यौन मानिसका आधारभूत चाहना, जिज्ञासा र आवश्यकतामध्येको एक प्रमुख पक्ष हो । तर यही विषय आजका दिनसम्म पनि नेपाली समाजमा निषेधित वा अति गोपनीय रूपमा रहेको छ । वर्तमान नेपाली समाजले पनि यौनलाई अश्लीलता, उत्ताउलोपन वा लाजशरमको विषयका रूपमा बुझेको बुझाएको देखिन्छ । जसले गर्दा यसबारे खुला छलफल गर्ने, जिज्ञासाहरूको समाधान खोज्ने र यौनबारेका आवश्यक जानकारी प्राप्त गर्ने अवसरबाट अधिकांश महिला-पुरुष वञ्चित छन् ।
परिणामस्वरुप प्रायः नेपाली महिला-पुरुषमा यौनको प्राकृतिक सौन्दर्य, मानवीय सम्बन्धका विविध आयाम र आनन्द प्राप्तिको महत्त्वपूर्ण पक्ष अज्ञानता र निषेधको छाया परिरहेको पाइएको छ । अथवा अधिकांश नेपाली महिला-पुरुष यौन शिक्षा र जानकारीको अभावमा यौन जीवनबाट न त शारीरिक सुख न मानसिक सन्तुष्टि प्राप्त गर्न सकेका छन् । यसबाट उनीहरू वञ्चित नै भइरहेका छन् । यौनका विषयमा उचित जानकारी, स्वस्थ संवाद र चेतनाको अभावले गर्दा यो समस्याकै रुपमा जटिल बन्दै गएको पाइएको छ ।
नेपालमा धेरै नेपाली त्यसमा पनि विशेषगरी महिलाहरूले आफ्नो यौन प्रवृत्तिलाई सहज रूपमा स्वीकार्न र त्यसमा गर्व गर्न सक्ने वातावरण नहुँदा यौनजीवन कुण्ठा, अपराधबोध, जोखिमपूर्ण यौन व्यवहार र शोषणको वातावरणमा बिताइरहेका छन् । सामाजिक संरचना र लैङ्गिक शक्ति सन्तुलनका कारण पुरुषहरूको स्थिति सतहमा महिलाहरूको तुलनामा केही राम्रो देखिए पनि गहिरिएर हेर्दा पुरुषहरू पनि सूचना, ज्ञान, विवेक र रचनात्मकता विनाको निरस यौनजीवन बिताइरहेको विभिन्न अध्ययनले देखाएका छन् ।
नेपालका विभिन्न क्षेत्रमा यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका सम्बन्धमा गरिएको अध्ययनले के देखाएको छ भने एकातिर पुरुषहरू यौनका विषयमा पर्याप्त जानकारी नपाइकनै आफ्नो तथा महिला पार्टनरको सम्पूर्ण यौन गतिविधि नियन्त्रण गरिरहेका छन् भने अर्कातिर महिलाहरू कुनै आनन्द विना नै त्यस नियन्त्रणलाई स्वीकार गरिरहेका छन् ।
विशेषगरी टेलिभिजन सिरिज र सिनेमाहरुमा यौनलाई उत्तेजक तरिकाले प्रस्तुत गरिन्छ । ‘छोपिएको अङ्ग प्रदर्शन’ले यौनको रहस्यलाई उत्तेजित बनाउने काम ती सामग्रीको प्रदर्शनले गरिरहेको हामीले देखेको पनि वर्षौं भइसकेको छ तर परिस्थितिमा खासै सुधारको संकेत देखिएको छैन । यसैको फाइदा लिइरहेका छन् पत्रपत्रिका र पोर्न साइटहरूले । यी सामग्री भनेका समस्याको समाधानका लागि भन्दा पनि यौनलिप्सालाई थप उत्तेजित गर्ने र त्यसबाट कसरी फाइदा लिने भन्ने कुरामा अडिएको हुन्छ ।
यौनको वास्तविक ज्ञान दिने, यौनको प्राकृतिक सौन्दर्य र यौन साथीबीचको पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउने विषयमा यस्ता सामग्रीको भूमिका सकारात्मक भन्दा नकारात्मक नै बढी हुन्छ । यस्तो अवस्थाबाट समाजलाई मुक्त गरी स्वस्थ यौन शिक्षा र खुला संवादको वातावरण निर्माण गर्न पाठ्यक्रममै यौन शिक्षा समावेश गर्नु अबको समाधानको पाटो हुनसक्छ ।
आधुनिक जीवनशैली, सूचना स्रोत र मूल्य मान्यतामा आफूलाई अगाडि ठान्ने धेरै व्यक्तिको यौनप्रतिको दृष्टिकोण अझै साँघुरो रहेको देखिन्छ । पूर्वीय विद्वान् वात्स्यायनले प्रतिपादन गरेका यौन सिद्धान्त र आदर्शहरू जस्तै ‘कामसूत्र,’ जसले यौनलाई एउटा जीवनशक्ति र कलाको रूपमा परिभाषित गर्छ, जुन आजको समाजमा नगण्य मात्रामा परिचित छ । त्यस्तै आधुनिक स्वास्थ्य विज्ञान र यौन मनोविज्ञानले पनि नेपाली समाजको यौन व्यवहार र धारणामा पर्याप्त परिवर्तन ल्याउन सकेको छैन ।
यौन सर्वेक्षणका तथ्याङ्क हेर्दा हाम्रो समाज अझै पनि मध्ययुगीन पुरुषप्रधान सोच र नैतिकतामा अडिएको देखिन्छ । यद्यपि पुरुष र महिलामा यौन चाहना समान रूपमा रहनु प्राकृतिक स्वभाव नै हो, यौन उत्तेजना र तत्परताका लागि शारीरिक प्रक्रियाहरूमा भने महिला-पुरुषमा भिन्नता पाइएको छ । पुरुष सजिलै र छिटो उत्तेजित हुन्छन् र अधिकांश अवस्थामा वीर्य स्खलनसँगै चरमसुख प्राप्त गर्छन् । तर महिलाको उत्तेजना प्रक्रिया पुरुषको भन्दा ढिलो हुन्छ र लामो समयसम्म रहिरहन्छ । धेरैजसो पुरुषको झटपट यौन कार्य सक्ने अनभिज्ञ शैलीका कारण महिलालाई चरमसुख प्राप्त गर्न आवश्यक शारीरिक, मानसिक र भावनात्मक अवस्था पूरा नहुँदै पुरुषले यौनकार्य सम्पन्न गरिसकेका हुन्छन् । महिलाहरूलाई चरमसुख प्राप्त गर्न विशिष्ट प्रकारको ध्यान, समय र संवेदनशीलताको आवश्यकता पर्छ भन्ने कुराको बोध पुरुषमा नहुँदा एकअर्काका बीचमा अविश्वास पैदा भई सम्बन्धमा समेत दरार उत्पन्न भएका धेरै घटनाक्रम हाम्रो समाजमा पाइन्छन् । यो पनि यौनशिक्षाको कमी भनौं वा अज्ञानताकै कारणबाट सिर्जित समस्या हो ।
नेपाली समाजमा विवाहअघि महिलालाई सानै उमेरदेखि नै यौन सम्बन्धमा लज्जाबोध र दूरी बनाउनुपर्ने गरी परिवारले शिक्षा दिएको हुन्छ । यसले गर्दा महिलाहरू आफ्नो यौन चाहनालाई दबाउन विवश हुन्छन् । विवाहपछि पनि अधिकांश महिलाको धारणा यही रहन्छ । यसले गर्दा यौन सम्बन्धमा उनीहरूले आफ्ना इच्छा व्यक्त गर्न पाउँदैनन् वा सक्दैनन् । पतिपत्नीबीचको सम्बन्ध पनि केवल श्रीमानको इच्छालाई मात्र प्राथमिकता दिनुपर्छ भन्ने गुण मान्यता रहेको हुन्छ जुन गलत हो । ताप्लेजुङ र विराटनगरका छलफलमा सहभागी महिलाको भनाइअनुसार विवाहित महिलामा यौन सन्तुष्टि कम हुनु नेपाली समाजमा आम सामान्य नै हो, कुनै अनौठो कुरा होइन ।
यौनसम्बन्धी ज्ञानको कमीका कारण धेरैजसो महिलाले आफ्नो शरीरको बारेमा पर्याप्त जानकारी पाएकै हुँदैनन् । साथै पुरुषमा पनि यौन शिक्षाको कमी देखिएको छ, जसकारण धेरै पुरुषले आफ्नी श्रीमतीलाई यौन सन्तुष्टि दिनुपर्ने र उनीहरूको पनि यौन आवश्यकता हुन्छन् भन्ने कुरा नबुझेको पाइएको छ ।
यौन क्रिया एक पारस्परिक प्रक्रिया हो, जहाँ दुवै व्यक्तिको शारीरिक र भावनात्मक स्थिति बुझ्न आवश्यक हुन्छ । यौन सम्बन्धको सन्तुष्टि प्राप्त गर्न दुवै पक्षले एकअर्काको आवश्यकतालाई ध्यानमा राखेर क्रियाशील हुनुपर्छ । तथ्याङ्कले के देखाउँछ भने धेरै पुरुषहरू यौन सन्तुष्टि प्राप्त गर्न धैर्य र समझदारीभन्दा बढी हतार र पुरुषत्व प्रदर्शनमा ध्यान दिन्छन् । यसको एउटा उदाहरण विवाह भएपछि तुरुन्तै हुने सम्भोगको दरमा देखिन्छ, जसले यौन सम्बन्धको पारस्परिकता र संवेदनशीलतालाई नजरअन्दाज गर्छ ।
ऋषि वात्स्यायनले कामसूत्रमा यौन क्रियालाई एउटा कलाको रूपमा परिभाषित गरेका छन्, जसमा प्राकक्रीडा अर्थात् फोरप्लेले महत्वपूर्ण भूमिका खेल्छ । यौनक्रिया अघि हुने कुराकानी, सुम्सुम्याउने र म्वाइँ खाने जस्ता गतिविधिले यौन साथीबीचको आपसी आकर्षण र खुलापन बढाउँछ । यसले न केवल यौनको आनन्दलाई तीव्र बनाउँछ, यौन साथीबीचको सम्बन्धलाई पनि गहिरो बनाउँछ ।
समाजशास्त्रीहरूले उल्लेख गरे झैं नेपाल जस्तो पुरुषप्रधान समाजमा पुरुषहरूले यौन क्रियामा प्रभुत्व जमाउन खोज्दा महिलाको यौन चाहनालाई दबाउने प्रचलन रहेको छ । परिणामस्वरूप, पुरुष पनि यस प्रक्रियामा सम्पूर्ण सन्तुष्टि प्राप्त गर्न असफल हुन्छन् । यौन सन्तुष्टिका लागि पारस्परिकता र समझदारी आवश्यक छ, जसमा दुवै साथीले एकअर्काको शारीरिक र भावनात्मक आवश्यकतालाई बुझ्नुपर्छ ।
नेपालमा प्राचीन यौन ज्ञान, जस्तै कामसूत्र, जसले यौनको विविधता र पारस्परिकतामा जोड दिएको थियो, आज लगभग उपेक्षित भएको छ । कामसूत्रमा उल्लेख गरिएका विभिन्न यौन आसनहरू केवल शारीरिक अवस्था मात्र होइन, भावनात्मक र मानसिक अवस्थामा पनि निर्भर हुन्छन्, जसले यौन अनुभवलाई विविधतायुक्त र आनन्दमयी बनाउँछ । तर वर्तमानमा यौनका बारेमा जान्न, बुझ्न र प्रयोग गर्न मानिसहरू हिच्किचाउँछन् ।
यौनक्रिया शारीरिक मात्र नभई भावनात्मक प्रक्रिया पनि हो । सेक्सुअल फ्यान्टासी वा यौन स्वैरकल्पनाले मानिसको यौन अनुभवलाई थप रोमाञ्चक बनाउँछ । यो मानवीय प्रवृत्ति महिलाहरूमा पनि पुरुषको जत्तिकै व्यापक हुन्छ । तर नेपाली महिलाका लागि यौन सम्बन्धी विचार, हस्तमैथुन र स्वैरकल्पना जस्ता विषयमा खुला रूपमा बोल्न वा सोच्न असहज लाग्छ । यसका पछाडि सांस्कृतिक, धार्मिक र सामाजिक मान्यताले महिलालाई सीमित राखेको छ ।
आजका आधुनिक समयमा शिक्षा र सञ्चारको विस्तारले यौनसम्बन्धी खुलापन बढ्दै गएको छ, विशेषगरी पछिल्लो पुस्तामा । उनीहरू यौन व्यवहार र यौन स्वास्थ्यप्रति अघिल्लो पुस्ताको तुलनामा बढी सचेत र उदार भएका छन् । यौन सम्बन्ध केवल सन्तानोत्पादनका लागि मात्र नभई दम्पतीहरूको भावनात्मक र मानसिक सन्तुलनका लागि पनि महत्वपूर्ण हुन्छ भन्ने कुरामा वर्तमान पुस्ता बढी सजग देखिएको छ ।
समग्रमा यौनको सही ज्ञान र त्यसको सकारात्मक प्रयोगले मानिसलाई शारीरिक र मानसिक रूपमा सन्तुलित बनाउँछ । यौन अनुभवको आनन्द लिन दुवै पक्षले पारस्परिक सहभागिता र समझदारीको साथ यौन जीवनलाई नयाँ-नयाँ तरिकाले समृद्ध बनाउनु आवश्यक छ ।
यौनबारे किन जान्ने ?
मानिसलाई बाल्यकालदेखि नै शरीर विज्ञान र शारीरिक प्रक्रियाको उत्सुकता हुन्छ र यस ज्ञानले आधारभूत स्वास्थ्य, आत्मसम्मान र यौन व्यवहारको समुचित विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । सही यौन शिक्षाको उद्देश्य भनेको यौनका सबै पक्षको सुसंगत जानकारी प्रदान गर्नु हो, जसले मानिसलाई स्वस्थ, सुरक्षित र सम्मानजनक यौन सम्बन्धका लागि तयार गर्छ ।
यौन शिक्षाले मानिसलाई आफ्नो शरीर, यौन आकांक्षा, अधिकार र सीमाहरूको बारेमा स्पष्ट जानकारी दिन्छ । यसले मानिसलाई सामाजिक र व्यक्तिगत मूल्य–मान्यतासँग तालमेल गर्दै यौन गतिविधिहरूलाई विवेकपूर्ण रूपमा नियन्त्रण गर्न मद्दत पुर्याउँछ । साथै यो जानकारीले व्यक्तिलाई अपराधबोध, अन्धविश्वास र मानसिक समस्याबाट बच्न सघाउँछ ।
विशेषगरी किशोरावस्थामा जब शारीरिक र मानसिक परिवर्तनहरू हुन्छन्, यौन शिक्षाले तिनलाई स्वाभाविक रूपमा बुझ्न मद्दत गर्छ । उदाहरणका लागि रजस्वला वा वीर्यपात जस्ता प्रक्रियाको स्वाभाविकता बुझ्न, प्रेम र यौन सम्बन्धका अन्तरहरू जान्न र असुरक्षित सम्भोगका खतरालाई सजग बनाउन यौन शिक्षा महत्वपूर्ण छ ।
सही यौन शिक्षाले युवाहरूलाई सम्भोगमा संयम र विवेकपूर्ण निर्णय कसरी गर्ने भन्ने कुरा मात्र सिकाउँदैन यसले उनीहरूलाई कसरी ‘नाइँ’ भन्न सकिन्छ भनेर पनि सिकाउँछ । यसले यौनलाई केवल शारीरिक तृष्णा नभई भावनात्मक आवश्यकतासँग पनि सम्बन्धित विषयको रूपमा बुझ्न मद्दत गर्छ ।
अहिलेको सूचना र सञ्चार प्रविधिको युगमा यौनलाई मात्र विवाह र सन्तानोत्पादनसँग जोडेर हेर्नु व्यावहारिक छैन । युवापुस्ता आफ्नो अध्ययन र करिअरमा केन्द्रित हुन्छन्, दीर्घकालीन ब्रह्मचर्य पालन गर्ने अपेक्षा राख्न पनि उचित हुँदैन । करिब १२ वर्षको उमेरदेखि सुरु हुने यौन आकर्षणलाई केवल अर्ती र डर देखाएर दबाउन सकिंदैन । यसकारण शिक्षित र समुचित यौन शिक्षा नै स्वस्थ जीवनशैलीको आधार हो, जसले युवाहरूलाई सुरक्षित र आत्मविश्वासपूर्ण जीवनयापन गर्न सहयोग पुर्याउँछ भन्ने कुरालाई सबैले आत्मसात गर्नु जरुरी छ ।
सामाजिक र सांस्कृतिक परिवर्तनको आवश्यकता छ, जसले यौन शिक्षा र संवादको महत्वलाई स्वीकार गर्न मद्दत गर्नेछ । यसमा विद्यालय, परिवार र समुदायका सबै सदस्यको सक्रिय सहभागिता आवश्यक छ । यौन स्वास्थ्य र अधिकारका बारेमा जानकारी हुँदा मानिसहरू स्वस्थ, सन्तुलित र सन्तोषजनक यौन जीवनको अनुभव गर्न सक्षम हुनेछन् ।
(अनुसन्धाता अधिकारी यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा कार्यरत छन् ।)
प्रतिक्रिया 4