माइकल चौधरी । उनलाई चिनाउने जम्माजम्मी यही एउटा नाम छ । तर, माइकललाई कतिले पो चिन्छन् ? उनी एक ‘अनागरिक’ ।
माइकलको बस्ने घर छैन । नागरिकता बनाएनन् / बनाइदिएनन् । त्यसैले आफू जन्मेको तिथि–मिति पनि हेक्का छैन । आफ्नो रुपरंग कस्तो छ ? सम्भवतः उनलाई यसको पनि भेउ छैन । न फोटोमा हेरेका छन्, न ऐनामा ।
उनीसँग ऐना पनि त छैन । उनले जीवनमा कहिल्यै ऐनाको आवश्यकता महसुस गरे होलान् ?
कत्ला परेको अनुहार, मिलाएर नछाँटिएको जुँगा, फिका आँखा । तीन खाप सर्ट । त्यसमाथि थोत्रो ज्याकेट । कालो, मैलाले कलेटी परेको । शीरमा टोपी छ, ‘एडिडास’ अंकित । तर, नमिलाई लगाएको ।
माइकल बोलीपिच्छे फिस्स–फिस्स हाँस्छन् । तर, त्यो ओठको हाँसो हृदयबाटै प्रकट भएको होला ?
भक्तपुर मनोहरा खोलाको आडैमा ओभानो ठाउँ खोजेर उनले आफ्नो बासस्थान बनाएका छन् । टाटेपाङ्ग्रे प्लाष्टिक र त्रिपाल टाँगेर बनाइएको साँघुरो टहरा, जहाँ उनी ओत लाग्छन्।
माइकल पुग–नपुग ४ फिट ५ इन्च अग्ला होलान् । तर, उनी ठिंग उभिए, टाउको टहराको धुरीमा ठोक्किन्छ । आरामसाथ खुट्टा तन्काएर वा सुविस्ताका साथ विश्राम गर्ने आफ्नै ठाउँ छैन उनको ।
सुत्नका लागि खाट छैन । भुँइमा सुत्छन् । नाम मात्रको ओढ्ने–ओछ्यानमा लुटपुटिएर ।
उमेरको हिसाब–किताब नभए पनि माइकलको ज्यानले वयस्कबाट बुढ्यौलीतर्फ लागिसकेको संकेत दिन्छ । उनको ज्यान कक्रिएको छ ।
एउटा खुट्टा खोल्च्याएर हिँड्छन् । हिँड्नु त पर्छ नै । सानो बट्टामा केही ‘दबाई’ र कान कोट्याउने (सफा गर्ने) बोकेर । कहिले कोटेश्वरको पुग्छन्, कहिले चावहिल । फुटपाथमा बस्छन् र ग्राहक कुर्छन् ।
कमाइ कति हुन्छ ?
‘कहिले भइहाल्छ पचास, सौ’ माइकल भन्छन्, ‘कहिले त्यो भन्दा बढी पनि हुन्छ, फेरी कहिले हुँदै हुँदैन ।’ यति भएपछि एक छाक टर्छ । उनलाई पुग्छ । डेढ वित्ताको पेट भरिएपछि थकित ज्यानले विश्राम खोज्छ । उनी भुँइको ओछ्यानमा पुर्लुक्क पल्टन्छन् । तर, निद्रा मरिगए लागे पो !
भूँइको चिसो, आकासको चिसो । खोलाको चिसो सिरेटो । अलि मास्तिर उक्लिन्छन् । सानो भट्टी छ, रक्सीको । एक, दुई गिलास पिएपछि झुम्म हुन्छ । ‘जाडो भाग्छ नि त’ माइकल भन्छन्, ‘निद्रा पनि आउँछ ।’
साँझमा माइकल मात्छन् । होशमा भन्दा बेहोशीमा बस्ने बानी परिसकेको छ ।
माइकलसँग धेरै कुरा छैन । उनीसँग स्थायी छानो छैन । नागरिकता छैन । परिवार छैन । श्रीमती छैन । छोरा–छोरी छैन । भोलि के होला ? मतलब छैन । मतलब एउटै कुराको छ, एक छाक जुटाउने ।
माइकलको रेडियो
माइकलसँग भएको एउटै जेथा हो, रेडियो । रातो रंगको त्यो रेडियो उनले एक हजार रुपैयाँमा किनेका हुन् । छर–छिमेकमाझ यहि रेडियोले त उनको शान बढाइदिएको छ ।
रेडियोमा बज्ने हिन्दी गाना खुब मनपर्छ, माइकललाई । गीत सुन्नकै लागि चार वटा सेल ब्याट्री जोड्छन् । गीत घन्काउँछन् । गीत घन्किएपछि आसपासका छिमेकीहरु नजिक–नजिक आउँछन् । झुरुप्प हुन्छन् । रेडियो सुन्छन् ।
उनीहरुको मनोरञ्जन भनेकै यहि एउटा रेडियो हो । हास्ने, रमाउने सबै यसैमा हो ।
माइकलले सिनेमा हेरेका छैनन् । तर, सिनेमाप्रति उनको चाख रहेछ । जसै सिनेमाको प्रसंग आयो, माइकल हौसिदै बोले, ‘हाम्ले पनि हिरो चिनेको छ । राजिस हमाल, निखिल ।’
माइकल यत्तिमै रोकिएनन् । उनले राजेश हमाल आफ्नो साथी भएको गफ दिए ।
माइकलको भनाई अनुसार नारायणघाटमा सुटिङ हुँदै थियो । फिल्म, कसम । राजेश हमाल त्यसको हिरो । त्यही बखत माइकलले सुटिङको काम गरेका थिए । काम गर्दागर्दै राजेश हमाललाई चिनेका थिए । ‘नपत्याए सोध्नुहोस्’ माइकलले च्यालेन्ज गरे, ‘माइकललाई चिन्छ कि चिन्दैन भनेर ।’
माइकल एक पात्र
माइकलको घर, नवलपरासी । घर नभनौं, ठेगाना । किनभने त्यहाँ उनको केही छैन । केही भइदिएको भए उनी काठमाडौं पस्ने थिएनन् । शहरको फुटपाथमा बसेर दबाई बेच्ने थिएनन् । कान सफा गरिदिने थिएनन् ।
जिन्दगी यसै गुज्रियो । यसबीचमा उनको कहिल्यै स्थायी छानो भइदिएन । २५ बर्ष यता भक्तपुर, मनोहराकै किनारमा यताउता गर्दै बित्यो । ‘यहाँबाट पनि कहिले उठाउँछ थाहा छैन’ माइकल भन्छन्, ‘जहिलेसम्म बस्न दिन्छ, बस्ने हो ।’
कोही मनकारी हुन्छन्, आफुले लगाएर पुरानो भएको लुगाफाटो दिन्छन् । कसैले चामल पनि ल्याइदिन्छन् । पिउने पानीका लागि बाटो काटेर अलि परसम्म पुग्नुपर्छ । माइकललाई तातो भात ख्वाउने कोही छैनन् । आफै जुटाउनुपर्छ, आफै पकाउनुपर्छ । बिहान पकाउँछन्, बेलुकीलाई पुग्नेगरी ।
‘बिहे त गरेको थिएँ, बुढी मरी,’ माइकलको यो वाक्यांशमा संवेदना छैन । यस्तो लाग्छ, गरिबी, अभाव, पीडा, बाध्यताले उनको मुटु पत्थरको बनाइदिएको छ । पत्थरजस्तै मुटु !
यस्तो मुटु नहुँदो हो त, उनले कसरी सहन्थे आफुमाथिको अपमान, अत्याचार, अपहेलना ?
हो, शहरले उनलाई मान्छे गन्दैन । चिन्दैन । उनको पीडादायी सुस्केरा, उनको अभावग्रस्त याचना कसैले सुन्दैन । मान्छेहरुलाई लाग्छ, फगत ऊ मान्छे हो । मान्छेको आवरण हो । उनीभित्र केही छैन । पीडा, करुणा, भय, घिन, लाज केही पनि छैन । त्यसैले त उनी सधै हेपिएका छन्, पेलिएका छन् ।
आफ्नै मर्जीको मालिक
जिन्दगीबारे उनी घोत्लिएनन् । डेढ वित्ताको पेटमा मडारिने भोकले उनलाई कहिल्यै जिन्दगी बुझ्न पनि दिएन । यद्यपी उनका अवयव मृत्त छैन । रस–रंगीला पो छन् । बेलाबखत नाच्न मन लाग्छ, गाना सुन्न मन लाग्छ । उनी खुब रौसे पनि छन् ।
‘रमाइलो गर्नु पर्यो नि होइन ?’ माइकलको प्रश्न, ‘मरिलानु के छ ?’
मरिलानु केही छैन । सायद यही यथार्थले आज माइकललाई बाँच्न सिकाएको छ । उनी बाँचेका छन् । आनन्दपूर्वक । माइकलसँग केही छैन । केही नभएर पनि उनलाई फिक्री छैन । उनी उदांगो छन्, त्यही भएर त उन्मुक्त छन् । उनलाई लुकाउनुपर्ने केही छैन, झुकाउनुपर्ने केही छैन ।
यसैगरी बिताइदिन्छु दुई दिने जिन्दगी
माइकल एक कोणबाट गरिब, निसाहय, पीडित, दुःखी लाग्छ । अर्को कोणबाट माइकल निराकार, निस्सार लाग्छ ।
उनीसँग केही छैन । नभएर पनि उनलाई दुःख छैन । न उनलाई न्यानो पलङ्ग चाहिएको छ । न घर–घडेरी चाहिएको छ । न ऐश–आरम चाहिएको छ । अपेक्षा छैन, आशा छैन । आखिर मान्छेलाई बेचैन बनाउने, दुःखी बनाउने तत्व नभएपछि सन्तोष मिल्छ ।
दिनभर सडक पेटीमा बसेर आर्जन गरेको पचास, सय रुपैयाँले उनलाई भात खान पुग्छ । दिनभर जे–जसरी, जे–जति कमाई हुन्छ, त्यो सबैले उनको थाल भरिने हो । उनको गाँस स्वादिलो हुने हो । उनी हरेक गाँसमा स्वाद लिन्छन् । किनभने उनलाई भोलिको सुर्ता छैन ।