
२६ असार, काठमाडौं । भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदी मोटरसाइकलको पछाडि बसेर काठमाडौं आउँदै थिए । उनी सवार बा ८५ प ७१६ नम्बरको मोटरसाइकललाई कोटेश्वरर्फ आउँदै गरेको बा ४ ख ८७२५ नम्बरको ट्रिपरले ठक्कर दियो ।
उनको निधन भयो भने मोटरसाइकल चालक अमन ढुंगेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
३० जेठमा जडिबुटीमै ट्रिपरले ठक्कर दिँदा स्कुटीमा सवार २४ वर्षीय अस्मिता भण्डारीले ज्यान गुमाइन् ।
अमन र अस्मिता मात्र होइन, पछिल्लो समय ट्रिपरको ठक्करबाट धेरैले ज्यान गुमाएका छन् । पछिल्लो समय सडकमा तीव्र गतिमा हुइँकिने ट्रिपरको आतंक नै देखिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार असार महिनामा मात्र काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका छन्, जसमध्ये ४० वटामा ट्रिपर संलग्न छन् ।
किन बढ्दैछ ट्रिपर आतंक ?
पछिल्लो समय नेपालमा चौडा सडकलाई विकासको सूचक मान्ने ट्रेन्डको विकास भएको छ । ट्राफिक प्रहरीका अनुसार जहाँ फराकिलो सडक छ, त्यहाँ धेरै दुर्घटना भएका छन् ।
आखिर किन त ? ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्त भन्छन्, ‘सडक राम्रो छ भनेर सवारी साधन तीब्र गतिमा हाँकिन्छ । ब्रेकिङ डिस्टेन्स कायम हुँदैन । ट्राफिक रुटलाई वेवास्ता गरिन्छन् । अन्ततः दुर्घटना हुन्छ ।’
तीव्र गतिमा सवारी कुदाउनेमा ट्रिपर नै अगाडि छ । गिटी, बालुवा तथा ढुंगा बोकेका ट्रिपरलाई प्लाटिकले ढाकिएको हुन्छ, यसले देखिने सडकको भाग साँधुरो बनाउँछ । ‘एरिया भिजिवल स्पेस’ कम हुँदा सडक दुर्घटना हुने गरेको छ ।

त्यसमाथि धेरै ट्रिपर चालकहरु ठूलो आवाजमा गीत बनाउँछन् र दायाँबाया हेर्दै नहेरी कुदाउँछन् । यसले सडक दुर्घटना बढाएको ट्राफिक प्रहरीहरु बताउँछन् । एसएसपी वसन्त भन्छन्, ‘सबै दुर्घटनामा ट्रिपरकै दोष हुन्छ भन्न मिन्दैन । तर, साने गाडीहरुको तुलनामा ट्रिपर बढी दुर्घटना हुने गरेको छ ।’
अपरिपक्व चालक
ट्रिपर जोडिएको अधिकांश दुर्घटनामा चालकको अपरिपक्वता र लापर्बाही भेटिएको छ । महाशाखा प्रमुख पन्त भन्छन्, ‘धेरै चालक कम उमेरको देखिएका छन् ।’
कतिपय अवस्थामा चालकहरुमा जनचेतनाको अभाव र राम्रो स्कुलिङ नभएको पनि भेटिएको छ । त्यसैले अब ट्रिपर चालक हुन कम्तिमा २५ वर्ष नाघेको हुनु पर्ने प्रावधान राख्नु पर्ने ट्राफिक प्रहरीको सुझाव छ ।
‘२५ वर्ष नाघेकालाई मात्र ट्रिपर चलाउन अनुमति पत्र दिने भनेर तोकिए दुर्घटना कम हुन सक्छ’, पन्त भन्छन् ।
दुर्घटना बढी हुने क्षेत्रमा राति ८ बजेदेखि ५ बजेसम्म मात्रै ट्रिपरलाई चलाउन दिन सकिन्छ, यसले दुर्घटना कम हुने विश्वास गर्न सकिन्छ
सामधानः दिउँसो ट्रिपर चलाउन प्रतिबन्ध
जब दुर्घटना हुन्छ, अक्रोसित भिडले तोडफोड र आजगनी गर्छन् । सडक नै अवरुद्ध भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरी बल नै प्रयोग गर्नु पर्ने अवस्थासम्म आउँछ ।
प्रहरीले चालकलाई कारबाही पनि गर्छ । तर, ट्रिपर दुर्घटना कम भएको छैन, बरु बढ्दो छ ।
आखिर ट्रिपर आतंकको समाधान के त ? अब काठमाडौंको सडकमा गुड्ने ट्रिपरहरुलाई टाइम कार्डको व्यवस्था गर्नुको विकल्प नभएको ट्राफिक प्रहरी महाशाखाको निष्कर्ष छ ।
महाशाखाका प्रमुख पन्त दिउँसो ट्रिपर चलाउन प्रतिबन्ध लगाउन सकिने बताउँछन् । उनका अनुसार दुर्घटना बढी हुने क्षेत्रमा राति ८ बजेदेखि ५ बजेसम्म मात्रै ट्रिपरलाई चलाउन दिन सकिन्छ । यसले दुर्घटना कम हुने उनको विश्वास छ ।
ट्रिपर आतंकप्रति गृहको चासो
पछिल्ला समय ट्रिपरका कारण भइरहेको दुर्घटनाबारे गृह मन्त्रालयले पनि चासो देखाएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ट्रिपर आतंकमाथि चासो देखाएपछि मन्त्रालयका अधिकारीहरुले ट्राफिक महाशाखामा सोधपुछ गरेका छन् ।
गृह मन्त्रालयले महाशाखाका अधिकारीहरुलाई छलफलमा बोलाउने तयारी गरेका छन्, जहाँ काठमाडौंको ट्राफिक व्यवस्थापनदेखि ट्रिपर आतंकसम्म उठ्ने बताइएको छ । सम्भवतः बुधबार नै प्रहरी र गृहका अधिकारीबीच छलफल गर्ने तयारी छ ।
प्रतिक्रिया 4