
४ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।
पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा नेताहरुले यसबारे आ-आफ्नो धारणा राखेका हुन् । मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएको छ, प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकपछि भनेका छन् ।
मन्त्रिपरिषदमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभए पनि आवश्यक पर्ने मापदण्डका विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । कसलाई पठाउने भन्ने विषयमा आवश्यकता अनुसार प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्षमा सचिवालय पुगेको छ ।
यस्तै संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा पनि सरकारलाई निर्णय गर्न सहज हुनेगरी बैठकमा छलफल भएको उनले जानकारी दिए ।
सो विषयमा पनि निर्णय भएको छैन । यस्तै पार्टी एकीकरणका बाँकी काम पूरा गर्ने र संगठन विभागको निर्णयमाथि छलफल गर्दै अनुमोदन गर्ने विषयमा पनि छलफल भएको छ । यस्तै स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेको पदपूर्ति गर्ने, केन्द्रीय कमिटी सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने विषयमा पनि सचिवालयमा छलफल हुने उनले बताए ।
पूर्णकालीन कार्यकर्तालाई कुनै न कुनै रुपमा सहयोग गर्ने पार्टीको नीतिअनुसार कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गरी निर्णय हुनेछ । यस्तै संघीय सांसदहरुले कोभिड महामारी अवधिको बैठकभत्ता के गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने उनले बताए ।
बैठकका अरु एजेण्डामा छलफल गर्न भोलि १ बजे फेरि बैठक बस्नेछ ।
प्रतिक्रिया 4