
१९ असार, काठमाडौं । ‘डन’ पृष्ठभूमिका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गे विहीबार पोखराबाट सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । पूर्वमाओवादी नेता देवेन्द्र पराजुलीको टीम पनि विहीबारै काठमाडौंबाट नेकपामा प्रवेश गर्ने कार्यक्रम थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पखाला चलेका कारण पराजुलीको पार्टी प्रवेश कार्यक्रम शुक्रबारलाई सर्यो ।
पूर्वअखिल अध्यक्षसमेत रहेका नेता पराजुली माओवादीभित्रका सादगी एवं इमान्दार नेताको छवि बनाएका व्यक्ति हुन् । माओवादीमा सुरुदेखि नै उनी डा. बाबुराम भट्टराईको पक्षमा उभिए । डा. भट्टराईले नयाँ शक्ति पार्टी बनाउँदा पनि पराजुलीले साथ दिए । तर, डा. भट्टराईले उपेन्द्र यादवसँग पार्टी एकता गरेपछि पराजुली पूर्वमन्त्री कल्पना धमलासमेतको टीम लिएर नेकपामा प्रवेश गर्न लागेका छन् ।
शुक्रबार उनी नेकपामा प्रवेश गर्ने कार्यक्रम छ ।
‘भ्रममा किन पार्नुपर्यो र, अरिंगालको हुलमा छिर्ने भइयो, अनलाइनखबरसँग ठट्यौली पारामा कुराकानी गर्दै पराजुलीले भने, ‘यो विचित्रकै हो, माछा, भ्यागुता, बिच्छी सबै एउटै ठाउँमा !’
प्रस्तुत छ– नेकपामा प्रवेश गर्न लागेका पराजुलीसँग अनलाइनखबरले गरेको छोटो कुराकानी:
तपाई त आजै नेकपामा प्रवेश गर्ने समाचार आएको थियो, वीचैमा किन स्थगित भयो ?
आजै भनेको थियो, प्रधानमन्त्रीज्यू अलिकति बिरामी हुनुभएछ । पखाला सखाला चलेको हुनाले भोलि हुने भो ।
सत्तारुढ नेकपामा प्रवेश गर्नुको कारण के पर्यो ?
यस्तो भो क्या, सबै एउटै ग्राउण्डमा आए । त्यहाँ पनि गएर समाजवादको बहस, संघर्ष र रुपान्तरण भनेपछि आफैंले मेसो पाएको ग्राउण्डमै खेल्दा ठीक होलाजस्तो लाग्यो, त्यही टीममा ।
बाबुराम भट्टराईको पार्टीबाट कोको नेकपामा प्रवेश गर्दै हुनुहुन्छ ?
म, पूर्वसभासद कल्पना धमला, पर्वतका पूर्वसभासद गुणाखर बस्याल, मनु हुमागाईं लगायतका छौं । अरुचाहिँ प्रादेशिक तहका, जिल्ला तहका साथीहरु छन् ।
डा. बाबुराम भट्टराईको साथ किन छाड्नुभएको ?
मैले अगाडि नै भनिहालें नि । नयाँ र वैकल्पिक शक्ति बनाउने भनेको, त्यो नयाँ बन्न सकेन, बैकल्पिक पनि बन्न सकेन । त्यो भइसकेपछाडि संघर्ष र रुपान्तरण अनि जनतालाई डेलिभरी दिने कुराहरु त नेकपाबाटै सम्भव छ, जहाँ आफ्नो पनि केही मेहनत पसीना छ भनेर जाने निर्णय गरिएको हो ।
यतापट्टि समाजवादी पार्टीमा भन्दा नेकपामा समाजवाद बारेमा अलि बहस गर्ने अलि राम्रो प्लेटफर्म हुन्छ । किनभने, चिनेजानेका सबै साथीहरु छन् । अलिकति स्कुलिङ पनि मिल्ने । मार्क्सवादी बेसबाट छलफल गर्न सजिलो पनि हुन्छ ।
उसोभए अब दीपक मनाङ्गे र तपाई एउटै ग्राउण्डमा, एउटै टीममा राजनीति खेल्ने हुनुभयो हैन त ?
अब के भन्ने खै यो त । (लामो हाँसो)
जे होस्, एउटै टीममा हुने भइयो….
भइयो । तर, अब उनलाई सोसाइटीले हेर्ने र मलाई हेर्ने फरक हुन्छ, त्यत्ति हो ।
डा. बाबुराम भट्टराईलाई चाहिँ के भन्नुहुन्छ ?
बाबुराम भट्टराई भिजनरी नेता हुन् । म उनको सम्मान गर्छु । तर, त्यो भिजनलाई कार्यान्वयन गर्ने अर्को भिजन चाहिन्छ क्या फेरि । त्यसलाई मूर्तरुप दिनका लागि संरचना निर्माण गर्ने, कार्यविधिहरु निर्माण गर्ने स्रोत परिचालन, यी कुराहरुमा बूढाको अलिकति नपुग्ने रहेछ । किनभने सबै क्षेत्रमा सबैको पुग्छ भन्ने पनि हुँदैन ।
तर, भिजनको हिसाबले र एउटा सादगीको हिसाबले, सदाचारको हिसाबले त बूढालाई भेट्ने अरु छैनन् नि फेरि ।
यो पनि पढ्नुस्ः
‘दीपक मनाङ्गे’को इन्ट्रीसँगै गण्डकीमा नेकपालाई दुई तिहाई
प्रतिक्रिया 4