विगत दुई दशकमा नेपाली महिलाको मातृ मृत्युदर निकै घटेको छ । नेपाल सरकार, स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरूको सामूहिक पहलमा यो उपलब्धि हासिल भएको हो ।
तर अझै पनि गर्भावस्थामा उच्च रक्तचापको समस्या, प्रसव लगत्तै अधिक रक्तस्राव एवं असुरक्षित गर्भपतन नै मातृ मृत्युदरको प्रमुख कारण रहिरहेको छ ।
माथि, उल्लेख गरे झैं गर्भवती र प्रसूति विषयसँग सम्बन्धित अनेकौं सूचकांकहरूमा निकै सकारात्मक बदलाव आएको छ । तर, पनि शहरी र ग्रामीण भेग तथा सुगम र दुर्गम एवं विकट जिल्लाहरू बीचको भिन्नतामा खासै फरकपना आएको देखिंदैन ।
त्यसो भन्दै गर्दा कतिपय बेला ‘बत्ती मुनिको अँध्यारो’ भने झैं सहरी क्षेत्रका बासिन्दाहरू नियमित गर्भ जाँच गर्न नजाने, अनियन्त्रित उच्च रक्तचाप एवं मधुमेहको जटिलता लिएर आउने, शिशु उल्टो जन्मिने क्रममा लामो समय टाउको अड्केका कारण मृत शिशु लिएर आउने, रक्तअल्पताको समस्या लिएर आउने तथा घरमै सुत्केरी गराउने केसहरू छन् ।
यसरी स्त्री तथा प्रसूति रोग अनि प्रजनन् उमेरका धेरै विषय उठाउन लायक भए पनि यस पटक प्रसूति सम्बन्धी केही विषयहरू उठाइएको छ, जो यस प्रकार छन् :
सिजेरियन त्यति सुरक्षित होइन
अचेल नेपाली किशोरी वा महिलाहरूमा क्यारियर बनाएपछि अथवा उच्च शिक्षा हासिल गरेपछि विवाह गर्ने क्रम बढ्दो छ । साथै कम मात्रै बच्चा पाउने गरेका छन् । यसै भएर पछिल्लो तथ्यांक अनुसार नेपालमा पनि प्रजनन् विस्तारै नकारात्मकतर्फ उन्मुख देखिन्छ ।
विस्तारै नेपालमा पनि अन्य कतिपय विकसित देशमा जस्तै धेरै बच्चा पाउनको लागि प्रोत्साहित थाल्नुपर्ने बेला आउने छ । तर तुलनात्मक रूपमा शिक्षित महिलाहरू माझ सुत्केरीका लागि सिजेरियन नै सुरक्षित छ भन्ने भ्रम छ ।
एउटा फरक प्रसङ्ग राख्छु, आम मानिसलाई ब्रोइलर होइन लोकल भाले वा कालिजको मासु मिठो लाग्छ, ग्याँसमा होइन दाउरामा पकाएको खानालाई प्राथमिकता दिन्छ । विशेषतः तरकारी र गेडागुडीहरू अर्गानिक नै खोज्छन् । तर सुत्केरीको मामिलामा प्राकृतिक तवरमा योनीद्वारबाट हुने सुत्केरीको बदला सिजेरियन किन ?
खानामा फास्टफुड वा जंकफुड रोजे झैं । अन्य विषयमा के कसो थाहा छैन । तर, सुत्केरीको मामिलामा मिलेसम्म प्राकृतिक तवरले गराउने रोज्नु नै बुद्धिमानी हुन्छ । सिजेरियन अप्रेसन गर्ने क्रममा ढाड मुनि लठ्याउने वा पूरै बेहोस बनाउने एनेस्थेसियाका आफ्नै जटिलता छन् ।
त्यसैगरी व्यक्ति विशेषको जीउडाल र स्वास्थ्य अवस्था अनुसार सिजेरियनको घाउ पाक्ने सम्भावना उत्तिकै हुन्छ । सिजेरियनको केही समयसम्म लठ्याइराख्ने कारण हिंडडुलको कमीमा शिशुलाई तुरुन्तै स्तनपान गराउने कार्यमा दख्खल पुग्ने, सेवाग्राहीको गोडामा रगत जम्ने समस्या तथा पिसाबको संक्रमण हुने सम्भावना निकै हुन्छ, प्राकृतिक सुत्केरीको दाँजोमा ।
सिजेरियन अप्रेसनको क्रममा शिशु डेलिभरी हुँदा नवजात शिशुको फोक्सोबाट पानी निख्रिने कार्य तुलनात्मक रूपमा खस्केर नवजात शिशुमा श्वास–प्रश्वासमा समस्या आउने तथा नवजात शिशुलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने सम्भावना बढी हुन्छ ।
पछिल्लो समय स्वास्थ्यकर्मीहरूबाट उपल्लो स्तरमा रेफर गर्ने बेलामा सिजेरियनकै आवश्यक पर्ने कुरामा जोड दिएर पठाउँछन् । यस्तो परिस्थितिमा अस्पताल आइपुगेका सेवाग्राही तथा कुरुवाहरूलाई प्राकृतिक तवरबाटै डेलिभरी हुनसक्ने कुरा बुझाउन हम्मेहम्मे हुन्छ ।
यस्तो बलमिच्याईंमा कर गरेर प्राकृतिक सुत्केरी प्रयास गर्दागर्दै इमर्जेन्सी तवरमा सिजेरियन गर्नुपर्यो वा शिशुलाई आईसीयूमा राख्नुपर्ने अवस्था आयो भने हङ्गामा नै हुन्छ ।
सेवा प्रदायक साथीहरूलाई पनि विस्तारै यस्तो झन्झट किन व्यहोर्ने भन्ने लाग्न थाल्छ तर यो गलत हो । यसको अलावा निजी स्वास्थ्य संस्थामा सेवा प्रदायकहरूको आर्थिक लाभकै लागि सिजेरियनलाई प्रोत्साहन गर्नु झनै गलत र गैर मान्यता कार्य पनि हो ।
नीति निर्माता सम्बन्धित सरोकारवाला देखि विश्व स्वास्थ्य संगठन (डब्लुएचओं)ले समेत केवल १५ प्रतिशत मात्र सिजेरियनका लागि सुझाइरहेका बेला नेपालका अधिकतर (विशेषतः निजी क्षेत्रमा) ५० प्रतिशतभन्दा बढी सुत्केरी सिजेरियनबाट भइरहेको छ, हेक्का राखौं ।
गर्भावस्था नर्मल होइन
माथि, उल्लेख गरिसकें, नेपाली माहिला एवं किशोरीहरू ढिलो विवाह गर्न थालेका छन् । अचेलको जीवनशैली, अस्वस्थकर खानपान, शारीरिक व्यायामको कमी अनि पेशागत तनावका कारण नेपाली महिलाहरूमा मोटोपनका साथै मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल एवं थाइरोइडको समस्या नजानिँदो तवरमा बढ्दो छ ।
यस्तैमा आफूलाई त यी समस्या हुनै सक्दैन, यो त अरूलाई हुने समस्या हुन् भन्ने भ्रम व्याप्त छ । तर यी समस्याहरू नजाँचेसम्म थाहा हुँदैन । त्यसैले, पनि गर्भावस्थामा अनेकथरी रगतजाँच एवं अल्ट्रासाउण्ड गराउने गरेको हुन्छ ।
नेपालमा अझै पनि गर्भपूर्व स्वास्थ्य परामर्श गर्ने–गराउने चलन त्यति साह्रो छैन । यस विषयलाई त्यति महत्व दिने गरेको छैन । तर, गर्भावस्था खेलाँची गर्ने विषय होइन, कुनै विशेषज्ञको नियमित निगरानीमा रहेर आफ्नो स्वास्थ्य सही अवस्थामा राख्नु बुद्धिमानी हुन्छ ।
छोराछोरी अझै पनि चासोको विषय
‘विज्ञानलाई अभिशाप होइन वरदान’ नै बनाइराख्न मद्दत गरौं । अहिलेको समयमा अल्ट्रासाउण्डको मद्दतमा निश्चित समयावधि पुगेपछि यौनाङ्ग छुट्याउन सकिन्छ ।
तर सेवा प्रदायकहरूको अनुचित आर्थिक लोभ र सेवाग्राहीहरूको असामाजिक सोचको कारण यसको गलत प्रयोग भइरहेको छ ।
छोरा वा छोरी हुनुमा पुरुष पार्टनरकै महत्वपूर्ण भूमिका हुन्छ, यसलाई अहिलेको शैक्षिक चेतनास्तरमा पनि बखेडाको विषय बनाउनु राम्रो हुन्न ।
नेपालमा अहिले ज्ञात, अज्ञात तवरमा लैङ्गिक निर्धारण गराई अनुचित गर्भपतन गराउने कार्यहरू भइरहेको छ ।
तर, गर्भपतन गराउन पाउनु मात्र मानवअधिकारको विषय मात्र हुनुहुन्न ।
चकलेटसरि गर्भपतनको औषधि
पछिल्लो समय सिजेरियन जस्तै डढेलो जस्तै दुइटा विषयहरू फैलिँदो क्रममा छन् ।
एक, स्कुल कलेजस्तरमा किशोरीहरूमाझ विवाहपूर्व यौनसम्बन्ध कार्य बढ्दो छ भने वैदेशिक रोजगारमा गएका दम्पतीहरूमा गैर वैवाहिक सम्बन्ध पनि बढ्दो छ ।
यसको परिणामस्वरुप अनिच्छित गर्भ रहने संख्या बढ्दो छ । योसँगै सुरक्षित वा असुरक्षित गर्भपतनको जोखिम पनि ज्यूँका त्यूँ छ ।
पूर्ण ल्याब परीक्षण र विस्तृत सोधपुछ पछि मात्र विशेष निगरानीमा सेवन गर्नुपर्ने गर्भपतनका औषधिहरू जुनसुकै औषधि पसल वा साधारण स्वास्थ्य संस्थाहरूमा चकलेट सरह खरीद गरी सेवन गर्न पाउनु अर्को विडम्बना हो ।
सरोकारको विषय– निःसन्तान सेवा
केही वर्ष अगाडि सरोगेसीको अन–इथिकल प्राक्टिस पछि सरकारले झ्याप्पै यो सेवा बन्द गराउनु परेको थियो ।
अहिले विशेषतः काठमाडौं अनि शहरी क्षेत्रमा निःसन्तान सेवा केन्द्र, क्लिनिक तथा अस्पताल फेरि च्याउसरि फैलिँदो छ ।
निःसन्तान त्यसै पनि भुक्तभोगीहरूका लागि पीडादायक विषय हो नै त्यसमाथि सामाजिक दबाब पनि । यस्तोमा त्यस्तो पीडामा रहेका सेवाग्राहीहरूमै अनइथिकल प्राक्टिस गर्नु अपराध नै मान्न सकिन्छ ।
भुक्तभोगी सेवाग्राहीहरूको निरन्तर गुनासाहरू छन्– उपचार सेवा नै निकै महँगो छ, घरखेत बेच्नुपर्ने बाध्यता छ ।
त्यसमाथि उही सेवाका लागि सेवाप्रदायक संस्थाहरूबीच उपचार सेवा शुल्कमा आकाश–जमिन फरक छ किन ? एकैखाले ल्याब जाँचहरू किन पटक पटक दोहोर्याउन लगाउँछन् अनि एउटा स्वास्थ्य संस्थाको रिपोर्ट अर्को संस्थाले किन स्वीकार गर्दैनन् ।
अरू त अरू ब्लड ग्रुप, हालै गरिएका अल्ट्रासाउण्ड अनि डिम्बवाहिनी नली जाँचका रिपोर्टहरू त मान्नुपर्ने नि, तिनीहरू पनि किन दोहोर्याउन लगाउँछन् ?
अनि अन्टसन्ट ल्याब जाँचहरू किन गराउन लगाउँछन्, हामीलाई (सेवाग्राहीलाई) थाहा हुने कुरा पनि भएन, प्रश्न गर्न पनि मिलेन, गुगलमा एक्सप्लोर गरेर केही जिज्ञासा राखेमा रिसाइहाल्छन् । यस्तोमा भने अनुसार मान्नुको विकल्प हुँदैन ।
सेवाप्रदायकहरूले सफलताको एउटा केसको प्रचार गर्दै गर्दा त्योसँगै अरू कति केसहरू विफल भए पारदर्शी तवरमा जानकारी दिन सक्छन् ? नीति–निर्माता अनि सरोकारवाला, घरैपिच्छे, टोलैपिच्छे यसरी यतिविघ्न निःसन्तान केन्द्रहरू आवश्यक छन् ? सेवाप्रदायकहरूको दखलता अनि विज्ञताको कसले निर्धारण गर्ने, कसले अनुगमन गर्ने ?
त्यसो भएर सेवाग्राहीहरूले यतिविघ्न अन्योलताबीच रहनु भन्दा सेकेण्ड ओपिनियन लिने तथा प्राज्ञिक तवरमा पनि राम्रै संस्थामा गई सेवा लिँदा राम्रो हुन्छ ।
सेवा प्रदायकहरूले पनि माथि उल्लेख गरेका गुनासोहरु सम्बोधन गर्न आवश्यक देखिन्छ ।
प्रतिक्रिया 4