
कुनै दुई वा दुईभन्दा बढी संगठित संस्थाहरुको दुरदृष्टि, उदेश्य र लक्ष्यलाई मनन् गरी एकै किसिमले एकीकृत रुपमा अगाडि बढ्न उपलब्ध जनशक्ति, कार्यप्रणालि अनि नवीनतम प्रविधिको ठूलो भूमिका रहेको हुन्छ। कार्यसम्पादन अनि उत्पादकत्व एक आपसमा अन्तरनिहीत छन् । मानव संसाधन पुँजी तब सृजना हुन्छ, जब त्यहाँ व्याक्तिगत एवम् संस्थागत लक्ष्य, उद्देश्य, अनुसासन, प्रोत्साहन, वृत्तिबिकास, अनुगमन तथा नियन्त्रणमा पारस्परिक सम्बन्ध हुने गर्दछ।
रास्ट्र बैंकको मर्जर नीति तथा निर्देशनलाई परिपालना गर्ने गरी प्रतिष्ठित बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिने वा प्राप्ति गर्ने वित्तीय बजारमा नौलो कुरा भने होइन । तर नयाँ संस्थागत संस्कृतिमा घुलिनुको चुनौती,कर्मचारीको नियुक्ति, कार्यसम्पादन तथा मूल्याकंन, स्थानान्तरण तथा प्रोत्साहनमा आवश्यक मार्गदर्शन नकोरिएको भेटिएको छ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी नियमावली २०७३ अनुसार गाभ्ने गाभिने भन्नाले दुई वा दुईभन्दा बढी ईजाजतप्राप्त संस्थाहरुबीच आपसमा भएको सम्झौताबमोजिम गाभिने संस्थाको अस्तित्व समाप्त भई गाभ्ने संस्थामा समाहित हुने कार्य सम्झनुपर्दछ र सो शब्दले दुई वा दुईभन्दा बढी संस्था बन्ने कार्यलाईसमेत जनाउँछ।
बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ७० बमोजिम ईजाजतप्राप्त संस्था एक आपसमा गाभ्ने/गाभिने / प्राप्ति भई सोही ऐनको दफा ३८ बमोजिम स्तरोन्नतिको लागि यस बैंकमा निवेदन पेश हुन आएमा सर्वप्रथम गाभ्ने/ गाभिने/ प्राप्ती सम्बन्धि प्रक्रिया अवलम्बन गर्नुपर्नेछ र सो को ढंगले लागेपछि स्तरोन्नतीको कारवाही अघि बढाइनेछ। यसरी गभ्ने/ गाभिने/ प्राप्ति भई स्तरोन्नतिका लागि पेश हुन आएको निवेदनलाई प्राथमिकता दिइने व्यवस्था रहेको छ।
आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति अनुसार बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्तिमा जान प्रोत्साहन गर्न सुरु गरेपस्चातको एक दसकमा १९६ बैंक तथा वित्तीय संस्थाहरु (२५ वाणिज्य बैंक समेत) मर्जर तथा प्राप्ति प्रक्रियामा संलग्न भई ४६ संस्थामा कायम भएका छन् । यस अवधिमा ५ वाणिज्य बैंकहरु समेत गरि १५० संस्थाको ईजाजत खारेज भएको छ। आर्थिक वर्ष २०७६/७७ मा ४ वाणिज्य बैंक सहित ३५ बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रकृयामा संलग्न भई २० संस्थाको खारेज भएको छ।
वर्तमान अवस्थामा ईजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरु गाभिएपछी वा प्राप्तिपछी मुलुकको सबैभन्दा ठुलो, सबैभन्दा बलियो, प्राविधि मैत्री भन्दै आफुलाई परिभाषित गर्न खोज्दै गर्दा ग्राहकमहानुभावहरुले अनेकन सास्ती भोग्नुपरेको सत्य नकार्न सकिँदैन। निजी बैंक तथा वित्तीय संस्थाका संचालक समितिका पदाधिकारीहरु र प्रमुख कार्यकारी अधिकृतबीच मर्जर सम्बन्धी सम्पुर्ण एजेन्डाहरुमा सुरुवातका दिनहरुदेखि नै प्रतिफल, मुनाफा अनि जोखिम बहन क्षमता मात्रै हेर्ने गरिएको तर कर्मचारीहरुको विकास,उत्प्रेरणा,कुशल कर्मचारीहरुको स्थायित्व, अनुगमन तथा नियन्त्रणमा बिरलै गृहकार्य भएको पाईएको छ।
व्यवसाय वृद्धिसँगै मुख्य भुमिकामा कार्यरत कर्मचारिहरुमा थप सीप, क्षमता र कलाहरुको आवश्यकता पर्छ। बैंकका उच्च तहका कर्मचारिहरुलाई उपयुक्त जिम्मेवारी नदिई बैंक छाड्न बाध्य बनाउने खबर नसुनिएको पनि होइन । कर्मचारीहरु विगतमा भए बमोजिमको सेवा सुविधा नपाउने त्रासमा छन् । यसले गर्दा व्यवस्थित,भरपर्दो र सुरक्षित मानिएको बैंकको पेशा कार्यबिश्लेशण नै नगरी तहमा हुने परिवर्तनले क्षमतावान् कर्मचारीहरुको मानसिकतामा नकारात्मक असर पर्ने देखिएको छ।
मर्जरमा गएका संस्थाका कार्यरत कर्मचारीहरुलाई स्वेच्छिक अवकाशको बाटोमा जान विभिन्न अप्रत्यक्ष दबाब दिने एवम् सम्झौताको आधारको अवकाशलाई उजागर गरेर कर्मचारीलाई बिदाई गर्ने हतारो देखिएको छ।
विशेष गरी निजी बैंक तथा वित्तीय संस्थाहरुको मर्जर पश्चातको कर्मचारी समायोजनमा कार्य कौशलताको, सिप, ज्ञान,बाह्य पक्ष्यको ज्ञान, अनुभवको समष्टिगत स्वरुप भन्दा पनि संस्थापक संचालकहरुबीच भएको सहमतिलाई आधार मान्दै विभिन्न तहहरुमा पदपूर्ती गर्ने परम्परा हाबी हुँदै गएको छ।
धेरै वर्षको अनुभव बटुलेका कर्मचारीहरुलाई पदस्थापन र सरुवा गर्दा समेत पुरानै किसिमको मापदण्डलाई आधार मानि मुल्यांकन गर्ने गरिएको भेटिएको छ। एकातर्फ मर्जर पश्चात् हुने कर्मचारीहरुको भावना र संवेदनामा ठेस पुग्ने गरी तह अनि सेवा सुविधामा हुने भेदभाव भने अर्कातर्फ अब्बल कर्मचारीहरुलाई व्यवसायको वृद्धिसँगै थप जिम्मेवारीसमेत दिइएको पाइँदैन।
कोभिड- १९ को सन्दर्भमा गरिएका नितिगत व्यवस्थाहरु ईजाजतप्राप्त संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने / प्राप्तिका लागि पर्याप्त छन् त ? के विद्यमान अवस्थामा गाभ्ने/गाभिने / प्राप्तिको औचित्य र महत्त्व उत्तिकै छ ? केही समय अगाडि निकै अनुकरणीय मानिएको गाभ्ने गाभिने नीति एवं निर्देशन यथावत कायम नगरी हेरफेर गर्नुपर्ने अवस्था सृजना भएको छ। के अनिश्चितता तथा जोखिम व्यवस्थापन (बजार, कर्जा तथा संचालन जोखिम) गर्न उचित एवं समुचित पक्ष्यहरुलाई समावेश गरिएको छ त ?
कोभिड -१९ को महामारीका कारण सरकारद्वारा देशको विभिन्न स्थानहरुमा निषेधाज्ञाको आव्हान गर्दै आइरहेको अवस्था छ। कल-कारखाना, व्यापार, ब्यवसाय सबै ठप्प छन्। अर्थतन्त्र चलायमान हुन नसकेको अवस्था छ । आर्थिक गतिविधि अपेक्षा गरिएअनुसार भएको पाइएको छैन। जसका कारण बित्तीय परिसूचकहरु उत्साहजनक नभएको अवस्था छ।
दैनिक रुपमा बैंक तथा वित्तीय संस्थाका शाखाहरु सञ्चालनमा नआएको हुनाले कर्मचारी कटौती, सेवा सुविधामा कटौती, सञ्चालन खर्च कम गर्न उच्च व्यवस्थापनको दबाव, अस्थायी तथा करारमा कार्यरत कर्मचारीलाई बिदाई जस्ता समाचारहरु सुन्नमा नआएका भने होइनन् । यस विषम परिस्थितिमा गाभ्ने/गाभिने / प्राप्तिका कुराले झन् बैंक तथा वित्तीय संस्थाको खर्च बढ्ने, कोरोनाको प्रभावले गर्दा अपेक्षित मुनाफा आर्जन गर्न नसकिने पक्कापक्की छ।
मर्जर पश्चात् फराकिलो अनि फरासिलो बन्दै गएको बैंकको व्यवसायलाई क्षमता अभिवृद्धि गरी निपूर्ण रुपले व्यवस्थापन गर्ने कर्मचारीहरु उत्पादन अनि स्थायित्व कायम गराउन आवश्यक तालिम तथा बिकास, वृत्तिबिकास, प्रोत्साहन, प्रभावकारी सञ्चारमा जोड दिइएको पाइएको छैन। यसले गर्दा कर्मचारीहरुको मनोबलमा प्रत्यक्ष र परोक्ष असर परिरहेको पाइएको छ।
यद्यपि बैंकका उच्च व्यवस्थापनमा रहेका व्यक्तित्वहरुले पत्रपित्रिका, मौखिक एवम् अन्तर्वार्ताहरुमा गम्भीरताका साथ लागू गरिने भनिएता पनि व्यवहारिक र नितिगत रुपमा खासै महत्त्व दिइएको पाइएको छैन।
भिन्न परिवेशमा श्रोत र साधनको परिचालन गर्न, पुँजी वृद्धि गर्न र वस्तुको उत्पादन वृद्धि गर्न दक्षता हासिल गरेका जनशक्तिहरुको आवश्यकता पर्दछ। संगठन वा संस्थामा कार्यरत कर्मचारीहरुलाई नियन्त्रण गर्न तथा नियन्त्रित ढंगले परिचालन गर्ने विधि तथा पद्धति निर्धारण गरिनुपर्दछ। उपलब्ध जनशक्तिलाई प्रविधि,कार्यशैली, विकसित नवीनतम प्रबृत्तिसँग परिचित गराई सहजताका साथ कार्यसम्पादन गरी कौशलता वृद्धि गर्ने मनोवृत्ति तथा मनोवल बलियो बनाउनुमा संस्थागत संस्कृतिको ठूलो भूमिका रहेको हुन्छ।
मर्जर पश्चात् कर्मचारी कटौती, भिन्न कार्यशैली,अपेक्षा गरिएअनुरुप जिम्मेवारी नदिइनु, सरुवा, सेवा सुविधामा भिन्नता, कर्मचारीभित्रै गुटबन्दी आदि हुने हुँदा कर्मचारीको मनोबल उच्च नहुन सक्छ।
कुनै पनि संस्थामा तालिम तथा बिकास, कार्यसम्पादन तथा मूल्याकंन, स्थानान्तरण, प्रोत्साहन, क्षतिपूर्ण, अनुशासन, दण्ड सजायले कर्मचारीहरुको क्षमता र मनोबल बढाउने बिश्वास गरिएको हुन्छ। कुनै विषयको गम्भीरतालाई दृष्टिगत गरी कार्यलाई ब्यवस्थित र स्पस्ट पार्न उपयुक्त नीति, रणनीति, कार्यनीति र कार्यप्रणालिको आवश्यकता पर्दछ। मर्जरको साकार रुप तब देखिन्छ, जब सिस्टम माईग्रेसन एवं एचाआर माईग्रेसन सफलतापूर्वक हुने गर्छ।
प्रतिक्रिया 4