
जननेता मदनकुमार भण्डारीको जन्मदिनमा उहाँलाई स्मरण गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अबको वैचारिक बाटो कुन् हो भन्ने पनि बुझ्नुपर्छ । हामीले मदन भण्डारीको योगदानको मुल्याङ्कन गर्ने हो भने जनताको बहुदलीय जनवादको रक्षा नै यो पार्टीको उद्देश्य हुनुपर्छ ।
पछिल्लो पटक जेठ ३ गते मदन आश्रित स्मृति दिवसका अवसरमा हाम्रा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको वक्तव्यमा जनताको बहुदलीय जनवादको स्वीकार्यता र जननेता मदन भण्डारीको योगदानको बारेमा जसरी उल्लेख भएको छ, यसले अबको हाम्रो नीति र नेतृत्वको बारेमा बुझ्न सजिलो हुन्छ ।
मदन भण्डारीको जन्मजयन्तीको यस अवसरमा उहाँसित सम्बन्धित कतिपय विषयहरूको बारेमा जब हामी छलफल गर्छौं, एउटा सामग्रिक रुपमा हामीले छलफल गर्नुपर्छ । त्यो छलफल गरिरहँदा एउटा महत्वपूर्ण कुरा विचारको विषय नै हो । उहाँले वकालत गरेको विचारकै जगमा हाम्रो कम्युनिस्ट पार्टी यहाँसम्म आइपुगेको हो ।
अर्को कुरा त उहाँको व्यक्तित्वसँग गाँसिएका पनि धेरै कुरा छन् । तर म यहाँ विचारसँग गाँसिएका विषय बुझाउन चाहन्छु । मदन भण्डारीसित गाँसिएर नेपालको कम्युनिस्ट आन्दोलनका विद्यार्थीहरूले जनताको बहुदलीय जनताको बहुदलीय जनवादसित गाँसेर बुझ्छन् । मदनले लिएको विचारको कुरा गरिरहँदा जबजलाई नै बुझिन्छ । जबजका बारेमा बुझ्नुपर्छ ।
जबज हिजो तत्कालीन नेकपा मालेको उत्तरार्धकालमा प्रारम्भ भएको विचार हो । मालेले २०४६ सालको चौथो महाधिवेशन गरिरहँदा आफ्नो कार्यक्रममा अब कम्युनिस्ट पार्टीले आफूलाई बहुदलीय प्रतिस्पर्धासहितको जनवादी व्यवस्थामा लानुपर्छ भनेर उल्लेख गरेको थियो ।
त्यो कार्यक्रमको रुपमा औपचारिक रुपमा आयो, जुन महाधिवेशनबाट मदन भण्डारी तत्कालीन नेकपा मालेको महासचिव चुनिनुभयो । औपचारिक रुपमा त्यो विचार त्यहाँ सार्वजनिक भएको हो । त्यसपछि तत्कालिन माले र मार्क्सवादी एकीकरण भएर नेकपा एमाले बन्यो ।
एमालेको पाँचौं महाधिवेशन २०४९ मा हुनुभन्दा पहिले पनि नवगठित एमालेमा विचारको बहस छलफल हुँदा कार्यक्रमको रुपमा जनताको बहुदलीय जनवाद भनेर उहाँले नै अघि सार्नुभएको हो । उहाँले एउटा आर्टिकल लेख्नुभयो । त्यो आर्टिकल पुस्तिकाको रुपमा प्रचार विभागले छाप्यो र त्यसले पार्टीमा बहस छलफल गरायो ।
नौलो जनवाद हाम्रो लाइन हुँदाहुँदै बहुदलीय जनवाद भनेर किन आयो ? भन्ने प्रश्नहरू पनि उठे । पछि त्यही विचार थप व्याख्या विश्लेषणसहित जनताको बहुदलीय जनवादको कार्यक्रमको रुपमा पाँचौं महाधिवेशनमा प्रस्तुत भयो ।
पछिल्लो समयमा हामी त्यही विचारमा छलफल गर्दै जाँदा त्यो हाम्रो सम्पूर्ण विचार र कामलाई गाइड गर्ने, मार्क्सवादलाई नेपालको विशिष्ठतामा सिर्जनात्मक प्रयोग गर्दा विकसित भएको विचारको रुपमा अगाडि सार्यौं हामीले ।
यसका तीनवटा आधार छन् । एउटा आधार भनेको नेपालको कम्युनिस्ट आन्दोलनको परिप्रेक्ष्यनै हो । दोस्रो भनेको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नकारात्मक अनुभवहरू यसका आधार हुन् । तेस्रोचाहिँ कम्युनिस्टहरूले बोकेको दर्शन र सिद्धान्त यसको महत्वपूर्ण आधार हो । यी तीन आधारमा जबज खडा भएको छ ।
सबैभन्दा पहिले २००६ साल वैशाख १० गते कम्युनिस्ट पार्टीको पहिलो पर्चा भनेर निस्केको छ । त्यो पहिलो पर्चामै जबजका भ्रूणहरू छन् । त्यो के हो भने निरंकुशताको विरोध,राजनीतिक स्वन्त्रता, दलहरूमाथिको प्रतिबन्ध हट्नुपर्ने,अधिनायकवादको विरोध आदि इत्यादी कुरा त्यो पहिलो पर्चामा थिए ।
हामी नेपालका कम्युनिस्टले प्रजातान्त्रिक शासन प्रणालीको परिकल्पना गरेको स्थापनाकालमै हो । जनताको बहुदलीय जनवादको भ्रूण पनि त्यही हो । जसलाई मदन भण्डारीले संस्थागत गर्नुभयो । २००७ सालमा कम्युनिस्ट पार्टीले आन्दोलनमा भाग लियो, २००८ सालमा स्थानीय चुनावमा आफ्ना उम्मेदवार नै उठायो ।
त्यो चुनावमा पहिलो महिला निर्वाचित प्रतिनिधि साधना अधिकारी कम्युनिस्ट पार्टीकै हुनुहुन्थ्यो । नेकपामाथि प्रतिबन्ध लाग्दा पनि विभिन्न आवरणका जनसंगठन बनाएर स्वतन्त्रताको आन्दोलन गरेको हो । २०१५ सालको संसदीय निर्वाचनमा भाग लिएर नेकपाले ४ सिट जित्यो,२०/२१ ठाउँमा दोस्रो स्थानमा आएको हो ।
पञ्चायतकालमा पनि नेपालका कम्युनिस्टहरूको विभिन्न धारबाट क्रियाशील हुँदा पनि निरंशकुशताको विरोध र राजनीतिक स्वतन्त्रताको आन्दोलन लडेकै हो । यी सबै पृष्ठभूमि किन भनिएको हो भने, जबज फुत्त आएको विचार थिएन । यसको आफ्नो ऐतिहासिक क्रोनोलोजिकल लिगेसी छ ।
स्वयं मदन भण्डारीले पुष्पलालले अघि सारेका विचारहरू यो जनताको बहुदलीय जनवादका आधार हुन् भन्नुभएको छ । हाम्रो मौलिकतामा विकसित भएको विचार हो यो । यो जबज तत्कालीन नेकपा एमालेको मात्र पेवा होइन ।
दोस्रो कुरा, संसारभर कम्युनिस्ट सत्ताहरू धराशायी हुँदै थिए । एकपटक लोकप्रिय भएका कम्युनिस्टहरू जनताबाटै किन तिरस्कृत भए ? मदन भण्डारीले त्यसको निर्मम ढंगले समीक्षा गर्नुभयो । त्यस्तो बेला जनताको बहुदलीय जनवाद अघि सार्दा कम्युनिस्टहरू आवधिक रुपमा जनताबाट अनुमोदित भइरहनुपर्छ भन्नुभयो । त्यो नभएका ठाउँमा सत्ताहरु ढले ।
तेस्रो कुरा चाहिँ मदन भण्डारीले के भन्नुभयो भने दर्शन र सिद्धान्तले यसलाई पुष्टि गर्नुपर्छ । जस्तो के भने, द्वन्द्व सर्वत्र छ । प्रकृतिमा छ,मानव समाजमा छ,राजनीतिमा छ र राजनीतिक प्रणालीमा छ । सबैतिर द्वन्द्व त । द्वन्द्व सबै ठाउँमा छ भने यसलाई या त दबाएर राख्नुपर्यो ।
त्यो थिचेर राख्नेबित्तिकै बिष्फोट हुन्छ । किचाहिँ विधिसम्मत ढंगले द्वन्द्वलाई प्रकट हुन दिनुपर्छ । यो हाम्रो कम्युनिस्ट पार्टीले स्वीकार गरेको दर्शन र सिद्धान्तले यही कुरा भन्छ । द्वन्द्वलाई विधिसम्मत ढंगले प्रकट हुन देऊ। हो यही दर्शन र सिद्धान्तका आधारमा जबज बनेको हो ।
यो कुनै तत्कालीन एमाले वा मालेका पालामा आएको भन्नु पर्दैन । अहिले नेकपा छ, हामीले मान्नुपर्दैन भन्नु जरुरी छैन । हिजोको एमालेको लिगेसी बोकेको छ भनेर अहिले नेकपाका नेता कार्यकर्ताले जबजप्रति नाकनिक गर्छन् भने त्यो दुर्भाग्य हो । हामी नेपालका कम्युनिस्ट जनताको बहुदलीय जनवादबाट निर्देशित भएरै चल्ने हो, यसमा दुविधा कसैले राख्न हुन्न ।
सिद्धान्त र विचार भनेको गतिहीन हुँदैन । परिस्थितिमा आएको परिवर्तन सँगसँगै त्यो विकसित हुँदै जान्छ । पाँचौं महाधिवेशनमा कार्यक्रमको रुपमा आएको जबज नवौं महाधिवेशनसम्म आइपुग्दा मार्गनिर्देशक सिद्धान्तका रुपमा विकास भएको हो नि । पार्टी एकतापछि निस्किएका हाम्रा विभिन्न दस्तावेजको समीक्षा हुनु जरुरी पनि छ ।
हाम्रो विशिष्ठतामा जनताको बहुदलीय जनवादले बोकेका चिजहरूबाटै नेकपा निर्देशित हुनुपर्छ । त्यसका अन्तरवस्तुहरू जुन छन्, त्यहीबाट निर्देशित हुनुपर्छ । जबजले कम्युनिस्ट पार्टी निर्माणमा निश्चित सिद्धान्तलाई अघि सारेको छ । अबको अवस्थामा कम्युनिस्ट पार्टी सरकारमा गएपछि शासन सञ्चालन गर्दा के के कुरामा ध्यान दिनुपर्छ भनेर निश्चित कुरामा निर्देशित गरेको छ।
जनताको बहुदलीय जनवाद भन्न कसलाई सहज हुन्छ, कसलाई हुन्न म जान्दिनँ । तर, मदन भण्डारी र जबज नै हाम्रो कम्युनिस्ट पार्टीको सम्पत्ति हुन् । आज पनि हामी जनताको बहुदलीय जनवादबाटै निर्देशित भइरहेका छौं । हाम्रा विचार, कामहरू त्यही विचारबाट निर्देशित छन् । भन्न कतिपयलाई अप्ठ्यारो लागे पनि त्यसले केही अर्थ हुन्न ।
यो विचार, मदन भण्डारीसँग गाँसेर मात्रै बुझ्नुहुन्न । नेपालको कम्युनिस्ट आन्दोलनको प्रारम्भदेखिको ऐतिहासिक विकासक्रमसँग गाँसिएको विचार हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नकारात्मक अनुभवको विश्लेषणबाट स्थापित भएको विचार हो । कम्युनिस्ट पार्टीको दर्शन र सिद्धान्तको सारभूत कुरालाई बोकेको हुनाले जबजबाटै नेकपा निर्देशित छ ।
नयाँ परिवेशमा नयाँ कुरा जोडिन्छन् । सिद्धान्त जड हुन सक्दैन । गतिमा मात्रै सिद्धान्तको जीवन हुन्छ । जबज पनि हिजो एक समयमा जे सूत्रबद्ध थियो त्यतिमात्र होइन । नयाँ आयामहरूलाई सम्बोधन गर्ने हिसाबले विकसित हुँदै अगाडि बढ्छ। मदन भण्डारीसँग गाँसिएको यो विचारको मूल पक्षलाई कमजोर बनाएर मदन भण्डारीकोमात्र बखान गरेर केही हुँदैन ।
मदन भण्डारीलाई सम्झने भनेकै जबज हो । यसबाहेक मदन भण्डारीको देशभक्तिपूर्ण आन्दोलनको पाटो त छँदैछ । प्रगतिशील राष्ट्रवादको झण्डा उठाउने पहिलो व्यक्ति नै मदन भण्डारी हुन् । नत्र नेपालमा राष्ट्रवाद भन्नेबित्तिकै निरंकुश शासकले भन्ने कुरामा थियो । योबाहेक लोकतान्त्रिकीकरणको नेतृत्व त उहाँले गरिहाल्नुभयो । मदन भण्डारीले छोटो समयमा नेपालको वामप्रजातान्त्रिक आन्दोलनमा दिनुभएको अतुलनीय योगदानलाई सम्झना गर्दै नेकपाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अबको यात्रा तय गर्नुपर्छ ।
जबजमा कसैले नाकनिक नगरौं ।
प्रतिक्रिया 4