वि.सं २०२९ को आखिरीतिरको कुरा हो । म त्यसबेला आईए पास गरेर स्नातक तहको पढाइ कसरी अगाडि बढाउने भन्ने चिन्तामा थिएँ । घरबाट पढाइको खर्च धान्न सक्ने स्थिति थिएन । अध्ययनलाई कसरी जारी राख्ने होला ? म यही प्रश्नको उत्तर खोज्दै पिरोलिएको थिएँ । न्यून वैतनिक कर्मचारी भएर काम गरिरहनुभएका जेठा दाइले जसोतसो आईएसम्म पढाउनुभएको थियो । अगाडिको पढाइका लागि सम्पूर्ण रूपमा खर्च धान्न उहाँका लागि पनि कठिन कुरा थियो ।
म क्रान्तिकारी वामपन्थी राजनीति बोकेर हिंड्न थालिसकेको थिएँ । जिन्दगीभर देश र जनताका लागि कम्युनिस्ट विचार बोकेर हिंड्ने सङ्कल्प गरिसकेको थिएँ । ग्रामीण क्षेत्रमा गएर शिक्षण पेशा अपनाउने, जनतासितको सम्बन्ध गाढा बनाउने, उनीहरूलाई सचेत र सङ्गठित गर्ने सोचाइ र योजनामा पुगिसकेको थिएँ म । त्यसबेलाको चलन र आवश्यकता बनेको थियो– बीएडको पढाइ । त्यसका लागि शिक्षाशास्त्र अध्ययन संस्थामा पढ्नैपर्ने अनिवार्यता थियो । यसैका लागि म काठमाडौं हान्निएको थिएँ ।
जनकपुर कलेजमा पढ्दा केही सिनियर साथीहरूले बीएडको पढाइका बारेमा जानकारी राख्ने गरेको थाहा पाएको थिएँ । उनीहरूकै सूचना र सहयोग लिएर म काठमाडौं हिंडेको थिएँ । भाउजूले केही पैसाको जोहो गरिदिनुभएको थियो । मेरो काठमाडौं बसाइका सन्दर्भमा त्यो केवल एक पटकका लागि खर्च थियो । पछिका लागि भने म आफैंले जोहो गर्नुपर्ने थियो । मैले जनकपुरमा नेता मानेका लेखनाथ शर्माले समेत गाउँमा गएर सङ्गठन गर्ने हो भने शिक्षण पेशा अपनाएर जानु नै राम्रो हुने र त्यो उद्देश्यका लागि शिषा विषय लिएर पढ्नु नै उपयुक्त हुने सुझाव दिएका थिए । यस्तै सुझाव–सल्लाह बोकेर म काठमाडौं हिंडेको थिएँ ।
त्यो मेरो पहिलो काठमाडौं आगमन थियो । सँगै आएका साथीहरूको साथ लागेर केही दिन त्यसै हल्लिने काम भयो । केही दिनपछि शिक्षा विषयमा नाम लेखाउन कीर्तिपुरको शिक्षाशास्त्र अध्ययन संस्थानमा पुगेर निवेदन दिएँ । अध्ययनका लागि मिल्ने त भयो तर प्रवेश परीक्षामा बस्नैपर्ने बाध्यता भने थियो ।
२०३० असार १५ गते प्रवेश परीक्षाको दिन थियो । त्यस दिन चाँडै कीर्तिपुर पुगेर प्रवेश परीक्षा (अन्तर्वार्ता) लिइने कोठा खोज्दै थिएँ । एक किसिमले भौतारिंदै पनि थिएँ । विद्यार्थीहरू अन्तर्वार्ता लिने कोठा खोज्दै यताउति दौडिरहेका थिए । यसै क्रममा म एउटा कोठामा झुम्मिएका विद्यार्थीसँगै मिसिन पुगें । ती विद्यार्थीहरू आपसमा परिचय गर्दै अन्तर्वार्ताका लागि तयार भएर बसेका रहेछन् । उनीहरू अन्तर्वार्ताकै बारेमा कुरा गरिरहेका थिए । म त्यही समयमा उनीहरूको हुलमा मिसिएँ । मेरो अन्तर्वार्ताको कोठा त्यही छेउमा रहेछ । त्यहाँ अन्तर्वार्ता दिनेहरूको नाम बोलाइँदै थियो । केही अन्तर्वार्ताका लागि छेउमै रहेको कोठामा जाँदै र एकैछिनपछि निस्कँदै आफूलाई के कसरी प्रश्नहरू गरिए भन्ने कुरा सुनाइरहेका थिए । त्यही हूलको बीचमा रहेका एक जना गोरो, होचो कदका, हँसिलो अनुहार र चिम्सा खालका आँखा भएका युवक मधुर स्वरमा मीठो गीत गुनगुनाइरहेको मैले देखें । त्यो गीत यस्तो थियो :
‘बिरानो देशको माटोभरि छ नेपाली नाम लेखेको,
कहीं भीर पहराले छेकेको,
कहीं पैतालाले टेकेको…हे दाजै…कहीं पैतालाले टेकेको…!’
केही विद्यार्थी मुग्ध बनेर त्यो स्वर सुनिरहेका थिए । केही ‘वान्स मोर’ भन्नेहरू पनि थिए । बीएडमा नेपाली विषयको अध्ययनका लागि प्रवेश परीक्षाको पर्खाइमा रहेका ती युवकसित मैले पनि परिचय गरेँ । रत्नकुमार बान्तवा रहेछ नाम ।
परिचयका क्रममा रत्नको स्वभाव मलाई हँसिलो मात्र लागेन, गम्भीर पनि लाग्यो । कलेजहरूमा भर्खरै चिनापर्ची भएका समकालीन साथीहरूलाई ‘तिमी’ भनेर सम्बोधन गर्ने चलन धेरै थियो । तर, मलाई ‘तपाईं’ भनेर सम्बोधन गरेपछि मैले पनि आदरसाथ ‘तपाईं’ भनेरै सम्बोधन गरें ।
मलाई रत्नसँगै बस्न मन लाग्यो । म उहाँसँगै बसें । हामीले आपसमा सामान्य भलाकुसारी खालका केही कुरा गर्यौं । घर–परिवार, यसअघि कहाँ पढेको, अध्ययन गर्न चाहेको विषय के हो, काठमाडौंमा कुन ठाउँमा डेरा लिएर बसेको भन्ने जस्ता विषयमा मैले रत्नसँग जानकारी लिएँ । मेरा सबै जिज्ञासाको उत्तर उहाँले भद्रताका साथ दिनुभयो । उहाँले मसित पनि यस्तै–यस्तै जिज्ञासाहरू राख्नुभएको थियो । हाम्रो सङ्क्षिप्त संवादले नै हामीलाई एकअर्कासित निकट र आत्मीय बनाएको महसुस हामी दुवैलाई भएको थियो ।
मलाई खुसी लाग्यो जब रत्नले आफ्नो मेजर विषय तथा क्लास (सेक्सन) समेत बताउनुभयो । कस्तो संयोग, हामी त एकै ठाउँमा पो परेछौं ! अन्तर्वार्तामा पनि हामी सँगसँगै जस्तो पर्यौं । मेरो पालो सकिएको लगत्तै उहाँको पालो आएको थियो । मैले आफूलाई सोधिएका प्रश्नहरू उहाँलाई बताइदिएको थिएँ । उहाँले खुसीसाथ सुन्नुभएको थियो । अन्तर्वार्ताबाट बाहिर नआउन्जेल म रत्नलाई पर्खेर बसेको थिएँ । उहाँ हाँस्दै आउनुभयो र मलाई भन्नुभयो– ‘होइन होउ, गुरूले मलाई जे–जे भन्नुभएको थियो, झन्डै त्यस्तै–त्यस्तै पो सोधे होउ मलाई त ।’ यसपछि उहाँले मसित कसिलो हात मिलाउनुभएको थियो । रत्नले मलाई ‘गुरू’ भनेर सम्बोधन गरेकामा भने मलाई अलि अनौठो लागिरहेको थियो ।
यी सबै संवादका क्रममा हामीबीच बढेको हिमचिमलाई सँगै बसेका केहीले यी पुरानै मित्र पो हुन् कि जस्तो गरी हेरेका थिए । हामी सँगसँगै बाहिर निस्कियौं । सँगै गएर क्यान्टिनमा चिया खायौँ । चिया खाएर पनि हामी सँगसँगै बाहिर निस्कियौँ ।
‘जाऊँ आज मेरो कोठा हेरौं, म कालिमाटी चोकैमा बस्छु ।’ रत्नको प्रस्तावलाई मैले अस्वीकार गरिनँ । कीर्तिपुर शैक्षिक परिसरमा लागिरहेको बस चढेर हामी कालिमाटी ओर्लियौं । डेरामा उहाँसँगै बस्ने दाइ वम देवान त्यतिबेला कोठामा हुनुहुन्नथ्यो । रत्नले बडो हार्दिकतापूर्वक मलाई ओछ्यानमै बसाउनुभयो । आफैंले चिया पकाएर मेरोअगाडि राख्दै ‘ल खाऊँ गुरू’ भन्नुभयो । किन रत्नले मलाई गुरू भन्नुभएको होला भन्ने कुराले मलाई फेरि पनि सोच्न बाध्य गराइरहेको थियो । तर पनि उहाँको हार्दिकताले उहाँप्रतिको मित्रभावलाई बढाइदिएको थियो । त्यही बसाइमा मैले आफू वामपन्थी विचारको भएको बताएको थिएँ । उहाँले पनि त्यही कुरा बताउनुभयो । हामी दुवै वामपन्थी विचारका हौं भन्ने भएपछि हाम्रो आपसी मित्रभाव झन् बढेर गयो । हामीले एकअर्कालाई केही समय पहिले भएको झापा आन्दोलनका समर्थक समेत बताएका थियौं । हामी एकै दिनमा लामो समयदेखिका घनिष्ठ मित्रजस्ता बनेका थियौँ ।
केहीबेरको कुराकानीपछि रत्न मलाई वरसम्म छोड्न आउनुभएको थियो । हामी भोलिपल्ट भेट गर्ने कबुल गर्दै हात मिलाएर छुट्टिएका थियौं । यसरी क. रत्नकुमार बान्तवासँगको मेरो पहिलो दिनको पहिलो भेट नै आत्मीय र अविस्मरणीय बन्न पुगेको थियो ।
भोलिपल्ट दुई जना सँगै गएर रिजल्ट हेर्यौं । रत्नभन्दा म एक नम्बरले अगाडि थिएँ । क्लास एउटै, सेक्सन एउटै, विषय एउटै, प्रवेश परीक्षामा लगभग एउटै पोजिसन ! रोल नम्बर एकले मात्र तलमाथि । पछि त सिद्धान्त, राजनीतिक विचार तथा भावनासमेत एउटै । रत्न र म छोटो समयमै अनन्य मित्र बन्यौं । हामीबीचको मित्रता बिस्तारै गहन छलफल र गम्भीर विमर्शमा केन्द्रित हुन थाल्यो । कम्युनिस्ट साहित्यहरू जम्मा गर्ने, अध्ययन गर्ने, छलफल गर्ने, भविष्यमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन आफ्नो जीवन सम्पूर्ण रूपमा लगाउने जस्ता विषयमा हाम्रो कुराकानी केन्द्रित हुन थाल्यो । झापा आन्दोलनका साहित्य–प्रकाशनहरू जम्मा गरेर अध्ययन गर्ने, विश्वसनीय साथीहरूबीच ती कुराहरू उतार गरेर वितरण गर्ने आदि कामसमेत हामीले गर्न थालेका थियौँ । यी सबै कामहरू गरिरहँदा हामीहरू एकअर्काको डेरामा निरन्तर रूपमा आउजाउ गरिरहेका हुन्थ्यौं । धेरैपटक हामीले सँगसँगै एकअर्काका डेरामा खाना खाएका थियौं । हामीबीचको सम्बन्ध वैचारिक रूपमा थप सुदृढ बन्दै गइरहेको थियो ।
काठमाडौं बस्न थालेको झन्डै ६ महिनापछि म बिरामी परेर नराम्ररी थलिएँ । म झोंछेंमा बस्थें । म दुई दिन कलेज नगएपछि रत्नलाई पनि छटपटी भएछ । उहाँ मेरो खोजी गर्न साँझपख डेरामै आउनुभयो । म हनहनी ज्वरोका कारण इन्तुु न चिन्तु भएर सुतिरहेको थिएँ । रत्न मेरो ओछ्यानमा बस्नुभयो । उहाँले मेरो अवस्था बुझ्न खोज्दै आफ्नो हातले मेरो निधारतिर छाम्नुभयो । ज्वरोको स्थितिबारे बुझ्ने कोसिस गर्दै मेरो निधारमा हात पुर्याएपछि उहाँ अलि गम्भीर बन्नुभयो ।
‘गुरू, तपाईंलाई साह्रै ज्वरो आएको छ, औषधि गर्नुपर्छ । हिंड्नोस् मसँगै मेरो डेरामा जाऊँ, म सबै चीज बोक्छु ।’ यति भन्दै रत्नले मलाई उठाउनुभयो । आफूले बोक्नुपर्ने मेरो झोला एकातिर झुन्ड्याउनुभयो । अर्को हातले मलाई सहारा दिने गरी समाउनुभयो । म लतारिएर हिंड्न खोज्दै थिएँ । मेरो भरोसा बनेर रत्न उभिनुभयो । उहाँले मलाई सहारा दिइरहनुभयो । रत्नकै सहारामा म उहाँको डेरामा पुगें । रत्नको कोठामा पुग्दा मलाई मेरो आफ्नै घरमा पुगेजस्तो भयो । म अहिले पनि झल्झली सम्झिरहेको छु– कोठामा पुर्याएर रत्नले एक छेउमा ओछ्यान लगाई मलाई सुताउनुभएको थियो । त्यसपछि एउटा पातलो ओड्ने ओडाइदिनुभएको थियो । म आरामको अनुभव गर्दै निदाएको थिएँ ।
एउटा हातले तातो पानीको गिलास र अर्को हातले मलाई घचघच्याउँदै गरेका रत्नलाई जब अस्वस्थ्यताका बीचमा खुलेका मेरा आँखाले देखे, म भावविभोर भएँ । त्यतिबेला मेरा आँखा रसाएका थिए । मैले एकनासले रत्नलाई हेरिरहें, आँखाबाट आँसु बगिरहेको थियो । रत्नले आफ्नो हातको सहाराले मलाई उठाउनुभयो र पानी पिउन सघाउनुभयो । औषधि र मुङको दाल हालेको जाउलो खान दिनुभयो । त्यस रात अस्वस्थ्यताकै बीचमा पनि मलाई मीठो निद्रा लाग्यो । मैले मेरो जीवनको त्यस क्षणलाई अहिलेसम्म बिर्सन सकेको छैन ।
म केही दिन रत्नकै कोठामा बसें । उहाँले मलाई औषधि मात्र खुवाउनुभएन, बिरामी अवस्थामा गर्नुपर्ने सम्पूर्ण रेखदेख गर्नुभयो । त्यसैको परिणामस्वरूप म तङ्ग्रँदै गएँ ।
मलाई ठीक भएपछि एकदिन रत्नले दुवै जना सँगै त्यही डेरामा बस्ने प्रस्ताव राख्नुभयो । रत्नसँगै बस्ने बम देवान पढाइ छोडेर धरान गइसक्नुभएको रहेछ । बम देवान नातामा रत्नका दाइ पर्नुहुँदो रहेछ । मैले रत्नको प्रस्तावलाई सहर्र्ष स्वीकार गरें । भोलिपल्ट हामी दुवै जना झोंछेंमा रहेको मेरो डेरामा गयौं । घरधनीलाई भाडा बुझायौं । कोठाका सामानहरू पोको पार्यौं र कालिमाटीमा रहेको रत्नको डेरामा पुग्यौं । रत्नको डेरा त्यसपछि हामी दुवैको ‘संयुक्त डेरा’ बनेको थियो । यसरी हामीबीचको मित्रता झन्झन् गाढा र आत्मीय बनिरहेको थियो । मैले रत्नसितको प्रारम्भिक परिचयमा जीवनलाई नयाँ किसिमले बोध गर्न थालेको थिएँ । रत्न त्यसको स्रोत बनिरहनुभएको थियो ।
आज रत्नको ७५औं जन्मजयन्ती तथा ४५औं स्मृति दिवसको अवसरमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।
साभार : पूर्वको रातो तारा
प्रतिक्रिया 4