+

चिकित्सकहरू एकलकाँटे र असामाजिक हुन्छन् ?

२०८१ पुष  २९ गते २२:०१ २०८१ पुष २९ गते २२:०१
चिकित्सकहरू एकलकाँटे र असामाजिक हुन्छन् ?

डाक्टर कस्ता हुन्छन्  ? के उनीहरू सामाजिक हुँदैनन्  ? रमाइलो गर्दैनन्  ?  मित्रवत् हुँदैनन्  ? सधैं अस्तव्यस्त रहन्छन्  ? एकलकाँटे हुन्छन्  ?

सम्भवत  : समाजले बनाएको यही धारणका कारण बेलाबखत चिकित्सकहरू एक्लो हुन्छन् । खासगरी कुनै बिरामीको मृत्यु भएमा, अस्पताल तोडफोड भएमा, बिरामीका आफन्तले आन्दोलन गरेको अवस्थामा हुन्छन् । त्यो प्रतिकूल अवस्थामा चिकित्सकहरू एउटा ठाउँमा हुन्छन्, समाज अर्को ठाउँमा । मानौं चिकित्सकसँग कुनै संवेदना नै हुँदैन ।

चिकित्सकलाई जे आरोप लगाए पनि हुन्छ, जसरी लगाए पनि हुन्छ, जे भने पनि हुन्छ भन्ने मनोविज्ञान व्याप्त छ । यसो हुनुमा केही प्राविधिक कारण पनि छन् । जस्तो, चिकित्सा विज्ञान पढिरहँदा उनीहरू त्यसैमा बढी तल्लीन हुनुपर्छ । यसले गर्दा साथीभाइ, आफन्तसँग राम्ररी घुलमिल हुन पाउँदैनन् । चिकित्सक अभ्यासका क्रममा उत्तिकै दत्तचित्त हुनुपर्छ । त्यस क्षण उनीहरूले परिवारमा समेत राम्ररी समय बिताउन पाउँदैनन् ।

चिकित्सक भइसकेपछि व्यस्तता बढ्छ । कुनै पनि समय अस्पतालमा पुग्नुपर्ने हुनसक्छ, उपचारमा खटिनुपर्ने हुनसक्छ । यस्तो व्यस्त तालिकाले गर्दा चिकित्सकलाई सबैसँग हार्दिकतापूर्वक घुलमिल हुने समय मिल्दैन । यो उनीहरूले चाहेर होइन, बाध्यताले हो ।

चिकित्सा पेशा बाहिरबाट हेर्दा जति आकर्षक देखिन्छ यसको भित्री पाटो उत्तिकै जटिल र संवेदनशील छ । एउटा चिकित्सकले आफ्नो मात्र पीडा बोकेर बाँचेको हुँदैन । हरेक क्षण हेर्ने बिरामीको पीडाको बोझ उनीसँग हुन्छ ।

त्यसैले कुनै बिरामीको औषधि उपचार गरेपछि त्यसबाट कति राम्रो भाइरहेको छ  ? कति निको भयो ? भन्ने कुरामा चिकित्सकलाई चासो भइरहन्छ ।

हरेक क्षण रोगीको सम्पर्कमा रहनुपर्छ । उनीहरूको चीत्कार र पीडा सुन्नुपर्छ । अनि, उनीहरूलाई त्यो रोगबाट छुटकारा दिलाउनका लागि आफ्नो तर्फबाट अनेक प्रयास गर्नुपर्छ ।

कुनै यस्ता चिकित्सक नहोलान्, जसले बिरामीको अवस्था अझ जटिल भएको हेर्न चाहेको होस् । बरु, चिकित्सकले त आफूले उपचार गरिरहेको बिरामी जसरी पनि निको होस् भन्ने कामना गर्छन् । र, आफ्नै कामसँग परीक्षा लिन्छन् ।

मृत्युको मुखमा पुगेका, वर्षौंदेखि जटिल रोगले थलिएका, अनायास दुर्घटनाबाट छियाछिया भएका बिरामीलाई चिकित्सकले अहोरात्र खटेर उपचार गर्छन् । बचाउँछन् । त्यस क्षण कसैले भन्दैनन् कि, चिकित्सकले मलाई नयाँ जीवन दिए ।

बरु कुनै कारणवश बिरामीको अवस्था जटिल भएमा, मृत्यु नै भएमा चिकित्सकमाथि दोष थोपरिन्छ। कुटपिट गरिन्छ । अस्पताल तोडफोड गरिन्छ।

के कुनै चिकित्सकले जानीबुझी बिरामीलाई मृत्युको मुखमा पुर्‍याउँछ होला ?

हो, चिकित्सक पनि मान्छे हुन् । बेलाबखत उनीहरूबाट त्रुटि हुनसक्छ । तर, यस्तो अक्सर हुँदैन । त्यसैले बिरामीलाई चिकित्सकले मारेको भन्ने भाष्य आफैंमा अन्यायपूर्ण र अविवेकी हो ।

समाजको आँखाले हेर्दा चिकित्सक बढी नै एकलकाँटे देखिन्छन् । यसमा समाजको मात्र दृष्टिदोष छैन । हामी स्वयम् चिकित्सकहरूमा पनि समस्या छ । किनभने चिकित्सकहरूमा आपसी संवाद र आत्मीयता पनि कम छ। महत्वाकांक्षा र दम्भ बढेको छ। खुट्टा तान्ने प्रवृत्ति बढेको छ ।

त्यसैले चिकित्सकहरू आपसमा पनि सौहार्दपूर्ण सम्बन्ध निर्माणमा लाग्नुपर्छ । दुःख परेको बेला, आपतको क्षणमा मात्र होइन अरू बेला पनि एकबद्ध हुन जरूरी छ।

‘संघे शक्ति कलियुगे’ भने जस्तै अहिले शक्तिको केन्द्र व्यक्तिमा नभएर संघ र संगठनमा छ । चिकित्सकलाई एकबद्ध गर्न, आपसी सम्बन्ध सुमधुर बनाउन, सीप–क्षमता अभिवृद्धि गर्न, हकअधिकार संरक्षण गर्न दर्विलो संगठन चाहिएको छ। यसले चिकित्सकलाई एकढिक्का बनाउन, मान मर्यादा र आत्मसम्मान बढाउन सहयोग गर्नेछ ।

अतः यसका निम्ति नेपाल चिकित्सा संघ कोशी तत्पर र अग्रसर छ।

को मेडिकल अधिकृत ? को विशेषज्ञ अध्ययनरत चिकित्सक (रेसिडेन्ट), अनि को विशेषज्ञ ? आखिर सबै ‘डाक्टर’ हुन् । अनि को वरिष्ठ ? को कनिष्ठ र ? यसबीचमा कति घनिष्ठ पनि होलान् ।

जुनसुकै अस्पतालमा कार्यरत हुन्, जुनसुकै विभागमा । सरकारी संस्थामा होस् वा निजीमा। रोजगार गरिरहेको होस् वा बेरोजगार रु चिकित्सक त चिकित्सक नै हुन् । सायद सबैको प्रतिनिधित्व गर्नुपर्छ, चिकित्सक संघले ।

संघलाई बलियो बनाउन साथ र सहयोग गर्ने भन्दा पनि संघबाट धेरै आशा राख्ने चलन बढ्दो छ ।

संघको अधिकार कति छन्  ? र, यसका पदाधिकारीहरू पनि स्वयंसेवक भएर, आफ्ना चिकित्सकीय एवं पारिवारिक-सामाजिक दायित्व पनि पूरा गरिरहेका हुन्छन् भन्नेमा चिकित्सकहरूले हेक्का नराखी यसका पदाधिकारीहरूलाई तलबी कर्मचारी सम्झिने गरेको आभास पनि हुने गर्छन् । कतै कतै त समूह नै बनाएर संघका विपक्षमा उभिन्छन् ।

मानौं यो देशको सम्पूर्ण स्वास्थ्य क्षेत्र र राजनीतिक कुसंस्कारहरू संघले सञ्चालन गरेका हुन्छन् ।

तर संघका पदाधिकारीहरुले आफ्ना अस्पतालप्रतिका जिम्मेवारी पूरा गरेर, घर-परिवार र समाजिक दायित्व पनि सम्हालेर चिकित्सक एकता, हकहित र अधिकारकाे संरक्षणमा कतै राष्ट्र त कतै समाजसंग लडिरहेका हुन्छन् । यसलाई सम्पूर्ण चिकित्सकहरुले बुझ्न जरुरी छ ।

डा. साह, नेपाल चिकित्सक संघ काेशी शाखाको महासचिव हुनु हुन्छ ।
चिकित्सक
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय