+
+

अवकाशपछि पेन्सन लिन भारत नै जानुपर्ने बाध्यता

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ३० गते १९:५७

३० वैशाख, वीरगञ्ज । भारतमा लामो समय श्रम गरेर अवकाश प्राप्त नेपालीलाई पेन्सन लिन र बैंकमा खाता खोल्न समस्या हुने गरेको छ ।

भारतका निजी संस्थाहरुमा लामो समय काम गरेर अवकाश पाएका नेपालीले पेन्सन लिन समस्या भएको हो । भारतीय सेना तथा केन्द्रीय संस्थामा काम गर्ने कर्मचारीहरुलाई पेन्सन नेपालमै पठाउने गरेको भए पनि निजी संस्थामा काम गर्ने नेपालीहरुले पेन्सन लिन भारत नै जानुपर्ने बाध्यता छ ।

नीहरु पेन्सन लिन भारत जान नसकेको अवस्थामा पछि लिन सक्दैनन् । यसरी नेपालीहरुको करोडौं रुपैयाँ भारतमा फसेको कलकत्तामा बस्दै आएका संयुक्त नेपाली वेयलफेयर ट्रष्टका उपाध्यक्ष नारायण होमागाईले बताए ।

‘अवकाश पाएका भारतीय सैनिकले पेन्सन नेपालमै पाउँछन्, केन्द्रीय संस्थामा काम गर्नेहरुले पनि नेपालमै पाउँछन्, तर निजि क्षेत्रमा काम गर्ने नेपालीहरुले पेन्सन लिन भारत नै जानुपर्छ’ उनले भने ‘तलबको १.३३ प्रतिशत पेन्सन फन्डमा गएको हुन्छ, पेन्सन लिन जान नसकेको अवस्थामा ल्याप्स हुने गरेको छ । यसरी भारतमा ठूलो मात्रामा रकम ल्याप्स भएको छ ।’ यसमा नेपाल सरकारले गम्भीर भएर निकास निकाल्नुपर्ने उनको भनाइ छ ।

दिल्लीमा रहेको राजदूतावास र कलकत्तामा रहेको महावाणिज्य दूतावाससँग पहुँचमा रहेको नेपालीहरुले सिफारिस बनाएर बैंक खाता खोल्ने गरेको भए पनि अन्यलाई समस्या हुने गरेको छ ।

भारतीय महावाणिज्यदूतावास कलकत्ताका महावाणिज्य दूत एकनारायण अर्याल यस्ता समस्यामा समन्वय गर्दै आएको बताउँछन् । ‘कतिपय नेपालीहरुले बैंक खाता नै खोल्न पाउँदैनन्, विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर आवश्यक पर्छ । स्वास्थ्य उपचारमा पनि सहयोग आवश्यक पर्छ । महावाणिज्य दूतावासमा समस्या लिएर आउनेलाई सकेको सहयोग गरेका छौं’ उनले भने ‘विभिन्न देशबाट नेपाल जान चाहने विदेशीहरु र कलकत्ताबाट थाइल्याण्ड लगायतका मुलुकमा जाने नेपालीहरुलाई नो अब्जेक्सन लेटर दिएर सहयोग गर्दैछौं ।’

विभिन्न कामको सिलसिलामा पश्चिम वंगालका राजधानी एवं व्यापारिक शहर कलकत्तामा मात्रै तीन लाखको हाराहारीमा नेपालीहरु बसोबास गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?