काठमाडौं । बालगायक सचिन परियारको उपचारका क्रममा बिहीबार निधन भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको बिहीबार बिहान १०:४५ मा निधन भएको हो ।
अस्पतालमा उपचारत चिकित्सकका अनुसार सचिनलाई जन्मजात भेन्ट्रिकुलर सिस्ट भएको थियो । बरिष्ठ न्युरो सर्जन डा. राजीव झाका अनुसार भेन्ट्रिकुलर सिस्ट भनेको मस्तिष्कको पानी भित्र हुने एक प्रकारको ट्युमर हो । ‘सबै मानिसको मस्तिष्कभित्र पानी हुन्छ’ डा. झा भन्छन्, ‘त्यहि पानी जमेको भागमा नै ट्युमर बढ्दै जान्छ ।’ मस्तिष्कको सबैभन्दा महत्वपूर्ण जोडिने ठाँउ भेन्टिकुलर सिस्ट हुन्छ ।
उनका अनुसार मस्तिष्कको पानी भित्र ट्युमरले जबसम्म ठूलो आकार लिँदैन रोगको पहिचान हुँदैन । त्यो क्यान्सरयुक्त ट्युमर होइन । तर, क्यान्सर जतिकै जटिलता ल्याउन सक्छ । यदि समयमै पहिचान र उपचार भयो भने यो निको हुन्छ ।
।
लामो समयदेखि स्वास्थ्य समस्यासँग लड्दै आएका सचिनलाई तीव्र ज्वरो, सास फेर्न गाह्रो हुने समस्याका कारण गत साता अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गर्दा उनको अवस्था गम्भीर थियो ।
चिकित्सकका अनुसार अस्पताल भर्ना गर्दा सचिन ‘सेप्टिक सक’मा थिए । सेप्टिक सकको अवस्था भनेको शरीरमा संक्रमण तीव्र गतिले फैलिरहँदा शरीरका अंगलाई चाहिने रगत, अक्सिजन र पोषक तत्वलगायतका तत्वको कमी भई अवस्था गम्भीर हुनु हो ।
साथै, उनलाई डाइबेटिज इन्सिपिडसको पनि समस्या थियो । चिकित्सकका अनुसार डाइबिटिज इन्सिपिडसको समस्या निकै दुर्लभ हुन्छ । यो समस्या भएका व्यक्तिको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गर्छ ।
सचिनको ६ महिनाअघि नै त्रिवि शिक्षण अस्पतालमा मस्तिष्कमा जमेको पानीलाई कम गर्न शल्यक्रिया गरेर पाइप राखिएको थियो । साथै, सचिनको समस्या बढ्दै गएर कम्मरमुनिको भाग समेत नचल्ने अवस्था आइसकेको थियो । उनलाई निमोनिया, छातीमा संक्रमण, मिर्गौलामा चोटपटक भएको थियो । जसकारण शरीरमा संक्रमण तीव्र फैलिंदा शरीरबाट रगत अत्यधिक बगिरहेको थियो ।
उपचारको क्रममा पीआईसीयू हुँदै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । मुख र नाकबाट रगत बगेको थियो । भर्ना भएको पाँचौं दिनमा उनको फोक्सोबाट अचानक रक्तस्राव भएको अस्पतालले जनाएको छ ।
सचिनको शरीरका सबैजसो अंगले क्रमश: काम गर्न छोडेका थिए । शरीरमा अक्सिजन पनि कम हुँदै जँदा अचानक हृदयघात भएपछि उनको मृत्यु भयो । चिकित्सकले हरसम्भव प्रयास गर्दा पनि उनलाई बचाउन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिक्रिया 4