चिसो वा तातो पानी पिउँदा, खानेकुरा खाँदा दाँत सिरिङ–सिरिङ हुनसक्छ । कतिपय अवस्थामा दुख्न पनि सक्छ । यसरी दाँत सिरिङ–सिरिङ हुनुलाई मेडिकल भाषामा ‘हाइपर सेन्सेटिभिटी’ भनिन्छ ।
यस्तो किन हुन्छ ? कारण एउटा मात्र छैन ।
दाँतको बाहिरी भागमा इनामेल हुन्छ, जसले दाँतको हड्डीलाई जोगाउने काम गर्छ । इनामेलभन्दा भित्रको भाग ‘डेन्टिन’ हो । सबैभन्दा भित्रको भागलाई ‘पल्प’ भनिन्छ । विभिन्न कारणवश इनामेल खिइँदै डेन्टिन देखिन्छ । र, सिरिङ–सिरिङ हुन्छ ।
गिजा आफ्नो ठाउँबाट तल झर्यो भने त्यसको कारण पनि दाँत सिरिङ–सिरिङ हुन्छ । साथै, दाँत कीराले खायो भने सिरिङ–सिरिङ गर्ने समस्या आउँछ । पहिले भरेको दाँतको सिमेन्ट निस्कियो भने पनि सिरिङ–सिरिङ हुन्छ ।
एक पटक भरेको दाँतमा पुन: कीराले खान सुरु गर्यो भने पनि यो समस्या आउन सक्छ ।
कहिलेकाहीँ सिमेन्ट भरेपछि, ब्लिचिङ गरेपछि पनि दाँत सिरिङ–सिरिङ हुनसक्छ । तर, त्यो केही समयपछि आफैँ निको हुन्छ । एसिडयुक्त पदार्थले मुख कुल्ला गर्ने माउथवासको प्रयोगले पनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउन सक्छ ।
दाँत सिरिङसिरिङ हुने समस्या कम गर्ने उपाय
बिस्तारै ब्रस गर्ने
दाँत सिरिङ – सिरिङ हुने समस्या कम गर्न दाँत माझ्ने तरिका परिवर्तन गर्नुपर्छ । धेरै कडा ब्रस गर्दा गिजा अझ कमजोर हुन सक्छ । त्यसैले, बिस्तारै ब्रसको गर्नुपर्छ । ब्रस गर्दा नरम ब्रस मात्र प्रयोग गर्नुपर्छ । किनभने कडा ब्रस प्रयोग गर्दा पनि समस्या झन् बढ्न सक्छ ।
फ्लोराइड युक्त मन्जनको प्रयोग गर्ने
सही मन्जनको चयनले दाँतको स्वास्थ्यलाई दीर्घकालसम्म सुरक्षित राख्न सक्छ । त्यसैले, फ्लोराइड युक्त मञ्चनको प्रयोग गरेर दाँत माझ्नुपर्छ । मन्जनमा भएको फ्लोराइड तत्त्वले दाँतमा सडन हुनबाट रोकथाम गर्छ। र, सिरिङ सिरिङ हुने समस्या पनि कम हुन्छ ।
सरसफाइमा ध्यान दिने
सिरिङ सिरिङ कम गर्न, सरसफाइमा ध्यान दिनु महत्त्वपूर्ण हुन्छ । दैनिक दुई पटक ब्रस गर्ने, दुई देखि तीन पटक सफा पानीले कुल्ला गर्नुपर्छ । चिया, खाजा जे खाए पनि खाइसकेपछि कुल्ला गर्नुपर्छ । यसले ब्याक्टेरियालाई बढ्नबाट रोक्छ ।
साथै, सिरिङ सिरिङ हुने समस्या पनि कम हुन थाल्छ ।
नुन पानीले कुल्ला गर्ने
नुन पानीले कुल्ला गर्नाले सिरिङ सिरिङ हुने समस्याबाट छिट्टै आराम मिल्छ । नुन पानीले ब्याक्टेरिया हटाउन मद्दत गर्छ । यदि दाँत सुन्निने वा दुखाइ छ भने, यसले धेरै राहत दिन्छ । त्यसैले, दिनमा दुई पटक मनतातो पानीमा नुन मिसाएर कुल्ला गर्नुपर्छ ।
डाक्टरसँग परामर्श गर्ने
यदि यो समस्या एक हप्ता भन्दा बढि भयो भने, डाक्टरलाई सम्पर्क गर्नुपर्छ र उचित सल्लाह लिनुपर्छ । किनभने यसले अन्य समस्याको सङ्केत गरेको पनि हुन सक्छ ।
प्रतिक्रिया 4