Comments Add Comment

भिडियो खिच्दा प्रहरीको अनुमति लिनुपर्छ ?

प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने भनेर आलोचना भएको मुलुकी अपराध संहिता २०७४ ले पनि सार्वजनिक स्थानको तस्वीर खिच्दा व्यक्तिको अनुमति लिनैपर्ने बाध्य बनाएको छैन ।

तर प्रहरी भने तस्वीर/भिडियो खिचेकै आधारमा मोबाइल मात्र हैन पत्रकारको प्रेस कार्ड नै थुत्न पछि पर्दैनन् ।

प्रेस हो तिमी ?

गत पुस २४ गते साढे ४ जति बजेको हुनुपर्छ । म बानेश्वर शान्तिनगरमा लायन्स आँखा अस्पताल पछाडि रहेको मोटरसाइकल वर्कसप गएको थिएँ । त्यहाँ वर्कसप सञ्चालक रामरुप यादवसँग कुराकानी गर्दै थिएँ । त्यसैबेला एकजना पुरुष आएर रामरुपसँग एउटी महिलासँग झगडा भएको सुनाए । उनले ती महिलाप्रति अपशब्द प्रयोग गर्दै गाली गरिरहेका थिए ।

त्यत्तिकैमा ती महिलाका श्रीमान आएर ‘मेरी श्रीमतीलाई किन कुटिस्’ भन्दै रिस पोख्न थाले । दुबैको बाझाबाझ हात हालाहालमा पुग्यो ।

प्रहरीको भ्यान वर्कसप अगाडि आइपुग्नुअघि दुबै पक्षबीच हानाहान शुरु भइसकेको थियो । कुटिएकी महिला काखमा बच्चा लिएर उभिएकी थिइन् । नाकबाट रगत आइरहेको थियो । त्यहीँका स्थानीय एक महिलाले गर्भवती महिलालाई यसरी कुट्न पाइन्छ ? भन्दै प्रहरीलाई कारवाही गर्न भन्दै थिइन् । स्थानीयले महिला कुट्ने व्यक्ति पूर्वप्रहरी भएको र हाल दोहोरी साँझको बाउन्सर रहेको बताउँदै थिए ।

कुटाकुट भइरहँदा प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे पर्‍यो । मैले मोबाइलबाट भिडियो खिच्न थालेँ । प्रहरीले महिलालाई कुट्ने पुरुषलाई भ्यानमा राख्दा अपशब्द प्रयोग गरेको भिडियोमा रेकर्ड भएको थियो । धाराबाट पानी थाप्ने बेलामा बाल्टी सार्दा विवाद भएको र आफू कुटिएको ती महिलाले प्रहरीसँग बताइन् । भिडियो खिच्न थालेको दुई मिनेट पनि भएको थिएन, एकजना प्रहरीले प्रेस हो तिमी ? भन्दै मोबाइल थुते ।

मैले “हजुर” भनेँ । मोबाइल खोसेर ती प्रहरी भ्यानको अगाडिको सीटमा बसे । मैले म पत्रकार भएको बताउँदै मोबाइल फिर्ता दिन तिनीसँग पटक पटक आग्रह गरेँ । उनले कार्ड देखाऊ भने, मैले देखाएँ । उनले प्रेस कार्ड पनि लिए । भिडियो किन खिचेको भनेर सोधे ? मैले सार्वजनिक स्थलमा महिलामाथि कुटपिट भएकाले खिचेको भनेँ । उनले भिडियो डिलिट गर भने, मैले मानिनँ । मोबाइल र प्रेस कार्ड लिन बानेश्वर प्रहरी कार्यालयमा आउनू भने । प्रहरीको भ्यान बानेश्वर प्रहरी वृत्ततिर हुत्तियो ।

डिलिट नगर्दाको सास्ती

बागमती पुल वारी वर्कसप, पारी बानेश्वर प्रहरीको कार्यालय । केही मिनेटमै म प्रहरी कार्यालय पुगेँ । भ्यानबाट मोबाइल खोस्ने प्रहरी ओर्लिएलगत्तै मैले मोबाइल दिन फेरि आग्रह गरेँ । उनले ‘प्रहरीकै अगाडि त्यहाँ मान्छे कुटिएको छ, यो भिडियो डिलिट गर्नुपर्छ’ भने । मैले नमानेपछि मोबाइल र प्रेस कार्ड उनले सोधपुछमा बसेका प्रहरीको जिम्मा लगाए । मैले ती सोधपुछका प्रहरीलाई मोबाइल खोस्ने प्रहरीको नाम के हो भनी सोधेँ ? तिनले बताएनन् ।

यो मोबाइलका बारेमा कोसँग कुरा गर्ने हो ? म कुरा गर्छु भनेँ । उनले डीएसपी साब बाहिर छन् एकछिन बस्नुस् भने । त्यहाँ बेञ्चमा कसुरदारजस्तै बस्न फिटिक्कै मन थिएन । मैले यो मेरो मोबाइल र कार्ड तपाईं नै राख्नुस् म जान्छु भनेँ । उनले इन्स्पेक्टरलाई भेटाइदिन्छु भने । पहिलो तलामा इन्स्पेक्टर शंकर आचार्य थिए । मोबाइल र प्रेस कार्ड इन्स्पेक्टर आचार्यको हातमा पुग्यो । उनले भिडियो देखाउनुस् भने मैले मोबाइल अनलक गरेर देखाइदिएँ । रिवाइन्ड गरीगरी भिडियो हेरिसकेपछि उनले पनि यो भिडियो डिलिट गरिदिन आग्रह गरे । मैले ‘यो त मेरो नैतिकताले दिँदैन, मेरो गल्ती छ भने मोबाइल नै राख्नुस्’ भने । किन डिलिट गर्ने ? भनेर पनि सोधेँ ?

उनको कुराकानी गर्ने शैली भने विनम्र थियो । घटनास्थलमा भएका इतिवृत्तान्त सुनाएर मैले मेरो गल्ती के हो ? भनिदिनुहोस् भने । कुराकानी कै क्रममा उनले प्रेस कार्ड भने फिर्ता दिए ।

उनले मोबाइल खोस्ने प्रहरीलाई फोन गरेर के भएको हो भनेर सोधे ? उताको जवाफ त सुनिएन यताबाट इन्सपेक्टरले भिडियोमा खासै केही नभएको र यसरी मोबाइल खोस्दा प्रहरीमाथि नै प्रश्न उठ्ने भन्दै सम्झाए ।

इन्स्पेक्टरले भिडियो आफ्नो मोबाइलमा ट्रान्सफर गरिदिन भने । मैले मेरो मोबाइलमा शेयरइट छैन भनेँ । उनले भाइबर वा वाट्स एपबाट पठाउन भने । मैले मोबाइलमा इन्टरनेट डाटाबाट पठाउँदा धेरै पैसा लाग्ने हुनाले पठाउँदिनँ भनेँ । उनले वाइफाइको पासवर्ड दिए । फाइल साइज ठूलो भएकाले भाइबरमा पनि गएन । अन्तमा उनले अफिसको कम्प्युटरमा कपी गरेर राखिदिन भने । मैले डाटा केवल छैन भनेँ । एकजना प्रहरीले नै डाटा केबल खोजेर ल्याए र भिडियो कम्प्युटरमा कपी गरेर राखे । त्यसपछि बल्ल मैलै मेरो मोबाइल फिर्ता पाएँ ।

निस्किने बेलामा गेटमा आइसकेपछि मोबाइल खोस्नेको पूरा नाम के होला भन्ने जिज्ञासा शान्त भएको थिएन । गेटनजिकै एकजना प्रहरीलाई सोधेँ त्यो अघि कुटपिट घटनामा शान्तिनगर गएका बस्नेत सरको पूरा नाम के हो ? उनले भने सई विनोदविक्रम बस्नेत ।

बानेश्वर प्रहरी वृत्तको सीसीटीभी पनि यो घटनाको साक्षी छ । म घर पुगेलगत्तै भिडियो सामाजिक सञ्जालमा नेपाल प्रहरीलाई मेन्सन/टयाग गरी अपलोड गरिदिउँ भन्ने पनि लाग्यो तर गरिनँ । कुटिने महिला र उनको काखमा रहेको बच्चासमेतको अनुहार भिडियोमा देखिएको थियो । पीडित महिलालाई थप अपमान होला भन्दै भिडियो हालिनँ ।

नेपाल प्रहरीले आम नागरिकका लागि नारा फालिदिएको छ ‘प्रहरी मेरो साथी ।’ प्रहरी गीत छ ‘जन जनको मन मनमा ।’ तर व्यवहार ? सरकारले जारी गरेको प्रेस कार्ड देखाउँदा र आँखा जुधाएर कुरा गर्दा यस्तो व्यवहार गर्छ भने आम नागरिकसँग उसको व्यवहार कस्तो हुँदो हो ?

झण्डावाल गाडी र हाकिमलाई सलाम ठोक्दा उ परफेक्ट देखिन्छ आम मानिससँगको व्यवहारमा पनि ऊ राम्रो देखिनुपर्ने हो । मलाई यस्तो व्यवहार गर्ने प्रहरी मेरो साथी त कहिल्यै हुन सक्दैन । तपाईंको नि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment