३० भदौ, काठमाडौं । करिब एक शताब्दीअघि नेपाली समाज कस्तो थियो होला ? नेपालमा व्यापार–व्यवसाय वा कुनै कारोबार गर्न, गाह्रोसाँघुरो पर्दा साहु–महाजन वा कुनै धनीमानीसँग ऋण मागेर बाहेक पैसा कहाँबाट कसरी जुटाइन्थ्यो होला ?
त्यो बेला औंलामा गन्न सकिने एकाध बाहेक व्यापार–व्यवसाय गर्ने आँट र हैसियत सायद कमैसँग हुन्थ्यो । अनि, त्यही बेला नेपालमा ‘बैंक खुल्ने’ कुरा अर्को अचम्मको विषय थियो ।
र, त्यो एकदिन आयो, अनि त्यो बेलाको काठमाडौं बजारमा बैंक खुल्यो । यो ठ्याक्कै ८७ वर्षअघि अर्थात् १९९४ साल कात्तिक ३० गतेको दिन थियो । बैंकको नाम थियो– नेपाल बैंक । राजा त्रिभुवनले नेपाल बैंक उद्घाटन गरे ।
नेपालमै पहिलो पटक बैंक खुल्यो । राजाले उद्घाटन गरेको बैंक त खुल्यो, तर त्यसले के काम गर्छ ? त्यहाँ कसले काम गर्छ ? बैंक भनेको के हो ? त्यसले पैसा बाँड्छ कि ? वा अरू केही पनि बाँड्छ ?
सर्वसाधारणको दिमागमा केही घुसेको थिएन । बैंक भनेको के हो र यसले के काम गर्छ भनेर सर्वसाधारणलाई बुझाउनै नेपाल बैंकलाई दशकौं लाग्यो ।
तर, नेपाली समाज शिक्षाबाट लगभग वञ्चित रहेका बेला नेपाल बैंक खुलेको थियो । त्यही भएर पनि बैंक के हो र यसले के गर्छ भन्ने सर्वसाधारणलाई बुझाउनै दशकौं लागेको थियो ।
त्यो बेला अर्को अचम्म के भएको थियो भने नेपालमा औपचारिक बैंकिङ सुरुवात मात्र नभई सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणा पनि पहिलो पटक कार्यान्वयनमा आएको थियो ।
‘नेपाल बैंक कानुन १९३७’ अनुसार खलेको नेपाल बैंकमा सुरुमा १० जना लगानीकर्ता थिए । ८ लाख ४२ लाख हजार रुपैयाँ चुक्ता पूँजीबाट सुरु भएको यसको निक्षेप १७ लाख थियो भने लगानी १९ लाख बराबर थियो ।
अनि, खुल्यो गुञ्जमानसिंह सरदारको पहलमा नेपाल बैंक
राणा शासनकालमा गुञ्जमान सिंह सरदार बेलायतस्थित नेपाली दूतावासमा काम गर्थे । त्यो बेला नेपालमा बैंकिङ देखेको र बुझेका सीमित मान्छेमा गुञ्जमान सरदारका साथै भीमबहादुर पाँडे लगायत थिए ।
बैंकबारे केही सुनेका, बुझेका र पढेका गुञ्जमान दूतावासमा काम गर्दा बेलायतको बैंकमा जाने आउने गर्थे । त्यहाँको व्यवस्थापकसँग उनले बैंकबारे बुझ्ने मौका पाए । उनले धेरै समय बेलायतमा बैंकबारे बुझेर नेपाल फर्किएर र यहाँ पनि बैंक खोल्नुपर्ने योजना सुनाए ।
गुञ्जमानले नै त्यो बेला राणा प्रधानमन्त्री जुद्धसमशेरलाई‘ ब्रिफ्रिङ’ गरेर बैंक स्थापना गर्नुपर्ने बताए । अनि, प्रधानमन्त्री जुद्ध समशेरबाट स्वीकृति पाएपछि नेपाल बैंक स्थापना भएको थियो ।
१९९४ सालमा नयाँसडक (न्युरोड) गेट नजिक भाडाको घरमा कार्यालय स्थापना गरी नेपाल बैंकले कारोबार सुरु गरेको थियो । गुञ्जमानले बेलायतमा बैंकिङबारे जुन कुरा सिक्ने र बुझने अवसर पाएका थिए, सोही आधारमा नेपाल बैंक खुलेको थियो ।
त्यसपछि भारत गएर बैंकबारे बुझेर लङबुक, सब्सिडायरी, जनरल लेजर जस्ता प्रणाली तयार भएर नेपाल बैंकमार्फत नेपालमा औपचारिक बैंक सुरु भएको थियो ।
बैंक स्थापना भएको केही समयमै जग्गा व्यवस्थापन गरेर १९९६/९७ सालमा नेपाल बैंक हाल रहेको स्थानमा नै ‘ब्रिटिस स्ट्रक्चर’ को भवन बनाएर आफ्नै भवनबाट कारोबार थालेको थियो ।
०००
नेपालमा औपचारिक हिसाबमा बैंक सुरुवात गर्ने र बैंकिङ सिकाउने नेपाल बैंकको व्यवस्थापकीय नेतृत्वमा हाल तिलकराज पाण्डे छन् ।
‘आजभन्दा करिब नौ दशकअघि नै पीपीपी मोडेलको सोच राखेर नेपाल बैंक स्थापना हुनु एउटा ऐतिहासिक कदम थियो,’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाण्डे भन्छन्, ‘यो मानेमा हामीले असाध्यै गर्व गर्ने ठाउँ छ ।’
उनका अनुसार सकारले ४० प्रतिशत र सर्वसाधारणले सेयर हालेर नेपाल बैंक स्थापना भएको थियो । केन्द्रीय बैंक स्थापना हुनुभन्दा लगभग दुई दशकअघि पहिलो बैंकका रूपमा नेपाल बैंक खुलेको थियो । नेपाल बैंक स्थापना भएको १९ वर्षपछि मात्रै केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंकको स्थापना भएको थियो ।
२०१३ सालमा राष्ट्र बैंक खुलेपछि नेपाली मुद्रा चलनचल्तीमा ल्याउने तथा नेपालमा बैंकिङ प्रथा विकास गर्ने महत्त्वपूर्ण प्रयास हुँदै गयो । यही क्रममा २०१६ सालमा नेपाल औद्योगिक विकास निगम, २०२२ सालमा राष्ट्रिय वाणिज्य बैंक, २०२४ सालमा कृषि विकास बैंक हुँदै २०४१ सालमा पहिलो पटक विदेशी बैंकको संयुक्त लगानीमा तत्कालीन नेपाल अरब बैंक लिमिटेड (हालको नबिल बैंक) स्थापनासँगै निजी क्षेत्र बैंकिङ क्षेत्रमा प्रवेश गरेको थियो ।
अहिलेको नेपाल बैंक
न्युरोडस्थित धेरै वर्ष पुरानो भवन २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति भएपछि मर्मत गरिएको छ । बैंकले यो भवनलाई अब ‘बैंकिङ संग्रहालय’ बनाउने तयारी गरेको सीईओ पाण्डे बताउँछन् । ‘हामी यो भवनमा नेपालको बैंकिङ इतिहास संरक्षण गरेर राख्ने योजनामा छौं,’ उनी भन्छन् ।
बैंकको पूँजी पुनर्संरचना गर्ने र पूँजी थप गर्नुपर्ने भएपछि समस्या उत्पन्न हुँदा बैंकमा सरकारको सेयर ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम भएको थियो । नेपाल बैंकले धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गरेर पूँजी थप गर्दा सेयर स्वामित्व सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत छ ।
नेपाल बैंक संस्थागत सुशासनमा अब्बल छ । नेपाल बैंकको व्यवस्थापकीय नेतृत्व हाँकिरहेका पाण्डेले यअिघ नेपाल बैंकमै २९ वर्ष काम गरेपछि २०७० सालमा अवकास पाएका थिए । त्यसपछि निजी क्षेत्रको भिबोर विकास बैंकको डेपुटी सीईओ भएर पुनः करियर अगाडि बढाए । त्यस्तै उनले नेपाल बैंकिङ इन्स्टिच्युटमा समेत काम गरे ।
नेपाल बैंकको व्यवस्थापकीय नेतृत्व गर्न पाउनु गौरवको विषय भएको पाण्डे बताउँछन् । उनले विश्वविद्यायल पढ्दै गर्दा नेपाल बैंकबाट नै बैंकिङ करियर सुरु गरेका थिए । अवकाशको केही वर्षपछि पाण्डेले २९ वर्ष सेवा गरेको बैंककै व्यवस्थापकीय नेतृत्व सम्हाल्ने अवसर पाए ।
‘मेरो बुझाइमा नेपाल बैंक मुलुकमा बैंकिङ सुरुवात गरेर बैंकिङ शिक्षा दिएको संस्था हो । केही संख्यालाई मात्रै बैंक भनेको के हो भन्ने जानकारी भएका बेला बैंक स्थापना भएर बैंक, चेकबुक, लेजर भनेको के हो भन्ने सिकाउने काम गर्यो,’ पाण्डे भन्छन् ।
निजी क्षेत्रको बैंक आउनु अगाडि बैंकिङ क्षेत्रमा खासै प्रतिस्पर्धा पनि थिएन । बैंकिङ चलिरहेको थियो । जब, निजी क्षेत्रबाट बैंक खुल्यो, तब भने प्रतिस्पर्धा सुरु भएको पाण्डेको अनुभव छ ।
‘निजी क्षेत्रको बैंक आउनुअघि कसिलो नीति र प्रतिस्पर्धा थिएन । सामान्य बैंकिङ नियम मानेर सञ्चालन हुँदै आएको थियो,’ उनी सम्झिन्छन्, ‘निजी क्षेत्रका बैंकहरूले विभिन्न बैंकिङ औजार ल्याउन थालेसँगै सेवासुविधा कसरी दिने र सेवा शुल्क कसरी लिने भनेर सरकारी बैंकले पनि सिक्दै गए ।’
जब समस्यामा पर्यो नेपाल बैंक
निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा र सोही अनुसार सेवासुविधा दिने र व्यवस्थापकीय ज्ञानको कमीले गर्दा २०५२/५३ पछि करिब २०५८ सम्म नेपाल बैंक समस्यामा परेको थियो । त्यो बेला पाण्डे नेपाल बैंकमा काम गर्थे ।
‘नेपाल बैंकमा समस्या आउनुमा त्यो बेला उच्च व्यवस्थापनमा पर्याप्त बैंकिङ ज्ञानको कमी हो कि भन्ने लाग्छ,’ पाण्डे भन्छन्, ‘नेपाल सरकारले दातासँग ऋण नै लिएर विदेशी व्यवस्थापकीय टिम ल्याएर नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको उद्धार नै गरेको थियो ।’
संस्थागत सुशासन र वित्तीय अवस्था धेरै नै कमजोर भए पनि सरकारले ऋण नै लिएर विदेशी व्यवस्थापन ल्याउनुपर्ने अवस्था आएको थियो । विदेशी व्यवस्थापन आए पनि बैंकिङमा धेरै शिक्षा दियो । त्यो बेला ‘बासेल’ का सिद्धान्त पनि आइसकेका थिए ।
२०५८/५९ तिर विदेशी व्यवस्थापन आएर नेपाल बैंक ‘टेकओभर’ गर्यो । करिब पाँच वर्ष विदेशी व्यवस्थापनले नै नेपाल बैंकको सम्पूर्ण व्यवस्थापन सम्हाल्यो । त्यसपछि नेपाल राष्ट्र बैंकबाट विशेष व्यवस्थापन समूह आएर बैंकको व्यवस्थापकीय नेतृत्व लिएको हो । राष्ट्र बैंकले पनि पटक–पटक गरी ६ वर्ष व्यवस्थापकीय नेतृत्व गरेपछि २०७२ सालमा बैंकमा सीईओ नियुक्त गरेर व्यवस्थापन समिति बाहिरियो ।
२०७२ सालमा देवेन्द्रप्रताप शाह नेपाल बैंकको सीईओ भएर चार वर्ष काम गरे भने २०७६ मा कृष्णबहादुर अधिकारी सीईओ बनेर २०८० मा कार्यकाल सकेर बाहिरिए । त्यसपछि भने पाण्डेले नेपाल बैंक हाँकिरहेका छन् ।
‘पहिले कर्मचारीका रूपमा काम गर्दाको भन्दा अहिलेको नेपाल बैंकमा धेरै परिवर्तन भएको छ,’ सीईओ पाण्डे भन्छन्, ‘व्यवस्थापन, डकुमेन्टेसन, वर्किङ कल्चर सबै परिवर्तन भएको छ । सबै मोडर्न बैंकिङ र बजारको आवश्यकता अनुसार बैंकिङ सेवा उपलब्ध गराइरहेका छौं ।’
निजी र सरकारी बैंकमा धेरै अन्तर
निजी क्षेत्रको बैंक र नेपाल बैंक जस्तो सरकारको समेत लगानी भएको बैंकमा धेरै अन्तर रहेको सीईओ पाण्डेको बुझाइ छ ।
व्यवस्थापकीय प्रणाली, सोचाइ, कार्यशैलीमा धेरै अन्तर छ । कर्मचारीको ‘माइन्डसेट’ मा पनि निजी र सरकारी बैंकमा धेरै फरक हुन्छ । निजी क्षेत्रको बैंकमा क्षमता र योग्यताका आधारमा कर्मचारी छनोट हुन्छन् । ‘ट्र्याक रेकर्ड’ हेरेर काम गर्न सक्ने कर्मचारी अन्तर्वार्ताबाट छनोट गरिन्छ । कर्मचारीको ‘पर्फर्मेन्स’ का आधारमा बढुवा हुने, जिम्मेवारी दिने र सोही अनुसार वृत्तिविकास हुन्छ ।
तर विडम्बना, सरकारी बैंकमा लोकसेवाले आयोगले निजामती कर्मचारी भर्ना गरेजस्तै कर्मचारी भर्ना गरिन्छ । पदोन्नतिमा पनि आन्तरिक प्रतिस्पर्धा हुन्छ । यस्तो बढुवामा पर्फर्मेन्सभन्दा प्रतिस्पर्धालाई बढी मूल्यांकन दिइएको हुन्छ । जसले कर्मचारीलाई नतिजा दिनेभन्दा पनि पढ्नमा केन्द्रित गराइरहेको छ ।
सार्वजनिक संस्थान भएका कारण कर्मचारीले उच्च जोखिम लिएर काम गर्नै तयार हुँदैनन् । निजी क्षेत्रका बैंकमा कर्मचारी बढी जोखिम लिन तयार हुन्छन् । निजी बैंकको तुलनामा नेपाल बैक धितो कर्जामा बढी केन्द्रित हुने गरेको सीईओ पाण्डे बताउँछन् ।
‘यो परम्परा जस्तै हो । बैंकको काम गर्ने तरिका पहिलदेखि नै फरक रहेको र कर्मचारी समेत सोही अनुसार काम गर्दै आएका छन्,’ उनी भन्छन् ।
निजी क्षेत्रको बैंकमा उच्च व्यवस्थापनले परियोजना हेरेर जोखिम न्यून छ भन्ने लागेपछि प्रक्रिया पूरा गरेर कर्जा स्वीकृत हुन्छ । नेपाल बैंकमा सबै प्रक्रिया सुक्ष्म निगरानी गरेर पर्याप्त धितो लिएर मात्रै लगानी हुन्छ ।
‘बैंकको साख जोगाउनुपर्छ भनेर निक्षेप लिँदा, नयाँ प्रडक्ट बनाउँदा वा लगानी गर्दा ध्यान दिन सचेत गराइरहेका हुन्छौं,’ पाण्डे भन्छन्, ‘लिगेसी भएकाले हामीलाई हरेक कुरामा उत्साहित बनाएको छ । त्यसको फाइदा बैंकलाई छ ।’
प्रतिस्पर्धी बजारमा समेत बैंकको इतिहास र लिगेसीले फाइदा पुग्ने र अन्तर्राष्ट्रिय बजारमा समेत बैंकलाई चिनाउन सहज भएको उनी बताउँछन् ।
‘केही समय अघि मात्रै एउटा विदेशी बैंकका प्रतिनिधिसँग छलफल भएको थियो । उनीहरूले पनि लिगेसी बोकेको ऐतिहासिक बैंक भनेर नेपाल बैंकसँग सहकार्य गर्न तयार रहेको बताए । यो नेपाल बैंकको इतिहासले नै सम्भव भएको हो ।’
नेपाल बैंक वित्तीय र हरेक हिसाबमा निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धी छ । नेपाल बैंकको निष्क्रिय कर्जा ३.२८ प्रतिशत छ । जुन नेपालको बैंकिङ क्षेत्रको औसत हाराहारी नै हो । बैंक पूँजीकोषमा सहज अवस्थामा छ । गत आर्थिक वर्ष बैंकको खुद नाफा १ अर्ब ६५ करोड भए पनि करिब ५ प्रतिशत लाभांश क्षमता छ । निजी क्षेत्रका अब्बल भनिएका बैंकले समेत लाभांश दिन नसक्ने अवस्था हुँदा नेपाल बैंक लाभांश दिन सक्ने अवस्थामा छ ।
‘१५ वटा सूचकका आधारमा गत वर्ष र यो वर्ष नेपाल बैंकको अवस्था तुलना गर्दा ६ सूचकमा गत वर्षभन्दा खस्किएको छ, ६ सूचकमा सुधार भएको छ । तर, तीन सूचकमा समग्र बैंकिङ क्षेत्रमा गत वर्षकै स्थानमा छ,’ सीईओ पाण्डे भन्छन्, ‘नेपाल बैंकको सबै सूचक हेर्दा सन्तोषजनक अवस्था देखिन्छ । नेपाल बैंकमा उच्च नियामकीय व्यवस्था छ । १२/१५ वर्ष अगाडि जस्तो नेपालका बैंकहरू डुब्छ कि भन्ने अवस्था अहिले छैन ।’
२० वाणिज्य बैंकमध्ये असार २०८० मा लगानीका हिसाबमा नेपाल बैंक ११औं स्थानमा थियो भने असार २०८१ मा कुल व्यवसाय, कुल निक्षेपमा बैंक १०औं स्थानमा छ ।
अहिले बैंकमा कार्यरत करिब २ हजार ५ सय स्थायी कर्मचारीको औसत सेवा अवधि ८ वर्ष मात्रै छ । यस्तै उनीहरूको औसत उमेर ३५ वर्षभन्दा कम छ ।
५ वर्षे रणनीति
नेपाल बैंकले प्रविधि विकास र प्रधिस्पर्धामा बैंकलाई कसरी अगाडि बढाउने भनेर ५ वर्षे रणनीति तयार गरेको छ । २०८०/८४ को रणनीतिक योजनामा नेपालको कुल बैंकिङ क्षेत्रमा साढे ७ प्रतिशत हिस्सा नेपाल बैंकको छ । त्यसलाई बढाएर ७ प्रतिशत पुर्याउने रणनीति लिएको छ । परम्परागत बैंकिङबाट डीजी बैंकिङमा नेपाल बैंक लागेको छ।
नेपाल बैंकले हाल करिब १२ अर्ब जलविद्युत् क्षेत्रमा लगानी गरेको छ भने लगानी प्रतिबद्धता १४/१५ अर्ब पुगेको छ । सिमेन्ट लगायत निर्माण उद्योगमा पनि बैंकले लगानी गरेको छ ।
कस्तो छ वित्तीय अवस्था ?
आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ छ । यस्तै सञ्चित मुनाफा ७६ करोड ९३ लाख ३ हजार हुँदा जगेडा कोषमा २२ अर्ब ३८ करोड ४५ लाख ९८ हजार पुगेको छ । कुल पूँजीकोष ३७ अर्ब ८४ करोड ८९ लाख पुगेको हो । पूँजी पर्याप्तता अनुपात १३.६२ प्रतिशत पुगेको छ । अन्य बैंक प्राथमिक पूँजीकोषको दबाबमा रहेको अवस्थामा नेपाल बैंकको १०.९५ प्रतिशत छ । जुन राष्ट्र बैंकले तोकेको न्यूनतम आवश्यकता ८.५ प्रतिशत भन्दा धेरै नै सहज अवस्था छ ।
बैंकले असार मसान्तसम्म सर्वसाधारणबाट २ खर्ब ८३ अर्ब ८ करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९७ अर्ब ३ करोड ९९ लाख ९८ हजार कर्जा लगानी गरेको छ । बैंकको कुल सम्पत्ति ३ खर्ब ३९ अर्ब ४७ करोड ९५ लाख पुगेको छ । गत असार मसान्तमा १ अर्ब ६५ करोड ५२ लाख मुनाफा आर्जन गरेको छ ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4