबार विहान १० बजदेखि साँझ ५ बजेसम्म समयसीमा तोकेको थियो । तर, ठूला दलहरु कांग्रेस, एमाले, माओवादी केन्द्र लगायत भने कार्यालय समय सकिनुभन्दा केही समय अघिमात्रै पुगेकाले बेलुका अबेरसम्म पनि सूची दर्ता जारी छ।
यसैबीच निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले केही ढिलाई गरेर भएपनि सबै राजनीतिक दलहरुले धैर्यतापूर्वक बन्दसूची बुझाएको जानकारी दिँदै आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे ।
आइतबार बुझाइएको बन्दसूची निर्वाचन आयोगले कात्तिक १७ गते सार्वजनिक गर्नेछ । कात्तिक १७ गते सार्वजनिक गरिएको नाममा कसैले दाबी विरोध गर्न सक्नेछन् । दाबी विरोधका लागि कात्तिक १८ देखि २४ गतेसम्म तोकिएको छ ।
कात्तिक २५ देखि मंसिर १ गतेसम्म आयोगले दाबी विरोधमाथि छानविन गर्नेछ । र, नाम हटेको सूचना मंसिर २ गते प्रकाशित गरिनेछ । यति सबै प्रक्रिया पूरा गरिसकेपछि मंसिर ३ गते निर्वाचन आयोगले समानुपातिक उम्मदेवारहरुको बन्दसूचीको अन्तिम नामावली प्रकाशित गर्ने छ ।