
२६ असार, विराटनगर । अबिरल वर्षासँगै आएको पहिरोका कारण सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिकाको एउटा बस्ती जोखिममा परेको छ । बिहीबार बस्ती नजिकै गएको पहिरोका कारण माप्य दूधकोसी गाउँपालिका-४ काँकुका २५ घर उच्च जोखिममा परेका हुन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोका कारण माटो र ढुंगाले बनेका २५ वटा घर जोखिममा छन् । माटो र ढुंगा प्रयोग गरी बनाइएका दुई तले केही घर पहिरोका कारण चर्किएका छन । वर्षा निरन्तर रहेकाले बस्ती उच्च जोखिममा रहेको प्रहरीले बताएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जोनाथन राईका अनुसार बस्ती नजिकै पहिरोले सदरमुकाम सल्लेरी जोड्ने रोडमुनि रहेका घरहरु बढी जोखिममा छन् । पहिरो प्रभावित क्षेत्रको प्राविधिक पक्षको अध्ययनका लागि बिहीबार नै प्राविधिक खटाएको उनले बताए ।
‘पहिरो गएपछि टोली पठाएर अध्ययन गर्न लगाएका छौं,’ राईले भने, ‘अध्ययन गरेर टोली कार्यालय र्फकँदैछ ।’ उनका अनुसार पहिरो गएको स्थान काँकुको सानो बस्ती रहेको स्थान घेनाफु हो ।
उदयपुरमा १ जना घाइते
अबिरल वर्षासँगै आएको पहिरोका कारण उदयपुरको कटारी नगरपालिका- ११ बेतनीमा एकजना सामान्य घाइते भएका छन् ।
सडक माथिबाट आएको पहिरोमा मोटरसाइकल फसे पनि निकाल्न गएका स्थानीय दीपक मगर सामान्य घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया 4