
२५ जेठ, काठमाडौं । डेढ महिना लामो कसरतपछि जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले दुई अध्यक्षसहित ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति बनाएर निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिए ।
आयोगमा निवदेन पनि दर्ता भयो, तर चर्चाको विषय चाहिँ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको बरियतालाई लिएर भएको छ । डा. भट्टराई पार्टीको चौथो बरियतामा झरेको भन्दै सामाजिक सञ्चालमा उनीमाथि खिसिट्युरी समेत सुरु भएको छ ।
यद्यपि, जसपाका नेताहरुचाहिँ डा. भट्टराई आफ्नै राजीखुशीले नै चौथो बरियतामा बस्न तयार भएको र त्याग देखाएको बताउँछन् ।
आयोगमा दर्ता गर्न तयार पारिएको निवेदनमा तीनजना अध्यक्ष र दुईजना वरिष्ठ नेता रहने उल्लेख थियो । जसअनुसार महन्थ ठाकुर र उपेन्द्र यादव कार्यकारी अध्यक्ष, डा. बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष, अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता रहने सहमति भएको छ ।
पहिलो वरियतामा ठाकुर, दुईमा डा. भट्टराई, तीनमा उपेन्द्र यादव, चारमा अशोक राई र पाँचमा राजेन्द्र महतोको थियो ।
तर, आयोगमा दर्ता हुँदा भने भट्टराईको नाममा टिपेक्स लगाएर उनलाई चौथो नम्बरमा झारिएको छ । उनको संघीय परिषद् अध्यक्ष पद हटेर वरिष्ठ नेता मात्र राखिएको छ ।
आयोगमा पुग्नुअघि साविकको राष्ट्रिय जनता पार्टी (राजपा) को बबरमहलस्थित कार्यालयमा बसेको बैठकले भट्टराईको नाम र संघीय परिषद् अध्यक्ष पदमा टिपेक्स लगाएको हो ।
भट्टराई र ठाकुरको टक्कर !
स्रोतका अनुसार डा. भट्टराई, ठाकुर र यादवलाई कार्यकारी अध्यक्ष मान्न सहमत भएका थिए । तर वरियतामा विवाद भयो ।
केन्द्रीय समितिभन्दा माथिल्लो कमिटी संघीय परिषदको अध्यक्ष भएकाले आफू एक वरियतामा हुनुपर्ने अडानमा थिए । साविक समाजवादी पार्टी (सपा) मा पनि भट्टराई संघीय परिषद् अध्यक्ष र यादव कार्यकारी अध्यक्ष थिए । वरियतामा भट्टराई एक र यादव दुई नम्बरमा थिए ।
भट्टराई पक्षका नेताहरूले जसपामा पनि संघीय परिषद् अध्यक्ष पद ‘सेरोमोनियल’ भए पनि कार्यसमितिभन्दा माथिल्लो कमिटी भएकाले कार्यकारी अध्यक्ष भन्दा माथि हुनुपर्ने तर्क राखेपछि ठाकुरको अनुहार एकाएक मलिन भएको स्रोत बताउँछन् ।
ठाकुरले पार्टी एकताको सहमति भएका बेलामा आफूलाई पहिलो वरियता दिने निश्चित भएको स्मरण गराएका थिए ।
साविक सपाका नेताहरूले ‘सेरोमोनियल’ भूमिका हुँदा मात्रै ठाकुरलाई एक नम्बरमा राख्ने सहमति भएको बताउँछन् ।
दुई नेताबीच वरियतामा सहमति हुन छाँट देखिएन । स्रोत भन्छ, ‘आयोगमा जान ढिलो हुने देखेपछि एकाएक ‘एकीकरणका लागि म त्याग गर्न तयार छु’ भनेर भट्टराई पछि हट्नुभयो ।’
नेताहरुले भट्टराईको नाम दोस्रो र उपेन्द्र षदवको नाम तेस्रो नम्बरमा राखेर प्रस्ताव पारे । तर भट्टराईले मानेनन् । संघीय परिषद्को अध्यक्ष हुने तर केन्द्रीय कमिटीको अध्यक्षभन्दा तल्लो बरियतामा बस्न नसुहाउने उनले बताए । त्यसपछि उनले संघीय परिषद् अध्यक्षबाट वरिष्ठ नेता बनाउने र अशोक राईभन्दा मुनी चौथो नम्बरमा राख्न भनेका थिए ।
नेताहरुले उनलाई कम्तिमा वरिष्ठ नेताहरुमा सबैभन्दा माथि नाम राख्न आग्रह गरेका थिए । तर उनले आफैं चौथो नम्बरमा बस्दा नै राम्रो सन्देश जाने तर्क गरेको एक नेताले बताए ।
‘पार्टीमा असन्तुष्टि छैन’
जसपाका नेताहरू भने पार्टीको वरियता संशोधन हुनसक्ने बताउँछन् । डा. भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउनेमा सहमति नै रहेको र वरियता हेरफेर गर्न पनि सकिने उनीहरूको तर्क छ ।
पार्टी एकीकरणमा सक्रिय भूमिका खेलेका राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने सहमति भएको एक नेताले जानकारी दिए । सुरुमा तेस्रो वरियता पाउनुपर्ने अडानमा रहेका अशोक राईले अन्तिममा आफू चौथोमा वरियतामा बस्न पनि तयार रहेको बताएका थिए ।
राजपाबाट २६, सपाबाट २५
१० वैशाखमा दुई पार्टीबीच समानताको आधारमा एकता गर्ने सहमति भएको थियो । तर, निर्वाचन आयोगमा साविक राजपाबाट २६ र सपाबाट २५ जनाको नाम दर्ता भएको छ ।
साविक राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल, गोविन्द चौधरी, जितेन्द्रकुमार सोनार, डा. विजयकुमार सिंह, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, मृगेन्द्रकुमार सिंह, नवलकिशोर साह, मनिषकुमार सुमन, राजकुमार लेखी, अमृता अग्रहरी, रेशमलाल चौधरी, रामनरेश यादव, केशवकुमार झा, एकबल अहमद शाह, निर्जला राउत, रमेशप्रसाद यादव र रामकुमार ओझा छन् ।
यस्तै साविक सपाबाट उपेन्द्र यादव, अशोक राई, डा.बाबुराम भट्टराई, राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत, हिसिला यमी, हेमराज राई, गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा, रामसहायप्रसाद यादव, डम्बरबल्लभ खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी, मोहम्मद इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत, प्रशान्त सिंह, भक्तबहादुर शाह, शुशिला श्रेष्ठ र विजयकुमार यादव छन् ।
पार्टी ‘फुटाउन’ लागेकाहरू पनि ढुक्क
प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेश अनुसार पार्टी विभाजन गर्न सक्रिय भएको आरोप लागेका नेताहरू जसपाको यो दर्तापछि ढुक्क भएका छन् । पार्टी फुटाउन असफल प्रयास गरेकाहरूमाथि कारवाहीको डण्डा चलाउने चर्चा चलिरहेका बेला उनीहरू केन्द्रीय कार्यकारिणी समितिमा अटेपछि ढुक्क भएका हुन् ।
सपाका रेणुकुमारी यादव, मोहम्मद इस्तियाक राई, दानबहादुर विश्वकर्मा लगायतमाथि त्यतिबेला पार्टी फुटाउन लागेको आरोप थियो ।
प्रतिक्रिया 4