+

कस्तो हुनुपर्छ स्कुलको क्यान्टिन ?

२०८१ माघ  ३ गते २०:३९ २०८१ माघ ३ गते २०:३९
कस्तो हुनुपर्छ स्कुलको क्यान्टिन ?

शिक्षकहरू भन्छन्‌– ‘स्वस्थ, ताजा, पोषिलो र मौसमी खानेकुरा खानुपर्छ ।’

आमाबुवा भन्छन्‌– ‘आफ्नै  घरको भान्सामा पाकेको खानेकुरा खानुपर्छ ।’

तर, विद्यार्थीलाई द्विविधा छ– एक त आफ्नै भान्सामा पाकेको खानेकुरा अनुकूलता छैन विद्यालयको क्यान्टिनमा खानुपर्छ । अर्को, विद्यालयको क्यान्टिनमा पाइने खानेकुरा ‘स्वस्थकर र ताजा’ श्रेणीमा पर्दैन ।

हामीले काठमाडौंमा चलेका निजी विद्यालयहरूको क्यान्टिनमा के पाक्छ ? विद्यार्थीलाई खुवाउने खानाको साप्ताहिक मेनु कस्तो छ ? खोजी गरेका थियौं ।

त्यस अनुसार आम विद्यालयको मेनु यस्तो देखियो :

आइतबार – पुरी, तरकारी
सोमबार – चाउमिन
मंगलबार – समोसा
बुधबार– आलुचप
बिहीबार – म:म
शुक्रबार – हलुवा ।

अधिकांश विद्यालयको क्यान्टिनमा आलुचप, पकौडा, चाउमिन, मःम, पुरी–तरकारी, पास्ता पाक्ने गरेका छन् । यी नास्ता मैदाजन्य र प्रशोधित हुन् ।

बालबालिकालाई ‘स्वास्थ्य र पोषण’को पाठ पढाउने विद्यालयहरूले नै अस्वस्थकर खानेकुरा खान बाध्य बनाउने गरेको अभिभावकहरूको गुनासो छ । जस्तो, भर्खर मात्र काठमाडौं महानगरपालिकाको खाद्य अनुसन्धान टोलीले बुद्धनगरमा अवस्थित रोजबर्ड स्कुलको क्यान्टिन अनुगमन गरेको थियो ।

त्यस क्रममा क्यान्टिनको खाना बच्चाको स्वास्थ्यमैत्री नरहेको पाइयो । महानगरको खाद्य अनुसन्धान टोलीका अनुसार रोजबर्डको क्यान्टिनमा ‘खाजा र खानामा बच्चाको लागि आवश्यक पोषणको मात्रा थिएन ।

काठमाडौं कपनको बालुवाखानीमा रहेको रिलायन्स कोएड स्कुलको ६ दिनको मेनुमा आइतबार पुरी तरकारी, सोमबार चाउमिन, मङ्गलबार समोसा, बुधबार  आलुचप, बिहीबार मःम र शुक्रबार हलुवा पाइन्छ ।

त्यस्तै, कागेश्वरी मनोहरास्थित मूलपानीको गणेश हिमाल सेकेन्डरी स्कुलमा क्यान्टिनमा पनि चाउमिन, मःम, समोसा, पुरी तरकारी, पकौडा र आलुचप पाइन्छ । काठमाडौंका अधिकांश निजी विद्यालयले आफ्नै मातहतमा क्यान्टिन सञ्चालन गर्छन् ।

कति विद्यालयले वार्षिक तथा मासिक रूपमै बच्चाको खानाको शुल्क असुल्छन् । त्यसमध्ये कति विद्यालयले त विद्यार्थीलाई क्यान्टिनमै खानुपर्ने अघोषित नियम पनि बनाएको पाइन्छ ।

विद्यार्थीहरूले त्यही क्यान्टिनबाट खाना वा खाजा खाने गर्छन् । जबकि क्यान्टिनको खानेकुरा न पोषिलो हुन्छ, न स्वास्थ्यबर्धक नै ।

कस्तो हुनुपर्छ विद्यालयको क्यान्टिन ?

धेरै निजी विद्यालयका विद्यार्थीहरू बिहानको खाना र खाजा स्कुलमा नै खान्छन् । बढ्दो उमेरका बालबच्चालाई पोषिलो र सन्तुलित खानेकुराको आवश्यक हुन्छ ।

यस्तोमा स्कुलको खाना खाजा उनीहरूलाई आवश्यक पर्ने जति पोषिलो र सन्तुलित हुन्छ त भन्ने कुरामा विद्यालय सचेत हुनुपर्ने  वरिष्ठ  पोषणविद् भुपाल बानियाँ बताउँछन् ।

वरिष्ठ पोषणविद् भुपाल बानियाँ

बानियाँ भन्छन्, ‘बालबालिकाले घरमा विद्यालयमा सन्तुलित खाना खान पाएनन् भने त्यसले उनीहरूको वृद्धि विकास र पढाइलाई असर गर्छ । त्यसैले, विद्यालयको क्यान्टिनमा पाइने खाना पोषिलो र सन्तुलित हुनुपर्छ ।’

विद्यालयमा बच्चालाई धेरै प्रशोधित, चिल्लो खानेकुरा दिइन्छ भने त्यसले उनीहरूको स्वास्थ्यमा तत्कालीन रूपमा फुड पोइजनिङ र दीर्घकालीन रूपमा मोटोपना जस्ता समस्या निम्त्याउन सक्ने भयो ।

आजभोलि धेरै बालबालिका पेट दुख्ने समस्या लिएर अस्पताल पुगिरहेका हुन्छन् । त्यसको जिम्मेवार कतै न कतै विद्यालय पनि हुन्छ । त्यसैले, क्यान्टिन कस्तो हुनुपर्छ भन्ने कुरामा विद्यालयले ध्यान दिनुपर्ने बानियाँ सुझाउँछन् ।

विद्यालयको खाना, खाजाले बच्चामा मोटोपना निम्त्याउन सक्छ

‘जङ्क फुड’ शब्दको कुनै आधिकारिक वा कानुनी परिभाषा छैन । यो सामान्यतया अस्वस्थकर, कम पोषण भएको र धेरै मात्रामा प्रशोधित, चिल्लो, चिनी वा नुन धेरै भएको खाद्य पदार्थलाई जनाउन प्रयोग गरिन्छ । प्रायः ती खाद्य पदार्थ जो क्यालोरीमा धनी र पोषणमा कमजोर हुन्छन् ।

यस्तोमा विद्यालयहरूले जङ्क फुड भनेर निषेध गरेको चाउचाउ, चिप्स मात्र जङ्क फुड भन्न नमिल्ने बाल पोषणविद् प्रतीक निरौला बताउँछन् ।

बाल पोषणविद् प्रतीक निरौला

निरौला भन्छन्, ‘विद्यालयमा पाइने समोसा, चाउमिन जस्ता खाजामा पनि क्यालोरी धेरै र पोषण कम हुन्छन् । त्यसैले, विद्यालयले चाउचाउ, चिप्स जस्ता प्याकेट बन्द खानेकुरा निषेध गरे जस्तै क्यान्टिनमा पाइने खाना बच्चाको लागि कत्तिको स्वस्थकर छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।’

चाउमिन, मःम, समोसा, आलुचप जस्ता खानेकुरा कहिलेकाहीं खाँदा खासै समस्या हुँदैन । दैनिक खाजाको रूपमा खाँदा भने यसले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर गर्न सक्ने निरौला बताउँछन् ।

‘विद्यालय जाने उमेरका बालबालिकालाई त पोषिलो खानेकुरा चाहिन्छ जसमा कार्बोहाइड्रेट, प्रोटिन, फ्याटको साथै फाइवर र भिटामिन सी लगायत माइक्रोन्युट्रियन्ट पर्याप्त हुनुपर्छ, ’ निरौला भन्छन्, ‘चाउमिन समोसा जस्ता खानेकुरामा माइक्रोन्युट्रियन्ट हुँदैन, क्यालोरी मात्र धेरै हुन्छ जसले बालबालिकामा मोटोपना तथा कुपोषण जस्ता समस्या निम्तिन सक्छ ।’

धेरैलाई भ्रम छ, कुपोषण दुब्लाहरूलाई मात्र हुन्छ । तर, अध्ययनले मोटाहरूमा पनि कुपोषण देखिने गरेको औंल्याएको छ, ’उनी थप्छन् ।

त्यसैले क्यान्टिनको मेनुलाई परिवर्तन गर्नेतर्फ विद्यालयले ध्यान दिनुपर्छ । समोसाको ठाउँमा खीर, चाउमिनको ठाउँमा हलुवा, पुरी तरकारीको ठाउँमा रोटी तरकारी राख्न सकिने निरौला सुझाउँछन् ।

सन्तुलित खाना सम्बन्धी ज्ञानको कमी

काठमाडौं उपत्यकाका निजी विद्यालयको क्यान्टिनको कुरा गर्दा विद्यालयले खानाको सन्तुलन गर्ने प्रयास त गरेको छ । तर, उनीहरूलाई सन्तुलित खानाको विषयमा पर्याप्त जानकारी नभएकोले प्रशोधित खानेकुरालाई प्राथमिकता दिइएको पाइएको पोषणविद् मदन पाण्डे बताउँछन् ।

पोषणविद् मदन पाण्डे

‘जङ्क फुड वा अस्वस्थकर खाना भन्ने बित्तिकै प्याकेट बन्द खानेकुरा जस्तो चाउचाउ, कुरकुरे हो भन्ने सोच अभिभावक र विद्यालयको भएको कारण नै क्यान्टिनमा पाइने खाना, खाजाको विषयमा खासै चासो नदिइएको पाइएको छ’, उनले भने ।

प्याकेट बन्द खानेकुरा, धेरै गुलियो र धेरै नुनिलो खानेकुरा बच्चालाई दिएको छैन । चाउमिन, समोसा जस्ता खानेकुरा त दिन भइहाल्छ नि भन्ने सोच पनि धेरैको हुन सक्छ । तर, चाउमिन, समोसा जस्ता खानेकुरा पनि दैनिक रूपमा दिंदा यसले बच्चाको स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्ने कुराको जानकारी विद्यालयलाई हुन जरूरी भएको उनी बताउँछन् ।

उनका अनुसार विद्यालयको क्यान्टिनमा कस्तो खानेकुरा पाक्छ, सरसफाइमा ध्यान दिइएको छ कि छैन भन्ने कुराको अनुगमन सम्बन्धित निकायले पनि गर्नुपर्ने हुन्छ ।

सामुदायिक विद्यालयमा दिवा खाजाले दिएको राहत

‘स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण हुन्छ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै नेपाल सरकारले आ.व. २०७७/७८ देखि देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्रारम्भिक बाल विकासदेखि पाँच कक्षासम्मका सबै विद्यार्थीका लागि दिवा खाजा व्यवस्थापन गर्न बजेट विनियोजन गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको मेनुमा पोषिलो जाउलो, खीर, हलुवा, चिउरा, मासु लगायत खुवाउनुपर्ने मापदण्ड तोकिएको छ ।

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूपमा दिवा खाजाको व्यवस्थापन गर्दा हरेक खाजामा अन्न समूहबाट ५०–६० ग्राम, गेडागुडी समूहबाट ४०–५० ग्राम, फलफूल तथा हरियो सागसब्जीबाट ३०–५० ग्राम र पशुजन्य उत्पादनबाट २०–३० ग्राम गरी कुल १५० देखि २०० ग्रामसम्म हुने गरी तोकिएको छ ।

चारै समूहको औसत प्रति विद्यार्थी १७५ ग्राम हुने गरी तोकिएको छ । दिवा खाजाको लागि सरकारले प्रतिदिन प्रति विद्यार्थीका लागि १५ रुपैयाँ तोकेको छ । कर्णालीका विद्यार्थीलाई भने २० रुपैयाँ तोकेको छ । विद्यार्थीलाई पोषिलो खाना दिने अवधारणा राम्रो हो ।

तर, यसका लागि छुट्याइएको रकम भने पर्याप्त नभएको हुँदा यसलाई बढाउने माग भइरहेको छ ।

स्कुलको क्यान्टिन

धेरै कमेन्ट गरिएका

लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय