Comments Add Comment

‘दीपक मनाङ्गे’को इन्ट्रीसँगै गण्डकीमा नेकपालाई दुई तिहाइ

१९ असार, पोखरा । दीपक मनाङेका नामबाट चर्चित गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङ बिहीबार नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले राजीवलाई स्वागत गरे ।

स्वतन्त्र सांसद राजीवको प्रवेशसँगै गण्डकी प्रदेश सभामा नेकपाको दुईतिहाइ बहुमत पुगेको छ । ६० सदस्यीय प्रदेशसभामा अब नेकपाको संख्या ४० पुगेको छ ।

तत्कालीन एमालेका २७ र माओवादीले १२ सदस्य गरी संसदमा ३९ सदस्यीय बहुमतमा नेकपा थियो । गण्डकी प्रदेशमा कांग्रेस १५, जनमोर्चा ३ र नयाँ शक्तिको २ सिट छ । जनमोर्चाका सांसद टेकबहादुर घर्तीको निधन भएपछि उपनिर्वाचन नहुँदासम्म एक सिट रिक्त छ । मनाङको प्रदेशसभा ख बाट निर्वाचित राजीवको इन्ट्री नै यस्तो भयो की नेकपालाई दुईतिहाइ बहुमतको सुविधा मिल्यो । राजीवको प्रवेशसँगै गण्डकीमा नेकपालाई बहुमत मिलेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खुसी व्यक्त गरे ।

मनाङ प्रदेश सभा ख तत्कालीन एमालेको भागमा परेको थियो । अन्तिममा आएर उम्मेदवारी फिर्ता लिँदै राजीवलाई नै एमालेले समर्थन गरेपछि उनी स्वतन्त्र सांसदको रुपमा निर्वाचित भए ।

तर, ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन पाएनन् । उनी ८ महिना जेल बसे । पछिल्लो मुलुकी ऐनको १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा दिएको छ । त्यही सुविधा प्रयोग गर्दै राजीव थुनामुक्त भएपछि गत मंसिर १२ गते बिहीबार प्रदेश सभा सचिवालयमा सपथको लागि निवेदन दिएका थिए ।

त्यसको एक महिनापछि बल्ल सभामुख नेत्रनाथ अधिकारीले गुरुङले उनलाई सपथ खुवाएका थिए ।

राजीवसँगै बिहीबार विप्लव नेतृत्व नेकपाका कास्की सचिवालय सदस्य तथा माछापुच्छ्रे इन्चार्ज पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् । उनले ५२ सालदेखि भूमिगत जीवन बाँचेको र अहिले पार्टी प्रतिवन्धको अवस्था पनि नेकपामै रहेको बताउँदै अब नेकपाले नै विकास गर्ने बताएकाले प्रवेश गरेको भनाइ राखे ।

कार्यक्रममा विप्लव समूहका माछापुच्छ्रे गाउँपालिका इञ्चार्ज पुष्प कार्की पनि नेकपामा प्रवेश गरे । कार्यक्रममा कार्कीले सुखी नेपाली र समृद्ध नेपालको अभियानमा सामेल हुन नेकपामा प्रवेश गरेको बताए ।

मन्तव्यको क्रममा मुख्यमन्त्री गुरुङले विप्लव समूहका सबै व्यक्तिलाई नेकपामा आउन आह्वान गरे । ‘कुन्ठाको आधारमा आतंक फैलाउने काम राम्रो होइन, सबै विप्लव समूहका व्यक्तिलाई नेकपा प्रवेश गर्न अनुरोध गर्छु,’ उनले भने, ‘सुखी नेपाली र समृद्ध नेपालका लागि अर्काे विकल्प छैन ।’

उनले कम्युनिस्ट पार्टीमा फुट आए पनि संघीयता र समृद्ध नेपालका लागि सतिसाल झैं उभिनु ठूलो भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment